अन्य

पुनर्निर्माणको पखाईमा सेतो सत्तल

भूकम्प गएको साढे तीन वर्ष बित्दा पनि पशुपति क्षेत्रमा रहेको गुह्येश्वरीको सेतो सत्तल पुनर्निर्माण भएको छैन।
भूकम्पले सत्तलको भित्ता चिरैचिरा परेको छ। त्यहाँका देवालयहरूको हालत पनि उस्तै छ।

सेतो सत्तल र देवालयहरूको पुनर्निर्माण नहुँदा सत्तलको मौलिक स्वरूप हराएको र यसले पशुपति क्षेत्रको सुन्दरता बिग्रिएको स्थानीय बताउँछन्।

यस क्षेत्रमा नियमितरूपमा बिहान र बेलकी घुम्न आउने ७५ वर्षीय गायत्रीप्रसाद नेपालले सत्तल पुनर्निर्माणमा सरोकारवालाले बेवास्ता गरेको आरोप लगाउँछन्। ‘यसको मर्मतसम्भार गरे अझै ५० वर्षसम्म केही हुँदैनथ्यो होला,’ उनी भन्छन्, ‘अझै ढिलो भएको छैन, यसका लागि सम्बन्धित व्यक्तिलाई झकझकाउनुपर्छ।’

टोखा नगरपालिका–७ का संजीव काफ्लेले थुप्रै सम्पदा पुनर्निर्माणको पर्खाइमा रहेको बताए। ‘सेतो सत्तल र देवालय मात्रै होइन, यहाँ मर्मतसम्भार र पुनर्निर्माण गर्नुपर्ने धेरै ठाउँहरू छन्,’ उनले भने।

पुजारी अनन्तराज दाहालले उचित संरक्षण नहुँदा सेत्तो सत्तल तथा देवालयहरू जीर्ण बनेको स्वीकारे। उनका अनुसार त्रिभुवन प्रकाशेश्वर, पृथ्वी प्रकाशेश्वर, त्रैलोक्य मुक्तेश्वर, दुर्गा मुक्तेश्वर, ललित मुक्तेश्वर, शाहन शाह, रेवतीराधा देवल र गुह्येश्वरीघाट कृष्ण देवल जीर्ण छन्।

पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले पुरातात्विक महत्वका प्राचीन सम्पदाहरूको संरक्षण र सदुपयोग गर्ने नीति लिएको बताए।

उनले भने, ‘मर्मत तथा पुनर्निर्माणको प्रक्रिया क्रमिकरूपमा अघि बढेको छ। बजेट आएपछि कार्यान्वयन गर्नेछौं।’

प्रकाशित: १० मंसिर २०७५ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App