काठमाडौंको लुति अजिमा (इन्द्रायणीमा) बुधबार मध्यरात सर्पाहुति होम सम्पन्न गरियो। सर्पाहुति होम भनिए पनि यसपाली पनि यहाँ होममा सर्पलाई समावेश गर्न सकिएन। सर्प मात्रै होइन, होममा सामेल गरिनु पर्ने भंगेरा, फट्याङ्ग्रा पनि समावेश गरिएन।
हरेक वर्ष बाला चतुर्दशी अघिको रात तान्त्रिक विधि अनुसार सर्पाहुति होममा गरिन्छ। होममा ३२ थरि विभिन्न अन्नका साथै सर्प, भंगेरा, फट्याङग्रा, माछा र राँगाको टाउको होममा आहुतिदिने चलन रहिआएको छ। यस वर्ष ३२ थरि अन्नका साथै माछा र राँगाको टाउको मात्रै आहुति गरियो। होम गर्दै आइरहेका गुथिकाहरूले भंगेरा, सर्प र फट्याङग्रा भेटाउनै सकेन र यसपालि यीबाहेक अरु सामग्री मात्र राखेर होम गरियो।
सर्पाहुति होम मल्लकालमा काठमाडौंको माथिल्लो भेगमा राजकाज गर्दै आएका थकू जुजुका सन्तानहरूले गर्दै आइरहेका छन्। यस वर्ष थकू जुजुका सन्तान गजेन्द्रराज मल्लले होम सम्पन्न गरे। ६ वर्षअगाडि उनका बुबा बितेपछि उनले नै होम गर्दै आइरहेका छन्।
‘होममा जमिनमा उब्जिने सबै अन्नको प्रतीकको रूपमा ३२ थरि अन्न, दुई–दुई जोडी सर्प, भंगेरा, फट्याङ्ग्रा, माछा र एउटा राँगोको टाउको चाहिन्छ। एक जोडीलाई होममा आहुति दिनुपर्छ र एक जोडीलाई बाहिर छोड्नुपर्छ। तर अचेल बढ्दो सहरीकरणले गर्दा सर्प, भंगेरा, फट्यांङ्ग्रा पाउनै छोडीसक्यो। त्यसैले जे–जे भेटाइन्छ, ती–ती सामग्री राखेर मात्र होम गर्दै आइरहेका छौं,’ उनले भने।
उनका अनुसार सर्प, फट्याङ्ग्रा, भंगेरा, माछा लुति अजिमा (इन्द्रायणी)को जात्रा हुने क्षेत्रको आसपासबाट मात्र ल्याउन पाइन्छ, अरु ठाउँबाट ल्याएर होम गर्न मिल्दैन। लुति अजिमाको जात्राटेंगल, थँहिति, त्यौड, असन, नरदेवी लागाभित्र मात्र हुन्छ।
‘सर्प इन्द्रायणी पीठसँगै रहेको विष्णुमति नदीबाट ल्याइन्थ्यो, फट्याङग्रा सँगको खेतबारीबाट समातेर ल्याइन्थ्यो, भंगेरा अजिमाको जात्रा हुने क्षेत्रबाटै समात्नुपर्छ,’ उनले भने ‘अहिले काठमाडौंमा कहाँ छ खेत फट्यांग्रा भेटाउन, सहर पूरै कंक्रिटको जंगल भइसक्यो, चराचुरुंगी देखिनै छोडिसक्यो, भंगेरा मात्र कहाँ भेट्टाउनु।’
मार्ग शुक्ल त्रयोदशीको दिन त्यौडमा रहेको थकू जुजुको घरबाट इन्द्रायणीलाई खटमा राखि पीठमा लगेसकेपछि राति मात्र होममा राखिने भंगेरा खोजिन्छ। बुधबार त्यौडको चोकमा रहेको पुरानो घरको भित्तामा रहेको प्वालमा भंगेरा खोजिरहँदा स्थानीय सुरेश महर्जनले भने, ‘पहिला पुरानो परम्परागत घरहरूमा भंगेरा, चराचुरुङ्गी बास बस्ने प्वालहरू राखेको हुन्थ्यो, अहिले यस्ता घरहरू पनि बाँकी रहेन, भंगेरा पनि बास बस्न आउन छोडे। काठमाडौंमा अव्यवस्थित रूपले बन्दै आइरहेको कंक्रिटका घरहरूले सांस्कृतिक नगर काठमाडौंको मौलिक स्वरूपलाई मात्र विनाश गरिरहेको छैन, वातावरण, परम्परागत संस्कृतिलाई पनि प्रभाव पारिरहेको छ।’
लुति अजिमाको जात्रा
शक्ति पीठको रूपमा पुजिँदै आइरहेको शोभा भगवति पनि लुति अजिमाकी छोरी हुन्। बाला चतुर्दशीको एक दिनअगाडि देखि सुरु हुने लुति अजिमाको जात्रामा इन्द्रायणीसँगै, शोभाभगवति स्वांछपु गणेश, भ्वरी गणेश, मांखा, ज्वालामाइ गरी छ वटा खटमा राखी देवीदेवताको जात्रा हुन्छ। इन्द्रायणीसँगै जात्रा गरिने सबै देवीदेवता उनकै सन्तान हुन्।
