अन्य

नयाँ घरमा खुसी ल्याउने १९ सुत्र

भर्खरै बिहे भएको परिवारमा खुसी ल्याउने जिम्मा नयाँ बुहारीको भागमा पर्छ । नयाँ दुलहीले सबै किसिमका आशा पूरा गर्न सक्छु कि सक्तिनँ भनेर अनेकौँ प्रश्न दिमागमा घुमाइरहेका हुन्छन् र घुम्छन् पनि । नयाँ दुलही कसरी नयाँ घरमा घुलमिल हुने ? यसका केही अचुक उपाय यस्ता छन्ः

१. बालबालिकालाई पट्याउनुस्

घरमा कसैको मन चोर्नु छ भने सुरुमा बालबालिकाको मनमा ठाउँ बनाउनुहोस् । उनीहरुसँग मित्रता गाँस्नुस् । उनीहरुलाई मनपर्ने विविध चक्लेट र सामग्री दिएर खुसी बनाउनुस् । उनीहरुलाई धेरै माया गर्नुस् । बालबालिका खुसी भए भने बाँकी सदस्य पनि खुसी हुन्छन् ।

२. पाकाहरुका लागि बालिका बन्नुस्

घरका पाका मानिसहरुसँग केहीबेर सँगै उठबस गर्नुस्, उनीहरुसँग कुराकानी गर्नुस् । उनीहरुका अगाडि सबैथोक जान्ने छु भनेर नदेखाउनुस्, कहिलेकाहीँ बालबालिकाजस्तो बन्नुस् र आफ्ना बालसुलभ गल्तीका बारेमा उनीहरुलाई सुनाउनुस् । आफ्ना बालापनका कुरा सुनाउँदा घरका पाका मानिसहरु पनि बालापनमा फर्कन्छन् । यस्तो अवस्था उनीहरुलाई मन पर्छ ।

३. आफ्नो उमेर मिल्नेलाई साथी बनाउनुस्

घरमा नन्द, देवर वा जेठी सासू हुनसक्छन् र उनीहरुको उमेर तपाईंसँग लगभग मिल्ने वा केही वर्ष साना वा ठूला पनि हुनसक्छन्, तिनलाई साथी बनाउनुस् र साथीजस्तै व्यवहार गर्नुस् । आफूजस्तो छु, त्यस्तै देखिनुस्, बढी बन्ने वा देखाउने नगर्नुस् किनभने अति सर्वत्रवर्जयेत ।

४. मुस्कानलाई ज्युँदै राख्नुस् 

नयाँ दुलहीका रुपमा नयाँ घर पुग्दा उसको सबैभन्दा ठूलो हतियार मुस्कान हुन्छ । उसको मोहक मुस्कानले जो सुकैको उदास अनुहारलाई पनि मुस्कुराउन बाध्य पार्छ । नयाँ दुलहीको मुस्कानले नै परिवारका हरेक सदस्यको अनुहार झलमल्ल हुन्छ ।

५. नातागोतालाई घरैका सदस्यजस्तो ठान्नुस्

म लोग्नेलाई माया गरिहाल्छु अरुको के काम भन्ने मानसिकता नयाँ घरमा चल्दैन । बिहे–बटुलोमा टाढाटाढाका नातेदारहरु भेला भएका हुन्छन् । उनीहरुलाई नवदुलहीले नजिकका पारिवारिक सदस्यहरुलाई जस्तै व्यवहार गर्नुहोस् । नयाँ दुलहीले आफूलाई अपरिचित जस्तो व्यवहार नगरेको पाउँदा उनीहरु ज्यादै खुसी हुन्छन् र टाढाटाढासम्म नवदुलहीको कीर्ति फैलाउँछन् ।

६. नयाँघरको खुसीको जिम्मेवारी तपाईंको

तपाईंको बिहे एउटा पुरुषसँग मात्र भएको हुँदैन, पूरै उसको परिवारसँग भएको हुन्छ । त्यसैले पतिलाई मात्र ध्यान दिने होइन, पूरै परिवारको जिम्मेवारी तपाईंको हो । जिम्मेवारी लिनुस् ।

७. तपाईंको खुसी तपाईंकै हातमा 

बिहे गर्ने, परिवारलाई चहकिलो पार्ने तपाईंको सपना पूरा भएको छ । यो खुसी र सपना जीवनभर देख्न, जिउने जिम्मेवारी तपाईंकै हो । तपाईंकै हातमा यो खुसीलाई जीवनभर राखिरहने कि नरहने भन्ने भर पर्छ । तपाईंलाई जस्तै तपाईंका सासू–ससूरा र अन्यलाई दुविधा भइरहेको हुन्छ– नयाँ दुलहीले हामीलाई कस्तो मान्छे, कसरी लिएकी छे, ऊ खुसी छ कि छैन ? यो दुविधा मेट्न तपाईंले आफ्नो खुसी प्रकट गर्नैपर्छ र यसलाई कमी हुन नदिन प्रयत्नशील रहनुपर्छ।

८. हरेक पललाई रमाइलो बनाउनुस्

भविष्यको चिन्ता छाडिदिनुस् र यी सुनौला पलहरुको मज्जा लिनुस् । परिवार सम्हाल्ने, जिम्मेवारी पूरा गर्ने, सबैका आशामा खरो उत्रनेजस्ता कुरा त जीवनभर छँदैछन् । अहिलेलाई तपाईंले जुन फुर्सदको पल पाउनुभएको छ, त्यसलाई इन्जोय गर्नुस् र अरुलाई पनि खुसी बनाउनुस् ।

