अन्य

हट नायिका

केहीअघिको कुरा। काठमाडौंमा एक जना हट नायिकाको उदय भयो। तिनको पहिलो फिल्म नै हिट भयो। हिट हुनुमा त्यो फिल्ममा तिनले गरेको हट डान्स नै हो भन्ने हल्ला थियो। यी सबै हल्लासँगै ती नायिका काठमाडौंका फिल्मी र गैरफिल्मी पत्रिकामा छाइन्। उनकोे अर्धनग्न होइन, पौने नग्न फोटोहरूको ब्लो अप छापियो। पत्रकारहरू उनको अन्तरवार्ता लिन लाम लागे।

म त्यतिवेला काठमाडौं विश्वविद्यालयमा अध्ययनरत थिएँ। र, बानेश्वरवाट विश्वविद्यालयको बसमा आउने–जाने गर्थें। बाटोभरि कसै न कसैले ती नायिकाको नाम लिन्थे र त्यो हप्ता प्रकाशित उनको फोटोको कुरा गर्थे। कतिले ती पत्रिका पनि पट्याएर ल्याएका हुन्थे र केटाहरू तानातान गर्थे। बसमा केटीहरू पनि हुन्थे, तिनीहरू यी सबैमा बेवास्ता गरेजस्तो गर्दै छड्के आँखाले हेर्दै केटाका कुरा आँखा चिम्लेर स्वाद लिई लिई सुन्थे। अन्तर्वार्तामा तिनले व्यक्त गरेका उदात्त भावनाहरू चर्चाको विषय हुन्थ्यो। म पनि नजानिँदो पाराले ती नायिकाको प्रशंसक हुन पुगें।

कलाकारिताले नेपालमा आर्थिक अवस्था थाम्न साह्रै मुस्किल परेर म अमेरिका आएकी हुँ। मेरो घर पनि जमेन। म त यतै वस्ने मनसायले आएकी। करिश्माले पिज्जा ओसारेको पनि सुनेकी छु। सरोजले भुइँ पुछेको पनि पढेकी छु। म जे पनि गर्न तयार छु। अव म ग्रिनकार्ड बनाएर मात्र फर्कने अठोट छ।

ती नायिका थिइन्– विनम्रता पाण्डे।

एक हप्ताको शुक्रबार एउटा पत्रिकाले फूल पेज उनको बे्रसियर र अण्डरवियर मात्र पहिरन लगाएको फोटो छाप्यो। त्यो पत्रिका त हारालुछ भयो। अझ फोटोसँगैका अक्षरहरू अझ बढी रोमाञ्चक थिए। उनको भनाई त्यहाँ छापिएको थियो, कथाको माग अनुसार वेड सिन दिन तयार छु।

काठमाडौंका महफिलहरूमा विनम्रतासँग बेडसिनका लागि हिरो हुनुपर्छ कि क्या हो भन्दै मान्छेहरू रमाइलो गफ दिन थालेका थिए। उनको डिमान्ड बढेको बढ्यै थियो।  

त्यो अखबारको ब्लोअप र बेडसिनको क्याप्सन पढेपछि कलेजका केटाहरूले विनम्रताको दर्शन गर्ने मनसुवा राखेर उनको फिल्म सुटिङ कता हुँदैछ त्यहाँ जाने। एक झल्को भए पनि हेर्ने। अनि अटो लेखाउने तय गरे। म पनि त्यसका लागि उत्सुक भएँ। गोदावरीमा सुटिङ हुँदैछ भन्ने खवर ल्यायो कसैले र एकदिन कलेज बंक गरेर त्यतै जाने भइयो। तर, जाने दिन बिहानै मेरो बुबाले आज कलेज जानु पर्दैन, म बिजनेसको कामका लागि दिल्ली जानु छ भने पछि मेरो आकांक्षामा तुषारापात भयो।

केटाहरू गए होलान्। विनम्रतालाई भेटे होलान्। अटो लेखाए होलान्। हात पनि मिलाए कि आदि इत्यादि सोच्दै विशाल बजारको सोरुममा कल्पी कल्पी बसें। दुई दिनपछि कलेज जाने बसमा चढ्दा साथीहरूले मेरो गर्नुसम्म गिल्ला गरे।

