सन् १९५३ मा तेन्जिङ नोेर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथामा पाइला टेकेयता संसारभरबाट पाँच हजार बढीले सगरमाथामा विजय हासिल गरिसकेका छन्। हामी कुरा गर्छौं, विजय हासिल गर्नेहरूको। प्रयास गर्ने तर विजय हासिल नगर्नेहरू पनि धेरै छन्। शेर्पा र हिलारीको सफलताअघि पनि त जर्ज मेलोरीले सगरमाथा आरोहणको प्रयास गरेका थिए।
आरोहण सफल र असफल एउटा पाटो भयो। यी दुई पाटामै लुकेको अर्कोचाहिँ मृत्यु हो। चुचुरो चुम्न मात्रै जाँदैनन् आरोही। यहाँ कतिले आफ्नो जीवन पनि सुम्पिएका छन्। तर, यसको तथ्यांक नेपाल सरकारसँग छैन। यद्यपि, धेरै आरोहीको मृत्यु भएका वर्षहरू सन् १९९६, २००६, २०१४ र २०१५ हुन्। २०१४ को हिउँ पहिरोमा १६ शेर्पाहरूको मृत्यु भयो। सन् २०१५ को भूकम्पमा परेर सगरमाथामा १९ पर्वतारोहीले ज्यान गुमाए।
यहाँ त्यही व्यावसायिक आरोहीको कुरा गर्न खोजिँदैछ। जो पटक–पटक सगरमाथा आरोहणमा सहभागी भए। चुचुरोमा पुग्ने अवसर पाएनन्। अन्ततः त्यही सगरमाथामा उनीहरूको ज्यान गुमाए। ती आरोहीको सगरमाथामा पाइला टेक्ने सपना अपुरो रह्यो। अपूरो सपना पूरा गर्न अहिले ती आरोहीका श्रीमतीहरू श्रीमानको पदचाप पछ्याएर सगरमाथा चुचुरोमा पुग्न कस्सिएका छन्।
पात्र नं. १
फुरदिकी शेर्पा (४२)का स्वर्गीय श्रीमान मिङ्मा शेर्पा।
दिङबोचे गाउँ सगरमाथा आधार शिविर जाने बाटोमा पर्छ। दिङबोचेबाट विदेशी दुई दिनमा बेसक्याम्प पुग्छन्। नेपाली एक दिनमा पुगेर फर्किन पनि भ्याउँछन्। उचाई चार हजार मिटर बढी छ। फुरदिकी त्यही जन्मिन्। उनका बुबा आङनिमा शेर्पा हुन्। जसको पेसा हो सगरमाथा जाने बाटो बनाउने। प्रत्येक वर्ष सगरमाथाको सिजन शुरु हुनुअघि क्याम्प २ सम्म बाटो बनाइन्छ। त्यसको नेतृत्व तिनै आङनिमाले गर्थे। सगरमाथासँग जोडिने विदेशी हुन् वा नेपाली धेरैमा परिचित थिए आङनिमा।
फुरदिकी २०३३ सालमा जन्मिन्। चौरी हेर्दैमा बाल्यकाल बित्यो। स्कुल त टेकिनन्। पढ्नुपर्छ भन्ने ज्ञान पनि त थिएन। फुरदिकी १९ वर्षकी थिइन्, तल्लो सोलुबाट मिङ्मा शेर्पा डकर्मी काम गर्दै दिङबोचे पुगेका थिए। मिङ्माले फुरदिकीलाई मन पराए। घरमा विवाहको कुरा चलेपछि मात्रै थाहा भयो फुरदिकीलाई। मागी विवाह सम्पन्न भयो फुरदिकी र मिङ्माको।
दिङबोचेमाथि छुदुम भन्ने ठाउँ छ। सगरमाथा जानेहरूको बिसौनी हो त्यो। फुरदिकी र मिङ्माले ९ वर्षसम्म चिया पसल चलाए त्यही छुदुममा। आम्दानी राम्रै थियो। बीचमा फुरदिकीका बुबा आङनिमासँग मिङ्मा हिमाल पनि जान थालेका थिए। हिमाल जाँदा फुरदिकीलाई मात्रै गाह्रो भयो छुदुममा बस्न। त्यसपछि चिया पसल सारे उनीहरूले दिङबोचेमै। ६ याक पनि किने। याकबाट बेसक्याम्पमा सामान पुर्याएर आम्दानी बढाउन थाले। नाम्चेबाट बेसक्याम्पसम्म सामान ओर्साउन पाउँथ्यो। मिङ्मा हिमालतिर जाँदा फुरदिकीले नै याक धपाउथिइन्। कहिले नाम्चेबाट आलु ओर्साथिन् त कहिले कुहिरेको झोला बेसक्याम्प पुराउथिन्। तीन वटा छोरीहरू थिए। पाँच जनाको परिवार खुसीमा रमाइरहेको थियो।
