जानेहरु तर यसरी नगई दिऊन्
जसरी अक्सर जाने गर्छन्।
बिदाइका हात हल्लाउँदैनन् पनि
कुइनेटातिर पुगेर
न आवाज नै दिन्छन् फर्किएर
जानेहरु
यसरी त नगइदिए हुन्थ्यो।
( गुनासो, सुदीप पाख्रिन )
साउनी माफ गर्नु ल।
मैले बिदाइको हात हल्लाए पनि नाम सोध्न चाहिँ बिर्सेकै हो। तर त्यो गोलो गोलो चेहेरा, चिम्सा आँखा, खिरिलो ज्यान र मीठो स्थानीय सेर्पिनी लबज सम्झेकै छु। तिम्रो हार्दिकता टाँगिएको अनुहार। हामी छुट्टिने त्यो सबेर बिहानीका तिम्रा निद्रालु आँखा र बिसन्चिएको त्यो नानीको अबोध अनुहार पनि अझै आँखैमा छ।
साउनी संवाद
यात्रा अर्थात् अनुभव। अर्थात् भेट अनेकन पात्रहरुसँग। अर्थात् साक्षात्कार फरक जीवन र भोगाइसँगको। मैले साउनी भनी सम्बोधन गरेको महिला, होटल साउनी जो यस यात्रामा भेटिइन्। मनमा बसेकी छिन् उनी। मनमा रहनुका कारण छन्। भेटिएका सबै कहाँ बस्छन् र मनमा ? तर छाडी हिँडेको निकै दिनपछि पनि उनी सम्झनामा छाइरहेकी छिन्।
दसैंं टीकाको भोलिपल्टै थालिएको एक लहडी यात्रा थियो त्यो, रसुवाको। गन्तव्य, गोसाइँकुण्ड। दसैं बिदा बिताउ लागेको एक अचिनारु ठाउँ। संयोगले जुरी गएमा जस्ता लहडबाज साथीहरु। सुरु भयो यात्रा। यो वर्णन चाहिँ खासमा यात्राको बीचतिरको हो। सबै वर्णन जरुरी पनि त हुन्न।
उनीसँग यानिकी ती साउनीसँग झुल्के भेट भएको भन्नु त्यो मीठो बिहानीमा हो। सिङ् गुम्पाबाट उत्साहका साथ उक्लिएका पाइला जब दुई घण्टे उकालो छिचोलेर फुत्त एक समतल ठाउँमा पुगेको थियो। चोलाङ् पाटी। उचाई ३५८४ मिटर। मात्र दुईटा होटल मध्यको एककी साउनी उनी। उत्तरमा झलमल खुलेको लाङटाङ, छेउमै खुलेको उनको मीठो मुस्कान। हामी उक्लिने हतारमा थियौँ। भरे त्यतै बस्न आइपुग्नु भन्ने निम्तोसँगै चौरीको दूध हालेको चिया खुवाएर बिदा गरेकी थिइन् उनले। थाहा थिएन, भरे आइपुगिएला नपुगिएला। अनायासै हुन्छ फुत्किएको थियो मुखबाट।
तर साँच्चि आइपुगियो। उक्लिएर ४३८० मिटरको गोसाइँकुण्ड, खेलेर त्यो हिउँचिसो पानी, खिचेर फोटोहरु, कैद गरेर ती अद्भूत दृश्य आँखामा, पिएर निकै महँगो कफी, अनि आश्चर्य चकित पर्दै हेरेको पनि हो होटेलको भित्तोमा टाँसिएको सूचना, मोबाइल चार्ज प्रतिघण्टा ३ सय।
आश्चर्यमा पार्ने धेरै कुराहरु देखिए, अनुभव भए बाटाभरि। चार हजार मिटरमाथिको मात्र चट्टानी भुखण्ड, केवल पहेँला राता चट्टानमा उम्रिएका भुइँझारहरुको आँखाले छिचोलिन सक्नुको साम्राज्य, उचाइ बढ्दै जाँदा जिब्रोभरि रसाएको एक मत्मताइलो आभाष, निरन्तर चपाइएको टिमुरको पर्रपर्र स्वाद। यस्तै यस्तै छन् यादहरु। गोसाइँकुण्डीय सारा वर्णन खास जरुरी पनि छैन। मात्र यति भन्छु, त्यो एक अद्भूत भौगोलिक संरचना हो, बस्। अनेकन नील कुण्डहरु भएको विशेषभूमि।