मैले विनम्रताको रूप देखेर वेहोश हुने डरले नआएको भन्ने उनीहरूले अर्थ लाएका रहेछन्। मलाई यसो भने पनि उनीहरूले पनि हट नायिकाको दर्शन नपाएको थाहा पाएर म पनि हुनसम्मको खुसी भएँ। गोदावरीमा सुटिङ अघिल्लो दिन सकेर फिल्मी युनिट पोखरा प्रस्थान गरेको थाहा पाएपछि ‘हिस्स बूढी खिस्स दाँत’ भएछन्।   

विनम्रतालाई फिल्म हलको पर्दामा र अखवारका पानामा बाहेक कतै देखभेट गर्ने मौका जुरेन। पढाई सकियो र थप अध्ययन गर्न वासिंटन डिसीको अमेरिकन युनिभर्सिटीमा पढ्न आउने संयोग जु-यो। त्यसपछि त विनम्रताको बारेमा त्यति चासो पनि भएन। अमेरिकाको बेग्लै दुनियाँमा हराउन पुगें म। पढाई अगाडि बढाउने क्रममा पार्ट टाइम काम गर्दागर्दै स्यानो स्टोर किन्ने अफर आयो। नेपालमा बुबासँग भने। बुबाले २५ हजार डलर हुण्डीवालमार्फत् पठाइदिनु भयो। त्यस स्टोरले मलाई अर्काे स्टोर किन्ने बनाइदियो। त्यसपछि अर्काे गर्दै मैले पाँच वर्षमा सात वटा साना र मझौला स्टोर किन्न सकें।

अब मलाई पढाइमा शौख थिएन। पैसा खेलाउने शौख बढ्यो। जीवनको लक्ष बदलियो। सपना बदलियो। संगत बदलियो। म टाउन हाउस किनेर सरें। त्यो टाउन हाउस भाडामा लगाएर सिंगल फेमिली हाउसमा सरें। बा–आमालाई बोलाएँ। बा–आमाको आग्रह अनुसार विवाह गर्न तयार भएँ। अमेरिकामै शिक्षा–दीक्षा प्राप्त कन्या फेला परिन्। मेरो रोजाई बा–आमालाई ग्राह्य भयो। जीवन व्यवस्थित भयो।

मेरो व्यावसायिक सफलताले मलाई नेपाली समुदायमा लडिवुडी गर्ने अवसर भयो। कारण– सबै संघसंस्थालाई कार्यक्रमका लागि स्पोन्सर चाहिन्थ्यो। चन्दा चाहिन्थ्यो। कार्यक्रमको अलि महँगो टिकटको ग्राहक चाहिन्थ्यो। त्यसका लागि मैले नाइनास्ती नगरेपछि म समुदायमा भिजेको थिएँ। अझ मेरै कक्षाका एक मित्र धनप्रसादले एउटा संस्थाको अध्यक्ष पद पाएपछि त्यो संस्थासँग मेरो नाता गहिरियो।

धनप्रसादसँग मेरो हिमचिम पनि बढ्यो। धनप्रसाद एउटा कम्पनीमा म्यानेजर थियो। जागिरले जीवन धानिरहेको थियो। हाम्रो भेटघाट खानपानमा पनि बदलिएको थियो। एकदिन उसले भन्यो, गोपालजी, हाम्री जमानाकी हट नायिकालाई सम्झनुहुन्छ ? विनम्रता पाण्डे ?

अचानक म लामो निद्राबाट बिउँझेझैं भएँ। हो त, हाम्रो कलेजका दिनमा विनम्रताले पूरै वातावरण हट बनाएकी थिइन्।

हो त हगि भन्दै हामी दुवै मस्तसँग हाँस्यौं।

अब त बूढी भइन् होला नि हैन त। १५/२० वर्षअघिको त्यो जवानी के बाँकी होला र ? मैले भनें।

‘गोपालजी, आजकाल झन् हिट छिन्। र, रमाइलो कुरा के भने...’ धनप्रसाद चुप लाग्यो। उसको यो कलेजदेखिकै आदत हो। कथा हाल्दै गयो र क्लाइमेक्समा पुग्ने बेलामा टक्क अडिने अथवा शौचालयतिर जाने। अनि कथाको थप सिलसिला सुन्न अधैर्य भएर पर्खनुपर्ने।

