अन्य

किराँतेश्वरमा धाधि धिं धा

पशुपति क्षेत्रमा पर्ने कैलाश डाँडामा रहेको किराँतेश्वर मन्दिर परिसरमा शुक्रबार तबलाको धुनमा गुन्जिएको छ। पूर्णिमाको उज्यालोमा तबला गुरु अच्युतराम भण्डारीको तबलावादन गरे।

यस क्षेत्रमा हरेक पूर्णिमामा विभिन्न सांगीतिक कार्यक्रम हुन्छन्।

भण्डारीले तबला बजाउन थालेको करिब पाँच दशक भइसक्यो। गौरीघाट क्षेत्रमा बसोबास गर्दै आएका उनको जीवन्तता शुक्रबार गतिलोसँग किराँतेश्वरमा गुञ्जियो।

बाङगोलयअन्तर्गत रेला, टुकडा लगायतका कायदा बजाएका उनले उपस्थित सर्वसाधरणको मन जितेका थिए। साँझदेखि नै विभिन्न कार्यक्रम संचालन हुँदै सर्वसाधरण जूनको उज्यालोमा संगीतको धुनमा रमाए।

तबलाप्रतिको मोह यसले दिएको अथाह आनन्दसँग जोडिएको भण्डारीले बताए। तबलाले घरबार मात्र होइन, समाजमा योगदान दिनसक्ने समेत बनाएको छ उनलाई। कुनै बेला भजनकिर्तनमा सीमित तबला अहिले सामाजिक सहयोग अभियानमा समेत घन्कने गरेको उनी सुनाउँछन्।

कैलाश डाँडास्थित किराँतेश्वर मन्दिर परिसर तबलाको धुनमा गुञ्जियो।

प्रसिद्ध तबलावादक जाकिर हुसेनबाट तवलाको ज्ञान लिएका उनले नेपालमा थुप्रै चेला जन्माएका छन्। तीमध्ये धेरैले तबलाबाटै आयआर्जन गर्न थालेका छन्। दुई दर्जनभन्दा बढी अहिले उनीसँग सिक्दै छन्। यसमा एक दर्जन जतिलाई त उनले निःशुल्क नै तबला सिकाउँछन्।

पण्डित होमनाथ उपाध्यायका शिष्य भण्डारीले गुरुका नाममा पुरस्कार स्थापना गर्ने सोच समेत बनाएका छन्। तबलाप्रति आकर्षित युवा पिढीको प्रोत्साहनका लागि यस्तो गर्न लागेको उनले सुनाए।

हरेक शनिबार गुह्येश्वरीस्थित उनको निवासमा दुई दर्जन जति बालबालिका संगीत सिक्न आइपुग्छन्। तीमध्ये आधाजति निःशुल्क सिक्छन्। ‘संगीत सिक्न चाहनेका लागि पैसा अवरोध नहोस भन्ने मेरो चाहना हो,’ उनले भने, ’पछि अझै धेरैलाई निःशुल्क सिकाउने लक्ष्य राखेको छु।’

२०१६ सालमा गोकर्णको सुन्ताखानमा जन्मिएका भण्डारीले घरमा हुने भजनको समयमा ९ वर्षकै उमेरदेखि तबला बजाउन थालेका हुन्। सुरुमा रहरमा बजाएको तबला अहिले उनको सबैथोक भएको छ। तबला बजाउँदै उनी युरोप, अमेरिकादेखि संसारका दुई दर्जनभन्दा बढी मुलुक डुलिसकेका छन्।

‘तालानन्द’, ‘अ ग्ल्यान्स प्ले अन तबला’, र ‘दिव्य तालसूत्र’ उनका चर्चित पुस्तक हुन्। हारमोनियम समेत राम्रो ज्ञान भएका भण्डारीले प्रसिद्ध हारमोनियम साधना पुस्तक प्रकाशित छन्।

प्रकाशित: ८ मंसिर २०७५ ०३:१३ शनिबार

संगीत किराँतेश्वर धाधि_धिं_धा