होटल टिवेट भ्युको साउनीले ठट्टैमा भरे यतै बस्न आउनुभन्दा उनले कल्पनै गरेकी रैनछिन् हामी साँच्चै आइपुग्नेछौँ भनेर। जब साँझ ६.१० मा बिहान छुटिएका केही थान मनुवाहरु टुप्लुकिए, उनी घोर आश्चर्यमा परिन्। मुखबाट फुत्किगो, कस्तो लोग्ने मान्छेजस्तो हिँड्न सकेको यो दिदी त। उनको सहज अभिव्यक्तिलाई म कुनै चश्माले हेर्ने पक्षमा छैन यतिखेर। त्यसैले मात्र मुस्कुराइदिन्छु एक लहर।
एकजना अमेरिकन र उनको गाइड मात्र छन् पाहुना। हाम्रो टोली आगमनले उनमा स्फुर्ति भरेको प्रस्ट देखिन्छ। खानाको चाँजोपाँजोमा सारा परिवार खटिन्छन्। दुःखेको ज्यान र बढ्दै गरेको चिसो मार्न हामी गुजुमुजिन्छौँ अगेनो छेऊ। एकछिन पछि आइपुग्छ दस बाह्रजना युवा युवतीहरुको जम्बो टोली। उनीहरुको हल्लाखल्ला अग्लिँदा हामीलाई दिक्क लागे पनि साउनी खुसी देखिन्छिन्। एकछिनमा त झन् डबलिन्छ त्यो मानव गुन्जन।
खानपिन सकिने बेलातिर साउनी गायब हुन्छिन्। नानीको एकोहोरो रुवाई चर्किदै गएको सुनिन्छ। बढेको खुल्दुली मेट्न म उनलाई खोज्दै कोठामा छिर्छु। देख्छु रातो रातो गाला पारेर रोइरहेको नानीलाई काखमा हल्लाउँदै गरेकी उनी। नानी झन्झन् च्याट्ठिँदै छ। जरोले निस्लोट पारेको रैछ बच्चालाई। तर उनीहरुसँग सिटामोल पनि छैन। मन कटक्क खान्छ। धुन्चेबाट दिनभर हिँड्दा मात्र पुगिने यस ठाउँमा अपर्झट बिरामी पर्दाको अप्ठेरो यतिखेर मेरो अघिल्तिर छ।
ज्वरो र झाडापखालाको औषधिसम्म नपाएर नेपालका कुना कन्धरामा धेरैले ज्यान गुमाउँछन् अझै पनि। ठ्याक्कै त्यस्तै छ यो समय। म भने मात्र केही दिने यात्रामा पनि निकै थरि औषधिको जोहो गरी हिँडेकी छु। ती सबै औषधि उनलाई नथमाई मनै मान्दैन। नानीलाई निको ट्याबलेट आधा पारेर तुरुन्तै ख्वाउन लगाउँछु। केही बेरमा रुँदा रुँदैको नानी निदाउँछ। उनको आभार ओतप्रोत नजर एकपटक मतिर बेगिन्छ। म एक फाँको मुस्कान साटेर लाग्छु आफ्नो कोठा।
जुन टलक्कै छ झ्यालमा। मोपासाको मुनलाइटको रोमान्टिक साँझ सम्झन्छु। तर सिटामोलसम्मको अभाव नियतिले पिरोलिएका मानिसहरुमाझ जुनको मादकता फिक्का लाग्छ। म धेरैबेरसम्म निदाउन सक्दिन। साउनीको अत्तालिएको अनुहार र नानीको एकोहोरो रुवाइले निलो भएका अनुहारहरु आइरहन्छन् आँखामा।
धुन्चेतिरको बाटो समाउने बेला भएको छ। छुट्टिने बेला मैले त्यही होटलमा बिक्रीका लागि राखिएको एउटा सल किन्छु। साउनीले अरुसँग लिने दामको लगभग आधामा दिन्छिन्। औषधिको कुरो झिक्दै कृतज्ञतासहित भन्छिन्, होस् नठग्ने तपाईंलाई ... यत्तिमै लानु। उनका ती शब्दहरुमा एउटी आमाको कृतज्ञतासहितको न्यानो मिसिएको महसुस हुन्छ। धन्यवाद उनलाई।
सिङ् गेम्पाकी माया
ट्राउजर, हुक्स र टाउकोमा रुमाल कसेकी कलिली सेर्पिनीको स्वागत। शेर्पा होटल सेङ गुम्पा, यानिकी चन्दनबारी, रसुवा। धुन्चेको चौध सय मिटर उचाइबाट यो ३२५० मिटरको शेर्पा होटल छिचोल्न दिनभरको ठाडै उक्लाई। ६ घण्टा उक्लनु सजिलो कहाँ हुन्छ र ?
