अन्य

३ लघुकथा

स्मार्ट सिटी 
बजारतिर जानू छ आज। हतार–हतार कोठा छोड्नुअघि एक गिलास पानी पिउने र बाथरूम छिरेर हल्का हुने नियमित काम गरी बाटोमा आइपुग्यो। यो सहरको भीडभाड, ठेलमठेलका बीच गाडी चढ्नुभन्दा अलि समय लागे पनि हिँड्छ ऊ प्रायः। यसो गर्दा दुइटा फाइदा देख्छ ऊ एउटा मर्निङ वाक छुटेको क्षतिपूर्ति पनि हुने अर्को भाडा पनि जोगिने।

आधा घन्टा मात्र के हिँडेको थियो पिसाब लागेजस्तो भो। खै किन हो ४० कटेपछि अचेल बेला कुबेला तुरतुर लाइरहन्छ। अब कहाँ पिसाब गर्ने जताततै मान्छे मात्र छन्, भीडभाड मात्र छ।

पिसाब रोक्नै नसकिने जस्तो भो। वरिपरि सार्वजनिक सौचालय पनि भेटिँदैन। भेटिन्छ त खाली दिसापिसाब निषेधित क्षेत्र। हुनत यो शहरमा जे जहाँ निषेधित भनिन्छ त्यो त्यहाँ बढी नै हुन्छ जस्तै सरकारी अड्डामा भ्रष्टाचार निषेधित क्षेत्र तर..., नो पार्किङ लेखिएको ठाउँमा त्यही सबैभन्दा बढी गाडी र नो हर्न भनिएको ठाउँमा बढी ट्वाँ टूँ।

अब  के गर्ने, साह्रै नै भो। खप्नै नसकिने स्थिति आएपछि सडक छेउको भित्तातिर सोझियो ऊ। फस्नर खोल्नै लागेको थियो पछाडिबाट होहल्ला र हर्न बज्न थाले। उसले कुनै मतलब गरेन। के को लाज यत्रो ठुलो सहरको ठाउँ–ठाउँमा रिफ्रेस सेन्टर नबनाउने यो महानगरको प्रमुखलाई त लाज लाग्दैन भने दिसापिसाबले च्यापेका पीडितलाई केको लाज। उसलाई रिस पनि उठ्यो। खस्दै गरेको पिसाबको धाराले शरीर घुमाएर गोलो घेराजस्तो आकृति बनायो। पिसाब घुमाएर आँखा र नाक जस्तो पनि बनायो।

‘साला, एउटा सार्वजनिक सौचालय पनि ठाउँमा बनाउन नसक्ने यो सत्ताका नायकहरूको अनुहारमा थुक्न मन लाग्छ !’ भन्दै र मनमनै गाली गर्दै खैनीसहित निकालेको थुकले पिच्च थुक्यो र त्यहाँबाट हतार हतार गर्दै अगाडि बढ्यो।

०००
अनुगमन
नागरिक उड्डयनमन्त्री अन्तराष्ट्रिय हवाई अड्डामा अनुगमनका लागि आउने हल्ला अचानक बाहिरियो। विमानस्थल वरपरका कर्मचारीको त्यो दिनको दौडधुप र व्यस्तता हेर्न लायक थियो। आकस्मिक छड्के जाँच भए पनि सूचना कसरी बाहिरियो रहस्यमय रह्यो। पछि थाहा भो मन्त्रीजीको अनुगमनपछि त्यहीबाट आन्तरिक उडानमार्फत् आफ्नो गृहजिल्ला पनि जाने रहेछन्।

अनुगमनका लागि आउने भनिएको निर्धारित समयमा पनि मन्त्रीजी विमान अड्डामा आएनन्। उनी जाने भनेको गृहजिल्लाको जहाज पनि उड्ने समय हुन थाल्यो। तर, मन्त्रीजी आएनन्। विमानस्थलका कर्मचारीले विमानलाई मन्त्रीजी आउने बेलासम्म भन्दै आधा घन्टा आधा घन्टा गरी एकघन्टा जति रोकेर राखे। तर, मन्त्री आएनन्।
करिब एकघन्टा ढिलो गरी जहाज उड्यो। त्यसपछि मन्त्रीजी आए।

पछि अनुगमनका क्रममा कुनै भिआइपी व्यक्ति वा मन्त्रीका लागि भन्दै विमान एक घन्टाभन्दा बढी रोकेर अरू सर्बसाधरण यात्रीलाई अनाहकमा दुःख दिएको भेटिएकाले विमानस्थलका केही वरिष्ठ कर्मचारीलाई मन्त्रीजीले कारबाही गरेको खबर बाहिर आयो।

०००
निर्देशन
पोहर साल वर्षाको भेलपानीले छोपिएको खुला नालामा परी स्कुल जाँदै गरेका नानीहरू खसे। उनीहरूको त्यही जान गयो। प्रधानमन्त्रीको निर्देशन आयो– नालीमा तु स्लाभ राख्नू। यसपाली सडकछेउको खानेपानीको ट्यांकीमा एक साइकल यात्री खसे। उनको पनि त्यही ज्यान गयो। प्रधानमन्त्रीको पुनः निर्देशन आयो– ट्यांकीलाई तु ढक्कनले छोप्नु।

यसरी सडकको खाल्डाखुल्डी र च्याम्बरमा परी सडक यात्रीको ज्यान गइरेको छ र प्रधानमन्त्रीको निर्देशन पनि आइरहेको छ। लाग्छ– सडकका खाल्डाखुल्डी यात्रीका ज्यान पर्खेर बसेका हुन् र सरकारी संयन्त्र प्रधानमन्त्रीको निर्देशन।

जेहोस् अहिलेसम्म पनि यस्तै सडक दुर्घटनामा परी ज्यान जाने क्रम भने जारी छ।

प्रकाशित: १५ मंसिर २०७५ ०३:३३ शनिबार

लघुकथा