अन्य

सडकका ठेकेदारलाई जिम्मा

ललितपुरको बुङमतीमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणमा खेलाँची गरिएको पाइएको छ। उपत्यकाको पुरानो र परिचित ऐतिहासिक जात्रा बोकेको मन्दिर बनाउन सडकका ठेकेदारलाई जिम्मा दिइएको छ।

ऐतिहासिक सम्पदा बनाउँदा ठेकेदारले खेलाँची गरेको र सम्पदाको मर्म नबुझेको भन्दै स्थानीय र जनप्रतिनिधिले त्यसको विरोध गर्दै आएका छन्। विरोधपछि मन्दिर पुनर्निर्माण निरन्तर हुन सकेको छैन।

ललितपुर महानगरपालिका मेयर चिरिबावु महर्जनले सडकका ठेकेदारलाई मन्दिर बनाउन जिम्मा दिनु गलत र सम्पदाप्रतिको हेरचेक्र्याइ रहेको बताए। पुरातत्व विभागले चासो नदिएको र जस्तोसुकै ठेकेदारले बनाए पनि मन्दिरको स्वरूप नबिग्रने जिद्दी विभागका महानिर्देशक भेषनारायण दाहालले गरेको उनको आरोप छ। ‘अध्ययन नै नगरी ऐतिहासिक सम्पदा बनाउने ठेक्का सडक ठेकेदारलाई दिनु गलत हो, यसले सम्पदाको ऐतिहासिक पक्ष भत्काउँछ,’ उनले भने, ‘यस्तै कामले गर्दा हाम्रा सम्पदाको मौलिकता गुम्दै आएको छ।’ उनले आफूहरूले विशेष चासो दिँदा पनि विभागले सुनुवाई नगरेको आरोप लगाए।  

ऐतिहासिक सम्पदा बनाउँदा ठेकेदारले खेलाँची गरेको र सम्पदाको मर्म नबुझेको भन्दै स्थानीय र जनप्रतिनिधिले त्यसको विरोध गर्दै आएका छन्। विरोधपछि मन्दिर पुनर्निर्माण निरन्तर हुन सकेको छैन।

यही मन्दिरबाट राष्ट्रिय पुनर्निर्माण महाअभियानको सुरुवात पनि भएको थियो। २०७२ माघ २ गते तत्कालीन केपी शर्मा ओलीले पुनर्निर्माण महाअभियानको थालनी गरेका थिए। साढे दुई वर्षमा सकिने गरी प्रेरा भेगिम तुल्सी जेभीले मन्दिर पुनर्निर्माणको जिम्मा पाएको थियो। सम्झौता अनुसार मन्दिर पुनर्निर्माणको म्याद गुज्रिसकेको छ। तर, हालसम्म जम्मा २५ प्रतिशत मात्रै काम सकिएको छ।

पुनर्निर्माणमा प्रयोग भएको इँटामा अंग्रेजी लेखिएको भन्दै स्थानीयवासी त्यसको चर्को विरोध गरेका थिए। अहिले भने ठेकेदारले ती इँटा फेरेको छ।

बुङमती पुनर्निर्माण समिति अध्यक्ष पे्रमभक्त महर्जनले ठेकेदारले लापरबाही गरेको भन्दै पुनर्निर्माणमा पटक–पटक स्थानीयले अवरोध गरेको जानकारी दिए। ‘सम्पदा बनाउँदा यसरी लापर्वाही गर्न नपर्ने हो। तर, पुरातत्व विभागले नै राम्रो र सुहाउँदो ठेकेदार कम्पनी खोजेन, सडक बनाउनेलाई मन्दिर बनाउने जिम्मा दिइयो, यो ठूलो भूल हो,’ उनले भने।  

पुरातत्व विभाग ललितपुर शाखा प्रमुख काजीमान प्याकुरेलले गत जुलाईमा म्याद सकिएपछि विभागले छ महिना थप गरेको जानकारी दिए। उनले स्थानीयको विरोध आएपछि त्यसबारे आफूहरूले चासो दिएको बताए। ‘पछिल्लो समय मन्दिर पुनर्निर्माणको गति बढेको छ। तर, सम्झौता थप गरेको समयमा सकिने छाटकाँट छैन,’ उनले भने, ‘स्थानीयले विरोध गरेपछि र ठेकेदारको लापरबाही पाएपछि हामीले त्यसतर्फ अझ निगरानी बढाएका छौं।’ उनका अनुसार यो मन्दिर श्रीलंकन सरकारको आर्थिक सहायतामा निर्माण हुन लागेको हो। मन्दिरको बेसमेन्ट निर्माण सकिएको छ। माथिको केही भागको काम पनि भइरहेको छ। पुनर्निर्माणका लागि आवश्यक पर्ने काठ, इँटालगायत सामग्रीमा पुरातत्व विभाग ललितपुर शाखाले सहजीकरण गर्दै आएको छ।

ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव लगायतका कारण देखाएर पुनर्निर्माण ढिला भएको दाबी गर्दै आएको छ। असारयता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको टोली पुगेपछि पनि ठेकेदारले केही तदारुकता देखाउन थालेको छ। शिखर शैलीको यो मन्दिर बनाउँदा ३६ फिट लामो काठ आवश्यक पर्छ । ती काठ पनि अहिले जुटाउन मुस्किल परेको ठेकेदार कम्पनीले जनाएको छ। एउटै काठबाट बनाउन नसकिने भएपछि काठमा तीन वटासम्म टुक्रा जोडेर बनाउने कार्य भइरहेको प्रमुख प्याकुरेलले जानकारी दिए।

‘हामीले ठेकेदारको काममा निगरानी राख्दै आएका छौं, कुन–कुन काठ प्रयोग गर्ने भन्नेबारे राम्ररी बुझाएका छौं,’ उनले भने, ‘हामीले सहजीकरण गरेपछि काम छिटो सकिन्छ भन्ने लागेको छ।’ उनका अनुसार एक तलाको मन्दिर र त्यसमाथि शिखर शैली भएकामा पहिलो तलामा केही काम सकिएको छ। कुच्चिएको मन्दिरको गजुरको मर्मतको काम अझै बाँकी छ।

ढुंगाको खम्बा उठाउने र चार दिशामा रहेको मूल ढोकाको मर्मत सकिएको छ। उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको मत्स्यन्द्रनाथको जात्रा मनाउने चलन छ। जावलाखेलमा भोटोजात्रा सकिएपछि देवतालाई यही मन्दिरमा ल्याएर राख्ने प्रचलन छ। तर, मन्दिर पुनर्निर्माण हुँदा पर्वसँग सम्बन्धित काममा अवरोध पुगेको छ।

प्रकाशित: १४ मंसिर २०७५ ०३:२३ शुक्रबार

सडक पुनर्निर्माण