अन्य

देशप्रेम झल्काउने कृति

ठाकुर शर्मा भण्डारी

ओर्लें चट्ट विमानबाट सहसा देखेँ हिमाली छटा
लाग्यो स्वागतमा मलाई यिनले पर्खेर बस्छन् यता
दौडेँ घुम्न सुदूर किन्तु मनले मानेन क्यै सुन्दर
मेरै देश छ निम्ति स्वर्ग छ भनी फर्केर आएँ घर।

यो अंश साहित्यकार कृष्णप्रसाद वस्यालद्वारा लिखित आँखामा अमेरिका मनमा नेपाल (२०७३) कृतिभित्रको अन्तिम पद्य हो। यसले देशप्रेमको भावना देखाउँछ। उक्त पद्यमा आफ्नो देशलाई ‘स्वर्ग’ भनिएको छ।

यो विदेश भ्रमण गर्दाको संस्मरणात्मक कृति हो भन्ने शीर्षकबाटै थाहा पाउन सकिन्छ। यसमा विदेश भ्रमणका क्रममा अनुभूत गरेका कुराहरूलाई समेट्ने प्रयास गरिएको छ। सभ्य तथा सुन्दर शैलीमा अमेरिकाको भ्रमणका कुराहरूलाई विभिन्न उपशीर्षकद्वारा पाठकसमक्ष राखिएको छ।

पुस्तकको अग्रलेखनको क्रममा समालोचक प्राध्यापक गोपीकृष्ण शर्माले भनेका छन्– यस कृतिले अमेरिका के हो र कस्तो छ ? भन्ने कुराको जानकारी दिएको छ। यसले नियात्रा पढ्दाको आस्वादसँगै अमेरिकाबारे जानकारी समेत दिन्छ। त्यसकारण यात्रा संस्मरण नेपाली साहित्यको महत्वपूर्ण शृंखला पनि हो...। (अग्रलेख पृष्ठ छ)

लेखकले विदेश भ्रमण गर्दा देशप्रति देखाएको चासोबारे यात्रा संस्मरणकारका शीर्षकीय अभिव्यक्तिले पनि अनुमान गर्न सकिन्छ। विकासको सन्दर्भमा ठाउँ–ठाउँमा कुराहरू आएका अवश्य छन्। तर, मनले नेपाल खोजिरहेको छ। नेपालको जस्तो सौन्दर्य यथार्थमा भन्ने हो भने कहाँ छ ? संसारका अन्य ठाउँभन्दा यहाँ धेरै कुरा छन्। जे छन् यहीँ छन्, सर्वोच्च हिमालहरू यहीँ छन्, पर्वतीय क्षेत्र त्यत्तिकै रमाइलो छ, समतल भाग त्यत्तिकै उर्बर छ। कहीँ नभएका तालतलैया स्वतः निर्मित छन्। यो विविधताको क्षेत्र हो । तसर्थ मनबाट अलग हुन नसक्ने देशको रूपमा सर्जकले मनमा लिएको कारण पनि यस पुस्तकको शीर्षक अत्यन्त सार्थक छ र प्रतीकात्मक पनि छ।

यसको विषयवस्तुको सन्दर्भमा डा.छोरी सन्ध्या र ज्वाइँ डा.कृष्ण खनालको आमन्त्रण प्राप्त गरेर २०७२ भदौ २४ गते लेखक श्रीमतीसहित काठमाडौँबाट अमेरिका प्रस्थान गरेका थिए। त्यहाँको बसाइमा विभिन्न ठाउँमा घुमेर २०७२ कात्तिक १६ गते अमेरिकाबाट नेपालका लागि प्रस्थान गरेका थिए। त्यस बीचमा लेखकले अमेरिका भ्रमण गर्दा यहाँको विविध पक्षबारे प्रस्तुत गरेका छन्।

अमेरिकामा नेपालबाट गएर बस्ने नेपालीहरूको संख्या धेरै भइसकेको छ। घुम्न जानेको संख्याको पनि कमी छैन। तर, लेखकले आफ्नो भ्रमणलाई साहित्यिक बनाउनुभएको छ। धन्यवाद दिने क्रम प्रारम्भ गर्दै कवितामा भन्नुहुन्छ –

