अन्य

लघुकथा

सरस्वती श्रेष्ठ ‘सरु’

बाको श्राद्ध
बाको वर्ष दिनको तिथि नजिकिँदै गर्दा आमा शहरमा पुगिन्। आमाको मुख हेर्ने दिन नजिकिँदै थियो। शहरमा छोराछारी व्यस्त भै रहने हुँदा आमा आफैं पुगिदिए पछि उनीहरूलाई सजिलो होला भन्ठानेर। त्यहाँ पुगेर उनी नाति नातिनासँग रमाइन्।  
छोराले सोध्यो, ‘घर कहिले जाने आमा ?’
म त औँसीपछि बाको श्राद्ध गरेर जान्छु।
आमाको कुरा काट्दै छोराले भन्यो, ‘कहाँ गर्ने श्राद्ध ? अबको जमानामा पनि मरेको मान्छेका लागि श्राद्ध गरेर बस्छन् ? कति हतार छ। अफिसमा छुट्टी पाइँदैन। भनेको बेला पंडित पाइन्न।’
छोराको कुरा सुनेर आमा दंग परिन् र भनिन्, ‘भैगो त नि बाबु म गाउँमै गएर गर्छु बाको श्राद्ध।’
छोराको नियत थाहा पाएर उनी भोलिपल्टै गाउँ फर्किन्।

विह्वल पात
“तिमी नभए म त उजाड उजाड हुन्थेँ।” एकदिन रुखले पातलाई भन्यो। र भन्यो “तिमी छ्यौ र पो म हराभरा भएको छु।, नाचेको छु, रमाएको छु।
“खुब स्वाङ् पाछौं  नि मेरो अगाडि।” पातले नखरा पादैं भनी। “कसरी तिमीलाई विश्वास दिलाउँ  प्रिय  पात ?” रुखले भावुक हुदै भन्यो। “तर बिछोडको पीडा त खप्नु नै छ एक दिन। तिमी त्यतिबेला के गछौं ?” पातले सोधी। “त्यसैले शिशिर ऋतु कहिल्यै नआओस् भन्ने लाग्छ मलाई।” रुखले दुःखी हुँदै भन्यो।
“शिशिर नआइ बसन्त कसरी आउँछ त ?” पातले सम्झाई। बसन्तको कुरा आउनासाथ रुखले अनुहार चम्किलो बनायो र अझै मायालु पाराले नियाल्यो पातलाई। यतिन्जेल पात भने अत्यन्त निन्याउरो मुडमा थिई। ऊ सुसाउँदै थिई झर्नु अगाडिको खुसी।

पहिरो
जायजेथा  केही थिएन उसको, मास्टरी पेसा बाहेक। तैपनि जेनतेन दुई छोरा, आफू र बुढीलाई पालेको थियो। दःुख गर्र्दै छोरालाई निजि विद्यालयमा पढायो। छोराले पनि राम्रै पढे। सम्पत्ती कमाउन नसके पनि छोराको लगनशीलता देखेर उसलाई सन्तोषै लाग्थ्यो। छोराहरुले राम्रो पढेका छन् अवश्य केही गर्लान् भने सोच्थ्यो।
नभन्दै ठूलो छोराले अध्ययन सकेपछि प्रोजेक्टमा जागिर खान थाल्यो। आमा मुटुको रोगी थिइन्। नियमित औषधि सेवन गर्नु पर्ने। छोराले जागिर खान थाले पछि बिस्तारै आम्दानीले खर्चको भार कम हुदै जान थाल्यो। यसै वीच छोराको विवाह गरि घर बसाइ दिने कर्तव्य पनि पूरा गर्‍यो। बुहारी पनि जागिर खाएकी नै परी। दुवैले भाइलाई पढाइबाट उतार्लान्, घरको मुहार फेर्लान् र बाबु आमाको ऋणको भार पनि हल्का पार्लान् भन्ने भरोसा लाग्यो उसलाई।
एकदिन छोरा अबेला एक्लै घर फर्कियो। बुहारी अफिसबाटै माइत गएको जानकारी गरायो। उसले केही प्रतिक्रिया दिएन। आमाले औषधि सकिएको कुरा राखी। “अब म औषधि ल्याउन सक्दिन। खर्च धान्न गाह्रो भैराछ’, छोराले भन्यो, ‘घर पनि साँघुरो भयो, उता  भाइको पढाइको खर्च धान्न पनि  मुस्किल छ। मैले अब मेरो भविष्य पनि त हेर्नु पर्‍यो। त्यसैले मैले भान्छा छुट्टयाउने निधो गरें।’
वातावरणमा सन्नाटा छायो। उसको छातीमा नराम्ररी पहिरो गयो।

