अन्य

एउटा प्रश्न

‘अशोक ! हाम्रो बिहे भएको १० वर्ष भइसक्यो, अझै तिमीलाई छोराहरूलाईझैं ख्याल राख्नु पर्छ।’ अफिस जान हतार भएर होला, अशोक केही नबोली हतारहतार बाहिर निस्कियो। स्मिताले बल्ल आरामसँग बिहानको चिया पिउने मौका पाएकी थिइन्। बिहेको पाँच वर्षसम्म उनीहरूको सन्तान भएको थिएन। उनी सम्झिन्थिन्–त्यतिबेला लोग्ने–स्वास्नी भएर सधै सँगै चिया पिउने गर्दथे।

स्मिताको एक छिमेकी दीपिका रेडियोमा ‘आरजे’ थिइन्। दीपिकाकी एक प्यारी छोरी थिइन्, उनको नाम श्रीषा थियो। एक दिन स्मिता घरको बरन्डामा कपडा सुकाइरहेकी थिइन्, उनको आँखा दीपिकाको घरमा पर्यो। त्यहाँ दीपिकाकी छोरी श्रीषा स्कुल पोशाकमा ढोकाबाहिर सिँढीमा उभिरहेकी थिइन्। मातृत्वभाव थाम्न नसकी स्मिताले श्रीषालाई घर बोलाएर खाजा खुवाइन्। केही बेरमा उनले दीपिकालाई फोन गरिन्। दीपिकाले जरुरी मिटिङ भएकाले घर आउन ढिलो हुने जानकारी गराइन्।

केही समयपछि दीपिका अफिसबाट घर आइन्। छोरीको रेखदेख गरिदिएकोमा उनले स्मिताप्रति आभार व्यक्त गरिन्।
‘तिमी आत्तिनु पर्दैन, पछि पनि तिम्रो अपर्झट केही काम पर्यो भने म श्रीषाको ख्याल गरिहाल्छु नि !’ स्मिताले भनिन्।
‘तिमीलाई कति दुःख दिनु है ! मैले श्रीषाको लागि मन्टेसोरी स्कुलमा कुरा गरिराखेको छु, त्यही उसको ‘केअर’ हुन्छ। बेलुका अफिसबाट फर्कदा म लिएर आउँछु।’
‘यसको मतलब तिमीलाई श्रीषा मसँग रहेको मन परेन ?’
 स्मिता उदास भएको देखेपछि दीपिकाले काँधमा हात राख्दै भनिन्,  ‘त्यस्तो केही होइन, तिमीलाई जतिबेला मन लाग्छ, श्रीषालाई आफूसँग ला’न सक्छौ। मेरो मान्यता के छ भने आफ्ना आवश्यकता र जिम्मेवारी पूरा गर्न आफैंले काम गर्नुपर्छ। श्रीमानको कमाइले पुग्छ तर, आफ्नो कमाइको मज्जा बेग्लै हुन्छ। त्यसलाई म गुमाउन चाहन्नँ।’
दीपिकाको कुरा सुनेर स्मिता प्रभावित भइन्। उनको मनमा पनि आफ्नो कमाइको सुख पाउने चाहना बलियो हुँदै गयो। एक दिन उनलाई यो अवसर पनि जुट्यो। दीपिकाले काम गर्ने रेडियो स्टेसनमा एक कर्मचारी अचानक बिमारी भयो, अस्थायी कर्मचारी राख्नुपर्ने भयो। आफ्नो अफिसमा कर्मचारी खाँचो भएकाले दीपिकाले स्मितालाई कामका लागि प्रस्ताव राखिन्। स्मिताले तुरुन्त स्वीकार गरिन्।

