अन्य

अक्षर–यात्राका उद्योगी

उनी हिउँलाई फूल देख्छन्। फूलमध्ये पनि लालिगुराँस देख्छन्।
मान्छेहरू प्रश्न गर्लान्– सेतो हिउँलाई रातो लालिगुँरास कसरी देख्न सकिन्छ ?
आशंका नै गर्लान्– कतै उनका आँखाको खोट त हैन यो ?
अवश्य हैन। उनी आँखाले हेर्छन् मात्रै, अनुभूति उनको मुटुले गर्छ। जब–जब यात्राको क्रममा उनी देशभित्रै होस् वा मातृभूमि छाडेर विदेश पुग्छन्, त्यतिखेर हिमालयका सेताम्मे हिउँ देख्दा उनलाई डाँडाकाँडामा ढकमक्क फुलेका लालिगुराँसझैं महसुस हुन्छ।
‘यस्तो किन ?’ घनश्याम राजकर्णिकारसामु मैले जिज्ञासा राखें।
‘मलाई त्यस्तै लाग्छ। हिउँ भन्नु फूल हो जस्तो लाग्छ मलाई। हिउँबाट मलाई फूलको बास्ना आउँछ,’ उनले जवाफ दिए।
उनी त्यो बास्नालाई उनी माटोको सुगन्ध भन्न रुचाउँछन्। माटो अर्थात् देश। यस अर्थमा, मूलतः देशबाहिर यात्रा गर्दा उनी पाइला–पाइलामा मातृभूमिलाई सम्झँदै हिँड्छन्। अर्को वाक्यमा, उनको परिचय खोज्ने हो भने आफ्नो मुटुमा देश बोकेर हिँड्ने नियात्राकार भनेर चिने हुन्छ उनलाई।
‘माटोको वन्दना गर्नु नै मेरो नियात्रा–लेखनको उद्देश्य हो,’ उनको स्वीकारोक्ति छ। र, फेरि कहिलेकाहीँ एकान्तमा अलमलिँदै सोध्छन् आपैmँलाई– म यात्रा गर्न जन्मेको हुँ कि नियात्रा लेख्न ?
तर, भन्नेले उनलाई एउटै शब्दले सम्बोधन गर्छन्– ‘नियात्राकार’। हुन पनि करिब आधा दर्जनको हाराहारीमा नियात्रासंग्रह प्रकाशनमा ल्याइसकेका राजकर्णिकारको लेखक–व्यक्तित्वले नेपाली साहित्यको नियात्रा–फाँटमा एउटा अलग्गै र उँचो स्थान बनाइसकेको छ।