मैले धनप्रसादको मुखमा पुलुक्क हेरें। मुसुमुसु हाँस्दै उसले भन्यो, ‘रमाइलो कुरा के भने उनी अमेरिका आउँदैछिन् एउटा सांस्कृतिक टोलीमा। त्यो टोली वासिंटन डिसी पनि आउने भएको छ। हाम्रो संस्थामार्फत् सोका लागि अफर आएको छ।’

म त सुखद् आश्चर्यमा परिहालें।

धनप्रसादले भन्यो, ‘त्यतिबेला कलेज बंक गरेर गोदावरीमा सुटिङ हेर्न जाँदा दर्शन नपाएकी नायिकालाई अमेरिकामा स्वागत गर्न पाइने भो।’

म मज्जाले हासें। अब हामी दुवैले स्वागत, सत्कार गर्न पाउने भयौ। यसो घुमाउने अवसर पनि हुनसक्छ।

धनप्रसादले भन्यो– हट नायिकाको बारेमा केही थाहा छ कि छैन ?

म त वास्तवमा अमेरिका आएपछि नेपालको धेरै सूचनाबाट टाढा थिएँ। सुरुमा पढाईले व्यस्त पा¥यो, पछि व्यवसायले। पछि बिहेवारीले। अहिले बालबालिकाले।

धनप्रसादले ओठ खोल्यो, ‘फिलिमका नायक–नायिकाको अफेयरको चर्चा त सामान्य नै हो। तर, हाम्री हट नायिकाको त थुप्रै हट समाचार बने। एबोर्सन समेत गरेको हल्ला चल्यो। तर, पछि एउटा सत्य प्रकट भयो–हट नायिकाले बिहे गरिन्।’

बिहे गरिन् ? त्यसो भए ठिकै गरिन्। मैले सोचें। बिहे गरेपछि मान्छे अलि व्यवस्थित हुन्छ।

धनप्रसादले थप्यो, ‘बिहेको न्यूज पनि हट भयो। नायिकाले व्यापारीसँग बिहा गरेकी थिइन्। फिलिमको संसारभन्दा धेरै टाढाको मान्छेसँग।

म चुपचाप धनप्रसादका कुरा सुनिरहेको थिएँ।

पछिल्लो समयमा फेरि हट न्यूज आएको छ, हट नायिका छुृट्टै बस्छिन् रे। डिभोर्स हुने भन्ने हट न्यूज छ आजकाल–धनप्रसादले भन्यो।
हट नायिकाका जीवनका यावत् कुरा र सूचना राख्ने धनप्रसादसँग म नतमस्तक थिएँ। अझ उसैको

माध्यमले भेट हुन लागेकोमा खुसी पनि थिएँ।

समय बित्दै जाँदा धनप्रसादले सूचना प्रवाह गरिनैरह्यो। सांस्कृतिक टोली न्यूयोर्कमा उत्रने। त्यहाँबाट वोस्टन जाने। वोष्टनवाट कोलाराडो। अनि क्यालिफोर्निया, टेक्सास हुँदै वासिंटन डिसीमा अन्तिम सोहरू देखाएर नेपाल फर्कने।

सांस्कृतिक टोली न्यूयोर्क आएदेखि नै धनप्रसाद वासिंटन डिसीको कार्यक्रम सफल बनाउन टिकट बिक्री, स्पोन्सर खोज्ने आदि काममा व्यस्त भयो।

अन्ततः सांस्कृतिक टोली वासिंटन डिसी आइपुग्यो। पहिलो सो वाल्टिमोरमा सकेर यात्राको अन्तिम सो भर्जिनियामा गर्ने तय भएको थियो। अन्तिम सो धनप्रसाद संलग्न संस्थाबाट हुने भएकाले म त्यो कार्यक्रम हेर्न जाँदै थिएँ। अन्तिम कार्यक्रम सकिएपछि कलाकारहरू दुई दिनको घुमघामपछि नेपाल फर्कने कुरा पनि धनप्रसादले बताएको थियो। अनि भोलिको साँझ कलाकारहरूलाई मेरो तर्फबाट रात्रिभोज तय गरेका थियौं धनप्रसादको आग्रहमा।

कार्यक्रम रमाइलो भयो। विविध लोकप्रिय गीतहरू, आधुनिक तथा लोकनृत्यका साथै विनम्रताको हट डान्स सबैले रुचाए। यतिका वर्षपछि पनि विनम्रताको डान्स हट नै थियो। उनको उमेर त्यति ढल्केको देखिएन। नृत्यको हाउभाउ उही नेपालमा कलेज पढ्दाका दिनहरूझैं थियो।