यात्रा भो सजिलो सबै किसिमले गर्दै रहे मद्दत
सब्बै निम्ति छ शब्द एक अरु पो बाँकी छ के मैसित
यौटै शब्द छ ‘धन्यवाद’ जसले राख्ला मिठो सम्झना
धेरै लेख्नु थियो परन्तु यतिमै छोटो रह्यो सिर्जना।

यसमा अमेरिका घुम्न जाने इच्छा हुँदाहुँदै पनि भिसा लिन सुरूमा कठिन भएको तर बारम्बार प्रयास गरेपछि भिसा पाएको र अमेरिका पुगेर त्यहाँका विभिन्न राज्य एवं विशेष गरेर न्युयोर्कको सेराफेरो घुमेको सन्दर्भ कृतिमा छ। यसमा छोरी–ज्वाइँहरू र छोरा कपिलकोसहयोगमा न्युयोर्क, वासिङटन डिसी, अरेगन, टेक्सास तथा ओक्लाहा राज्यका केही ठाउँहरूको भ्रमण गरेर यात्राको सन्दर्भमा तिथिमितिसहित जानकारी दिने प्रयास गरिएको छ। करिब डेढ महिनाको अमेरिका बसाइमा विभिन्न ठाउँको भ्रमण गर्न पाउनुलाई लेखकले ठूलो उपलब्धि मानेका छन्।

कृति विवरणात्मक भएकाले पाठकले पढ्दा घुमेको अनुभूत गर्न सक्छन्। कृतिमा अभिव्यक्ति शैली सरल छ, त्यससँगै बीचबीचमा राखिएका कविताले पठनयोग्य बनाएको छ। यात्रा संस्मरणमा बढी विवरण र थोरै आफ्ना अनुभूति प्रस्तुत गरेको देखिए तापनि लेखकद्वारा यहाँ ठाउँ ठाउँको वर्णन गर्ने क्रममा पद्य कविता समावेश गरेर रोचकता भर्ने काम गरेको पनि देखिन्छ, तसर्थ उहाँ नियात्राकार मात्र होइन कुशल कवि व्यक्तित्व पनि हो भन्ने पुष्टि हुन्छ। अमेरिकामा विभिन्न ठाउँको भ्रमण गर्ने सिलसिलामा त्यहाँको विकासले नेपाल सम्झन पुगेको पनि देखिन्छ।

यस पुस्तकको कभर पृष्ठको अगाडि–पछाडि अमेरिकालाई चिनाउने महत्वपूर्ण तस्बिरहरू दिएर सौन्दर्य भर्ने काम र प्रत्येक शीर्षकमा तस्बिरहरू दिएर आफूले भ्रमण गरेको ठाउँलाई राम्रोसँग चिनाउने काम भएको छ। करिब १८० पृष्ठमा विभिन्न तस्बिरद्वारा सजिएको आँखामा अमेरिका मनमा नेपाल पुस्तक पठनीय एवं संग्रहणीय रहेको छ। अन्तमा भन्न मन लाग्यो –

अमेरिका छ आँखामा सपना बुन्दछन् कति
यात्राले सपना बुन्छ आनन्दभित्र छन् कति।

जहाँ जे वस्तु छन् हेर्दा आफ्नै नेपाल सम्झिनु
देशभक्ति त्यहाँ मिल्छ,प्राप्तिमा पूर्णता दिनु।

पश्चिमी राज्यमा घुम्दा कृष्णप्रसाद दङ्ग छन्
आतिथ्य–रस मिल्दा त भावना उच्च बुन्दछन्।

रस–सौन्दर्य घोलेर सिर्जना हुन्छ साथमा
कृष्णप्रसाद नै बन्छन् भावुक जन–माझमा।

मनमाझ छ नेपाल कतै भेटिन्छ संस्कृति
सर्वत्र सभ्यता आफ्नो यात्राको भाव विस्तृति।

जिन्दगी हुन्छ यात्रामा बगुन् सुन्दर भावना
बधाई छ बधाई छ बधाई शुभ–कामना।

प्रकाशित: ८ मंसिर २०७५ ०५:१९ शनिबार

कृष्णप्रसाद_वस्याल आँखामा_अमेरिका मनमा_नेपाल