अन्य

मनपर्ने राेटी

नेवार समुदायले योमरी पुन्ही (पूर्णिमा) पर्व शनिबार (आज) मनाउँदैछन्। यो पर्व धान्यपूर्णिमाको दिन मनाइन्छ। योमरी पुन्ही नजिकिँदै गर्दा नेवार समुदायमा यसको रौनक पनि बढेको छ। 

नेवारी भाषामा योमरीको अर्थ मनपर्ने रोटी हो। ‘यो’ को अर्थ मनपर्ने र ‘मरी’ को अर्थ रोटी हो। यो पूर्णिमामा योमरी अर्थात् विशेष प्रकारको रोटी बनाएर खाने चलन छ। 

नेवार समुदायमा धेरै प्रकारको रोटी बनाइन्छन्। साधारणतया धेरैजसो रोटीहरू गोलो बनाउने गरिन्छ। तर, यो भिन्न प्रकारले बनाइन्छ। 

अरु रोटी गहुँको पिठोबाट बनाइन्छ। तर, योमरी चामलको पिठोबाट बन्छ। त्यसकारण यो मिठो हुन्छ। योमरी मंसिरमा काटेर ल्याएको नयाँ धानको पिठोले बनाइन्छ।

चामलको पिठोमा उमालेको तातोपानी हालेर हातले मुछेर पिठोलाई डल्लो बनाइन्छ। त्यसपछि आवश्यकता अनुसार पिठोको सानोसानो डल्लोबाट योमरी बनाइन्छ। योमरी पछाडिको भाग चुच्चो हुन्छ।

योमरीभित्र चाकुु राखेर पकाइन्छ। पिठोबाट बनाएको योमरीलाई बाफबाट पकाइन्छ। यसलाई मःमः पकाउने भाडोमा राखेर बफाइन्छ। 

योमरीभित्र दुई थरी खाद्यवस्तु राखेर पकाउने चलन छ। देउतालाई चढाउने योमरीभित्र चामल राखिएको हुन्छ। यो सानो आकारको हुन्छ। मानिसले खाने योमरीभित्र चाकु राखेर पकाइन्छ। 

योमरी अरु बेला बनाइँदैन र खाइँदैन पनि। योमरी पूर्णिमाको दिन मात्र बनाइन्छ। अहिले योमरीभित्र चाकु मात्र नभई अरु पनि हालेर बनाइन्छ। जस्तै खुवा, मासु, तिल, घिउ इत्यादि राखेर बनाउने चलन छ।

भक्तपुरका स्थानीय ८० वर्षीया रामप्यारी सुवालका अनुसार योमरी पुन्ही चार दिन मनाइन्छ। तर, पनि पहिलो एक दिन विशेष रूपमा मनाउने उनी सुनाउँंछिन्। पूर्णिमाको पहिलो दिन नयाँ अन्न राखिएको भकारी एवं ढुकुटीमा योमरी राखेर पूजा गरिन्छ। योमरीलाई ढुकुटी तथा भकारीमा चढाउँदा धन सम्पत्ति र अन्न लाभ हुने जनविश्वास छ। 
पहिलो दिन पूजा गरेर चढाएको योमरी चार दिनपछि ढुकुटीबाट निकाल्ने चलन छ। योमरी परिवारमा बाँडेर खाने चलन छ। यस दिन बिहे भइसकेका छोरीहरुलाई बोलाएर भोज खुवाउने चलन पनि छ।

संस्कृतिविद् ओम धौभडेल योमरी पूर्णिमाका दिनदेखि दिन लामो हुने जनविश्वास रहेको बताउँछन्। योमरीको पछाडिको भाग जति धेरै चुच्चो भयो त्यति लामो दिन हुँदै जान्छ भने जनविश्वास रहेको उनी सुनाउँछन्। त्यसैले योमरी बनाउने बेलामा चुुच्चो लामो बनाउने गरेको उनको भनाई छ। 

यस दिन नवविवाहित छोरीलाई सगुुन दिने चलन छ। पूर्णिमामा दिन योमरीसहित माछा, मासुु, गेडागुडी, फलपूmल, अचारलगायत भोजका सबै परिकार बनाएर छोरीको घरमा राख्न जाने चलन अहिले पनि छ।

योमरी अर्काे एक छुट्टै परम्परासँग पनि जोडिएको छ। नेवार समुदायमा चार वर्षका बालबालिकाको जन्मदिनमा योमरीको माला लगाइन्छ। यसबेला मामाघरपट्टिबाट एक जोर लुगा राखेर सगुन दिने पनि चलन छ। 

नेवार बच्चाहरूको पहिलो वर्षमा जन्मदिन मनाइँदैन। दोस्रो वर्षको जन्मदिनमा मामाघरपट्टिबाट बच्चालाई एक जोर लुगा राखेर सगुन दिएर मनाइन्छ। तेस्रो वर्षमा पनि जन्मदिन मनाइँदैन। नेवार समुदायमा प्रत्येक १५–१५ दिनमा भोज हुने चलन छ। चह्रे र पूर्णिमा १५–१५ दिनमा यस्ता परम्पराहरू वर्षैभरि चल्छन्। तीमध्ये कुनै विशेषरूपमा मनाउँछन् भने कुनै सामान्य।
 

प्रकाशित: ७ पुस २०७५ ०१:४९ शनिबार

नेवार_समुदाय पूर्णिमा योमरी_पुन्ही