अन्य

चिसोमा छालाको स्याहार

सुन्दर अनि चम्किलो अनुहार होस् भन्ने चाहना त कसको पो नहोला । तर, चाहनाले मात्र छाला सुन्दर हुने होइन। त्यसका लागि छालाको नियमित र उपयुक्त स्याहार पनि आवश्यक छ। चिसो होस् वा गर्मी, सबैलाई सुन्दर अनुहार कसरी बनाउने भन्ने चिन्ता हुन्छ। गर्मीभन्दा चिसोमा अनुहारको स्याहार गर्नुपर्ने ब्युटिसियन बताउँछन्।

चिसो मौसममा छाला रुखो र बेजान हुने धेरै सम्भावना रहन्छ, जसको कारणले अनुहार फुट्ने समस्या समेत आउँछ। तसर्थ अनुहारलाई फुट्नबाट बचाउन विभिन्न उपायहरू अपनाउन सकिन्छ।

छाला विभिन्न प्रकारका हुन्छन्। प्रायः छालालाई वइली स्किन, ड्राई स्किन र नर्मल स्किन गरी तीन प्रकारमा विभाजन गरेको पाइन्छ। शरीरको छालाभन्दा अनुहारको छाला संवेदनशील हुने चिकित्सक बताउँछन्। व्यस्त दैनिकीले कहिलेकाहीँ छालाको सुन्दरता गुम्ने खतरा हुने गरेको छ। अझ प्रदूषित वातावरणमा त छालाको थप हेरचाह आवश्यक पर्छ। छालाको हेरचाहका लागि बजारमा पाइने केमिकलयुक्त क्रिम प्रयोग गर्नुभन्दा पहिला छालालाई हानी गर्छ/गर्दैन भन्ने कुराको विशेष ध्यान दिनु आवश्यक हुन्छ।

दिनानुदिन काठमाडौंमा बढ्दै गरेको चिसोबाट छालाको विशेष स्याहार गर्नुपर्ने हुन्छ। चिसो हावा, चिसो पानीबाट बचाई राख्न धेरै उपायहरू अपनाउनुपर्ने ब्युटिसियन बताउँछन्। चिसो हावा, चिसो मौसमले छालालाई रुखो र सुक्खा बनाउने हुनाले छालालाई चिसोबाट बचाउनुपर्ने हुन्छ। बजारमा छाला अनुसारका विभिन्न ब्रान्ड, फ्लेबर लगायतका लोसनहरू उपलब्ध छन्, जसको प्रयोग गरेर चिसोबाट छालालाई सुरक्षा दिन सकिन्छ। तातो पानीले मुख धुँदा, नुहाउँदा फुस्रो हुने छालामा लोसनको प्रयोग उपयुक्त मानिने बताउँछिन्, ब्युटिसियन निरु गुरुङ।

उनी पाँच वर्षदेखि ब्युटिसियनको रुपमा काम गर्छिन्। उनले पाटनमा निरु ब्युटिपार्लर सञ्चालन गरेकी छन्। ‘चिसो मौसममा छाला नाजुक हुने गर्छ, छालाको प्रकृति अनुसारको उपयुक्त लोसन लगाएर केही हदसम्म छालालाई बचाउन सकिन्छ,’ उनी भन्छिन्।

छालाको स्याहार महिलाले मात्रै गर्छन् वा महिलालाई मात्रै आवश्यक छ भन्ने सोचाइ गलत भएको उनको भनाइ छ। ‘छालाको स्याहार गर्न उमेर र लिंगले निर्धारण गर्दैन, बाहिरी चिसोबाट छाला सुक्खा भई फुट्ने अनी रगत आउने जस्ता समस्याबाट जोगाउन छालाको स्याहार आवश्यक हुन्छ,’ उनले भनिन्।

बाहिर हिड्ँदा मात्र लोसन प्रयोग गर्ने, अनुहारमा मात्र विशेष ध्यान दिने प्रवृत्ति गलत रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘प्रायः हामी लोसन हातमा र मुखमा मात्र लगाउँछाैं। तर, हात र मुखजस्तै सम्पूर्ण शरीरलाई मोइस्चर राख्न आवश्यक छ। तसर्थ, चिसोमा छालाको थप स्याहार आवश्यक हुन्छ।’  

भैंसेपाटी बस्ने दीपा नेपाल न्युरोडस्थित प्रकाश स्टोरमा मोस्चराइजर क्रिम किन्नमा व्यस्त देखिन्थिन्। ‘मेरो ड्राई स्किन छ, चिसोमा विशेष ध्यान दिनुपर्छ, मेरो स्किनलाई उपयुक्त हुने लोसन नै प्रयोग गर्छु,’ उनले भनिन्।

