अन्य

डाक्टर भट्टराई

डा. भूमिराज बस्ताकोटी
डा. भट्टराई यति वेला निकै छटपटिएका छन्, सुधार गृहमा राखिएको अम्मलीजस्तो। नामका अगाडिको डा. शब्दले उनलाई झन् धेरै पीडा दिएको छ। न त उनी विद्यावारिधिका डाक्टर न मेडिकल डाक्टर नै ! विचरा उनले गरेका पनि खासै केही थिएनन्। समता भाववश ती बांगा र  टेढा काँक्रालाई सिधा गर्न सुई लगाउँदा छिमेकीले देखेछन् अनि त त्यही दिनदेखि डा. भट्टराईका रूपमा चर्चित भए।

गोर्खा पालुङटारका किसान उनी, अहिले गाउँ नै छाडेर गोर्खा बजारतिर बरालिएका छन्। आफ्नो छटपटी कम गर्न बेलुकीतिर स्वाट्ट एकदुई पेग लगाउँछन् र सितलो खोज्दै ऐतिहासिक चौतारोतिर उक्लने गर्छन्। हिजो उनको तराईका मित्र देवेन्द्र यादवसँग भेट भएको, दुवै मिलेर पिउन बसेछन्। हुन त यादव अलि धेरै नै पिउने मान्छे हुन्। तर, यस पटक सात पेग लगाउँदै गर्दा ढलि नै हाले। तर, डा. भट्टराईलाई एक पेग पिउँदापिउँदै छटपटी घट्लाभन्दा झन् बढेको महसुस भयो। त्यसपछि उनी यादवलाई त्यहीँ छाडेर डा. भट्टराई शितलता खोज्दै उही ऐतिहासिक चौतारोतिरै उक्लिए।

‘न्याय पाऊँ सरकार !’
डा. भट्टराईले कसैको ओझिलो आवाज सुने। यसो आवाजतिर नजर लगाएका त झन्डै पछारिएका। उनले आँखा जोडजोडले मिचे, गालामा दुई/तीन पल्ट प्याट्टप्याट्ट हाने पनि ! तर फेरि उनी झस्कने गरी उस्तै आवाज आयो, ‘न्याय

पाऊँ सरकार !’
म पृथ्वी, यो कथाको आख्याता। मबाट यसका आख्यानकारले थुप्रै आख्यान कथ्न लगाइसके। खोई, सुन्नेले कसरी लिएका छन् ! तर, उनले मलाई प्रयोग गरिरहेकै छन्। यसपटक पनि उनले मलाई फेरि उभ्याएका छन्। चर्काे आवाजसँगै त्यहाँ देखिएका दृश्यले डा. भट्टराई बेहोस भएपछि आख्यानकारले मलाई अघि सारेका छन्। अब म जे बोल्दै छु, वास्तवमा त्यो मैले देखेको होइन; जो देख्नेवाला हो ऊ त ढलिसकेको छ। त्यसैले यो अब कथिने आख्यानप्रति तपाईं प्रशस्त शंका फाल्न सक्नुहुन्छ। 

आगन्तुकको परिचय सुनेर कचहरीमा बसेका राजा राम शाह झन्डै लडेका ! आगन्तुकले भन्यो, ‘महाराज !’ एकछिन रोकिएर ऊ पुनः बोल्यो, ‘हुन त तपाईं पनि राजा म पनि राजा, यो महाराज चाहिँ नभनौँ कि क्या हो, कसो हुन्छ ब्रो ?’

