अन्य

उरुतोरा जापानीज रेस्टुरेन्ट

हरिश वस्ती, उरुतोरा जापानीज रेस्टुरेन्ट,बालुवाटार, काठमाडौँ

दुबईमा केही वर्ष काम गरेर अनुभव बटुलेका हरिश वस्तीले वाइन र बारका विशेषज्ञता समेत अध्ययन गरेर आएका छन्। विगत केही महिनादेखि उरुतोराको फुड र बेभरेज व्यवस्थित गरिरहेका उनले हामीलाई यहाँका स्वादिला खान्कीबारे जानकारी गराए।

पछिल्लो समय नेपालीहरुलाई विदेशी खानाका बारेमा जानकारी बटुल्ने बानी बसिरहेको उनको भनाइ छ। थोरबहुत संसारभरिका खाना चाख्ने रस बसेकाले पनि जापानी खानाका बारेमा केही जानकारी हुन थालेकाले रेस्टुराँ एउटा आकर्षणको थलो बन्न थालेको छ।

खाना बनाउनु जसरी एउटा कला हो, खान जान्नु पनि एउटा कला हो। त्यसैले त खाना कसरी खाने भन्ने पनि संसारमा एउटा कला बन्न पुगेको छ। वस्तीलाई लाग्छ, जापानी रेस्टुराँमा छिरेपछि कुन खानामा कुन वाइन खाँदा उपयुक्त हुन्छ भन्नेमा जानकारी हुनुपर्ने उनको धारणा छ।

वाइन कुन खानासँग मिल्छ त ? उदाहरणका लागि उनले भने, ‘रेड वाइन फ्याट बढी भएका वा स्पाइसी खानासँग मिल्छ। बियर खाँदा स्न्याक्ससँग खाने चलन छ। सल्टी एन्ड स्पाइसीसँग बियरको म्याच हुन्छ। ह्विस्की आइसमा मेल खान्छ। रममा किन मन तातो पानी हालिन्छ ? किनभने त्योसँग रम म्याच हुन्छ।’

जापानी रेस्टुराँमा छिरेपछि हामीले पनि त जापानी शैलीमा खान जान्नु पर्यो नि ! त्यसैले हामीले चपस्टिक चलाउन सिक्यौँ। नेपालीहरुमाझ चपस्टिक पछिल्लो समय निकै लोकप्रिय हुन थालेको छ। खासगरी विदेश भ्रमणमा गइरहनेका लागि यो अति आवश्यक बनिसकेको छ। विदेशमा त हातैले खाने कुरा आएन ! काँटा चम्चाको प्रचलन निकैपछि बेलायतीहरुले आफ्नो संस्कृतिका रुपमा छिराएका हुन्। त्यसअघि नै जापानी, चिनियाँ र कोरियालीहरुले चपस्टिकलाई आफ्नो संस्कृतिमा लोकप्रिय बनाइसकेका थिए। त्यसैले पनि उनीहरुले काँटाचम्चाभन्दा चपस्टिकलाई नै महङ्खव दिने गर्छन्। यस्तोमा जसै हामी कुनै पूर्वी एसियाली मुलुक भ्रमण गर्नेबित्तिकै चपस्टिक चलाउने आवश्यकता महसुस गरिहाल्छौँ।

रेस्टुराँका म्यानेजिङ डाइरेक्टर ध्रुव श्रेष्ठ चपस्टिक हाइजिन हुने बताउँछन्। यस्तै हाइजिन चपस्टिक मात्र होइन, त्यहाँका हाइजिन खान्कीका कारण लागि उनीहरु स्वस्थ हुने, अनावश्यक मोटो नहुने उनको भनाइ छ। ‘चपस्टिकले खाँदा आवश्यक खाना मात्र खाइन्छ,’ ध्रुव भन्छन्, ‘नेपालीले हातले बढी खानाले पनि बढी खाना खान्छौँ र हाम्रो खानेकुरा पनि त्यति सन्तुलित हुँदैन।’जापानमा २५ वर्ष बिताइसकेपछि जापानकै उरुतोरा रेस्टुराँको फ्रेन्चाइज स्थापना गरे पनि नेपालीहरुको खर्च गर्ने क्षमता र नेपाली स्वादलाई मनपर्ने किसिमका परिकारहरु अहिले आफूहरुले पस्किरहेको श्रेष्ठ बताउँछन्।

चिकन विद राइस
सुरुमा बेग्लै भाँडामा राइस तयार पारिन्छ। त्यस्तै उमालेका विभिन्न भेज आइटमहरुलाई तयारी अवस्थामा राखिन्छ। त्यसपछि चिकनलाई टमाटर, भेनेगर, चिनी, ब्ल्याक पेपर, ह्वाइट पेपर तथा मदर सस हाली करी बनाइन्छ। यो समग्र आइटम नै अन्ततः चिकन विद राइस बन्न पुग्छ। ज्यादै भोक लागेको बेला यो परिकार तपाईंका लागि उपयुक्त हुनसक्छ।