कक्षा १२ मा अध्ययन गर्दै गरेकी उनी बिहानै कक्षामा जाँदा हात र अनुहार कठ्यांग्रिने अनुभव सुनाउँछिन्। ‘कलेज जाँदा चिसो सिरेटोले छाला फुटाउने भएर मोइस्चराइजर क्रिमको प्रयोग गर्छु,’ उनले भनिन्।

चिसो मौसममा मोइस्चराइजर क्रिम र लोसनको व्यापार हुने गरेको छ। टिन एजर्सदेखि अधवैशे उमेर समूहका महिलाहरू मोइस्चराइजर किन्न आउने गरेको व्यापारीहरू बताउँछन्।  

मोइस्चराइजरले छालालाई सुक्खापन हुनबाट जोगाई ओसिलो बनाउन मद्दत गर्छ। छालाको प्रकृति अनुसार लोसनको प्रयोग गर्न ब्युटिसियन सुझाउँछन्। चिल्लो छालालाई गर्मी मौसममा र फुस्रो (ड्राई) छालालाई चिसो मौसममा विशेष ध्यान दिनुपर्ने बताउँछिन् गुरुङ।

छाला अनुसारको लोसन लगाउँदा सामान्य छालालाई नर्मल स्किन, लाइट बडी लोसनको प्रयोग गर्नुपर्ने उनी बताउँछिन्। बिभिन्न ब्राण्ड र कम्पनीका मोइस्चराइजर क्रिमहरूको माग नेपाली बजारमा निकै रहेको पाइन्छ। अचेल नेपाली बजारमा भारत, चीन, कोरियन, जर्मनी, अमेरिका लगायतका उत्पादनहरूले कब्जा गरेका छन्। छालामा जथाभावी क्रिम र लोसन प्रयोग गर्न नहुने ब्युटिसियनको सुझाव छ।

पुल्चोककी प्रिती थापालाई चिसो मौसम मन पर्दैन्। चिसोले हात–खुट्टा फुट्ने गरेको उनी अनुभव सुनाउँछिन्। उनी भन्छिन्, ‘चिसो मौसममा मेरो छाला निकै सुक्खा हुन्छ। त्यसैले बिहान र बेलुका लोसन लगाउँछु, लोसन नलगाए छाला पोल्ने तथा खुम्चाउन अप्ठेरो हुने गरेको छ।’ लोसनले हात–गोडाको छालालाई रुखो हुन नदिने उनको भनाई छ।

चिसो मौसममा हात–खुट्टा रुखो हुने, फुट्ने समस्या हरेकलाई हुन सक्छ। यस्तै समस्याबाट आजित भएका छन्, भैंसेपाटीका राजेश कार्की।

‘चिसो मौसममा हरेक वस्तु अल्छि हुन्छ, पानी अल्छि हुन्छ जम्छ, हावा अल्छि हुन्छ कुहिरो बन्छ, अनी म पनि यस्तो चिसोमा नुहाउँन अल्छि गर्छुु’ उनले हास्ँदै भने। उनी आफूलाई लोसनबारे त्यति आइडिया नभएको बताउँछन्। दिदीले किनेर ल्याएको लोसन प्रयोग गर्ने उनले बताए।

‘मलाई मेरो छाला कस्तो हो भन्ने नै थाहा थिएन, छाला फुटेर पत्रपत्र भएर चायाँजस्तै सेतो खसेपछि दिदीले ड्राई स्किन हो भन्नुभयो, अनि पो थाहा पाएँ,’ उनले भने।

छाला ड्राई भएकाले धेरै मोइस्चर हुने लोसनको प्रयोग गर्ने उनी बताउँछन्। चिसो मौसम भए पनि बाहिर निस्कनुपर्ने भएकाले दैनिक रूपमा लोसनको प्रयोग गर्ने उनले बताए।

बजारमा सक्कलीजस्तै देखिने नक्कली उत्पादनहरू आएको हुँदा हरेक सामान किन्दा ध्यान दिनुपर्ने व्यापारी कमलेस बताउँछन्। यस्ता सामग्रीले छालामा साइड इफेक्ट गर्ने भएकाले किन्दा सावधानी हुनुपर्ने उनको सुझाव छ। जाडोको लोसन, क्रिम वा अन्य दैनिक उपभोग्य कस्मिेटिक आइटम किन्दा अरुले भनेको भरमा वा टिभीमा गरिएको विज्ञापनको आधारमा किन्न नहुने उनी बताउँछन्। छालाको प्रकृति अनुसारको लोसन तथा मोइस्चराइजरको दैनिक प्रयोग गर्नुपर्ने ब्युटिसियनहरूको सुझाव छ।

प्रकाशित: २४ मंसिर २०७५ ०४:५३ सोमबार

छाला चिसो