अन्य

जाने हैन त रारा ?

यूथिका खनाल,कक्षा – ९, मोक्षदा स्कुल, कुमारीगाल,काठमाडौं

यस वर्षको दसैँ सुरु हुनुभन्दा झन्डै एक महिनाअघिदेखि नै हाम्रो परिवार र बाबाका केही साथीहरूको परिवार दसैँको लामो छुट्टीमा कतै घुमफिरका लागि जाने सल्लाह भएको थियो। कता जाने भनेर निश्चित टुङ्गो नभए पनि देशकै सबैभन्दा ठूलो ताल रारा जाने बढी नै सम्भावना देखिँदै थियो। रारा जाने सम्भावनाबारे सुनेदेखि नै हामी दिदीबहिनीले त घुम्न जाँदा कुनकुन लुगा लगाउने, केके खाने, कस्तो फोटो र भिडियो खिच्ने, फेसबुकमा राख्दा कस्तो क्याप्सन लेख्ने भन्नेबारेमा समेत छलफल गर्न भ्यायौँ।

लामै प्रतीक्षापश्चात् हामी रारा नै जाने टुङ्गो लाग्यो। त्यसपछि त हामीलाई दसैँको भन्दा पनि टीकाको पर्सिपल्ट सुरु हुने रारा यात्राको प्रतीक्षा बढ्ता हुन थाल्यो। हामी दसैँको टीकाकोभन्दा रारा जाने दिनको गन्ती गर्दै बस्यौँ, औँला भाँचीभाँची। कात्तिक ४ गते, आइतबार बिहान ४ बजेको अँध्यारामै हामीले बालाजुको माछापोखरीबाट रिजर्भ बस समात्यौँ। बसमा कति परिचित त कतिपय अपरिचित अनुहार देखिन्थे। अँध्यारामै हाम्रो गाडी कलंकी हुँदै नागढुङ्गातिर हुइँकियो। बसमा बजिरहेको गीतको तालसँगै नाच्दै र गाउँदै हाम्रो यात्रा अघि बढ्यो। बिस्तारै उज्यालो पनि हुँदै गयो। झ्यालबाट बाहिरको रमाइलो दृश्य हेर्दै मलेखु पुगेपछि हामीले बिहानी खाजा खायौँ। 

पहिलो दिनको हाम्रो बिसौनी काठमाडौंबाट चार सय नब्बे किलोमिटर परको कोहलपुर थियो। त्यसैले, बिहानी खाजापछि हामी बाटो लागिहाल्यौँ। नवलपुरमा रहेको शाश्वतधाम पुगेपछि हाम्रो बस केही छिनका लागि रोकियो। पत्रपत्रिका, टेलिभिजन र इन्टरनेटमा देखेको शाश्वतधाम प्रत्यक्ष देख्दा म त दङ्ग परेँ। उद्योगपति विनोद चौधरीको प्रयासमा तयार भएको शाश्वतधाम अत्यन्तै कलात्मक लाग्यो। फोटो त कति खिचियो, कति ! भोक पनि लागिसकेको थियो। त्यसैले हामी बस चढेर अझै अघि बढ्यौँ। १ बजेतिर नवलपुरको दाउन्ने पुगेर खाना खायौँ। भोकले सताएकाले होला, खाना निकै स्वादिलो लाग्यो। त्यहाँको गुन्द्रुकको अचारको स्वाद अझै जिब्रोमा झुन्डिरहेको छ। 

साँझ ८ बजेतिर कोहलपुर पुगियो। यति लामो बस यात्रा कहिल्यै नगरेको हुनाले होला, निकै थाकिएको थियो। होटेल पुग्नासाथ खाना खाएर सुतियो। थकाइले होला, मस्त निदाइएछ। भोलिपल्ट बिहान ६ बजे नै ब्रेकफस्ट गरेर लागियो दोस्रो दिनको गन्तव्य कालिकोटतिर। कोहलपुरबाट बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै हाम्रो यात्रा अघि बढ्यो। केही घन्टामा कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगियो। त्यहाँबाट नागबेली आकारको सडक हुँदै केही समय उकालिएपछि हामीले दैलेखको गुराँसेमा पुगेर खाना खायौँ। यहाँको खाना यात्राभरिकै स्वादिलो लाग्यो। झन् त्यो स्वादिलो आँपको अचार त अहिले सम्झिँदा पनि मुख रसाइहाल्छ। 

