अन्य

सम्भावनाको ‘भण्डार’

भीमेश्वर मन्दिरसँगै रहेको त्रिपुरा सुन्दरीको मन्दिरको तल्लो भेगमा पर्छ ‘नागदह–फूलपा–सोक्ला’ गाउँ। यी गाउँ जति सुन्दर छन्, त्यति नै सम्भावनायुक्त पनि। यी क्षेत्रमा सहासिक तथा धार्मिक पर्यटनका माध्यमबाट पर्यटन आवागमन बढाउन सकिने स्थानीय बताउँछन्।

सोक्ला गाउँको तल्लो क्षेत्रमा बग्ने तामाकोशीमा र्याफ्टिङको सम्भावना छ। खेलाप–सोक्लामा पहिपुल भीर छ। यसमा ‘वाल क्लामिङ’ गर्न सकिन्छ। सोक्ला–चक्पाको माथिल्लो भेगमा गुमडाँडा छ। यहाँबाट प्याराग्लाइडिङ गर्न स्थानीय बताउँछन्। गुमडाँडाबाट प्याराग्लाइडिङ उडान भरेर न्यागलको पाखामा जुनसुकै सिजनमा अवतरण गर्न सकिन्छ। यहाँ पहिपुलको मुहान छ। यहाँको पानी जुनसुकै समयमा पनि मनतातो हुन्छ। चिसो मौसममा भने पानी झन् तातो हुने गरेको छ।

त्रिकोणात्मक हाइकिङ रुट
खेलापको पानीघट्टबाट खोलाको तिरैतिर भएर न्यागल भएर नागदह पुगिन्छ। यसपछि मूलबाटो हुँदै फूलपा–स्याङकुचा–टुटेपानी हुँदै दोलखा भीमसेन मन्दिर जान सकिन्छ। यसपछि दोलखा बजार परिक्रमा गरी गङरास, डिलढुंगा देवीथान हुँदै सोक्ला खेलापमा हाइकिङ गर्न सकिन्छ। यो करिव तीन घण्टाको ‘त्रिकोणात्मक हाइकिङ रुट’ हो।

यस क्षेत्रको प्रसिद्ध मन्दिर ‘डिलढुंगा सेती देवी थान’ हो।  चार गाउँको बीचमा पर्छ ‘डिलढुंगा’। भीरको डिलमा छ ढुंगा। हेर्दा सामान्य तर धार्मिक दृष्टिकोणले अक्षुण छ। यहाँ प्रत्येक कात्तिक पूर्णिमा भव्य धार्मिक मेला लाग्छ। फूलपा, चक्पा, डाँडा गाउँ, सोक्ला–खेलापको संगम स्थल हो ‘डिलढुंगा’। जहाँ दुई ठूला ढुंगा छन्।

सत्य युगमा सात दिदीबहिनी तामाकोशी थुनेर ताल बनाउन आएको कथा छ। स्थानीयका अनुसार कालिञ्चोकको डिलै डिल भएर आउने क्रममा सेती देवीको छोरीले दुध खान खोज्दा दुध खुवाउने क्रममा भाले बासेपछि सोही ठाउँमा सेती देवी ढुंगाको रूपमा बसेको कथन छ।

टुटेपानीमा तिब्तियनहरूले बनाएको पुराना माने र छ्योर्तेनको भग्नावशेष अझै बाँकी छ। यस विषयमा खोज तथा अनुसन्धान हुन सकेको छैन। नागदह–फूलपा–टुटेपानीमा सिंगटी जाने पुरानो मूल बाटो पर्छ। तर, अहिले माथिल्लो क्षेत्रबाट सवारी चल्न थालेपछि बाटो चल्न छाडेको छ। विगतमा यो बाटो भएर विदेशी पर्यटक गौरीशंकर, विगु, च्छोरोल्पा जाने गरेका थिए। 

यहाँका हरेक घरबाट गौरीशंकर रेन्जको सबै हिमशृंखला सहजै देख्न सकिन्छ। यो क्षेत्र सम्भावनाको ‘भण्डार’ रहेको स्थानीय बताउँछन्। त्यसकारण यहाँको प्रचारप्रसार गर्न सके पर्यटन व्यवसायबाट यहाँको कायापलट गर्न सकिने स्थानीय दाबी गर्छन्। त्यसैले सरकारसँगै उनीहरूको माग छ–यहाँको विकास होस्।

प्रकाशित: २८ पुस २०७५ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App