अन्य

शताब्दीसम्मै बाँच्ने कला

तस्बिर : कृष्पा श्रेष्ठ

हिरोसी मिनोवा जापानको नागासाकी सिटीमा सन् १९५१ को मे महिनामा जन्मिएका हुन् । नागासाकी  विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेपछि जापानका तीन ठूला बैंकहरुमध्ये सुमितोमा मिच्युयी बैंकिङ कर्पोरेसनमा उनले काम थाले । बैंकको एक्सचेन्ज विभागमा निर्देशकसम्म बनेर काम गर्दै जाँदा उनको चाख स्वास्थ्य क्षेत्रमा बढ्दै गयो । नेपालीहरुसँग संगत बढ्दै जाँदा नेपालको स्वास्थ्य र जडिबुटीमा उनको चाख गहिरियो । यसैमा काम गर्ने चाहनाका साथ उनी एकपटक आफैँ नेपाल हेर्न नेपाल आइपुगेका बेला जापानीहरुको स्वास्थ्यप्रतिको लगाव, विश्वकै दोस्रो लामो समय बाँच्ने जापानीहरुको जीवनशैली र उनी नेपाल आउनुको कारणबारे नागरिक परिवारका लागि प्रजु पन्तले गरेको कुराकानी :

तपाईंं नेपाल आउनुको कारण के हो ?

राजनीतिक रुपमा नेपाल र जापानको सम्बन्ध धेरै पुरानो हो । माधवजी र उहाँको टिमलाई भेटेपछि मलाई नेपालबारे जानकारी भयो । उहाँहरुले नेपालको हेल्थसेक्टरमा केही काम गर्ने योजना सुनाउनुभयो अनि यहाँको समस्याबारे पनि बताउनुभयो । यस क्षेत्रमा मेरो अफिसबाट केही गर्न सक्छु कि भन्ने लाग्यो अनि नेपाल आएको हुँ ।  

नेपाललाई कसरी बुझ्नुभएको छ  त ?

हुन त म नेपालको पूरै भाग घुमेको छैन । अरु सहरहरु कस्ता छन् मैले पुगेरै देख्न पाएको छैन । तर काठमाडौंको समस्या भने विकराल लाग्यो । मैले नेपालमा भौतिक पुनर्संरचना र खानेकुराको समस्या देखेको छु । अस्ति म असन गएको थिएँ । अव्यवस्थित रुपमा बनेको भवन र खुला बजारमा झिँगा भन्केका खानेकुरा देखेँ । 

हो नेपाल हिमालैहिमालको देश हो । यहाँ पर्यटनलाई आकर्षक गर्ने प्रकृतिले दिएका कुरा धेरै छन् तर यहाँको अव्यवस्थित भवन र फोहोरले गर्दा विदेशीलाई आकर्षण गर्न गाह्रो हुन्छ कि जस्तो लाग्छ । 

नेपालमा तपाईंले गर्न खोज्नुभएको काम के–के हुन् ?

मैले खासमा नेपालको  स्वास्थ्य  क्षेत्रमा काम गर्न खोजेको हुँ । जापान प्रविधिमा अगाडि छ । यहाँ प्रशस्त कच्चा पदार्थ छ । यसको भरपुर उपयोग हुनुपर्छ भन्ने मलाई लाग्छ । 

जापानमा एएटा आयुर्वेद अस्पताल थियो । त्यो अहिले बन्दै हुने अवस्थामा पुगेको छ भने पनि हुन्छ किनभने जापानमा कच्चा पदार्थ, जडिबुटीको अभाव छ । ताइवानबाट ल्याएर त्यो हस्पिटल चल्ने गरेको थियो । तर  अहिले ताइवानबाट चीनले लैजान्छ, जापानमा आउँदैन । त्यो प्रविधि नेपाल भित्र्याएर नेपालमा पाइने जडिबुटीको प्रशोधन गर्न सकिन्छ भन्ने मलाई लाग्छ । 

