अन्य

खाल्डाखुल्डीले यात्रुलाई सास्ती

चुच्चेपाटी–महाँकाल सडक। तस्बिर : श्याम राई

अघिल्लो बुधबार तीनचुली चोकमा बा१ह ४०४० को टयाम्पु झ्याप्प रोकियो। त्यसअघि ट्याम्पु चालक केशव तिमल्सिनाले यात्रुलाई दह्रो भएर समाउन सुझाए।

त्यसपछि विस्तारै चलाए तर विचबाटोबाट ट्याम्पो गुड्न सकेन। त्यसपछि बल्लतल्ल चुच्चेपाटी पार गरे। गुड्न पनि कसरी सक्छ र?

खाल्डाखुल्डीले भरिएको छ सडक, हिलो र धुलो त्यस्तै। जाम त्यस्तै।

उनले भने, ‘वर्षौ बित्दा पनि सडक बन्न सकेन। उफ ! यो सडकले दिक्क पारिसक्यो।’ उनले ट्याम्पु चलाएका आठ वर्ष हुँदैछ।

सडकमा जताततै खाल्डाखुल्डी भएकाले ट्याम्पु चलाउन समस्या भएको उनी बताउँछन्। सडक समयमा मर्मत नहुँदा करिब १० चोटी गाडी बिग्रेको उनले सुनाए।

सडक बिग्रदा जामको समस्या भोग्नुपरेको ट्याम्पु चालिका प्रमिला थापा बताउँछिन्। ‘सडक निर्माण नहुँदा सास्ती भोग्नुपरेको छ,’ उनले सुनाइन्, ‘कहिलै सुविधासँग गाडी चलाउन नपाइने भयो। ग्राबेल मात्रै हालेको भए सवारी चलाउन सहज त हुने थियो।’

उनले सडक साँधुरो हुँदा ठूला सवारीसाधन आउँदा जाम हुने गरेको बताइन्। उनका अनुसार २०७४ फागुन २४ गते त्यही ठाउँको खाल्डोमा परी ट्याम्पु पल्टेको थियो।

तत्काल सडक पिच गर्नुपर्ने सवारी चालक र स्थानीयको माग छ।

मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउन पाँच वर्ष अगाडि नै आयोजना कार्र्यान्वयन निर्देशनालयले भत्काएको थियो। तर, अहिलेसम्म पनि करिब आठ सय मिटर सडक पिच हुन सकेको छैन।

त्यही ठाउँबाट कपन जाने सडक समेत छुटेको छ।

पाइप बिछ्याउने काम भइरहेकाले सडक निर्माणमा ढिलाइ भएको मेलम्ची खानेपानी आयोजना कार्यन्वयन निर्देशनालयका उपनिर्देशक दिवाकरप्रसाद ढकालले बताए। ‘काम नगरेको होइन। हामीले पाइप बिछ्याइरहेका छौं,’ उनले भने, ‘ठुल्ठूला पाइप हालेर टेस्ट गर्नु पर्ने भएकाले ढिलाइ भयो।’ उनका अनुसार अहिले महाँकाल सडकमा पाइप हाल्ने काम भइरहेको छ। पाइप हालेर फिटिङ गरे पनि टेस्ट गर्दा पानी चुहिने समस्या पर्दै आएकाले त्यस ठाउँको सडक निर्माणमा ढिलाइ भएको छ। सबै पाइपहरू फिट गरी आगामी माघसम्म सडक पिच भइसक्ने ढकाल बताउँछन्। उनका अनुसार महाँकाल, बासभारी, आरुबारी र जगदोलमा पाइप हाल्ने र महाँकाल सडक पिच गर्न २०१४ मा नै जेआइटिफ कम्पनीलाई जिम्मा दिएको छ।

सडक निर्माणको लागि निर्देशनालयको पनि  समन्वय छ। सडक पिच गर्ने लगायत पाइपहरू बिछ्याउन एक अर्ब ८७ करोड रूपैयाँमा उक्त कम्पनीसँग सम्झौता  गरिसकेको  छ। उक्त योजना साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको थियो। तर, त्यस अवधिमा निर्माण गर्न नसकिएपछि डेढ वर्ष थप निर्माण अवधि राखिएको छ। सवारी साधन आवतजावत सहज बनाउन एक महिनामा ग्राबेल हाल्ने उपनिर्देशक ढकालले जानकारी दिए।

प्रकाशित: ७ मंसिर २०७५ ०४:०४ शुक्रबार

खाल्डाखुल्डी