अन्य

हिन्दू दर्शनको प्रयोगशाला

रेखा कोइराला
तीनपुस्ता अघि देखि हामी चाबहिलमा बसोबास गर्दै आएका छौं। धार्मिक–आध्यात्मिक परिवार भएको हुँदा हजुरबुवाले पशुपतिनाथको सेरोफेरोमैं बस्न रुचाउनुभएको रहेछ। मलाई सम्झना छ– कलेज जाने क्रममा पशुपतिनाथको पश्चिम ढोका दर्शन नगरी अघि बढ्दिन थिएँ। साथीसंगी पनि त्यसै गर्थे। हामी कुरा पनि गथ्र्यों–हाम्रो देशलाई विश्वमा चिनाउने पशुपतिनाथलाई फोहरले चारै तर्फबाट छोपेको छ ! हामी भगवानलाई पुकार गथ्र्योंं–हे भगवान् ! कमसेकम एक जनालाई त पठाईदेऊ जसले वनकालीदेखि भगवानको मूल मन्दिर हँुदै आर्यघाटसम्म हेर्न लायक बनाईदेओस्।

पशुपतिनाथ  दर्शन गर्न गौशालाको प्रहरी प्रभागबाट बायाँ पट्टीको बाटो हिँड्यो भने दाहिनेपट्टि करीब १५० रोपनी जती वनक्षेत्र छ जसलाई वनकाली पनि भनिन्छ। पशुपतिनाथ आउने आगन्तुकले वनकाली क्षेत्र   अवलोकन नगरी अघि बढ्नै सक्दैन। त्यस्तो महत्वपूर्ण क्षेत्र दशकौं अघिदेखि असरल्ल छाडिएकाले त्यहाँ असामाजिक क्रियाकलाप हुन्थ्यो। नाङ्लो पसलसमेतले गाँजा, भाँङ बिक्री गर्दै गरेको दृश्य सामान्य थिए। दर्शनार्थीले मुख छोप्दै दायाँ बायाँ नहेरी सोझै मन्दिरतर्फ हानिनु पथ्र्यो। फोहरको त कुरै नगरौं, चिल र गिद्धहरुले सीनो झम्टिरहेका हुन्थे।

तीनवर्ष यता परिस्थिति बदलिएको छ। यो क्षेत्र पुरै सफा छ। पुरै क्षेत्रमा पर्खालको निर्माण गरी त्यसमा ठूल्ठूला रेलिङ्गहरु लगाईएका छन्। पहिला फोहर सफा गरियो। अनि बोट बिरुवा रोपिएको देखियो। फुटपाथ बन्दै गए। दुबो रोपियो। फूलका बोटले वासना छर्न थाले। एक प्रकारको दिव्यताको आभास संचारित हुन थाल्यो। हेर्दाहेर्दै यो स्थान एउटा बृहद् उद्यान बन्यो।

मर्निङवाकको समयमा पनि टक्क रोकिएर उद्यान निर्माता प्रति अनायासै कृतज्ञता व्यक्त गर्दै भन्छन्– ‘गरे पछि न हुने के रहेछ र ?’ धन्य छन् यसका निर्माताहरु !

सुन्दरताले सबैलाई लोभ्याउँछ। सुन्दरता भित्र लुकेर बसेको रहष्य उजागर गर्न पाइयो भने मानवीय गुणले भरिएको मानिस रून थाल्छ। त्यो रुवाई नै आनन्दको पराकाष्ठा हो। हामी दुई दिदीबहिनीले पनि त्यस्तै अनुभव गर्‍यौं। त्यो उद्यान भित्र प्रवेश नगरी हामीलाई हुँदै भएन। उद्यान अझै पनि निर्माणधीन छ।  ठाउँ ठाउँमा लेखिएका पनि छन्– ‘प्रवेश निषेध। फोटो खिच्न मनाही छ।’तर के गर्ने यो मन छ नि ! अर्धैय भइसक्यो–सुन्दरताको रसास्वादन गर्न। हामी उद्यानका प्रबन्धकज्यूसँग हामीले आग्रह गर्‍यौं। ति सज्जनले भने– तपाईंहरु जस्ता मुमुक्षुहरुकै निम्ति त स्वामी श्रीहरिदासजीले यो बनाई दिनु भएको हो। एक छिनको भ्रमणले तपाईंहरुको प्यास मेटिन्छ भने, आउनुहोस् भ्रमण गर्नुहोस्। दुवोमा चाँही न टेक्नु होला।’

