सोलुखुम्बु जिल्लाका तत्कालीन सल्लेरी, तामाखानी, गार्मा, बेनी, टाक्सिन्दु, टाप्टिङ, केरुङ, गोराखानी र तिङला समावेश गरी सोलुदुधकुण्ड नगरपालिका बनेको छ। जनप्रतिनिधि निर्वाचित भएर आएपछि पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उनीहरुको भनाइ छ। जनप्रतिनिधि आएपछिका डेढ वर्षमा नगरपालिकामा के कस्ता कामहरु भए ? मुख्य चुनौती र अवसर के हुन् ? यिनै प्रश्नका सेरोफेरोमा रहेर सोलुदुधकुण्ड नगरका प्रमुख नाम्गेल जाङ्बु शेर्पासँग नागरिककर्मी शिखरजंग श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश:
डेढ वर्षको अवधिमा जनप्रतिनिधिले हासिल गरेका उपलब्धि के के हुन् ?
नगरपालिकाले यो अवधिमा कर्मचारी व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउँदै अत्यावश्यक ७ वटा ऐन पारित गरी कार्यान्वयनमा ल्यायौं। वडामा मात्र होइन, गाउँगाउँसम्म ग्रामीण सडकको पहुँच पु-याएर सडक सञ्चालनमा ल्यायौं। उपलब्धिकै कुरा गर्ने हो भने, सल्लेरी बजार क्षेत्रलाई व्यवस्थित बनाउन मापदण्ड विपरित बनाइएका टहरा, पाली, छानो भत्काउन र ढल व्यवस्थापनको कामलाई अघि बढाउन सफल भएका छौं। पछिल्लो समय नगरपालिकाले नगरको सुन्दरतालाई ध्यानमा राख्दै खोलाखोल्सीमा फालिएका र सार्वजनिक क्षेत्रमा वर्षाैंदेखि थुप्रिएर रहेका फोहोर व्यवस्थापन गरेका छाैं। यो काम जारी छ। रिसाइकलका लागि फोहोर वर्गीकरण गरेर नवलपरासी पठाउने काम भएको छ। नगरबासीलाई सरसफाइको सरल अभ्यासका लागि बार विभाजन गरी फोहोरको वर्गीकरण, संकलन र व्यवस्थापनको कार्य चलिरहेकै छ।
वडा कार्यालयसम्म पुगेर वडागत योजनाका सम्झौता गर्ने कामको थालनी गरिएको छ भने ज्येष्ठ नागरिक, अशक्त, महिला, आर्थिक अवस्था कमजोर भएका परिवारको उपचारका लागि घरघरमा स्वास्थ्य परीक्षण र हरेक ३ महिनामा वडामा एक्सरेसहितको शिविर सञ्चालन गरिरहेका छाैं। जसले गर्दा स्वास्थ्यमाथि नागरिकको न्यूनतम पहुँच स्थापित गरेका छौं। पूर्वाधार निर्माणतर्फ खोरिया, तामाखानी, बेनीखोला र सोल्नासामा निर्माणाधीन मोटरेबल पुल अन्तिम चरणमा पुग्नु, नगरले मेसिन (स्काभेटर, व्याकोटर, रोलर, टिपर) खरिद गरेर सडक निर्माणको कामलाई तीव्रता दिइरहेका छौं।
आन्तरिक स्रोत मजबुतीका लागि के योजना छ ?