अनि अर्काे कुरा खाद्यान्नको शुद्धीकरण । मैले सुनेको नेपालमा पाइने तरकारीहरुमा बढी विषादीको प्रयोग गरिन्छ यो एकदमै खराब कुरा हो । तरकारी तथा फलफूलको भित्र प्रयोग गरेको नभएर बाहिर प्रयोग गरेको विषादी निकाल्न मिल्ने एक विशेष प्रकारको पानी बनाउन मिल्छ त्यो पानी बनाउने प्रविधि नेपालमा तत्कालै भित्र्याउने हाम्रो योजना छ । विषादीयुक्त तरकारी त्यो पानीमा डुबाउँदा तरकारी विषादीरहित हुन जान्छ । 

नेपालको कच्चा पदार्थ र जापानको प्रविधि प्रयोग गरेर नेपालको आर्थिक विकासमा केही योगदान पुराउने काम गर्न खोजेको हुँ । 

बैंकिङ क्षेत्रमा व्यस्त तपाईं कसरी स्वास्थ्य क्षेत्रमा आकर्षित हुनुभयो ?

यसको लामो कथा छ । म छोटकरीमा भन्छु । जापानको हिरोसिमा नागासाकी सहरमा बम आक्रमण हुँदा नागासाकीस्थित सहरमा मेरी आमालाई अणुबमको विकिरणले स्वास्थ्यमा निकै पछिसम्म असर  ग-यो । हुन त उहाँ ७१ वर्षको उमेरमा बित्नुभयो तर उहाँ कहिल्यै स्वस्थ रहनुभएन । उहाँले पछिल्ला १० वर्ष निकै कष्टका साथ बिताउनुभयो । मैले त्यो देखेँ । स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा हो । केही थाहा नहुँदा पनि र थाहा भए पनि हेलचेक्र्याइँले गर्दा धेरै दुःख पाइन्छ भन्ने कुरा आमालाई परेको पीडाबाट थाहा पाएँ त्यसैकारण मलाई स्वास्थ्य क्षेत्रमा चाख बढ्दै गयो । 

मैले हिरोतेहिरो कम्पनी लिमिटेड संस्था खोलेँ जसको म अहिले प्रेसिडेन्ट छु  । यसै क्रममा मेरो नेपाली मित्रहरुसँग भेट भयो । मैले यहाँको बारे जानकारी पाएँ अनि आफैँ एकचोटी नेपाल किन नघुम्ने भनेर आएको हुँ । 

नागासाकीको बम विस्फोटमा तपाइको परिवार बाँच्न सफल हुनुभएछ त्यसबारे केही बताउनुहुन्छ कि ?

हो, मेरो परिवार बाँच्न त सफल त भयो तर स्वास्थ्यप्रतिको ज्ञान नहुँदा मेरो आमा बाहिर निस्किएर हिँड्नुभयो सायद आपत परेको बेला ज्ञान भए पनि पूरा गर्न गाह्रो हुन्छ होला । त्यही भएर उहाँँलाई पछि धेरै गाह्रो भयो । बम विस्फोट भएपछि नागासाकीमा धेरै समस्या भयो । त्यहाँ जिरोबाट विकासको काम सुरु गर्नुप-यो । सुरुमा त हेल्थप्रति कसैले ध्यान दिएन किनभने विकासको प्रारम्भिक चरणमा स्वास्थ्य गौण कुरा हुन्छ ।  

विश्वमै जापनिजहरु स्वास्थ्यमा बढी कन्सियस हुन्छन् भन्ने छ, नागासाकीमा जन्मनुभएको तपाईं अनि बम आक्रमणपछि जिरो लेभलबाट विकास सुरु गर्नुभएको हो स्वास्थ्यप्रति जापानले कसरी ध्यान दियो ?