दिउँसोतिर रारामा हावा चल्न थाल्यो। हावाको वेगसँग तालमा उठेको लहर हेर्दा समुद्र किनारमा टहलिरहेको जस्तो लाग्यो।

गुराँसेको खानापछि हामी बसमा दोहोरी खेल्दै ओरालो झ-यौँ। केहीबेरको यात्रापछि हामी कर्णाली नदीको किनारमा पुग्यौँ। पहिलोचोटि कर्णाली नदी प्रत्यक्ष देख्दै थियौँ, हामीमध्ये धेरैजसोले। त्यसैले, एकछिन बस रोकेरै कर्णालीको पानी खेल्यौँ, फोटो खिच्यौँ। हाम्रो दोस्रो दिनको गन्तव्य कालिकोटको मान्म खाँडाचक्र पुग्दा रातको ९ बजिसकेको थियो। बिहान तराईको कोहलपुरबाट यात्रा सुरु गरेका हामीलाई अहिले कालिकोटको मान्ममा निकै चिसोको अनुभव हुँदै थियो। 

अर्काे दिन बिहान चारै बजे मान्म खाँडाचक्र छाडेर अघि बढेका हामी करिब ८ बजे कालिकोटकै खल्लागाड पुग्दा जाममा परियो। साँघुरो सडकमा एउटा मालवाहक ट्रक बिग्रेर बसेको थियो। लामो प्रयासपछि अर्को एउटा ट्रकको सहायताले त्यसलाई तानेर पन्छाएपछि अघि बढ्दा झन्डै १२ बजिसकेको थियो। भोकले लखतरान हुँदै जुम्लासितै जोडिएको नाग्म बजार पुगेपछि तात्तातो खाना खाइयो। हामी जाने बाटैमा पर्दाेरहेछ जुम्लाको सिन्जा। त्यो ठाउँ त नेपाली भाषाको उत्पत्ति स्थल पो रहेछ। त्यहीँबाट उत्पत्ति भएको नेपाली भाषा अहिले हामी बोलिरहेका रहेछौँ। मनमनै सिन्जालाई नमन गरियो। सिन्जाको बस्ती र मार्सी धान फल्ने फाँट पनि निकै आकर्षक लाग्यो। सिन्जाबाट अघि बढेपछिको भिर र साँघुरो सडकले भने सातो लियो। 

रातको करिब साढे सात बजेतिर हामी राराको प्रवेशबिन्दु देउराली पुग्यौँ। निकुञ्जका कर्मचारीले पनि माथि रारामा बास पाइँदैन यतै बसमै बस्नुहोस् भनेर रोक्न खोजेका थिए। तर, होटेलमा पहिल्यै बुक गरिसकेको हुनाले जुनको उज्यालोमा हामी सबै अघि बढ्यौँ। गाडीबाट ओर्लिएदेखि नै मुटु कँपाउने ठिहिरोले सातो लिन सुरु गरिसकेको थियो। तैपनि, हिँड्दै जाँदा बिस्तारै ज्यान तात्दै थियो भने खल्तीबाट बाहिर निस्केको हातचाहिँ हिउँजस्तै चिसो भएको अनुभव हुँदै थियो। करिब एक घन्टाजति हिँडेपछि हामी राराको किनारमा पुग्यौँ। अँध्यारो भए पनि हामीले आँखैअघिको रारा चिनिहाल्यौँ। अँध्यारोमा जता हे-यो, त्यता पानी नै पानी मात्र देखिँदै थियो। रारा देखिएपछि हाम्रो जोस निकै बढ्यो। त्यसैले, हामी ठिक्क पारिपट्टि बत्ती बलिरहेको होटेल पुग्न तालको परिक्रमा गर्दै अघि बढ्यौँ। झन्डै डेढ घन्टाको हिँडाइपछि हामी होटेल भिलेज हेरिटेज पुग्यौँ। हिँडाइको थकानले गोडा लगलग काँपिरहेका थिए। मुटु पनि अलि जोडले नै धड्किरहेको थियो। भोकले पेटमा मुसा कुदिरहेको थियो। त्यसैले जुम्ली सिमीको दाल र च्याङ्ग्राको मासुको स्वादमा जुम्ली मार्सीको भात मज्जाले खाइयो। जाडोले सातो लिइरहेको हुनाले खानापछि एकैछिन आगो तापेर टेन्टमा पुगियो। होटेलमा कोठा त पाइएन। तर, टेन्ट भने पाइयो। टेन्टभित्र पसेपछि लगाएको लुगासमेत नखोली पसियो स्लिपिङ ब्यागभित्र। 

