अन्य

‘सहरवासी कठोर लाग्छन्’

राजु परियार, लोकगायक

तपाईँको विचारमा सहर भनेको के हो ?
सहर भनेको सुविधायुक्त व्यवस्थित बस्ती हो। सहरको जनसंख्या धेरै हुन्छ। त्यहाँको प्रशासनले त्यसै अनुसारको सुरक्षा तयारी व्यवस्था लागू गरेको हुन्छ। सहरमा देशकै चिनारी लुकेको हुन्छ। सहर हेर्नेबित्तिकै त्यो देश कुन स्तरको हो भन्ने जानकारी हुन्छ। अर्को कुरा, सहरमा सेवा सुविधासँगै गाउँलेपन पनि पाइन्छ।

हाम्रा सहर त्यस्ता छन् त ?
हाम्रा सहर आधुनिकताको हिसाबमा निकै पछि छन्। मौलिक कला संस्कृतिले भरिपूर्ण भए पनि हिजोको मौलिकता जोगाउने गरी सरकार र आम नागरिकले काम गरेको देखिन्न। हाम्रै हेलचेक्र्याइले सहर बिग्रन थालेको छ।

घुमेकामध्ये मनपर्ने सहर ?
मलाई काठमाडौं र पोखरा ज्यादै मनपर्छ। काठमाडौंको मौसम सदावहार छ। यहाँ हिउँदमा बढी जाडो र गर्मीयाममा बढी गर्मी हुँदैन। तर, अस्तव्यस्तता सम्झँदा काठमाडौं दिक्क लाग्छ। पोखरा धेरै मानिसको सपनाको सहर हो। त्यहाँको फेवा ताल हेर्दै आनन्द लाग्छ।

नेपालबाहिर मनपर्ने सहर ?
अलि मनपरेको देश अष्ट्रेलिया हो। युरोपका धेरै सहर सुन्दर छन्। त्यहाँका सहर आधुनिक र सफा छन्। त्यहाँको पुरानो कला संस्कृतिले पुरानो सभ्यता झल्काएको छ। मैले घुमेका धेरै सहर सुन्दर र शान्त थिए। सहर शान्त पनि छन्। सहरमा बस्नेलाई कुनै पनि समस्या छैन। विदेशी सहर व्यवस्थित हुनुको मुख्य कारण नीति–नियमको पालना हुनु हो।  हाम्रा सहरमा सरकारी नीति नियम लागू गरिएको छैन। सहरमा सबैको मनपरी छ।

काठमाडौं राम्रै ठाउँ भए पनि यहाँ अलि स्वार्थी मानिस बस्छन् जस्तो लाग्छ। सहरवासीको बानी ‘गुजुल्टिएका तार’जस्तै लाग्छ मलाई।

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं देशैभरका नागरिकको ‘जक्सन’ हो। यहाँ विभिन्न कामकाज बोकेर देशैभरका मानिसहरू आएर बसोबास गरेका छन्। सेवा सुविधाको हकमा पनि काठमाडौं अग्रपंक्तिमा छ।

हाम्रा सहर त्यस्तै बन्न सक्दैनन् ?
बनाउने हो भने हाम्रा सहर त्योभन्दा पनि सुन्दर बन्न सक्छन्। तर, जिम्मेवार निकायले सहरको विकासमा चासो दिएन। सहर बनाउने सपना बाँडेर सत्तामा पुग्नेहरू आज सहरलाई भुलेका छन्। उनीहरू भ्रष्टाचारमा पल्केका छन्। यस्तो प्रवृत्तिले सहर विकास होला भन्ने कल्पना गर्न सकिन्न।

सहरलाई व्यवस्थित पार्न सरकारले कसरी काम गर्नुपर्ला ?
सरसफाइ, बाटोघाटो तथा पार्क निर्माण, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथाम लगायत विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्छ। यी कुरालाई ध्यान दिने हो भने काठमाडौं अरु देशका सहरभन्दा राम्रो बन्छ। नीति–नियमको पालना नगर्नु र भएका योजनालाई व्यवहारमा लागू गर्न नसक्नुले काठमाडौं व्यवस्थित हुन नसकेको हो। अहिले जनसंख्याको चाप, फोहोर र अग्ला अव्यवस्थित भवनले काठमाडौंलाई कुरूप बनाएको छ।

नेपालबाहिर कहाँ–कहाँ पुग्नुभएको छ ?
अरबका सबैजसो देश पुगेको छु। युरोपका केही देश, अस्ट्रेलियालगायत देशका सहर पुगेँ।