जापनिजहरु एकैचोटी हेल्थप्रति कन्सियस भएका हैनन् । यसका पनि विभिन्न चरणहरु पार गरेर आएका हुन् । स्वास्थ्यप्रति कन्सियस हुने पनि समय हुन्छ ।  सुरुमा नागासाकीमा बम विस्फोट भएपछि खानाका लागि पनि धेरै संघर्ष गर्नुप-यो । हेल्थको त परको कुरा भयो । कसैले पनि ध्यान दिँदैनथे ।  

अघि चरणको कुरा भनौँ है त । सुरुमा आर्थिक विकास हुनुपर्छ । जसका लागि प्रविधिको ठूलो भूमिका रहेको हुन्छ । नागासाकीमा आर्थिक विकास गर्न हाम्रा पुर्खाले धेरै संघर्ष गरे । त्यसपछि प्रविधिमा हामीले फड्को मा-यौँ अनि बल्ल मान्छेहरु स्वास्थ्य प्रति कन्सियस भएका हुन् । 

दोस्रो विश्वयुद्धपछि अमेरिकाबाट नयाँनयाँ प्रविधि ल्याइयो । त्यो प्रविधिलाई पछि जापानी शैलीमा बनाइयो । आर्थिक अवस्था राम्रो भयो अनि जापानीहरु स्वास्थ्यप्रति कन्सियस हुँदै गए । 

सन् २०१८ जुलाईमा आएको तथ्यांकअनुसार जापनिजहरुको औसत आयु ८५ वर्ष रहेको छ, जुन विश्वमै धेरै औसत आयु भएको मुलुकहरुमध्ये जापान दोस्रोमा रहेको छ । जापनिजहरु कस्तो जीवनशैली अपनाएको कारण यति धेरै बाँच्न सफल भएका हुन् ?

हो, हामी जापनिजहरु धेरै वर्ष बाँच्ने मात्र हैन । हामीहरु धेरै वर्ष स्वस्थ भएर बाँच्नेमा पनि पर्छांै । त्यो प्रमुख कुरामा म केही चर्चा गर्न चाहन्छु । 

हामीहरुको संस्कार भनेको धेरैभन्दा धेरै तरकारी तथा फलफूल खाने हो । अनि स्पाइसी फुड पनि निकै कम प्रयोग गर्छाैं । मासुको कल्चर पश्चिमा मुलुकबाट आएको हो । हाम्रो संस्कारमा यो धेरै चल्दैन । बरु सामुद्रिक खाद्यान्न बढी खाने चलन छ । माछाको बढी प्रयोग गर्छाैं । जापनिजहरु क्यालोरी मिलाएर खाने गर्छन् । तपाईंलाई एउटा रमाइलो कुरा सुनाऔँ । जापनिज महिलाहरु, मानौं हाम्रो शरीरलाई दैनिक २१ सय क्यालोरी चाहिन्छ भने बिहानको खानामा १६ सय क्यालोरी खाए भने बाँकी ५ सय मात्र खान्छन् । त्यहाँभन्दा बढी खादैँनन् ।

यदि कसैको अस्वाभाविक रुपमा भुँडी लायो भने इल्ली र बिल्ली पार्ने गरिन्छ । खाना सफा र स्वस्थ हुन्छ । जापान सरकारले स्वस्थ खानामा निकै ध्यान दिएको छ । 

आफ्नो काम आफैं गर्ने जापनिजहरु सामान्य काममा एसिस्टेन्ट राख्ने गर्दैनन् । अफिसर लेभलकै मान्छे भए पनि आफ्नो टेबुल आफैँ पुछ्नेलगायतका सानाभन्दा साना काम आफैँ गर्ने चलन छ । 

तपाइ जापान जानुभयो भने अचम्ममा नपर्नुहोला किनभने त्यहाँ लौरो टेकेर हिँडेका बुढाबुढीहरुले अर्काे हातमा सामानको झोला बोकेको देख्न सक्नुहुन्छ । हामीहरु हिँड्न मन पराउँछौं  ।