९. हरेक कुरा जान्ने र गर्न सक्ने नदेखिनुस्

नयाँ बुहारीका रुपमा तपाईंले बुझ्नैपर्ने कुरा के छ भने, तपाईंले त्यति मात्रै जिम्मेवारी लिनुस्, जति पूरा गर्न सक्नुहुन्छ । सारा जिम्मेवारी लिएर चिढिनुभन्दा परिवारका सदस्यहरुलाई काम बाँड्ने कुरामा ध्यान दिनुस् । सुपरवुमन बन्ने चाहनाका कारण आफ्नै स्वास्थ्यलाई खतरामा नपार्नुस् ।

दुलाहाले के गर्ने ?

१०. नवदुलहीलाई नयाँ वातावरण, नयाँ घर र नयाँ घरेलु सदस्यहरुको माहोलमा सहज महसुस गराउनु नवदुलाहाको कर्तव्य हो । दुलहीले कयौँ सपना सजाएकी हुँदी हो भन्ने भावना बुझ्दै ती सपना पूरा गर्न/गराउन भूमिका खेल्नु आवश्यक छ । नवदुलहीका हरेक ससाना खुसीलाई ध्यान दिनु दुलाहाको कर्तव्य हुनजान्छ ।

११. नवदुलहीलाई पत्नीका रुपमा होइन, साथीका रुपमा अँगाल्नुस् । ऊसित केही कुरा नलुकाउनुस् । जे छ, खुला हृदयले उसलाई बताउनुस् । परिवारका सबै सदस्यको हृदयमा स्थान बनाउनका लागि हरेक पल नवदुलहीलाई तपाईंको आवश्यकता पर्छ । तपार्इं नवदुलहीको सपोर्ट सिस्टम बनी सहयोग गर्नुहोस् ।

१२. हरेक व्यक्तिका आफ्नै कमजोरी हुन्छन् । त्यसैले कुनै पनि व्यक्तिको कमजोरीमा भन्दा उसको सशक्ततालाई केन्द्रित गर्नुपर्ने हुन्छ । नवदुलहीको मामिलामा पनि तपाईंले उसका असल पक्षलाई परिवारसमक्ष प्रस्तुत गर्नुहोस् ।

१३. नवदुलहीका ससाना गल्तीलाई नदेखेझैँ गरिदिनुस् । यस्तो भयो भने तपाईंको विवाहित जीवन अरुका लागि कति उदाहरणीय बन्छ, त्यो पछि मात्र तपाईंले बुझ्न सक्नुहुन्छ ।

१४. नवदुलहीका लागि उसको नयाँ घरमा एउटा सम्माननीय स्थान बनाउने काम तपाईंको पनि हो । तपाईंले जुन नजरले आफ्नी पत्नीलाई हेर्नुहुन्छ, जस्तो व्यवहार गर्नुहुन्छ, परिवारका अन्य सदस्यहरुले पनि तिनै कुरा अँगाल्छन् ।

परिवारका सदस्यले पनि बुझ्नुपर्ने कुराहरुः

१५. बुहारीलाई छोरी भनेर मात्र ऊ छोरी बन्दिन । उसलाई छोरीजस्तै व्यवहार गर्नु पनि उत्तिकै आवश्यक हुन्छ ।
१६. जुन छुट र स्वतन्त्रता तपाईंले आफ्नी छोरीलाई दिनुहुन्थ्यो, त्यो आफ्नी बुहारीलाई पनि दिनुहोस् । बुहारीको बिल्ला भिराएर सम्बन्धलाई बोझिल नबनाउनुस् ।

१७. तपाईंले आफ्नी नव बुहारीलाई भरपूर प्रेम र अपनत्व दिनुभयो भने उसले तपाईंको छोरालाई जिन्दगीभरि जुन खुसी दिन्छे, त्यो कहीँकतैबाट किन्न सकिँदैन ।

१८. घरको पाका सदस्य भएकाले भर्खरै थपिएका सदस्यका लागि तपाईंले प्रेरणा पुञ्ज र उदाहरणीय बन्नुपर्छ । तपाईंले बुबा भएर आफ्नी आर्धाङ्गिनीलाई कहिल्यै बेइज्जत गर्नुभएको छैन भने छोराले पनि आफ्नी पत्नीलाई कहिल्यै बेइज्जत गर्ने छैन । यही कुरा पनि आमाले बुबामाथि गर्ने व्यवहारले पनि देखाउँछ । लोग्नेलाई हेप्ने श्रीमती छ भने स्वाभाविक रुपमा नवदुलहीले पनि कालान्तरमा सोही प्रक्रिया दोहो¥याउने सम्भावना रहन्छ ।

१९. कुनै ठूलासाना निर्णय लिँदा बुहारीको धारणा पनि बुझ्नुस्, ऊसँग तपाईंले धारणा माग्नुस् । यसले उसको आत्मविश्वास बढ्नेछ र परिवारका लागि कसरी उत्तम सोच्ने भन्ने भावना उसमा बढेर जानेछ ।

प्रकाशित: २४ मंसिर २०७५ १०:३५ सोमबार

विवाह बुहारी खुसी नागरिक परिवार