स्मिताको आत्मविश्वास, हक्की स्वभाव र व्यक्तित्व देखेर कार्यालयको हाकिम प्रभावित यो। केही समयपछि स्मिताको स्वर रेडियोमा लोकप्रिय हुन थाल्यो। लगनशीलता र मेहनतले गर्दा उनलाई छिट्टै स्थायी गर्ने प्रस्ताव आयो। श्रीमान् अशोकबाट पनि प्रोत्साहन पाएकाले स्मिताले रेडियोको संसारमा आफ्नो बेग्लै पहिचान बनाउँदै लगिन्।
यसैबीच आफू गर्भवती भएको थाहा पाएर स्मिता हर्षविभोर भइन्। स्मिताले  नोकरीभन्दा पनि परिवारलाई प्राथमिकता दिने निधो गरिन्। स्वास्थ्य परीक्षण गर्दा गर्भमा जुम्ल्याहा बच्चा रहेको जानकारी आयो। रेडियोको लोभलाग्दो जागिरबाट उनले राजिनामा दिइन्। समय बित्दै जाँदा उनको जीवनमा सुन्दर जुम्ल्याहा छोरा आए, खुसीको सीमा रहेन।

कुनै दिन अशोकलाई आफ्नो गल्ती महसुस हुनेछ अनि ऊ घर फर्कनेछ। तथापि, सधैं एउटा प्रश्न उनको मनमा आउने गर्छ, के उनले अशोकलाई माफी दिन सक्छिन् त ?


एकैपटक दुई–दुईवटा छोरा हेरचाह गर्दा स्मिता थकाइले चुर हुन्थिन्। अशोकले छोराहरूका लागि कहिल्यै समय निकाल्न सकेन। ऊ धेरैजसो अफिसमै व्यस्त रहने गर्दथ्यो। जब स्मिता हुर्कदै गरेका छोराहरूको बोली, हाँसो अशोकलाई सुनाउन चाहन्थिन्, अशोक चाहिँ त्यति नै टाढा भागेको महसुस हुन्थ्यो। फुर्सदका बेला स्मिता अशोकको नजिक जान खोज्थी, ऊ उत्ति नै टाढा भइदिन्थ्यो। ‘दुई छोराहरू जन्मिएपछि आफूले के अपराध गरेको थिएँ र,  अशोक यसरी टाढिँदै गएको हो,’ स्मिताले सुरुमा बुझ्नै सकिनँ।

बिस्तारै स्मिताले बुझ्दै गइन्। अशोकलाई उसको स्पर्शसमेत मन पर्न छाडेको थियो। अब त अशोक अफिसको कामले हप्तौं दिन बाहिर जान थालेको थियो। आफ्ना दुवै छोराहरूको पालनपोषणको सम्पूर्ण जिम्मा स्मिताको काँधमा आइ पर्यो। केही दिनअघि मात्र उनले छोराहरूको चौथो जन्मदिन मनाएकी थिइन्। अशोक अन्य पाहुनाजस्तै अबेर आइपुगेको थियो। त्यस दिन केही व्यक्तिहरूले अशोकको बारेमा कानेखुसी गरेका उनले सुनेको थिइन्। स्मिताले अरुको कुरामा खासै ध्यान दिइनन्। केही दिनपछि यस्तो घटना भयो कि त्यसले स्मिताको जीवनमै परिवर्तन ल्याइदियो।

एक दिन दीपिका एउटा निमन्त्रणा कार्ड लिएर आइन्। उसले काम गरेको रेडियो स्टेसनले पूर्वकर्मचारीका लागि एउटा पार्टी आयोजना गरेको थियो। त्यसमा स्मिता पनि आमन्त्रित थिइन्। अशोक अफिसको कामले बाहिर गएको थियो। बच्चाहरूलाई ‘प्ले स्कुल’मा छाडेर स्मिता होटलमा आयोजना गरिएको पार्टीमा गइन्। त्यहाँ उसले अशोकलाई एउटा केटीको साथमा जाँदै गरेको देखेर पिछा गरिन्। तिनीहरू दुवैजना होटलको कोठामा पसे, तुरुन्त ढोका बन्द गरे। स्मिताले होटलको रिसेप्सनमा गएर सो कोठा नम्बरमा बस्नेहरूको विवरण मागिन्।  रजिस्टरको नाम हेर्दा मिस्टर एन्ड मिसेज अशोक लेखेको देखेर उनी स्तब्ध भइन्। शरीरमा रक्तसञ्चारै बन्द भएजस्तो भयो।