जापनिजहरु व्यायाममा निकै धेरै ध्यान दिन्छन् भन्ने सुन्नुभएको होला । शरीरलाई फिट एन्ड फाइन राख्ने, सन्तुलनमा राख्ने विभिन्न किसिमका व्यायाम बनेका छन् । अधिकांश जापनिजहरु बिहानको समयमा व्यायाम गर्ने गर्छन् । 

सफा सुग्घरमा त्यत्तिकै ध्यान दिने गर्छन् । घर, सहर जताततै सफा सुग्घरमा ध्यान दिने गरिन्छ । जापानका कुनै रेष्टुरेन्टमा एउटा झिँगा देखियो भने त्यहाँ बबाल हुन्छ । त्यसको विरोध त हुन्छ नै त्यो रेष्टुरेन्टमा कोही खान जाँदैनन् । 

जापनिजहरु आध्यात्मिक पनि छन् । अरुको आदरसत्कार र मानसम्मानमा कुनै कमी कमजोरी गर्दैनन् । 
जापनिजहरु लामो समय बाँच्नुको कारण सन्तुलित खाना, स्वास्थ्यप्रति कन्सियस र अध्यात्मको झुकाव भन्न सक्नुहुन्छ । 

हिजो आज जापनिजहरु अलिक बढी तनावमा पर्ने गरेका छन् । त्यसको लागि पनि ध्यान योगको महत्व बढ्दै गएको छ । हामीहरुको अनिवार्य रुपमा तीनपटक खाना खाने चलन छ । घरबाट निस्कने बेला केही न केही खाएकै हुन्छाैं । जस्तो बिहान केही खाएर निस्केपछि अफिसमा गएपछि १२ बजेदेखि १ बजेसम्म जापानभर खाना खाने समय हुन्छ ।  बेलुका ७ बजेतिर खाना खाने चलन हुन्छ  । अनि १० बजे प्रायः सुत्ने चलन छ  ।

जापनिजहरु प्रत्येक वर्ष होलबडी चेकअप गराउँछन् जसले गर्दा हामीहरुको हरेक वर्षको तथ्यांक हामीसँग रहेको हुन्छ । शरीरमा के कमी छ, के बढी छ भन्ने कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा जानकारीमा आइरहन्छ   

विश्वमै जापानमा बच्चा हुर्काउने चलनलाई राम्रो मानिन्छ, त्यसबारे केही बताउनु न ?

तपाईंलाई थाहै होला जापानमा चाइल्ड बर्थ रेट नेगेटिभ छ भन्ने कुरा । जापानमा यो ठूलो समस्या हो । तर जति पनि बच्चा जन्मिन्छन्, उनीहरुमा हुर्काइको तरिका धेरै राम्रो हुन्छ । 

बच्चाहरुलाई उनीहरुको मनोभावना बुझेर हुर्काइन्छ । कुनै पनि प्रकारको दबाब दिइँदैन । उनीहरुलाई स्वास्थ्य, खानेकुरा, खेलकुद पढाइ र संस्कारका बारेमा सिकाइन्छ । 

अन्त्यमा, नेपाली युवाहरुलाई के सल्लाह दिन चाहनुहुन्छ ? 

नेपाली युवाले बुझ्नुपर्ने एउटै कुरा हो । कुनै पनि देशको विकास एउटा पुस्ताले त्याग नगरी भएको छैन । अब नेपाली युवाले त्यो गर्ने बेला आएको छ । 

नेपाललाई सफा राखून्, स्वस्थ खाना खाऊन्, भएको स्रोत र साधनको अधिकतम उपयोग गरून् भन्ने मेरो सल्लाह छ । 

प्रकाशित: २ माघ २०७५ ०६:०२ बुधबार

हिरोसी_मिनोवा जापान बाँच्ने_कला नागरिक परिवार