बाला चतुर्दशीको दिन बेलुकी खटलाई इन्द्रायणी पीठबाटउठाइ ल्याई थँहितिमा राखिन्छ। खट उठाउनु अगाडि इन्द्रायणी पिठमा सुंगुरको मासु राखी मरःजाः खुवाउने गरिन्छ। यसको भोलिपल्ट मार्ग कृष्ण औंशीको दिन मुख्य जात्रा मनाइन्छ। सबै खटलाई नगर परिक्रमा गराई ठाउँठाउँमा पूजा लिने गरिन्छ।
लुति अजिमाको जात्रा थकु जुजुको परिवारले नै संचालन गर्दै आइरहेका छन्। थकु जुजु गजेन्द्रराज मल्लका अनुसार परापूर्वकालदेखि नै थकु जुजुहरूले निजी गुथिको रुपमा यो जात्रा सञ्चालन गर्दै आइरहेका हुन्।
‘अहिले पनि हामीले नै सञ्चालन गर्दै आइरहेका छौं। जात्रामा हुने सबै खर्च हामीले नै व्यहोरिरहेको छौं, कहिँ कतैबाट पनि सहयोग लिएका छैनौं,’ उनले भने। जात्रामा सहयोग गर्दै आइरहेको उनका पत्नी हसना मल्लका अनुसार जात्रामा डेढ–दुई लाख जति खर्च हुन्छ। ‘एउटा राँगो, एउटा बोका काट्नुपर्छ। जात्रामा सहभागीहरूलाई भोज खुवाउनुपर्छ। पूजा सामग्री व्यवस्था गर्नुपर्छ। सबै गरेर डेढ दुई लाख जति त खर्च हुन्छ। तर, हामीले नै खर्च गर्दै आइरहेका छौं। अहिलेसम्म भगवानको कृपाले गर्न सकेका छौं,’ उनले भने।
तर, जात्रा चलाउन भने विभिन्न समस्या आइरहेको उनको भनाइ छ। ‘खट बोक्ने मान्छेहरू नै छैन। १०–१२ वर्ष भयो भरियाहरूलाई पैसा दिएर खट बोक्न लगाइरहेको, पहिला दिनको १००–२०० दिँदा पुग्थ्यो, अहिले दिनको कम्तीमा पनि १५ सय दिनुपर्छ,’ हसनाले भने।
किंवदन्ती
लुति अजिमालाई पशुपति परिसरमा रहेको वत्सला माजुको छोरी भनिन्छ। वत्सला माजुका ७ छोरी थिइन्। सात छोरीमध्ये इन्द्रायणी सबैभन्दा गरिब रहेछन्। गरिब भएकाले हेला गरेर उनलाई पाहाँचःह्रेको नखत्या (भोज) पनि अरु दिदीबहिनीलाई बोलाएको एकदिन पछि मात्रा बोलाए। गरिब भएकोले हेला गरी बासी खाना दिएकाले उनी आफू पनि केही नखाई, बच्चाहरूलाई पनि केही नख्वाइ फर्किन्छन्।
घरमा पनि केही खानकुरा नभएकाले एउटा फर्सी ल्याई पकाउन खोज्दा फर्सीभित्र सुन भेटाउँछन्। सुन भेट्टाएपछि उनी पनि धनी हुन्छिन् र आफ्ना छोराछोरीलाई कसैले नखाने सुंगुरको मासु राखी खुवाउँछन्। त्यसबेला उनले बालबालिकालाई सुंगुरको मासु राखी प्रसाद खुवाएमा उनीहरूलाई आफूले रक्षा गर्ने वचन पनि दिइन। त्यसैले अहिले पनि जात्राको दिन इन्द्रायणी पीठमा थँहितिका मानन्धर समुदायले सुंगरको मासु राखी मरःजा खुवाउने गरिरहेका छन्।
संस्कृति अध्ययता एकाराम सिंका अनुसार लुति अजिमाको स्थापना भने लिच्छविकालमा नै भइसकेको हो। लुति अजिमाको जात्रा गुणकाम देवको पालादेखि सुरु भएको भाषावंशावली रहेको उनले बताए। उनका अनुसार कुमारी, महालक्ष्मी र इन्द्रायणीको शक्तिलाई एकै ठाउँमा समाहित गरि लुति अजिमा (इन्द्रायणी भगवति)को स्थापना गरेका हुन्। गुणकामदेवले राज्यको सुरक्षाका लागि स्थापना गरेका अष्टमातृकामध्ये इन्द्रायणी पनि एक हुन्।
प्रकाशित: २१ मंसिर २०७५ ०६:०३ शुक्रबार