अहिले पनि जिल्लाका स्थानीय तहमध्ये दोस्रो बढी राजस्व संकलन गर्ने स्थानीय तह नगरपालिका नै हो। आगामी दिनमा केन्द्र र प्रदेश सरकारको अनुदानबाट आत्मनिर्भरतातर्फ अघि बढ्न आगामी आर्थिक वर्षबाट कृषि र पर्यटनमा लगानी गर्ने सोचमा रहेका छौं। सडक, पुललगायतका पूर्वाधार निर्माण चालु वर्षमा सकिन्छ। आलु, किवी, स्याउलगायतका संरचनागत तरकारी तथा फलफूललाई व्यवसायिक रुपमा अघि बढाउन र सम्भावित क्षेत्रको पर्यटन विकासमा ध्यान दिन सके मात्र आन्तरिक रुपमा मजबुत बन्न सकिने मेरो बुझाइ छ। आत्मनिर्भरतालाई आधार बनाई उत्पादनमा केन्द्रित भइयो भने रोजगारीको सिर्जना, अर्गानिक उत्पादन, आन्तरिक पर्यटनको विकासका लागि पनि टेवा पुग्छ।
पर्यटनको कुरा गर्दा, हिन्दु र बौद्ध धर्मावलम्बीहरुको गन्तव्य बन्न सक्ने चिवाङ, जुनवशी, मेन्दोपाके गुम्बा, ज्वालामाई मन्दिर, ठूलो÷सानो दुधकुण्ड पोखरीलाई व्यवस्थित गर्ने र प्रचारप्रसार गर्न सकियो भने पनि नगरको समृद्धिमा टेवा पुग्छ। त्यस्तै, हामीसँग रात्नाङगे, पिके, पत्तो सेलगुढी जस्ता प्राकृतिक सौन्दर्य नियाल्न सक्ने चुचुरो छन्। ती सम्पदालाई उचित व्यवस्थापन मात्र गर्न सके पनि आन्तरिक तथा बाह्य पर्यटनको बाक्लो आगमन हुने हाम्रो बुझाइ छ। नगरभित्रका सम्पदाहरुको वृत्तचित्र बनाई प्रचारमा लैजाने योजनाअनुसार काम भइरहेको छ। त्यतिमात्र होइन, नगर क्षेत्रभित्र निर्माणाधीन आधा दर्जनभन्दा बढी हाइड्रोपावरबाट प्राप्त हुने राजस्वले पनि हामीलाई सहयोग पुग्नेछ। पर्यटन प्रवद्र्धनकै लागि खुम्बु पासाङल्हामु गाउँपालिका, मध्य दुधकोसी गाउँपालिका, लिखुपिके गाउँपालिका र थुलुङ दुधकोसी गाउँपालिकासँग पनि हातेमालो गरेर अघि बढ्नेछौं।
सुशासन, पारदर्शीता र जवाफदेहितामा ध्यान नदिएको गुनासोबारे के भन्नुहुन्छ ?
हामी अवश्य पनि यसमा गम्भीर छौं। हामीले जति ठूला काम गरे पनि सुशासन, पारदर्शिता र जवाफदेहिता भएन भने अपुरो हुन्छौं। हामीलाई थाहा छ, हरेक नागरिकले नगरको गतिविधि यर्थाथको धरातलमा रहेर बुझ्न पाउनुपर्छ। यही कुरालाई ध्यानमा राख्दै नगरको कामलाई पारदर्शी बनाउन सस्तो र गुणस्तरीय कामका लागि नगरपालिकाले सडक निर्माणका आवश्यक औजार खरिद गरी धमाधम काम गरिरहेको छ। केही भाडामा लिएका स्काभेटरलगायतका औजारलाई पनि प्रक्रियाअनुसार टेन्डर गरी भाडा निर्धारण गरेका छौं।
समय–समयमा गरिने सार्वजनिक सुनुवाई, तेस्रो पक्षको अनुगमन प्रणाली, रेडियो कार्यक्रम, नगरपालिकाको वेबसाइट, मोबाइल एप्स, इन्टरनेटको व्यवस्थापन गरेका छौं। यसकारणले अझैसम्म नगरको सुशासन, पारदर्शिता र जवाफदेहीतामा कसैले पनि औंला ठड्याएको छैन। म दाबीका साथ भन्छु, यसमा पनि नगरपालिका अग्रपंक्तिमै छ। उपभोक्ता समितिबाट विकासका योजना सञ्चालन गरिनुले सर्वसाधारणमा विकासमा अपनत्वको अनुभूति दिलाएको छ भने रोजगारीको सिर्जना र काम गुणस्तरीय हुन सहयोग मिलेको छ। निर्वाचनको समयमा उठाएको रोजगारीको मुद्दालाई उपभोक्ता समितिको माध्यमबाट योजना कार्यान्वयन गर्ने शैलीले सार्थक तुल्याएको छ।
अब नयाँ कामको थालनी के गर्दै हुनुहुन्छ ?