उनी हिँडिरहन्छन्। यात्रा गरिरहन्छन्। तर, कसैले उनको यात्राको प्रयोजनबारे सोधे उनको स्पष्ट जवाफ हुन्छ– साँच्चै भन्ने हो भने यात्रा गर्नु मेरो सौख होइन...। पैसा खर्च गरेर रमाइलो गर्नका लागि म यात्री भएको होइन।’
उनी किन गर्ने गर्छन् त यात्रा ?
विरासतमा पाएको उनको एउटा ‘विजनेस’ छ– पाउरोटीको।
नेपालको उद्योग–व्यवसायको क्षेत्रमा एउटा विशिष्ट इतिहास बोकेको ‘कृष्ण पाउरोटी’को व्यापार आज उनैले सम्हालिरहेका छन्। त्यही व्यापारको मेसोमा उनलाई पटक–पटक देशभित्रैका विभिन्न स्थान, मित्रराष्ट्र भारत र तेस्रो मुलुक गइरहनुपर्ने हुन्छ। र, त्यसरी हिँडिरहँदा, धर्मप्रति आस्थावान् उनी ‘बुद्धधर्म’बाट प्रेरित भएका कारण उनले धेरै तीर्थस्थलहरू पनि चहारेका छन्।
‘तपाईँ त कर्मशील मान्छे। तपाईँको कर्म औद्योगिक कारखानामा पो हो त, मन्दिर धाउनु अलिक असान्दर्भिक भएन र !’ मेरो जिज्ञासा।
उनको अनुहार पूरै उज्यालिन्छ। ‘पाइला–पाइलामा यहाँ धोखाघडी छ, विश्वासघात छ। भरोसा गर्न योग्य मान्छेहरूको अभाव आजको संसारको विशेषता बन्दै गइरहेको सन्दर्भमा मान्छेको विकल्पमा मन्दिरभित्र रहेका ढुंगालाई देवता मान्नु मेरा लागि सन्तुष्टिको विषय हो। कमसेकम ढुंगाका मूर्तिहरू मान्छेजस्ता कपटी त हुँदैनन्। हलचल नगरी चुपचाप बसिरहन्छन् ती।’
मानौँ, उनको अभिव्यक्तिबाट प्रष्ट बुझ्न सकिन्छ– व्यापारको क्रममा उनले धेरै मान्छेबाट धेरै पटक धोका खाएका छन्।
‘धेरै मान्छे भनेर के भन्नु, आफ्ना भन्नेहरूबाटै मैले धेरै विश्वासघात बेहोरेको छु, तिनका दुष्ट्याइँ सहेको छु।’ उनको वाक्यमा गम्भीरता झल्किन्छ। यही गम्भीरतासँगै उनी आफ्नै मान्छेले आफूलाई छल गरेको एउटा दुःखद् घटना सुनाउँछन्– एक दिन साँझ अचानक मलाई फोनमार्पmत् भारतको मैसुरीमा अध्ययनरत छोरी दुर्घटनामा परेको खबर आउँछ। त्यसको भोलिपल्टै हामी मैसुर जानका लागि दिल्ली पुग्छौँ। जबकि दिल्लीको एयरपोर्टमै थाहा पाउँछौँ कि त्यो खबर गलत नियतवश मलाई सुनाइएको रहेछ– ताकि म र मेरो परिवार चिन्तामा डुबौँ...। मान्छेहरू यस्ता पनि हुन्छन्– जो अरूलाई पीडा पुर्याएर आफू रमाउन चाहन्छन्।

औद्योगिक घरानाका घनश्याम, जसको परिवारमा एक्लो उनै घनश्याम नेपाली साहित्यको क्षेत्रमा एक मूर्धन्य नियात्राकारको रूपमा उपस्थिति हुनुलाई एक प्रकारले संयोग नै मान्न सकिएला। तर, त्यो संयोग मात्रै पनि होइन। सम्पत्तिले सम्पन्न हुनु एक ठाउँमा होला। तर, साहित्य वा संस्कृतिले सम्पन्न हुनु अर्कै फरक विषय हो।

जन्मजात बौद्ध धर्मावलम्बी उनी, ‘ध्यान’मा रहनु उनको नित्यकर्म हो। भन्छन्– ध्यानमा लीन हुन सक्नु नै बुद्ध–मार्गको सही दिशा हो। अनेकन् प्रकारका पूजा–पाठ र अर्चनाभन्दा सच्चा ध्यानमा मग्न हुन सक्ने हो भने त्योभन्दा ठूलो आत्मज्ञान अर्को केही हुनै सक्दैन। आफूलाई चिन्न सक्ने सूत्र नै ध्यान हो।’
कुनै बेला, आफू संयुक्त परिवारमा रहेको बखत उनको पारिवारिक जीवन एक प्रकारले तहसनहस भइसकेको थियो। तर, पारिवारिक बलमै अथक परिश्रमबाट घनश्याम राजकर्णिकार आज वैभवशाली जीवन बाँचिरहेछन्। एक लेखकको रूपमा मात्र उनलाई जान्नेहरू उनको सम्पन्न जीवन देखेर आश्चर्यचकित त हुन्छन् नै। तर, त्यो सम्पन्नता देखेर इष्र्या गर्नेहरू पनि कम छैनन्। उनको व्यापारिक घराना थाहा नपाउनेहरू कतिपयले त मुखै फोरेका छन्– लेखकले पनि निजी गाडी चलाएर हिँड्न सक्छन् र !
त्यसो त उनको व्यापारिक इतिहासबाट धेरै मान्छे अनभिज्ञ छन्। उनको यो अवस्था अचानक भएको हुँदै होइन। फेरि पनि दोहोर्याऊँ– उनी र उनको परिवारले गरेको परिश्रम र अझ अघि बढेर भन्ने हो भने उनको संघर्षको प्रतिफल हो, अहिलेको उपलब्धि।