बिहान ६ बजेतिर आँखा खुले। घाम उदाउने वेला भइसकेको थियो। रारा निकै सुन्दर देखिँदै थियो। राराले पटकपटक रुप फेर्छ भन्ने सुनिएको थियो। राराको पहिलो प्रभातकालीन मोहनी रुपको दर्शन उठ्नासाथ पाइयो। रारा देखेपछि चिसो पनि भागेजस्तो लाग्यो। हिजोको थकान त उहिल्यै हराइसकेको थियो। राराकै काखमा जिन्दगी बिताउन पाए पनि हुन्थ्यो जस्तो लाग्यो एकछिन त ! चिया र ब्रेकफास्टपछि टोलीका सबैजसो सदस्य राराबाट पनि झन्डै एक हजार मिटर उचाइमा रहेको मुर्मा टपस्थित भ्यु टावर जाने भनेर हिँडे। हामी पनि पछिपछि लाग्यौँ। तर, एकैछिनमा उकालो देखेर कतिपय आफन्तहरु फर्किनुभयो। हामी पनि फर्किने हुलमै मिसियौँ। घाम लागिसकेको थियो। बिस्तारै न्यानो बढ्दै थियो। राराको पानी चिसो भए पनि हामी जुत्तामोजा खोलेर पानीमा खुट्टा चोबलेर एकछिन रमायौँ। चिसोले एकैछिनमा खुट्टा कठ्यांग्रिए। दिउँसोतिर रारामा हावा चल्न थाल्यो। हावाको वेगसँग तालमा उठेको लहर हेर्दा समुद्र किनारमा टहलिरहेको जस्तो लाग्यो। 

रारा कति सुन्दर छ, त्यसको बयान कुनै शब्दमा हुन सक्दैन। सायद कुनै सिद्धहस्त कवि, साहित्यकारले राराको रुपको बयान गर्लान् पनि, तर मेरो बुताले भने भ्याउँदैन। राराको मोहनी अघाउँजी पिउन जीवनमा एकचोटि रारा पुग्नैपर्छ। दैलेख, कालिकोट, जुम्ला, मुगु जस्ता विकट जिल्लाको भूबनोट हेर्न, बुझ्न र त्यसको आनन्द उठाउन पनि एकपटक सडक मार्गबाटै राराको यात्रा गर्नैपर्छ। मुगुको विकटताको अनुभव कुनै पत्रपत्रिकामा पढेर वा टेलिभिजनमा हेरेर गर्न सकिन्न। त्यसका लागि कम्तीमा एकपटक त्यहाँ पुग्नैपर्छ। साथै, राजा महेन्द्रले स्वर्गकी अप्सराको उपमा दिएको राराको माधुरी पिउन पनि एकपटक त्यहाँ पुग्नैपर्छ। जाने हैन त रारा ?

प्रकाशित: ७ पुस २०७५ ०३:४४ शनिबार

राराताल घुमफिर यात्रा