रामेन
हड्डीलाई लामो समय सम्म पकाएर यसको सुप हालेर अण्डा, चिकन स्लाइस, नुरी नामक लेउ, यसमा हालिन्छ। यो नुरी ज्यादै पोषिलो हुन्छ। यसमा भएको मिनरलका कारण यसले कपाललाई बलियो बनाउने काम गर्छ। होम मेड नूडल हालिन्छ।

ककटेल
एपलटिनी, ट्रिपल सेक, भोड्का, ग्रीन एपल सिरप, कन्ट्रु र ग्रिन एपल जुस। यी सबै मिक्स गरेपछि एपलटिनी तयार हुन्छ। यो एउटा लेडिज ड्रिंक्स भएकाले बिस्तारै रमाइलो गर्दै खानेहरुका लागि यहाँ यो निकै चल्तीमा छ।

वाइन
सांग्रिया
रेड वाइन, फोर्टी फाइभ वाइन, ब्रान्डी आदि मिक्स गरेर यो बनाइन्छ। स्पेन र इटालीमा यसलाई ‘वाइन पन्च’ भन्ने चलन पनि छ।

उरोतोरा स्पेसल
हल्का फ्रुटहरु राखेर, स्ट्रबेरी, पिच सिरप, एप्पल फ्रुट्स मिश्रित गरेर यो बनाइन्छ। यसमा अरेन्ज जुस, पाइनापल जुस पनि मिश्रण गरिन्छ।

दासी रोल एग
जापानमा अण्डाको यो परिकार निकै लोकप्रिय मानिन्छ। खासगरी खाजाका रुपमा यो निकै रुचाइन्छ। यो निकै स्वादिलो हुनुका साथै पोषिलो पनि हुनाले मन पराइएको हो। हामीले भने ६ वटा अण्डाबाट तयार पारिएको दास रोल एग चाख्यौँ। यसमा भएको अचारले यसलाई स्वादिलो बनाएको थियो। यो बनाउन अण्डा, सुगर र विशेष किसिमको दासी (मसला) उपयोग गरिन्छ।

चिनी, पानी, अण्डा मिसाएर घोल्ने र प्यानमा थोरै तेल हालेर न थोरै ताप न त कम तापको अवस्थामा प्यानमा अण्डा हाल्ने। यस अण्डालाई तत्काल निकालेर बेरेर राखिन्छ। त्यसमाथि अचार हालिन्छ। र, तुरुन्तै खानका लागि यो तयार हुन्छ।

चाइनिज सुप (मन्चुरियन सुप)
हामीले उरुतोरामा चाइनिज सुप पनि चाख्यौँ। पछिल्लो समय नेपाली स्वाद मिल्ने गरी जापानीबाहेकका अन्य परिकार पनि यहाँ बनाउन थालिएको छ। यही प्रसंगमा यो मन्चुरियन सुप हाम्रो टेबुलमा आइपुगेको थियो। यो बनाउन चिकन, भेजिटेबलहरु चप गरिन्छ। यसपछि हट स्पाइसी, सावर, भेनेगर, टमाटो सस हालेर यो पकाइन्छ। हामीले चाखेको मन्चुरियन सुप निकै पीरो थियो तर घरमा बनाउँदा हामीले पीरोरहित पनि बनाउन सक्छौँ।

सुसी
जापानको सबैभन्दा लोकप्रिय खान्कीका रुपमा यसलाई लिइन्छ। साल्मोन्ड, भेजिटेबल, नुरीको समग्र रुप नै सुसी हो। यो ज्यादै पोषिलो हुन्छ। वासाबीको सानो टुक्रा सुसीमा मिसाएर त्यसलाई सोयाससमा मिलाएर सुसी खाइन्छ। कुनै साथीभाइलाई घरमा बोलाएर सुसी खुवाउनु जापानीहरुका लागि एउटा गज्जबको आतिथ्यको परम्पराअन्तर्गत पर्छ। नयाँ वर्षका बेलामा त विविध किसिमका सुसीका परिकार बनाएर परिवारमा उत्सव नै मनाइन्छ।

याकितोरी
चिकन ग्रिल गर्ने। त्यसपछि टपमा तेरियाक सस हालेर यो तयार पारिन्छ। ग्रिल प्यानमा बोन लेस चिकनलाई प्रेसजस्तो गरेर काट्ने र फ्राई गर्ने। खासमा आफूलाई मनपर्ने स्वादको बनाउन कसैले नुनीलो स्वादमा बनाउँछन् भने कसैले गुलियो स्वादमा। जापानमा यस किसिमको खान्की चाहिँ बियरसँग लिन रुचाइन्छ।

 

प्रकाशित: १ पुस २०७५ ०७:०४ आइतबार

हरिश_वस्ती उरुतोराको_फुड_र_बेभरेज स्वाद जापानीज_रेस्टुरेन्ट नागरिक परिवार