निज सज्जनको नाम रहेछ–गोविन्द पौडेल। उहाँले हाम्रो भ्रमणको प्रारम्भमै भन्नुभयो–हेर्नुहोस् यो उद्यान केवल ढुङ्गा माटोले वा अन्य निर्माण सामाग्रीले बनेको आम पार्क मात्र होइन। यसको भौतिक सुन्दरताले तपाईंहरुलाई सन्तुष्ट त पार्ने नै छ साथै तपाईंहरुले एक घण्टा मलाई दिन सक्नुभयो भने म यसको आध्यात्मिक ‘थिम’ पनि बताउँला। त्यसपछि बल्ल भौतिक र आध्यात्मिक दुबै लाभ प्राप्त गर्नु हुने छ।’

भगवानसम्म पुग्ने कसरी ? त्यहाँसम्म पुग्ने उपयुक्त बाटो कुन हो ? भक्ति के हो ? भगवानले रासलीला कहाँ, कहिले गरेथे ? महारासमा को को संलग्न भएका थिए जस्ता प्रश्नहरुको रहस्योद्घाटन मार्मिक ढंगले यो उद्यानमा गरिएको छ।

म पत्रकारिता र संस्कृतिको विद्यार्थी भएकाले साथमा क्यामरा र रेकर्डर हुन्छ। यस पटक पनि मौका पाउनासाथ अवसरलाई उम्कन दिईन। गोविन्दजीले सिंढी माथि उभिएर भन्नुभयो, –‘यो उद्यान विश्वको पहिलो आध्यात्मिक थिम पार्क हो। यसका लागि पशुपति क्षेत्र विकास कोषले करीब एक सय रोपनी जमिन श्री राधा माधव समितिलाई उपलब्ध गराएको हुँदा यस स्थानमा श्रीहरिदासजीले आफ्ना गुरु जगद्गुरु श्री कृपालुजी महाराजको स्मृतिमा उद्यान निर्माण गरी भगवान पशुपतिनाथमा समर्पित गर्नु भएको छ।

स्वभावैले यो देवपत्तन पशुपति क्षेत्र भएको हुँदा यो उद्यान पनि शिवस्वःनै हो। यहाँ भौतिक रुपले जे जति निर्मित छन् ति सबै सनातन धर्मसंग तादात्म्य राख्ने गरी हिन्दू दर्शनमा आधारित छन्। जुन ‘थिम’ मा यो निर्मित छ त्यस्तो आध्यात्मिक ‘थिम पार्क’ विश्वमा अन्यत्र कतै बनेका छैनन्। त्यसकारण यो उद्यान नेपालको गौरव पनि हो।

उद्यान थुप्रै वाग, वगैंचा, वाटिका र कुञ्जहरुको एकीकृतरुप हो। यहाँ मूलतः भगवान शिव र पार्वतीको लीलासंग तादात्म्यता राख्दै राधाकृष्ण र सीताराम अनी देवीहरुको व्याख्या गरिएको छ। हिन्दू दर्शन बारे अनभिज्ञ देशी–विदेशी जनलाई यो उद्यानको आद्योपान्त अध्ययन भ्रमण गरेपछि आफूले हिन्दू दर्शनबारे मनज्ञ बुझेको अनुभूति गर्ने छन् भन्ने विश्वास लिएको ति सज्जनले बताए।

भ्रमण क्रममा हामीलाई करिव २ घण्टामा जे जति बताइए ति सबै कथा यो छोटो आलेखमा समेट्न सकिँदैन। सनातन धर्ममा राम, कृष्ण र शिव सबैलाई भगवान भनिन्छ। यि भगवानमा भिन्नता छैन भन्ने शास्त्रीय प्रमाण प्रस्तुत गर्दै उद्यानमा भनिएको रहेछ –यी तीनै भगवानहरु प्रयोजन भेदका कारण मात्र अलग अलग नामले पुकारिने हुन्, मुलतः यी एकै हुन् भन्दै सबैको समन्वय यहाँ गरिएको छ।

भगवानसम्म पुग्ने कसरी ? त्यहाँसम्म पुग्ने कति बाटा छन् ? उपयुक्त बाटो कुन हो ? भक्ति के हो ? विश्वमा कति प्रकारका भक्ति छन् ? भगवान शंकरका विभिन्न नामका अर्थ के के हुन् ? भगवानले रासलीला कहाँ, कहिले गरेथे ? महारासमा को को संलग्न भएका थिए जस्ता प्रश्नहरुको रहस्योद्घाटन मार्मिक ढंगले यहाँ गरिएको छ। कूशल शिक्षकले शिष्यहरुलाई जसरी प्रयोगशालामा राखेर विषय वस्तुको केस्राकेस्रा केलाउँदै संझाउँछ, त्यसैगरी यो उद्यानलाई पनि हिन्दू दर्शनको प्रयोगशाला नै भनिदिए फरक पर्दैन।