आख्यान यस्तो छ, ‘न्याय पाऊँ सरकार !’ 
हातमा तरबारसहित पूरै राजषी ठाँटमा उभिएको व्यक्तिले गर्विलो आवाजमा बोल्यो। चौतारामा बसेका राजा राम शाहले आश्चर्य भावसहित आगन्तुकतर्फ हेरे। कचहरीमा भेला भएका भारदारहरूले पनि राजाको दृष्टिलाई पछ्याए। 
आगन्तुकले गर्विलो रबाफी बोलीलाई विनयमा रूपान्तर गर्दै फेरि बोल्यो, ‘न्याय पाऊँ सरकार !’
राम शाह अक्क न बक्क भएर आगन्तुकलाई हेरिरहे। न्याय माग्न उनीकहाँ अहिलेसम्म आएका मानिसभन्दा यो आश्चर्यलाग्दो गरी भिन्न थियो। उनले आफ्नो शरीरतिर हेरे, अनि फेरि आगन्तुकतर्फ हेरे। आगन्तुकका शरीरमा उनका भन्दा धेरै बहुमूल्य रत्नले निर्मित मालाहरू, सुरक्षा कवच तथा त्यस्तै बहुमूल्य पहिरन शोभायमान थियो। गुरुबाट महाभारतको कथा सुनेका उनले कताकता महाभारतबाट कुनै महाराज फुत्त आएझैँ माने। सपना पो हो कि भन्दै एकपटक आपलाई चिमोटे। तर, होइन रहेछ। 
के बोलूँ के बोलूँको स्थितिमा सानो स्वर गर्दै उनले सोधे, ‘तपाईं को हुनुहुन्छ ?’
‘हजुर ! म शिशुपाल, चेदिनरेश महाबली शिशुपाल।’
आगन्तुकको परिचय सुनेर राम शाह झन्डै लडेका। कथा सुन्दै छु कि कचहरीमा न्यायका लागि बसेको छु भन्ने छुट्टयाउन उनलाई गाह्रो प-यो। तर, उनी बिस्तारैबिस्तारै सम्हालिँदै गए। 
आगन्तुकले भन्यो, ‘महाराज !’ एकछिन रोकिएर ऊ पुनः बोल्यो, ‘हुन त तपाईं पनि राजा म पनि राजा, यो महाराज चाहिँ नभनौँ कि क्या हो, कसो हुन्छ ब्रो ?’
राम शाह सहज त हुँदै थिए तर यो ‘ब्रो’ भन्ने सुनेपछि अलि रिसाएको भावमा बोले, ‘तपाईं जो भए पनि इतिहास वा पुराणमा जस्तो भए पनि आज तपाईं गोर्खाको राजाका अगाडि न्याय माग्न आउनुभएको छ, यो ब्रो/स्रो चाहिँ नभनौँ होला, मलाई यो फिरंगीको भाषा पटक्कै मन पर्दैन।’
‘ठिकै छ मित्र, राजा हुनुका नाताले मैले मित्र नै भनेँ, म ठुलो अन्यायमा परेको छु, मलाई त्यो किस्ने कालेले अनाहकमा झुक्याएर काटिदियो। म न्याय चाहन्छु। मैले धेरै सुनेको छु; ‘विद्या नपाए काशी जानू, न्याय नपाए गोर्खा जानू !’ न्याय पाऊँ सरकार !’
‘यी ! भुत्राको सुनिस्, आफ्नै त्यो पृथ्वीको शालिक फोडिएर; विस्तारवादी, साम्राज्यवादी के–के भनेर गाली गरिरहँदा त केही गर्न सकेको छैन, नन्दलाल मरिसक्यो; स्वास्नीचाहिँ अस्पतालमा लासभैझैँ छ र त केही गर्न सकेको छैन, मान्छे सानै भए पनि यसो बेलाबेलामा ज्ञानगुनका कुरा गरेर भुलाउने राजेश्वर थियो; त्यो पनि मरिसक्यो, डा. भट्टराई त ऊ ढली नै सक्यो क्यारे, भुत्राको गोर्खा भन्छस् !’ यसै भनौँझैँ लागेको थियो रामलाई तर भनेनन्। बरु भने :

‘भगवान् कृष्णलाई के को किस्ने काला भन्छौं ? अहिले मार्लान् भक्तहरूले !’
‘म मरिसकेकालाई के मार्नु थियो र सरकार। तर, म त्यसरी मर्न चाहन्न, मलाई जुन परिचयका साथ जसरी त्यहाँ प्रस्तुत गरिएको छ र त्यो किस्ने कालालाई जसरी भगवान्का रूपमा प्रस्तुत गरिएको छ, त्यो सरासर झुठ हो राजा, न्याय पाऊँ !’
‘के को झुठ भन्छौं ! हाम्ले सुन्या छैन र महाभारत ! भगवान्लाई अनेक लाञ्छना लगाएर बोल्ने तिमी ! भीष्मजस्ता महापुरुषलाई अपमान गर्ने तिमी ! विभिन्न अपराध गर्दै हिँड्ने तिमी ! धर्मराजको यज्ञ विथोल्न खोज्ने तिमी ! अनि फेरि के को न्याय माग्न आएका यहाँ मसँग ? तिमीजस्ता मान्छे त काटिनु नै पो पर्छ त !’
रामको बोलीमा केही आक्राेश तथा केही उपेक्षा मिसिएको थियो। 
‘म त्यही त भनिरहेको छु सरकार ! हजारौँ वर्षदेखि यो गलत डिस्कोर्स अघि सारिएको छ ...’

