अन्य

अग्लो मानिस

अफिस जाने बेला हुँदैछ । ऊ सर्टको कलरमा टाइ कसेर ऐना अघिल्तिर आएर उभिन्छ । जुत्ता राख्ने र्‍याक खोल्छ । करिब दुई इञ्चको हिल भएको बुट झिकेर लगाउँछ र आफूलाई केही अग्लो भएको महसुस गर्छ । 

कोठाबाट आँगनमा निस्कन्छ । साइन बाइक टलक्क टल्केर उसैलाई कुरेझैँ देखिन्छ । बाइक स्टार्ट गर्छ र बिस्तारै गेटबाट बाहिर निकाल्छ । आज ऊ बिगतका दिनभन्दा प्रफुल्ल छ । कारण, आज ऊसको नयाँ घरको नक्शा हात लाग्दैछ । केही महिनापछि नै ऊ काठमाडौँमा डेराबासीबाट घरबेटी बन्दै छ । वर्षौँअघि किनेको जग्गामा वर्षदिन अघि भएको अंशबण्डाको रकम थान्को लगाउने जमर्को गर्दै थियो ।

अफिस टायमले होला, भीषण जाम छ । उसलाई सबभन्दा दिक्क यस्तै जाममा लाग्छ । सबैलाई लाग्दो हो, तर ऊसलाई भुइँमा खुट्टा टेक्दै बाइक अघि बढाउँदै गर्दा आफ्नै खुट्टा अपर्याप्त भएझैँ लाग्छ । 

यस्तै बेला पछिल्तिरबाट एउटा पल्सर चढेर आउने ठिठोले उसलाई हपारिदियो, ‘भाइ त्यत्रो ठाउँ छ, अलिक अगाडि बढाऊ न यार ।’

मनमनै रिस उठे तापनि त्यसलाई दबाउँदै बाइक केही अघि बढायो । यस्ता धेरै अवस्थाहरु आइपर्थे, जहाँ ऊ रिसको हातमा हत्कडी लगाइदिन्थ्यो ।

त्यति नै बेला एकपटक नयाँ घरको नक्शाको परिकल्पना गर्‍यो र खुसी भयो । एउटा खुसी जो जतिसुकै दुरीमा होस्, कल्पना गरेर अलिक वर ल्याउँदा मात्र पनि दुःख केही पर भाग्छ भन्ने उसले जानेको थियो । यो पटक पनि त्यस्तै भयो ।

अफिस पुग्यो । हाकिमलाई नमस्ते गर्‍यो तर हाकिमले उसको नमस्ते फर्काएन । हाकिम धेरै ठूलो थियो या उसको नमस्ते धेरै सानो, उसले कहिल्यै बुझेन । किनकि उसलाई थाहा थियो, जतिसुकै होचो भए पनि उसको नमस्ते अग्लो थियो । जो हाकिमले कहिल्यै देखेन तर उसले पनि नमस्ते गरिरहन कहिल्यै छोडेन । 

केही जुनियर स्टाफले उसलाई नमस्ते गरे, उसले मुसुक्क हाँस्दै नमस्ते फर्कायो ।

दिनले मध्यान्तर हुने संकेत देखायो तर मध्यान्तर हुनुपूर्वै स्टाफहरु खाजा खान हतारिए । ऊ त्यति हतारिएको थिएन तर साथीहरुसित नगए एक्लै परिन्थ्यो । निस्क्यो ।

खाजा खानलाई आज नयाँ ठाउँ जाने भन्ने कुरा भयो । पाँच मिनेट हिँडेर उनीहरु करिब आठ जनाको टोली एउटा सेकुवा कर्नरतिर लागे । सेकुवा कर्नरमा टेबल कुर्सी र भुइँ गरेर दुई प्रकारका ठाउँ उपलब्ध थिए । 

साथीहरुमध्ये एउटा साथी सुइँसुइँ भुइँतिर गएर बस्यो । 

ऊ पनि हत्त न पत्त एउटा कुर्सीमा गएर बसिदियो । बाँकीका साथी कता जाने भनी अल्मलिए । 

‘भुइँमै बस्ने कि ?’ एकले सोध्यो ।

‘नाइँ,’ उसले ठाडै प्रतिवाद गर्‍यो । साथीहरुलाई ऊ भएतिर आउन कर लाग्यो । वेटरले दुई वटा टेबल जोडिदियो । 
सेकुवा कर्नर पछिल्तिर एउटा सुन्दर ब्याकड्रप थियो । त्यो देखेर दुई जना महिला स्टाफ फोटो खिच्न लोभिए । महिलाहरुले फोटो खिच्दै गर्दा केही पुरुषहरु पनि लोभिए । ऊ मात्र एक्लो व्यक्ति थियो जो यी चीजहरुप्रति आकर्षित थिएन । 

यसर्थ ‘ग्रुप फोटो’ भन्ने प्रस्तावलाई उसले त्यति रुचि देखाएन । एकातिर साइड लागेर बसिरह्यो । एकजनाले आएर उसलाई तानेरै लग्यो । 