साँझले पखेटा फिजाइसकेको छ होटल छिर्दा। दुईतले होटलघरको डाइनिङ हलमा अघिदेखि बेगिएको रहेछ बाफिलो गफ। ठूलो स्वर भएका सानो ज्यानका गोरखातिरका टुरिस्ट गाइडदेखि उमेर उक्लिएको प्रस्ट संकेत अनुहारभरि बोकेका पोर्टरसम्मको फरक–फरक गफ। कात्तिके चिसो बढिसकेको छ यतातिर। केही विदेशी पाहुना, केही उनीहरुका सहयोगी र केही नेपालीहरु आ–आफ्नो टेबलमा टक्क अडिएका छन्। यसै समय हाम्रो समूह पनि मिसिन आइपुगेको छ। हाम्राहरुका बारे पछि कुरा गरांैला। अहिले भने सेर्पिनी बैनीले खिचेकी छ सबैको ध्यान। विदेशीसँग मीठो अंग्रेजी बोली खानेकुराको अर्डर लिन्छिन्। मेरो मनमा खुल्दुली बढ्छ। वाह, क्या मीठो अंग्रेजी। छिटोछरितो यी नानी आफ्नो काम भ्याएर आफन्तसँग तास खेल्न पनि थालिहाल्छे। दसैं नसकिएको छनक छर्दैछ माहोल।
उचाइ बढेसँगै भारी भएको टाउकोको उपचार सुझाउँछे बहिनी। गार्लिक सुप। हामी हवस् हजुर भनी स्वीकार्छौ उनको सुझाव। साँच्चि नै, तात्तातो गार्लिक सुपले त अघिको गह्रौपन स्वाट्टै झारिदिएको छ। अब फुर्तिलो ज्यान, फुरुङ्गिएको मनसँगै कान टाठो भएको छ यत्रतत्र फैलिरहेको गर्मिलो गफ सुन्न। ठूल–ठूलो सिसाको झ्यालबाट देखिँदै छ एकै छिनमा ठ्याम्मै कुहिरीमण्डल भएको बाहिरको अद्भूत दृश्य। साँझ उक्लिएसँगै डाइनिङ माझको धुवाँरहित चुला जलेको छ। रनक्क भएको छ कोठा तापले। उही चुला वरपर भेला भएका देशीविदेशी पाहुनामाझ सामेल हुन्छिन् सेर्पिनी नानी, माया। वाह, क्या सुन्दर नाम। मेरा केही नजिकका मित्रहरुले अनायासै मलाई पनि माया पुकारिदिन्छन् कहिलेकाहीँ। त्यसैले पनि प्रिय लाग्छ नाम माया।
बिस्तारै खुल्दै जान्छ गफको पेटारो। मायाको स्मार्टनेसको राज खुल्छ। काठमाडांैको ब्रिटिस कलेजमा ए लेभल पढ्ने छात्रा रहेछिन् उनी त। गजब लाग्यो सुनेर। दसैं बिदामा आमाबाको होटल पूरै सम्हालिदिने उनी नै। कलिलै उमेरकी केटीको यो जिम्मेवारी बोध सुन्दर लाग्छ। उनी दौडादौड गर्दै छिन्। निकै मिहिनेती लाग्छन् यिनी। होटल पनि परिवारले नै चलाएको। आमादेखि सानो भाइसम्म सबैलाई आ–आफ्नो कामको जिम्मा। यो दुर्गम ठाउँमा दुःख गरेर भए पनि छोराछोरीलाई राम्रो शिक्षा दिने यो परिवारको दृढता सराहनीय लाग्छ। उनीहरु दिनरात खटिरहेका छन् छोराछोरीको सुन्दर भविष्यका खातिर। नमन ती बाआमालाई। शेर्पा बाउ र तामाङ आमाकी छोरी, मिहिनेती मायालाई पनि।