सन् २०१३ फुरदिकी सम्झिदा मात्रै पनि झस्किन्छन्। यो शब्दै सुन्न नपरे हुन्थ्योझैं लाग्छ। आँखामा आँशु टम्म भरिन्छन्। अनि अँध्यारो देखिन्छ संसार। फुरदिकीका बुबा सन् २०१३ फुब्रुअरीमा बिते, ५९ वर्षको उमेरमा। केही भएर होइन् कालगतीले घरमै। शेर्पा भाषामा बुबालाई पाला भनिन्छ। फुरदिकीका पालाले लामो समय बाटो बनाउने काम गरे। मृत्यु हुँदा संस्कार गर्न समेत सहयोगी हात खोज्नुपर्यो। दिङबोचेका होटलवालाले आर्थिक सहयोग गरेर परम्पराअनुसार संस्कार गरियो।
पाला बित्दा फुरदिकीका श्रीमान मिङ्मा पनि चिन्तित भए। हिमालको बाटो देखाउने ससुरालाई आफ्नै बुबाझैं मान्थे उनी। माघमा बुबा बितेपछि वैशाखमा हिमाल चढ्न नजाउझैं पनि लागेको थियो मिङ्मालाई। ‘यस पटक त हिमालतिर जानै मन छैन,’ फुरदिकीसँग भनेका थिए, ‘तर, नगएर पनि के गर्नु ?’ फुरदिकीले पनि नजाउ भन्न सकिनन्। ‘यस पटक पाला बित्नुभयो, होसियार रहनु है।’ फुरदिकीले यसो भन्दा मिङमाले भन्थे, ‘मेरो चिन्ता नगर न। तिमीहरू राम्रोसँग बस्नू।’
बाटो बनाउन गएपछि मिङ्मा र फुरदिकीको भेट सधैंजस्तो हुन्थ्यो। फुरदिकी याक लिएर बेसक्याम्प जान्थिन्। मिङमा बाटो बनाएर आराम गर्न बेसक्याम्प आइपुग्थे। भेट नभएको दिन उनीहरूको फोनमा गफ हुन्थ्यो। अप्रिल ६ को दिनमा फुरदिकी बेसक्याम्प पुगेकी थिइन्। याक लिएर गएकी फुरदिकीको मिङ्मासँग भेट भएन। ‘दोस्रो क्याम्पमा छु, म भोलि बाटो सकेर फर्किन्छु,’ मिङ्माले फोनमा भनेका थिए, ‘तिमी अब पर्सि आउने होला। आउँदा घरको छ्याङ ल्याइदिनू।’
अप्रिल ७ गते फुरदिकी बारीमा आलु रोप्दै थिइन्। फुरदिकीलाई फोन आयो, ‘एक–दुई साथी लिएर दिङबोचे हेलिप्याडमा आउनू।’ अलमल्ल परिन् उनी। जेठी छोरीको नाम टिजे अर्थात् तेन्जिङ हो। टिजेका बुबालाई पो केही भयो कि, फुरदिकीको मनमा कुरा खेल्न थाल्यो।
फेरि फोन गरेर बुझिन्। ‘खर्पसमा खसेर घाइते हुनुभएको छ,’ फुरदिकीले जानकारी पाइन्। हातगोडा बिलाए। होस उड्यो। फुरदिकीलाई लाग्यो, ‘टिजेको बुबा पक्कै जिवित छैन। घाइते मात्रै भएको भए फेरिचे अस्पताल वा काठमाडौं लैजानुपर्ने।’ अर्धचेतमै दौडिएर हेलिप्याड पुग्दा मिङमाको शरीर चिसो भएको थियो। क्याम्प १ र २ को बीचमा खर्पस (हिम खाल्डो)मा परेका मिङ्मालाई चिसो हुन धेरै बेर लागेकै थिएन। यसपछि फुरदिकी पनि चिस्यिन जसरी मिङ्मा चिसिएका थिए।
पात्र नं. २
निमडोमा शेर्पा (३४) स्वर्गीय श्रीमान छिरिङ ओङ्छु शेर्पा।
