अन्य

उभिएरै यात्रा गर्छन् भक्तपुर–काठमाडौंका यात्रु

राजधानीमा कार्यरत भक्तपुरकी अमृता अर्याललाई अचेल बेलुका घर फर्कने चिन्ताले सताउने गरेको छ। यसको कारण हो– काठमाडौं–भक्तपुर रुटका गाडी नपाउनु।

उनी सार्वजनिक यातायात चढेरै कार्यालय आउजाउ गर्छिन्। तर, सार्वजनिक यातायात सहज नभएको उनको गुनासो छ। ‘गाडी पाइएला भनेर कार्यालय समय सकिनेबित्तिकै (५ बजे) हतारहतार बसपार्क पुग्छु। तर, कहिल्यै पनि गाडी पाइँदैन,’ उनले दुखेसो पोखिन्, ‘गाडी नपाएपछि उभिएरै यात्रा गर्नुपरेको छ।’

सार्वजनिक यातायात असहज भए पनि बेलुका जसरी पनि घर पुग्नुपर्ने बाध्यता भएको उनको भनाइ छ। ‘काठमाडौंमा बस्न न कोही आफन्त छन् न त घरबाट लिन आउने कोही मान्छे नै छन्,’ उनले समस्या सुनाइन्, ‘अनि ठेलिएर भए पनि यात्रा गर्नैपर्यो।’

भर्खरै जागिर सुरु गरेकाले कार्यालय समयभन्दा अघि निस्कन पनि नपाउने गरेको उनले बताइन्। उनीजस्तै पीडामा छिन्, भक्तपुरकी सविना बोहजु। ‘अफिसको काम सकेर हतारहतार बागबजारस्थित बसपार्क पुगिन्छ। तर, गाडी नै पाइँदैन,’ उनले दुखेसो पोखिन्।

आफू पुग्दासम्म बसपार्क खाली हुने बोहजु बताउँछिन्। ‘रत्नपार्कमै गाडी पाए पनि बसमा खुट्टा राख्ने ठाउँ हुँदैन,’ उनले समस्या सुनाइन्। त्यसअघिका बस स्टपमा कुरेका कतिपय यात्रुले त गाडी नै नपाउने गरेको उनी बताउँछिन्।
काठमाडौं–भक्तपुरका थुप्रै यात्रुले यो समस्या भोग्नुपरेको अर्यालको भनाइ छ। 

यो रुटका गाडी दिउँसो र बेलुका सधैं भरिभराउ हुने गरेको यात्रुहरू बताउँछन्। उनीहरूका अनुसार यो रुटमा पर्याप्त गाडी चल्दैनन्। यो रुटका गाडी रिजर्भमा चल्ने गरेको र स्कुल बसका रूपमा प्रयोग हुने गरेका उनीहरू बताउँछन्। दिनहुँ २०–३० गाडी रिजर्भमा चल्ने गरेको उनीहरूको भनाइ छ।

भक्तपुर मिनिबस सेवा समितिका अध्यक्ष दिनेश प्रधानले भक्तपुरबाट काठमाडौंका लागि छुटेको गाडी बीचबाटोबाटै फर्कने गरेकाले समस्या भएको सुनाए।‘जडीबुटीमा जाम परेपछि काठमाडौंका सबै यात्रु झर्ने भएकाले बस खाली हुन्छ। र, बस चालकले त्यहीबाट गाडी फर्काउँछन्,’ उनी भन्छन्, ‘त्यही कारण बसपार्कमा गाडी नपाइएको हुन सक्छ।’  

समितिले गाडी चालकलाई बसपार्कसम्म गाडी लैजान निर्देशन दिएको उनले बताए। उनका अनुसार समितिअन्तर्गत अहिले तीन सय २७ बस सञ्चालनमा छन्। यात्रुको सुविधाका लागि २० ठूला नगर बस पनि सञ्चालन गरेको उनले जानकारी दिए। यद्यपि, बेलुका ७ बजेसम्म गाडी चल्ने गरेको उनको भनाइ छ।

भक्तपुर–काठमाडौं रुटका गाडी बेलुका ८ बजेसम्म चलाउन दिनुपर्ने समितिका पूर्वअध्यक्ष ज्ञानेन्द्र महर्जन बताउँछन्।
‘बेलुका ट्राफिक जाम हुने भएकाले ८ बजेसम्म गाडी चलाउन दिनुपर्छ,’ उनले भने।

प्रकाशित: ६ पुस २०७५ ०४:४१ शुक्रबार

काठमाडौं–भक्तपुर_रुट उभिएर_यात्रा