आक्कलझुक्कल मात्र झुल्किने मोबाइल टावरको मौका छोपी उही माया बोल्दैछिन् साथीसँग। तिमीहरुलाई मिस गर्दै छु, म भोलि हिँड्छु।’ ठट्टा गरेझैँ लागेको थियो। तर हैन रछ। बिहान हामी निस्कनुअघि नै बाटो लाग्न उनी तयार। हामीलाई मिठो मुस्कानसहित हात हल्लाउँछिन् र घोडा चढी बाटो लाग्छिन् सिङ गुम्पाकी मायालु माया। हिजो साँझ नदेखिएको गुम्बा, र चिज प्रोडक्सन सेन्टरलाई बायाँ पार्दै हामी पनि उकालो लाग्छौँ।
शालीन शिव
एउटा यात्रा अनि अनेकन पात्र। जसलाई म टुक्रा–टुक्रा सम्झन बेस ठान्छु। छरपस्ट पात्रहरु एक एक गर्दै सम्झन झन् मीठो लाग्छ। अनायासै जुरेको यात्रा गोसाइँकुण्ड जहाँ भाइका साथीहरु भए सहयात्री। भाइहरुसँग यात्रिन के अप्ठेरो र दिदीलाई। मिसिदिए उनीहरुसँगै।
चितवनका शिव तामाङ, गमदारी छन्। साथीहरु निकै रमाइलो गफगाफमा व्यस्त हुँदा पनि उनी मात्र श्रोता हुन रुचाउँछन्। तर खुल्दै जाने रैछन् बिस्तारै। अनुहारले बीस मुनिका लाग्ने ठिक्कको मंगोलियन कद र सफाचट अनुहार, भएका उनको उमेरको अड्कल गर्न सजिलो छैन। आफैँले बीस नाघेको भनेपछि अनुमान गरिरहनुपर्ने झन्झट परेन मलाई। उमेरभन्दा बेस्सरी भिन्न, गम्भीर स्वभाव छ उनको। यात्राभरि नै क्लासिक नेपाली र हिन्दी गीत बजिरह्यो उनको मोबाइलमा। सायद गीति च्वाइस मिलेकोले पनि हो कि म अलि बढी नजिकिएँ उनीसँग।
प्लस टु पछि बिसाएका रैछन् पढाइ। यात्राको कुरा खोतल्दा खुलासा हुन्छ उनको अनेकन यात्रा। तिलिचो तालदेखि थोरोड्ला पास गर्दै मुस्ताङतिर पनि मस्तिइसकेका रैछन्। बाफ रे। केटो त यायावर रैछन्। गजब लाग्छ, उनको घुमाइ बयान। दिनभरको हिँडाइले थाकेको ज्यान र बढ्दै गरेको रातको चिसोलाई तह लगाउने रमको रम्रम्मा जब उनी भावुक हुँदै खोल्न थाल्छन् आमाको कुरो तब साँच्चै भावुक पारिदिन्छन्। उनी सानै हुँदा खेतमा काम गर्न गएकी आमा एक्कासि खुत्रुक्कै ढलिछिन्। बेथा पनि थाहा नपाई त्यसरी गएकी आमा सम्झिँदा आज पनि उनलाई खल्लो लाग्दो रैछ। त्यसमा पनि बाले एकसालमै अर्की आमा भित्र्याइदिँदा उनलाई घरमा बस्नै मन नलागेर मामाघर तिरै बसेछन् धेरै साल। एसएलसीपछि मात्र घर फर्केका रे। सानी बैनीको माया अनि अलिकति जिम्मेवारी बोधले गर्दा बाबुले गर्दै गरेको केरा खेती सम्हाल्न भनी उनी फिरेछन् घर।