खुम्बुमा छ खुम्जुङ। नाम्चे भन्दा माथिल्लो भाग। उचाई ३५ सय हाराहारी। निमडोमाका बुबा हिमाल आरोही हुन्। सगरमाथाको आरोहणकै आम्दानीबाट निमडोमालाई पनि कक्षा ९ सम्म पढाए। निमडोमा जब टे«किङ जान थालिन्, त्यसपछि भने पढाइ छोडिन्। टे«किङकै सिलसिलामा खुम्जुङकै छिरिङ ओङ्छुसँग चिनजान भयो। मायाको टुसो उम्रिएको पत्तै भएन। सन् २००४ मा विवाह भयो उनीहरूको।
छिरिङ ‘शेर्पा गाइड’ थिए। सगरमाथा आरोहणमा सामान ओसारपसार गर्नेलाई शेर्पा गाइड भनिन्छ। यसरी उनी धेरै पटक चौथो क्याम्पसम्म पुगे। तर, चुचुरोमा जाने अवसर पाएनन्। सामान बोक्ने शेर्पा गाइड क्याम्प ४ सम्म पुग्छन्। त्यसमाथि गाइड मात्रै जान्छन्। ग्रुप राम्रो भएको खण्डमा भने अक्सिजन उपलब्ध गराएर शेर्पा गाइडलाई पनि लैजान्छन्। तर, छिरिङको पालामा कहिल्यै त्यस्तो टिम परेन, जसले चुचुरो पुग्न अक्सिजन दियोस्। क्याम्प ४ माथि अक्सिजबिना उक्लिन सकिन्न।
‘यस पटक पनि चुचुरोको अवसर मिलेन,’ उनी घरमा आएर सुनाउने गर्थे। ‘चिन्ता नगर्नुस्, मिल्छ कुनै दिन,’ निमडोमा सम्झाउँथिन्। सन् २०१४ मा पनि छिरिङ शेर्पा गाइडमा गए। यस पटक किचनको काम पनि थियो उनको जिम्मेवारीमा। क्याम्प सेट गरेपछि आरामका लागि पाँच दिन थियो। त्यही बेला घरमा आएका थिए छिरिङ। फर्कदा अलि सिरियस भए। उनको अनुहार मलिन थियो।
बेस क्याम्प पुगेर माथितिर जानेबेलामा पनि त सिरियस मुडमा कुरा गरेका थिए छिरिङले। फोन गरेर पालैपालो परिवारसँग कुरा गरे। अन्तिममा निमडोमासँग बोल्दा भनेका थिए, ‘भोलिबाट म एक महिनासम्म माथि हुन्छु। अब कुरा गर्न मिल्दैन् होला।’ छिरिङको अन्तिम यो स्वर सायद भगवानले पनि सुने होलान्। त्यसपछि कुरा भएन अर्को पटक।
निमडोमा घाँस काट्न गएकी थिइन्। अप्रिल १८ को दिन थियो त्यो। हिमपहिरो आयो सगरमाथामा। त्यही हिमपहिरोमा छिरिङसहित १८ जनाको ज्यान गयो। निमडोमाले यो सन्देश पाइन्, त्यसपछि आँखामा धमिलो दृश्यबाहेक थाहा पाइनन्।
फुरदिकी र निमाको भेट
तीन महिनाको फरकमा बुबा र श्रीमान बितेपछि सगरमाथाले टाउकोमा थिचेको जस्तै भयो फुरदिकीलाई। काजकिरिया सकेर महिनौं बित्दा पनि अर्धचेत जस्तै थिइन् उनी। तीन छोरीकी आमा धन्न दुई छोरीको जिम्मा एक अमेरिकी नागरिकले लिए। कान्छी छोरी च्यापेर अन्धाधुन्ध काठमाडौं हानिन् उनी। ठाउँ पो सर्यो, पीडा त के सथ्र्याे र।
श्रीमानको यादले सताइरह्यो। काठमाडौं आएपछि के गर्ने, कसरी खर्चको व्यवस्थापन गर्ने भन्ने चिन्ता पनि थपियो फुरदिकीलाई। काम खोज्न थालिन्। केही नभेटेपछि ट्रेकिङ जान थालिन्। अलिअलि आम्दानी पनि भयो। मन टोलाउन पनि ट्रेकिङ जान्थिन् उनी। ट्रेकिङ नजाँदा काठमाडौंमा रहँदा भने मन भुलाउन बौद्धनाथतिर माने घुमाएर बिताउँथिन्।
निमडोमा पनि त छिरिङको पीडाले छटपटिँदै काठमाडौं आइपुगेकी थिइन्। उनी पनि उसैगरी ट्रेकिङ जाने र काठमाडौं भएको बेलामा बौद्धमा कोरा गरेर बिताउने गर्थिन्। यहीबेला भेट भयो फुरदिकी र निमडोमाको। सुरुमा उनीहरू एक–अर्काका पीडा बिसाउने चौतारी बनेका थिए। कति दिन त भेट भयो कि रुन थालिहाल्थे फुरदिकी र निमडोमा।