‘स्थानीय पाठ्यक्रम निर्माण गर्ने र विद्यालय स्तरमा पठनपाठन सुरु गर्ने हाम्रो नयाँ कार्यक्रम रहनेछ। मलाई लाग्छ, यो नमुना कार्यक्रम बन्नेछ। किनकी, ‘विद्यालय स्तरमा पढाइ हुने पाठ्यक्रममा नगरपालिका क्षेत्रका जाति, भाषा, संस्कृति, धर्म, पर्यटन, कृषि, पशु र सम्भावना, जलस्रोत, खानी, जडिबुटीलगायतका सम्भावना र यर्थाथलाई समावेश गरिएको हुनेछ। नगर क्षेत्रका विद्यार्थीले नगरका सम्भावनाका विषयमा बुझ्नेछन्। जहाँ गए पनि भन्नसक्ने छन् की, नगरको पहिचान यो हो। त्यतिमात्र होइन, यो पाठ्यक्रम लागू भएको एक दशकपछि नगरका युवाले नगरभित्रकै सम्भावनामा खेल्न थाल्छन्। सम्भावनाभित्र अवसरको खोजी हुन थाल्छ। नगरको दक्ष जनशक्तिको श्रम र दक्षता लगानी भएपछि दिगो विकास र सम्बद्ध नगरको परिकपनालाई त्यसले साकार पार्न मुुख्य भूमिका खेल्छ भन्ने मेरो बुझाइ हो। यो अवधारणाका लागि विज्ञहरुसँगको छलफल अघि बढिसकेको छ।
तपार्इंको कार्यकाल सकिँदै गर्दा नगरलाई कस्तो बनाउने योजना छ ?
मेरो कार्यकाल सकिँदै गर्दा नगर सञ्चालनका लागि आवश्यक सम्पूर्ण ऐन, कार्यविधि, निर्देशिका बनिसक्नेछ। नगरको एकीकृत विकास योजनाका लागि ‘गुरुयोजना’ बन्नेछ। नगरपालिकाको आफ्नै भवन बन्नेछ। जग्गा खोजीको काम भइरहेको छ। बाह्य लगानीबाट भवन बनाउने प्रयास गरिरहेकै छौं। सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चारको दरिलो पूर्वाधार सम्पन्न नगर बन्नेछ भने सहरी विकास योजनाको डिपिआर तयार गरिनेछ। नगरभित्र सुशासन र आन्तरिक व्यवस्थापनको साथमा प्रशासनिक पारदर्शिता चुस्त हुनेछन्। त्यसवाहेक ३० शैड्ढयाको जिल्ला अस्पतालको निर्माण छिट्टै सुरु हुँदैछ। फाप्लु विमानस्थल व्यवस्थापनको काम भइरहेको छ। विमानस्थलको पार्किङ र सुरक्षाका लागि तारबार गर्ने र व्यवस्थित गर्ने काम भइरहेको छ। नगरपालिका सफा र सुन्दर बन्नेछन्। हरेक खोलाखोल्सीमा वर्षौंदेखि रहेका सिसाजन्य र प्लाष्टिकजन्य फोहोर व्यवस्थापनको काम निरन्तर चलिरहेको छ। यी कुराहरु गरेरै छाड्ने प्रतिबद्धता छ।
प्रकाशित: २९ मंसिर २०७५ ०३:३६ शनिबार