सबै लामबद्ध भएर पोज दिन लागे । उसलाई असजिलो लागिरहेको थियो । 

भन्यो, ‘चार जना चैँ अगाडि बसौँ, चार जना पछाडि उभिएर खिचौँ न !’ शुरुमा कसैले सुनेन उसका कुरा । तीनपटक जति भनेपछि मात्र सुने र मान्न तयार भए । केही अग्ला स्टाफहरु भुइँमा बसे । ऊ लगायत केही अरु स्टाफ उभिए । उभिएर पनि कसैले थाहा नपाओस् भन्ने विचारेर अलिकति कुर्कुच्चा उठायो । 

फोटोहरुको मामलामा ऊ निकै संवेदनशील थियो । फेसबुकहरुमा फोटो हाल्दा उसले पूर्णकदको फोटो कहिल्यै हालेन । 
मान्छेहरुसित भेट्न रुचाउँदैन थियो । सकभर फोनबाट काम चलोस् भन्ने रुचाउँथ्यो । कुनै पनि कार्यक्रममा स्टेजमा अतिथिको भूमिकामा बस्न वा कार्यक्रम सञ्चालकको भूमिका कहिल्यै निर्वाह गरेन । आफूलाई सधैँ लुकाउन खोज्थ्यो । सधैँ छोप्न खोज्थ्यो । सधैँ आफैँसित भाग्न खोज्थ्यो ।

बेलुकी घरको नक्शा हात पर्‍यो । तीन तले घरको डिजाइन । ऊ एक्लो । सबैभन्दा माथि ऊसको फ्ल्याट । बाँकी दुई तल्ला भाँडामा दिने योजना पनि बनाइसकेको छ उसले । सायद अर्को महिनादेखि काम शुरु हुनेछ । तीन तल्ला घरको सबैभन्दा टुप्पोमा बस्दा हुने आनन्द कल्पेर मखलेल भयो ऊ । 

अफिसबाट घर फर्कंदै गर्दा बाटोबाट फुटपाथमा हिँडिरहेकी एउटी केटी देखेर ऊ झसंग भयो । बाइक साइड लगाएर परैबाट हेर्‍यो पनि । तर ऊ झस्किनुपर्ने अनुहार त्यो थिएन । त्यो अनुहार श्रुतिको थिएन । त्यो अनुहार उसकी श्रीमतीको थिएन । ऊ ढुक्क भयो । भए पनि के ? उनीहरु बीचको सम्बन्धलाई चुँडालेर मुक्त भएकी उही थिई । उसले त बरु सँगालेरै राख्यो, कमसेकम यादहरुलाई, निक्कै लामो समयसम्म । 

बिर्सिसकेको मान्छेको अनुहार उसलाई फेरि याद आयो । कोठा पुगेर एक पेग ह्विस्की पानी पनि नहाली स्वाट्ट पार्‍यो । दोस्रो पेगमा चार टुक्रा आइस हाल्यो । टिभी खोल्यो । रिमोटले च्यानलहरु घुमाउँदै लग्यो । एउटा च्यानलमा कौन बनेगा करोडपति आइरहेथ्यो । उसले तुरुन्त च्यानल परिवर्तन गर्‍यो । कारण अमिताभ बच्चन उसलाई कहिल्यै मन पर्दैनथियो । घुमाउँदै लैजाँदा सत्यमेव जयेतमा गएर टक्क अडियो । आमिर खान उसको मन पर्ने हिरो । आमिर खानलाई देख्दामात्र पनि उसमा आत्मविश्वास पलाउँथ्यो । 

मदिराको रमरममा उसले श्रुतिलाई खुब सम्झ्यो । ल्यापटप खोलेर पुरानो फोटो हेर्‍यो । एकपटक ल्यापटपको स्क्रिनमै थुक्यो र पछुतायो । जुरुक्क उठ्यो र ऐनामा आफूलाई हेर्‍यो । ऊ सोच्थ्यो, कहिलेकाहीँ त ऐनाले पनि आफ्नो झुटो प्रतिविम्ब प्रत्यावर्तन गरिदेओस् । कहिले त फुक्र्याओस् । भलै पेग ऊ लगाउँछ तर कहिले त ऐनालाई पनि मात लागोस् । कहिले त ऐना पनि बौलाओस् न ।

ऊ ह्विस्कीको ग्लास लिएर बार्दलीमा गयो र जूनतारा हेर्दै पिउन थाल्यो । आँखाले जुन ताराको दृश्य टिपे तापनि मनमा श्रुतिका यादहरु पिलिकपिलिक बलिरहेका थिए । 

उनीहरुको बिहा एउटा सम्झौतामा भएको थियो । ऊ लोभिएको थियो श्रुतिको रुप र बैँसदेखि, श्रुतिका परिवार लोभिएका थिए उसको पढाइ र जागिरदेखि । 