परिवर्तन
रेष्टुरेन्टमा पाँच थान परम्परागत महिला आधुनिक शैली बोकेर बसेका छन्।
‘के खाने भन केटी हो।’
‘मेनु हेर ! अलि सफ्ट कुरा  मगा न’, दोस्रीले भनी।
‘केको सफ्ट कुरा भनेकी ? हामी मान्छे  यो परम्परागत शैली त आधुनिक बोकेर हिँडेका हौँ नि। त्यसैले वाइन सहित चिकेन रोस्ट मगाउँ।’
‘हो नि ! कति सधै चिया कफी मात्र पिउने है ?’, चौंथीले आफ्नो आधुनिक शैलीको मेनु टक्रयाई। बेयराले सबै कुरा टेबुलमा ल्याएर राखिदियो। बोतल गिलासमा पोखाइयो। गिलास ठोक्किँदा संगीत गुञ्जियो। हाँसोको फोहोरा छरियो।
‘भित्र जे भए पनि बाहिर हाँसेर बाँच्न जान्नुपर्छ हैे’, एउटीले भनि।  
‘हो नि ! तैंले ठिक भनिस्’, होमा हो मिलाउँदै अर्कीले थपि।
‘जिन्दगी नाटक त रहेछ, त्यसका अभिनेत्री हामी।’
‘केही मिठो बात गर ......रात त्यसै ढल्किँदैछ, भरे फेरि एकान्तमा रुनु त छँदै छ ....।’
एउटीले लरबराउँदै नारायणगोपालको गीत गुन्जाई। पुनः हाँसोले कोठा गुन्जियो। हाँसो सेलाएपछि एउटीले भनी, ‘रुने कुरा छोड्दे यार ! यहाँ हामी त आफू र आफ्नो पीडा भुल्न आएका। रातको कुरा नगर्। यो सम्झकि, हामीसँग दुख्ने कुनै घाउ छैन। रुने रात छैन।’
अर्कीले गम्भिर हुँदै भिन, ‘आधुनिक हुनलाई सोंचमा पो परिवर्तन गर्नुपर्छ। यसरी बोतल रित्याएर आधुनिक भइन्छ होला त ?’
‘भोभो आदर्श नछाँट, तेरो आदर्शले केही हुने वाला छैन’, अर्किले उडाई सिगरेटको धुवाँसँगै उसका कुरा।
‘तिमीहरु जे सुकै भन, तर हामी गलत गर्दैछौँ। परिवर्तन नै हुनु छ भने हामी बाँच्दै आएको परिवेश बदल्ने बाटो बनाउँ। भत्काउँ यी परम्परागत गौँडाहरुलाई। जसले हामीलाई हत्कडी लगाइ रहेका छन्’, यति भनेर ऊ बाहिरिई। अरु चार जना ऊ जाँदा भएको खालीपन हेरिरहे।

परीक्षा
‘म तिमीलाई भोग्न चाहन्छु बिनित ! मैले यसो भने कसो होला ?’ बिनिताले जिस्किई। अचानक यस्ता कुरा सुनेर बिनितले भन्यो, ‘एउटी प्रेमिकाले विवाह अघि नै यसोभन्दा मलाई अचम्म लाग्छ– तिमी होशमा त छ्यौ ?’
‘एउटा पुरुषले यस किसिमको प्रस्ताव राख्दा कुनै आश्चर्य नहुने। एउटी महिलाले यसो भन्दा आश्चर्य किन ?’, पूनः प्रश्न गरि।
‘नारीहरु स्वभावैले अन्तर्मुखी हुन्छन्। अतः आफ्ना इच्छा लुकाएर राख्ने गर्छन्। यसरी कहाँ उजागर गर्छन् र ? त्यसैले तिम्रो कुराले म अचम्मित भएँ’ भन्यो विनितले।
‘तर म त लुकाउन सक्दिन आफ्नो इच्छा। म अरु जस्तो नारी होइन है’, विनिता दृढ बनि। ‘उसो भए त मलाई झन् सजिलो हुने भयो नि ! मैले पनि त्यस्तै खोजेको’, बिनितले ठट्टाको शैलीमा भन्यो।
‘खुब हो ? भित्रभित्र डराइरा’ होला यो केटी त कस्ती रहिछे भनेर। भैगो नडराऊ तिम्रो मन पो चोर्‍या त।’, बिनिताले उसको मनेभाव बुझे झैँ भनि।
बिनित खिस्स हाँस्यो। उसको हँसाइमा बनावटीपन थियो।

प्रकाशित: २८ पुस २०७५ ०३:३२ शनिबार

लघुकथा पुरुष