अन्य

नेकपा र नेमकिपाका नेताबीच जुहारी

भक्तपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय रंगशाला निर्माणबारे नेकपा र नेमकिपाका नेताबीच जुहारी चलेको छ। नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता तथा सांसद् महेश बस्नेत जसरी पनि रंगशाला बनाएरै छाड्ने अडानमा छन् भने नेपाल मजदूर किसान पार्टीका नेता तथा सांसद् प्रेम सुवाल किसानको सहमतिमा मात्रै रंगशाला बनाउनुपर्ने बताउँछन्। यी दुई सांसद्बीच प्रत्येक सार्वजनिक कार्यक्रममा जुहारी चल्दै आएको छ। 

पछिल्लो समय रंगशाला निर्माणबारे किसानले खुलेरै विरोध गरिरहेका छन्। सामाजिक सञ्जाल फेसबुकमा समेत रंगशाला निर्माणबारे पक्ष–विपक्षमा टीकाटिप्पणी भइरहेको छ। सरकारले सुरुमा भक्तपुरको चाँगुनारायण नगरपालिकाको ताथली क्षेत्रमा प्रस्तावित अन्तर्राष्ट्रिय रंगशाला बनाउने प्रस्ताव गरेको थियो। तर, स्थानीयले विरोध जनाएपछि सूर्यविनायक नगरपालिका वडा नम्बर ८ र ९ मा पर्ने नंखेलमा रंगशाला बनाउने प्रस्ताव अघि सारेको छ।

तर, नंखेलका किसान पनि रंगशाला बनाउन नहुने पक्षमा छन्। सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले सूर्यविनायक नगरपालिका रंगशाला बनाउनुपर्ने पक्षमा रहेको बताइन्। ‘सूर्यविनायक नगरपालिकाको विकासका लागि रंगशाला बनाउनु आवश्यक छ,’ उनले भनिन्।

रंगशाला निर्माणको विरोधमा उत्रिएका नंखेलावासीले ‘प्रस्तावित रंगशाला पीडित संघर्ष समिति’ गठन गरेका छन्। समितिका अध्यक्ष हरिकृष्ण दनेगुलले खेतीयोग्य जमिनलाई मासेर रंगशाला बनाउन लागेकोले विरोध गर्नुपरेको बताए। यो क्षेत्रलाई ‘स्मार्ट कृषि क्षेत्र’ घोषणा गर्नुपर्ने आफूहरूको माग रहेको उनले बताए। यहाँको जग्गा जोगाउन पटकपटक नगरपालिकाको ध्यानाकर्षण गएको उनले स्मरण गरे।

रंगशाला निर्माणपछि एक हजार पाँच सय परिवार विस्थापित हुने र दुई हजार रोपनी खेतीयोग्य जमिन नासिने किसान बताउँछन्।

प्रकाशित: २१ मंसिर २०७५ ०६:०६ शुक्रबार

भक्तपुर अन्तर्राष्ट्रिय_रंगशाला दुर्इ_पार्टी जुहारी