भोलिपल्ट सबैजसो कलाकार रात्रि भोजका लागि मेरो घरमा आए। धनप्रसाद र संस्थाका केही पदाधिकारी पनि भोजमा सामेल थिए।

मेरी श्रीमतीले सबै कलाकारहरूलाई अमेरिकाको चिनो उपहार दिइन्। सबैजना उपहार लिएर प्रफुल्ल भएका बेलामा अचानक एक पत्रकार मित्रको फोन आयो– एकैछिन कलाकारहरुसँग भेटघाट र कुराकानी गर्न सकिन्छ कि ?

मैले फोन धनराजलाई दिएँ। धनराजले फोनको साउण्ड अफ गर्दै मलाई सोध्यो, यसो १०/१५ मिनेटलाई हुन्छ भन्दिउँ ?

मैले हुन्छ भनेपछि धनराजले नै छोटो समयका लागि भइएहाल्छ नि भनेर फोन राखे।

छोटो कुराकानीमा मलाई हट नायिकाको शिल स्वभाव, व्यवहार निकै राम्रो लाग्यो। पर्दामा देखिएकी, मञ्चमा देखिएकी र अन्तर्वार्तामा बोल्ने हट तत्व यहाँ थिएन। कलेजको बेला त्यत्रो चर्चामा भएकी र एक झल्को हेर्नका लागि मरिहत्य जसका लागि गथ्र्याैं, ती हट नायिकासँगै थिइन्। आफ्नै घरमा। म पुराना कुरा सम्झेर आनन्दित भइरहें।

पत्रकार महोदयको आगमन भयो। पत्रकार विजयकुमार आएर सवै कलाकारलाई अभिवादन गरिसकेपछि खुसुक्क भने– म त हट नायिकाको मात्रै अन्तरवार्ता गर्ने हो। बरु अर्काे कोठामा हामी तीन जना बसौं न।

हामी तीन जना अर्काे कोठामा गयौं र विजयले विविध प्रश्न गर्न थाले। विनम्रताले विनम्रतापूर्वक बेलाबेलामा मुसुक्क मुस्कान छाड्दै सहजताकासाथ उत्तर दिँदै गइन्।

विजयले सोधे– सबै कलाकारहरु अमेरिका आउन चाहन्छन्, आउँछन्। तर, धेरैजसो यतै बस्ने मनसाय राख्छन्। तपाईंको मनसाय के छ ?

विनम्रताले भनिन्– हो मलाई पनि अमेरिका आउन अत्यन्त ठूलो धोको थियो। त्यसैले त आएँ नि। जहाँसम्म यता बस्ने कुरा छ, मैले त्यस बारेमा सोचेको छैन।

अनि यता बस्ने कलाकारको बारेमा के भन्नुहुन्छ नि ?

त्यो उहाँहरूको निजी निर्णय हो। मलाई थाहा छ, अमेरिकामा पैसा छ, सुख सयल पनि होला। तर, म त्यसलाई भन्दा करिअरलाई महत्व दिन्छु। मैले अझै धेरै गर्नुछ।

अव अन्तिम प्रश्न गर्छु– अनि नेपालमा के सन्देश लिएर जानुहुन्छ त ?

अमेरिकाका नेपालीले नेपाललाई कति धेरै माया गर्छन् भन्ने कुरा मैले यहीँ आएर बुझे, त्यो मायाको सन्देश लिएर म फर्कन्छु।

अन्तरवार्ता सकियो।

खानपान र गफगाफ पनि सकिएपछि धनप्रसादले कलाकारको टोलीलाई लिएर गयो। श्रीमती पनि सरसफाइ सकेर बसिन्। उनलाई पनि कलाकारको सत्कार गर्न पाउँदा रमाइलो लागेको थियो। सामान्यत काँचको पर्दामा र सिनेमा हलको पर्दामा अथवा पत्रपत्रिकाको पानामा देखिने व्यक्तित्व सामुन्ने पाउनु उनलाई पनि रमाइलोको विषय थियो।

भोलिपल्ट म नियमित रुपले दुई स्टोरको निरीक्षणपछि अघिल्ला दिनको बिक्रीको रिपोर्ट लिएर मूल अफिस पुगें। कफी पिउँदै कम्प्युटर खोल्दै थिएँ, धनप्रसादको फोन आयो। फोन उठाउँदै भनें– धनप्रसादजी, सांस्कृतिक कार्यक्रमको ह्याङओभर त गएको छैन होला हगि ?