‘ए ! पखपख !’
बीचैमा रोक्दै राम बोल्न थाले, ‘अघि त्यत्रो भनेँ फेरि फिरंगी शब्द बोल्यौं ? गोर्खा भाषाका शब्द बोल न गोर्खा भाषाका।’
‘होइन तपाईंलाई अंग्रेजीप्रति यत्रो घृणा किन हँ ! कुनै एनजियो–आइएनजियोतिर हुनुहुन्न ? पाउनु भएन कि कसो !’
‘त्यसो होइन शिशु ! हेर न उहाँ सोमलाल एडिबीतिर गइसक्यो ! मलाई नि ठूलो आशा थियो नि राष्ट्रसंघीय उच्च न्यायालयमा जाने तर खोई मूल्यांकनै छैन ! भयो छाडिदेऊ। तर फिरंगी शब्दचाहिँ नबोल है !’
‘ठिकै छ सरकार, मेरो भनाइ के भने हजारौँ वर्षदेखि गलत विमर्श अघि सारिएको छ र त्यसैलाई पत्याउँदै पनि आइएको छ। आखिर यो विमर्श भनेको पनि खास सत्य होइन रहेछ सरकार ! शक्ति निर्मित सत्य रहेछ ! अनुमान गर्नुस् त दुर्याेधनले महाभारत युद्ध जितेका भए के यो महाराज शिशुपालको त्यस्तो अपमानित आख्यान कथिने थियो ?’
‘के भन्न खोजेको अलि प्रस्ट भन न !’
‘हेर राम भाइ, यो प्रस्ट भन्ने कुरा पनि खास प्रस्ट रहेनछ क्या ! महाभारतमा त प्रस्टै लेखेको छ नि तर त्यो खास प्रस्ट होइन रहेछ। त्यसकारण छाड्देऊ भाइ यो प्रस्टस्रस्ट !’
‘सावधान ! तिमी अहिले गौरवशाली गोर्खा राज्यमा यसका राजा राम शाहसँग न्याय माग्न आएका छौं। के यो भाइसाइ लगाएको यार, राजा हुँ, राजालाई अलि मान गरेर बोल न !’

‘सरकार, न्याय पाऊँ सरकार’, शिशुपाल पुरानै भावमुद्रामा फर्किए। 
‘खोकखोक, के खोक्न लागेका थियौ खोक।’
राम भने फेरि प्यारोडी मुडतिर लागे। ‘हजुर सरकार ! कृष्णका बारेमा त्यहाँ मैले जे बोलेको छु त्यो देखेकै र भएकै कुरा गरेको हुँ तर त्यहाँ भीष्मले जे बोलेका हुन् त्यो जबर्जस्त सिर्जना गरिएको विमर्श हो सरकार !’
‘यो के विमर्शसिमर्श लगाइराख्या फेरि, अलि बुझिने गरी भन न !’
‘ल मिचेल फुको पढ्या छैन राम भाइ, यति कुरा त बुझ्नु प-यो नि यार !’
‘खबरदार ! तिमी अहिले बडामहाराजधिराज पृथ्वीनारायणका महाजिजुबुबा गौरवशाली गोर्खाका राजा राम शाहसँग न्याय माग्न आएका छौं, अरे यार राजा हुँ, अलि मान त गर यार !’
‘सरकार ! न्याय पाऊँ सरकार ! मेरो भनाइ के भने किस्नेलाई गोठालो गएको देखेकै हो, कंशलाई मारेको पनि सुनेकै हो, ऊ न राजा हो न राजाको छोरा यो सबैले जानेकै हो, ऊभन्दा बुद्धिमान र शक्तिशाली अरू थिए भन्ने पनि देखेकै हो, यिनै कुरा त मैले भनेको हुँ सरकार। तर, त्यो बूढो भीष्मले काल्पनिक आख्यान खडा गरेर डरको विमर्श सिर्जना ग-यो। मचाहिँ त्यस्ता वाहियात कुरातिर बालै नदिएर यसो उतातिर फर्किएको थिएँ, त्यही बेलामा किस्ने कालेले पछाडिबाट काटिहालेछ मलाई। आरोप पनि के–के के–के लगाएको छ। उसका गल्ती जति जम्मै भगवान्को विमर्शले छोपिएका छन्। मेरा गल्तीलाई भने राक्षसी विमर्श सिर्जना गरेर हजारौँ वर्षदेखि अपमानित गरिएको छ। अझ हेर्नुहोस् त ! मलाई उसको अंश बताउँदै मेरो हंशसमेत उसैमा मिलेको देखाइएको छ। भुत्राको मिल्थेँ म त्यो छलीसँग, यी अहिलेसम्म न्यायको खोजमा भड्किरहेको छु। सरकार ! न्याय पाऊँ सरकार !’
‘ए सोल्टी तिमीले केही बुझ्यौ ?’
कचहरीका एक भारदारलाई कोट्याउँदै राम शाहले भने। 
‘बुझ्ने भए त राजै हुँदो हुँ नि सरकार !’
‘हसाउँछ सोल्टीले !’
पिठ्यूँमा धाप मार्दै राम बोले।
‘ए शिशुपाल ! यो तिम्रो नामै कस्तो ठट्यौलोजस्तो लाग्यो मलाई त ! हँ सोल्टी, हामी त लखतरान परेका वा मरन्च्याँसे ख्याउटे देखेमा शिशुपाल भन्छौँ है !’
एक भारदारलाई प्याट्ट हान्दै राम शाह दिल खोलेर लामै हाँसो हाँसे। 
‘सरकार ! त्यो त पातलो स हुनुपर्ने। शब्दकोश निर्माताले अलि गल्ती गरेर मोटै लेखिदिएछन् !’