एक दिन फुरदिकीले भनिन्, ‘यसरी रोएर बस्नु हुँदैन। हामी पनि केही गर्न सक्छौं। खुम्बुमा हामीजस्ता महिला धेरै छन्। तिनीहरूको लागि प्रेरणा बन्नुपर्छ।’सोच आयो केही गरौं भन्ने। तर, कुनै आइडिया थिएन उनीहरूसँग। सोच्दासोच्दै धेरै दिन बिते।
श्रीमान सगरमाथा चढ्ने क्रममा ज्यान गयो। उनीहरूले सगरमाथाको चुचुरोमा पुग्न सकेनन्। पतिको पदचाप पछ्याउँदै सगरमाथा चढौं। यी दुवै महिलाले संकल्प गरेँ। तर, सगरमाथा चढ्नको लागि के गर्नपर्छ। उनीहरूलाई केही ‘आइडिया’ थिएन।
आङछिरिङ व्यावसायिक पर्वतारोही हुन्। त्यही व्यक्ति उनीहरूको लागि भगवान बनेर आए। उनले सगरमाथा चढ्ने प्रक्रिया बताउने मात्रै होइन, सगरमाथा चढाउन सारथि बन्ने वचन दिए। यसपछि नै हो उनीहरू सगरमाथा आरोहणमा कस्सिएका। सन् २०१९ मा सगरमाथाको चुचुरो पुग्ने लक्ष्य राखेका छन्। ‘टु विन्डो विमन एक्सिपिडिक्स’ नाम दिएर अभियान थालेका छन्। सोही अभियानको लागि फुरदिकी र निमडोमा कहिले तालिम, कहिले पिक चढ्न र कहिले आरोहणमा सहयोगी खोज्न दौडिरहेका छन्।
उनीहरूले सगरमाथा आरोहणको तयारीको लागि पर्वतारोहणसम्बन्धी आधारभूत तालिम लिए। आइसल्यान्ड पिकको चुचुरोमा पुगे। चुइष्ट हिमालको सफल आरोहण गरे। थ्री पास सकेर भर्खर काठमाडौं फर्किएका उनीहरू अहिले आफ्नो आरोहणबारे जानकारी गराउन पुस ११ गते पत्रकार सम्मेलन आयोजना गर्ने तयारमिा छन्।
आफूहरू सगरमाथा चढेपछि भने चुप लागेर नबस्ने उनीहरू बताउँछन्। आफूजस्तै हिमालमा श्रीमान बितेर विचल्ली परेका महिलालाई स्वरोजगार बनाउने उनीहरूको लक्ष्य छ। ‘गर्न सकिन्छ भनेर उदाहरण मात्रै होइन, अवसर दिन चाहान्छौं,’ उनीहरूले भने, ‘श्रीमान बितेपछि अहिले धेरै महिला निरास छन्।’
कति महिला त्यस्ता छन्, तथ्यांक यकिन छैन। तर, खुम्बुमा घरैपिच्छे छन् फुरदिकी र निमाको जस्ता महिला। त्यसको उदाहरण हेर्न श्रीदेग स्कुल पुग्दा हुन्छ। कालोपुलमा रहेको श्रीदेग स्कुल। जहाँ हिमालमा मृत्युवरण गरेका आरोहीका सय बढी छोराछोरी अध्ययनरत छन्। यी सबै बच्चाहरू स्कुलदेखि होस्टेल फि समेत अमेरिकी नागरिक पिटरले व्यहोर्छन्। ती पिटर खुम्बुका बालबालिकाका लागि अभिभावकझैं बनेका छन्।
हिमालमा श्रीमान बितेका छोराछोरी खोजीखोजी पढाउने जिम्मा लिन्छन्। काठमाडौं ल्याएर मात्रै होइन, खुम्बुमै पनि होस्टेल राखेर दुई सय हाराहारी बच्चा पढाएका छन्। होस्टेल बस्ने बच्चाहरूको शुक्रबार छुट्टी हुन्छ। श्रीदेग स्कुलमा शुक्रबारको दिन पुग्दा बच्चा लिन आएका हिमालमा श्रीमान बितेका महिलाहरूको भेला हुने गरेको उनीहरूले बताए।
प्रकाशित: ७ पुस २०७५ ०२:०२ शनिबार