लौ, कलाकारहरूको बिदाई नगरी कामै सकिँदैन, बल्ल ह्याङओभरको पालो आउँछ। धनप्रसादले हाँस्दै भन्यो।

भन्नोस्– के सेवा गरुँ तपाईंका कलाकारलाई।

तपाईं अफिसमै हैन त ? म त्यहीँ आउँछु नि एकछिन। कसो होला ? धनप्रसादले भन्यो।

भइहाल्छ नि।

ओ के बोस भन्दै धनप्रसादले फोन राख्यो।

करिव २० मिनेटमा धनप्रसाद अफिसमा आइपुग्यो। उसको साथमा विनम्रता पनि थिइन्।

मैले तीन कप कफी मगाएँ र विनम्रतालाई भनें, अमेरिका कस्तो लाग्यो त ?

गज्जब रमाइलो नि। सारा संसारका मान्छे रमाएको देश पो हो त अमेरिका।

यत्तिकैमा धनप्रसादले भन्यो, एक्कै छिन कुरा गर्दै गर्नुस् न है, म आइहाल्छु।

धनप्रसाद गयो। अब हट नायिका र म मात्र बन्द कोठामा थियौं। मैले उनलाई पुलुक्क हेरें। तिनले पनि लजाएझैं अलि आँखा झुकाएर मन्द मुस्कानसहित हेरिन् र चार आँखा भयो। मेरो ओठबाट कुनै शब्द निस्किरहेका थिएनन् विषय नपाएर। उनी पनि बोल्न खोजे खोजेजस्तो गरिरहेकी थिइन्।

भन्नुस्– म के बोलुँ के बोलुँ भएर भनें।

उनले पुन लजालु आँखाले मलाई हेरिन्। उनका ओठ अझै खुलेनन्।

‘सर, हजुरले मलाई मद्दत गर्नसक्नुहुन्छ कि भन्ने आशाले भेट्न खोजेकी ...,’ विनम्रताले सुस्तरी भनिन्।

उनको टाउको निहुरिएको थियो।

मेरो कलाकारिताले नेपालमा मेरो आर्थिक अवस्था थाम्न साह््रै मुस्किल परेर म अमेरिका आएकी हुँ। यहाँको भिसा लागेको पासपोर्ट हात पार्न मैले लाखौं बुझाएकी छँु। मेरो घर पनि जमेन। म त यतै बस्ने मनसायले आएकी,’ उनी भन्दै गइन्, ‘करिश्माले पिज्जा ओसारेको पनि सुनेकी छु। सरोजले भुइँ पुछेको पनि पढेकी छु। म जे पनि गर्न तयार छु। अव म ग्रिनकार्ड बनाएर मात्र फर्कने अठोट छ। हजुरले सहयोग गर्नुहोला भन्ने आशा छ सर।’ यति भन्दा विनम्रताका आँखा आँसुले डव्डबाइसकेका थिए।

म भने हिजो विजयले अन्तर्वार्ता लिँदा विनम्रताले दिएका जवाफ कानमा झँकृत भएको महसुस गर्दै थिएँ। अमेरिकाका नेपालीले नेपाललाई कति धेरै माया गर्छन् भन्ने कुरा मैले यहीं आएर बुझेँ, त्यो मायाको सन्देश लिएर म नेपाल फर्कन्छु।

म अलमल्ल परिरहेको थिएँ, हिजोको विनम्रताको अवतार सत्य थियो कि आजको।

आश्चर्य, विष्मय र असमन्जस्यतामा म हराउन लागेको वेला ढोका टकटक गर्दै धनराज आइपुग्यो। विनम्रताले हतारहतार पछाडि फर्केर आँसु पुछिन् र मुसुक्क मुस्कुराइन्।

मेरो सामुन्ने धनराजको छेउमा हट नायिका थिइन्। मलाई लाग्यो हट नायिका विनम्रता अहिले एकदम चिसो भएकी छिन्। हिउँको डल्लो जस्तै।

प्रकाशित: १५ मंसिर २०७५ ०३:४३ शनिबार

हट_नायिका कथा