‘छाड पातलो र मोटो। तिम्रो भनाइको मतलब कृष्ण तिम्रा लागि गोठालो हैन ! इच्छामरण प्राप्त शुरवीर भीष्म स्वाँठ भइसकेको बूढो अनि तिमी अर्काको यज्ञ विथोल्न खोज्ने चाहिँ सज्जन ! अनि के यो चाहिँ अर्काे विमर्श हुँदैन ? त्यो पनि अपत्यारिलो !’
राम शाह खलि कड्केर प्रस्तुत भए। 
‘सरकार, भीष्मले हामीले देख्दै नदेखेका काल्पनिक आख्यान कथेर विष्णुका अवतार बताईबताई उसलाई भगवान् बनाएका हुन्। लडाका यादवहरूको नेता कृष्ण पाण्डवको पक्षमा लागेको देखेर भीष्म डराएका हुन् भन्ने मेरो ठम्याइ हो। महाभारत पढ्नुभा छैन ? भीष्म त इच्छामरण मर्न सक्छन् भने भगवान् मानिएका कृष्ण किन व्याधाको शिकार हुनुप-यो ? युद्धभर आफ्नै दाइ बलरामले किन उनको साथ छाड्नुप-यो ? अरू त छाडौँ न आफ्नै दाजुभाइले नटेरेर देख्नुभएन यादवहरूको वंश विनाश भएको। अलि गहिरो पठन गरौँ न यार महाभारतको ! खालि पुरानै अर्थमा पढ्या छ अनि कहाँ हुन्छ !’
यसपटक सावधान नभनेर राजा रामले शिशुपाललाई अँगालो हाल्दै बोले, ‘हेर शिशु, यो राजालाई खासै पढ्नेसड्ने फुर्सद हुँदैन हेर, सहयोगीले जसरी व्याख्या गर्छन् त्यही बुझ्ने  हो। तिमी पनि त राजा थियौ नि यार ! अब यो तिम्रो कुरा शास्त्रीय व्याख्याको कुरा प-यो। अँ डा. भट्टराई त ढल्यो क्यारे, यो कथा कसले भन्दै छ हँ ? ऊ त्यो पृथ्वीले हैन, त्यसैलाई समात। त्यसले कथा सुनाउँदा उपस्थित स्रोताले जुन अर्थमा तिमीलाई लेलान् त्यही नै मेरो न्याय हो। आखिर म जनताको लागि न्याय गर्ने राजा हुँ। म उनीहरूका विचारको सम्मान गर्छु।’

डा. भट्टराई, ए ! डा. भट्टराई ! लरबरिएको बोलीमा देवेन्द्र यादव भट्टराईलाई खोज्दै उही ऐतिहासिक चौतारोतिर उक्लिरहेको देखियो। मेरो जिम्माको कथा यति नै थियो, सकियो। 

प्रकाशित: ७ पुस २०७५ ०६:०२ शनिबार

डा._भट्टराई पीडा सुधार_गृह