यसैबीच, दीपिका उनलाई खोज्दै त्यहीँ आईपुगिन् र, पार्टीमा लिएर गइन्। स्मितालाई देखेपछि दीपिकाको हाकिमले भन्यो, ‘स्मिता! तिम्रो स्वर अझै पनि स्रोताहरूले सम्झिरहेका छन्। तिमी चाहन्छ्यौ भने फेरि रेडियोमा आउन सक्छ्यौ। तिम्रा लागि हाम्रो ढोका हमेशा खुला रहनेछ।’ पार्टी सकेर स्मिता जसोतसो घर पुगिन। घर पुगेर मन खोलेर रोइन्। आफूलाई छल गरेकोमा भित्रैबाट दुःखी भइन्। आज पहिलोपटक आफू नारी हुनुमा दुःखित भइन्। अशोकको मोबाइलमा पटकपटक फोन  गरिन् तर ‘स्विच अफ’ गरिएको थियो।

अर्को दिन अशोक घर आयो। स्मिताले अफिसको कामबारे सोध्दा ऊ अक्मकायो। होटलको कुरा गर्दा अशोक रिसले रन्थनिँदै  स्मितालाई नानाथरी गाली गर्दै घरबाट बाहिर निस्कियो। स्मितालाई बल्ल बुझ्न थालिन्– किन विगतमा अशोक ऊसँग टाढिँदै गइरहेको थियो। उनले सोचेकी थिइन् कि  बच्चा जन्माएर अशोकलाई बाबु हुने अवसर जुटाएपछि उसले धेरै माया गर्नेछ। यसको साटो अशोकले स्मितालाई उसको जीवनबाटै निकालिसकेको रहेछ। उनले अशोकसँग निक्कैपटक नजिकिने कोशिस गरिन् तर अशोकले कहिल्यै कुरा सुन्न चाहेन। स्मिताले बिन्ती गरिन्,  हात जोडिन्, छोराहरूको अनुहार सम्झाइन्, झगडा गरिन्, अहँ अशोकको मन पग्लिएन।  हरेकपटक अशोकले दुई शब्दबाहेक केही बोल्दैनथ्यो। ‘छोराहरूको पालनपोषणका लागि खर्च दिन्छु, तर मेरो निजी जिन्दगीमा कुनै चासो नदिनू,’ अशोकको जवाफ यस्तै हुन्थ्यो। 

स्मिताले एक मनले माइत जाने सोच बनाएकी थिइन्। अर्को मनले सोचिन् कि माइतमा पनि के गर्नु ? बच्चाहरूको भविष्य सम्झिइन्, मानिसहरूको अनेक शब्दबाण सुन्नुपर्ने हुन्छ। उनले आफूलाई असहाय महसुस गरिन्, जीवनमा यति साह्रो अपमानित भएको कहिल्यै महसुस भएको थिएन उनलाई। अचानक स्मिताले पहिले आफूले काम गरेको रेडियोको हाकिमको शब्द ‘तिम्रा लागि हाम्रो ढोका हमेसा खुला रहनेछ,’ भन्ने वाक्य सम्झिइन्। उनले तुरुन्त फोन गरेर रेडियोमा फेरि काम गर्न इच्छुक भएको जानकारी गराइन्।
स्मिता त्यो अपमानको जिन्दगीबाट बाहिर निस्कन चाहन्थिन्।
स्मिताको मनको एउटा कुनामा अझै आस छ। कुनै दिन अशोकलाई आफ्नो गल्ती महसुस हुनेछ अनि ऊ घर फर्कनेछ। तथापि, सधैं एउटा प्रश्न उनको मनमा आउने गर्छ, के उनले अशोकलाई माफी दिन सक्छिन् त ?

प्रकाशित: १ माघ २०७५ ०९:२८ मंगलबार

कथा एउटा_प्रश्न विक्रम_गुरुङ