विदेश र हाम्रा सहरबीच के भिन्नता देख्नुभयो ?
विदेशका सहर धेरै व्यवस्थित छन्। त्यहाँ हरेक ठाउँका नीति–नियम पालना गरिएका हुन्छन्। नागरिक पनि सहरको विकासमा चनाखो हुन्छन्। कसैले सहरको फोहोर देखिसहन्नन्। तर, हाम्रो देशमा नागरिक सहरप्रति त्यति संवेदनशील छैनन्।

के कारणले हाम्रा सहरको विकास हुन सकेन भन्ने लाग्छ ?
सहरवासी, सरकारी निकायकै कमजोरीले गर्दा सहरको रूप बिग्रिएको हो। नागरिक र सरकार दुवै मिलेर सहरको विकासमा जुटेको भए हाम्रा सहर पनि आज गौरव गर्न लायक बन्थे होला।

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
मेरो सपनाको सहर यस्तो होस्, जहाँ सबैखाले सुविधा सहजै पाउन सकियोस्। स्वच्छ हावा, हरियाली, शान्त र सबैखाले सेवा–सुविधा होस्। सबैलाई स्वच्छ र सुविधायुक्त सहरमा बसेको महसुस होस्।   

उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष के हो ?
यहाँको मौसम र पुराना मठ–मन्दिर मनपर्छ। यहाँको मौसम पनि संसारलाई लोभ्याउने किसिमको छ। त्यहीँ हेर्नको लागि विदेशबाट धेरै पर्यटकहरू आउने गरेका छन्। यो पक्षमा हामी अरुभन्दा अग्रपंक्तिमा छौं।

मननपर्ने पक्ष ?
उपत्यकाको आकर्षण र सौन्दर्य भनेकै यहाँका ऐतिहासिक धरोहर हुन्। यी धरोहरले नेपाललाई नै चिनाउँछन्। तर, भूकम्पका कारण हाम्रा धरोहर ढले। तिनको पुनर्निर्माणमा सरकारले खासै चासो दिएको छैन। सबैको नजर सहरलाई मास्नेतर्फ छ। यसको स्वामित्व स्थानीयले लिएका छैनन्। अरु देशका सहरमा स्थानीय नै आफ्नो सहरको साख जोगाउन लागेको देखिन्छ। उपत्यकावासीको ध्यान घरको घेराभित्र मात्र छ। ट्राफिक जाम र धुलोधुवाँ उपत्यकाको सबैभन्दा मननपर्ने पक्ष हो। ढल, बिजुलीका तार पनि अव्यवस्थित छन्।

सहरलाई सफा र सुन्दर बनाउन के गर्नुपर्ला ?
सहरलाई चिटिक्क राख्न सरकार मात्रै होइन, नागरिक पनि जागरुक हुनुपर्छ। जथाभावी फोहोर फाल्ने प्रवृत्ति हटाउनुपर्छ। सरकारले सबैखाले सेवा–सुविधा दिएर सहरवासीको दिक्दारी हटाउन जरुरी छ। सहरमा बस्ने अधिकांश मानिस यहाँको भद्रगोल र झन्झटदेखि हैरान छन्। धुवाँधुलो, ट्राफिक जाम, पार्किङलगायत विषयलाई केन्द्रमा राखेर जिम्मेवार निकायले काम गर्नुपर्छ।

सहरवासीको बानी कस्तो लाग्छ ?
गाउँका मानिस सहरमा आएर रुखो बन्छन्। मैले काठमाडौंलाई धेरै पहिलेदेखि नै चिन्न पाएँ। तर, यहाँ बस्ने मानिसको बानी राम्ररी चिन्न पाएको छैन। काठमाडौं राम्रै ठाउँ भए पनि यहाँ अलि स्वार्थी मानिस बस्छन् जस्तो लाग्छ। सहरवासीको बानी ‘गुजुल्टिएका तार’जस्तै लाग्छ मलाई। यो हेर्दा सहर नै दिक्क लाग्छ। यसबारे सरकारी निकायले सोच्न जरुरी छ।

राजधानीमा पाइने कुन परिकार मीठो लाग्छ ?
गाउँले परिकार मनपर्छ। नेपाली खाना मनपर्छ।

मन भएर पनि पुग्न नपाएको ठाउँ ?
अमेरिका हो। त्यहाँ पनि छिट्टै जान्छु होला।
                                                 प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २० पुस २०७५ ०४:१३ शुक्रबार

लोकगायक राजु_परियार