ब्रम्ह, जीव र माया भनेको के हो ? गाडी चालकलाई समेत ‘गुरु’ भन्ने गरेको हाम्रो समाजलाई गुरुतत्वको महत्ता सम्झाउनकै निम्ति निर्मित ‘महापुरुष चौतारी’ र ‘सद्गुरु सेतु’ को कथा कल्पनातीतझै लाग्दछन्।

स्कन्द पुराणमा उल्लिखित प्रमाण प्रस्तुत गर्दै ६४ वटा ज्योतिलिङ्गहरु काठमाडौँ उपत्यकाको सेरोफेरोका जिल्लामा भग्नावशेष अवस्थामै भए पनि छन्। तिनले स्वयं पशुपतिनाथलाई सशक्तिकृत गरिराखेका छन् भन्ने उद्यानमा पुगेपछि मात्र थाहा पाइयो। भारतमा भएका १२ ज्योतिलिङ्गहरुनै आधिकारिक हुन भन्ने ‘अफवाह’ फैलाएका भारतीयहरुको षड्यन्त्रको ‘पर्दाफास’ पनि उद्यानले गरिदिएको छ।

भगवान कृष्णलाई मार्न कंसले अनेकौं कुकृत्यहरु कहाँकहाँ गर्‍यो ? राम र सीताको पहिलो भेट कहाँ भएथ्यो ? श्री कृष्णले यो ब्रम्हाण्डका जीवलाई इन्द्रको कोपबाट कसरी र कहाँ उद्धार गर्नुभयो ? भन्ने बडो मार्मिक ढंगले यहाँ संझाइएको छ। सीताले गौरी (पार्वती) को आराधना कहाँ गर्थिन् ? शिवधनुष भनेको के हो ? यसलाई कहाँ राखिन्थ्यो, जस्ता कुराहरु जसरी निर्माण कार्यहरुसँग जोडेर वर्णन गरियो, त्यो अद्भुत नै छ।

उद्यानले आध्यात्मिकताका अतिरिक्त भौतिक कुरालाई पनि त्यत्तिकै महत्व दिएको पाइयो। सदियौंदेखि वर्षातका समयमा चावहिलदेखि बग्दै आएको पानीले वनकाली क्षेत्रका डाँडा ध्वस्त बनाइदिएका थिए। अब त्यस्तो पानी उद्यानमा आइपुगेपछि नियन्त्रित हुने व्यवस्था यहाँ गरिएको छ। गौरी कुण्ड लगायत अनेकौ पोखरी र इनारहरु जो यहाँ देखिन्छन्, तिनले आगन्तुकहरुलाई पृथ्वी माताको ऋणबाट मुक्त हुने जुक्ति सिकाई रहेका छन्। आध्यात्मिक शिक्षाको हवाला दिँदै पर्यावरण संरक्षण, भूक्षय नियन्त्रण र बाढी पहिरोको रोकथाम कसरी गर्ने ? भन्ने कुराको समाधान यहाँ जसरी गरेरै देखाइएको छ, त्यस्तो कर्म बडेबडे नामचलेका इन्जिनियरिङ्ग अध्ययन संस्थानले समेत आजसम्म गरेका छैनन्।  

मरेको जनावरका सिनो र फोहर टिप्न छिनाझपट गर्ने गरेका गिद्द र चिलहरुलाई सुगा, ढुकुर र चमेरो अनि परेवाहरुले विस्थापित गरी उद्यानमा घर गरेको देख्न पाउँदा स्वयं शिव र पार्वती कति प्रशन्न भए होलान् ! अन्त्यमा, हामीले भारत लगायत युरोप, अमेरिका अनि क्यानडा समेतका धेरै बगैंचा देखेका छौं। तर विश्व सम्पदामा सूचीकृत भगवान पशुपतिनाथ परिसरमा यस्तो उद्यान बनेको छ। यो हाम्रो गौरब हो। यो कृपालु उद्यान भ्रमण गरिसके पछि आत्मविश्वास बढेकाले हामी फेरी भन्छौं–गरेपछि नहुने के रहेछ र ?

प्रकाशित: २८ पुस २०७५ ०३:०८ शनिबार

हिन्दू दर्शन प्रयोगशाला भ्रमण