व्यापारिक जीवन
२००५ साल, जुनबेला राजधानीमा उद्योग–व्यवसाय शून्यप्रायः थियो। त्यस्तो शून्यतामा पनि ठूलो जोखिम मोलेर बुबा कृष्णबहादुरले नेपालमै कसैले थाहा नपाएको पश्चिमी खाद्य–पदार्थ उद्योगको रूपमा पहिलो पटक कमलपोखरीमा पाउरोटी उद्योगको सुरूवात गरेका थिए।

कलकत्तामा रहँदा नाममुताबिक नै पाउ (खुट्टा)ले मुछेर बनाइएको पाउरोटी देखेका कृष्णबहादुरको अन्तर–चेतनाले आफ्नो उद्योगमा भने त्यसरी खुट्टाले मुछेर पाउरोटी बनाउनलाई स्वीकृति दिएन। भएभरको बल लगाएर हातैले मुछ्न लगाउँथे। तर, अनेक मान्छेका मुख कसरी थुन्न सकिन्थ्यो र ! खुट्टाले नै मुछेर बनाइने हल्ला चलाइयो। उनको औद्योगिक प्रतिष्ठामा आँच आउने गरेर पाउरोटीमा अखाद्य वस्तु मिसाउने गरेको हल्लाले पनि बजार पिटाइयो। फलतः बिस्तारै उनको पाउरोटीको व्यापार सुक्न लाग्यो।

तर, चोखो मनले गरेको चोखो काम त्यत्तिकै खेर किन जान्थ्यो ! कुनै दैवी–दूतझैं एक राणा बाबुसाहेब उनको पाउरोटी–उत्पादनको समाचार सुनेर कमलपोखरी आइपुगे। र, तिनैले उनको खस्कँदो व्यापारको वास्तविकता बुझेर त्यहाँ बिक्न बाँकी पाउरोटी बरोबर किनेर लैजान्थे। त्यति मात्रै होइन, बीपी  कोइरालासमेत आएर उनलाई पाउरोटी उत्पादनको काम रोक्नु हुँदैन भनेर ढाडस दिइरहन्थे। यस प्रकार, समयको प्रवाहसँगै पाउरोटी उद्योगले प्रगति गर्दै गयो।

सात दशकपछि कृष्णबहादुरले शुरू गरेको पाउरोटी उद्योगमा सयौँ ‘भेराइटी’ थपिएका छन्। कृष्ण पाउरोटीलाई यसरी प्रगति–पथमा लैजाने सम्पूर्ण श्रेय २०२९ सालमा तत्कालीन जर्मनीमा ‘बेकरी म्यानेजमेन्ट’ विषयमा एकवर्षे उच्च प्रशिक्षण हासिल गरेका घनश्यामलाई नै जान्छ।

औद्योगिक घरानाका घनश्याम, जसको परिवारमा एक्लो उनै घनश्याम नेपाली साहित्यको क्षेत्रमा एक मूर्धन्य नियात्राकारको रूपमा उपस्थिति हुनुलाई एक प्रकारले संयोग नै मान्न सकिएला। तर, त्यो संयोग मात्रै पनि होइन। सम्पत्तिले सम्पन्न हुनु एक ठाउँमा होला। तर, साहित्य वा संस्कृतिले सम्पन्न हुनु अर्कै फरक विषय हो। जो कोहीलाई यस्तो अवसर जुर्दैन। तर, घनश्यामलाई यस्तो अवसर छ। कर्म, तपस्या, परिश्रम र योग्यताले उनी आज औद्योगिक र साहित्यिक क्षेत्रलाई सन्तुलनमा राखेर हिँडिरहेका छन्।
सुन्ने गरिएकै वाक्य भन्छु म– आजका मान्छेले सुख त बटुलेका छन्। तर, तिनका खुशीहरू भने भने बिटुलिँदै गएका छन् नि !  
‘तर, म खुशी पनि छु।’ यो भन्दा घनश्यामको अनुहार अझै चमक देखिएको थियो।

प्रकाशित: १४ पुस २०७५ ०५:३३ शनिबार

घनश्याम_राजकर्णिकार नियात्राकार डाँडाकाँडा लालिगुराँस