आँखा झिमझिम गर्दै भन्छन्, आजकल त माया लाग्छ बाको। ठिकै गरेका रैछन् उनले भनेजस्तो पनि लाग्छ। कान्छी आमाको सन्तान छैन। हामीलाई निकै माया गर्नुहुन्छ।
उनको कुराले म सोच्न बाध्य हुन्छु। आखिर समय नै रैछ मान्छेलाई सबै सबै कुराप्रति अभ्यस्त पार्दै लाने। सायद उनको उमेर, अनुभव र व्यवहारिकता बद्दै जाँदा बाको निर्णयलाई गलत देख्न छाड्यो अब। मसँगै उनले उही चोलाङ् पाटीकी साउनीबाट दुईवटा पछ्यौरा किन्छन्। एउटा माइजुलाई अनि अर्को आमा (कान्छी आमा) का लागि। फेरि एकपटक भावुकता फैलिन्छ मभित्र। उनको कान्छी आमाप्रति बढेको आत्मियता प्रिय लाग्छ।
कथा व्यथा सबैका हुन्छन्। हामीले कथा वाचन गर्छौँ। शालीन शिवभित्रको कथाले मन छोएको छ। अझ बढी मनमा लागेको त उनको देशमै केही गर्ने उत्साह। उनलाई विदेश जाने रहर छैन। यतै व्यवसाय गर्छु भन्छन्। उनले केही महिना काठमाडाैंमा बसेर कफी मेकिङको ट्रेनिङ पनि लिइसकेका रैछन्। अब चाँडै नै भरतपुरमा एउटा क्याफे खोल्ने योजनामा छन्। शुभकामना भाइ शिव।
सबै उक्लाइहरु सकसपूर्ण नै हुन्छन् सायद। जस्तो हामीले दुई दिन लगाएर उक्लिएको गोसाइँकुण्डको उकालो सहज थिएन। जीवनका उकाली पनि निश्चय नै सहज हुँदैनन्। झन् सफलताको उकालो त निकै कठिन। तर ओह्रालो लाग्नु उत्ति गाह्रो नहुँदो रैछ।
उक्लिँदा आँखाबाट छुटेका हुँदारैछन् धेरै थोक। अब सबै सबै पर्दैछन् नजरमा। ४२०० मिटर उचाइको बुद्ध मन्दिर थुम्कोमा ढलेको मन्दिर बाहिर खुला आकाशमुनि ध्यानमस्त बुद्ध मूर्ति, लौरीविनाको ३९०१ मिटर उचाइमा भेटिएको होटल बोर्डमा सिन्स १९८५ एडी छेउ मुस्कुराएको माया होटल, धिम्सा र देउराली उक्लिँदै ओर्लिँदै गरेका पथिकहरुको सुस्ताई अनि हामीसँगै बग्दै बग्दै ओरालो लागेको खोलाको कल्कलाउँदो संगीत।
अब त सबै छुट्दै जाँदैछन्। घट्टेखोला तरेपछि त छुट्टी गए दुईदिन सँगै भएका पात्रहरु, रनबन उकाली, देउराली सबै। ठाउँ र भेटिएकाहरु नछुटे यात्रा पनि त अघि बढ्दैन। तर आफैँभित्रको यात्रामा भने फेरि भेटिनेछन् ती सबै। अब चाँडै मनयात्राको तयारीमा लाग्नु छ।
प्रकाशित: १ पुस २०७५ ०७:५६ आइतबार