त्यही घर बलियो हुन्छ जो प्रेमले बनेको हुन्छ, न कि सम्झौताका इँटहरुले । ऊ आज आएर यही सोच्ने गर्छ । प्रेमको कोशी उसले आफ्नो जीवनमा बगाउन नखोजेको होइन तर उसले बगाउन खोजेको प्रेमको कोशीमा उसको आफ्नै सम्बन्धै चुर्लुम्म डुब्यो । 

आत्मा उही थिई । विश्वास उसैलाई गरेको थियो । दुवै लिएर गएपछि उसको आत्मविश्वास ऊ आफैँसित रहेन । उसलाई जमिनमुनि गाढेर ऊ आकाश छुन गई । ऊ आफूलाई यति गाढिएको ठान्छ, लाग्छ आफैँलाई कहिल्यै उभ्याउन सक्दैन । ऊ आफू आफैँसँग यति टाढिएको ठान्छ, लाग्छ कहिल्यै आफैँलाई आफूसामु ल्याउन सक्दैन ।

बिहान हुन्छ । बितेको रातलाई स्मरण गर्छ र पछुताउँछ । बेकारको भावुकता पालिएछ भन्ने सोच्छ ऊ । बाथरुममा गएर मुख धुन्छ । सम्झन्छ, त्यो हिजो अफिसबाट फर्कँदै गर्दाको डर । केका लागि थियो त्यो डर ? भागेर हिँडिसकेकी स्वास्नीजस्तै अनुहार भएकी केटी देख्दा उसले किन डराउनु ? उसकी स्वास्नी नै भएको भए पनि उसले डराउनु किन ? कोहीसँग ऊ बिना अर्थ किन डराउनु ? यही डरमा त ऊ बाँचेको थियो । यही डरमा ऊ जिउँदै मरेको थियो । 

एकपटक ऊ फेरि ऐना अघिल्तिर उभियो । हिजो यही ऐना अघिल्तिर उभिँदा ऊ झूटो प्रतिविम्बको कामना गरिरहेको थियो । किन ? ऊ झूटमा आफैँलाई छोप्न चाहन्छ । ऊ सत्यभन्दा पर जान चाहन्छ । ऊ आफूलाई नै प्रेम गर्न नसक्ने भएको छ । ऊ आफूलाई दया गर्ने भएको छ । ऊ जहाँ पनि छोपिने, ढाकिने, दबिने डरमा बाँचेको छ । ‘आज म डरसित विद्रोह गर्छु,’ उसले मनमनै आफैँलाई भन्यो । 

कहिल्यै मोर्निङ वाक नगर्ने मान्छे ऊ त्यस बिहान पाँच किलोमिटर हिँडेर आयो । कसैसित लुकेन । कसैबाट छोपिने भय लिएन । हिँड्दाहिँड्दै एक अर्को हिँडिरहेको मान्छेलाई आफ्नो मोबाइल दिएर पूर्णकदको फोटो खिच्न लगायो । घरमा आएर प्रोफाइल पिक्चर चेञ्ज गर्‍यो । उसको भर्चुअल साथीहरुले समेत उसलाई शिरदेखि पाउसम्म देख्न पाउने भए । 

अफिस जाने बेला भयो । उसले हिल भएको बुट झिकिसकेको थियो । बुट मन परे पनि त्यसकोे हिल उसलाई योपटक मन परेन । अर्को हिल नभएको जुत्ता झिक्यो । यसो गर्दा उसमा बेग्लै ऊर्जा आइरहेको थियो । 

अफिस गयो । फर्कँदैन भन्ने जान्दाजान्दै आफ्नो श्रद्धा र आदर मिसिएको नमस्ते हाकिमलाई गरेन । नमस्ते र आदरको लोभी हाकिम बरु जिल्लिरहेको थियो । 

अफिस सकिएपछि ऊ आफ्नो घर बन्ने जग्गामा गयो । करिब आठ आनाको जग्गा थियो । उसले जग्गालाई हरेक कुनोबाट नापेर कुन भागमा कुन कोठा बन्छ भन्ने तय गरिसकेको थियो । त्यसै अनुरुपको नक्सा बनाउन लगाएको थियो । 

यतिखेर यहाँ आफ्नो जग्गाअघिल्तिर उभिइरहँदा ऊ आफ्नो घरको तेस्रो तल्लामा भएको सम्झ्यो । त्यो सम्झेर उसलाई उच्चाट लाग्यो । त्यसले हिजोअस्ति दिनेजस्तै खुसी आज उसलाई दिएन । के उसको भित्री इच्छासित उसको घरको उचाइ परस्पर छ ?

आफैँसित गहिरो अन्तरसंवाद गर्दा जवाफ यही पायो कि उसको त्यस्तो इच्छा कीमार्थ होइन । उसको शरीर अग्लो नहोला तर ऊ ऊचाइप्रेमी मान्छे पनि होइन । उसलाई श्रुतिझैँ आकाश छुने लोभ थिएन । उसलाई त यहीँ फैलनु छ । ऊ फैलावट मन पराउँछ । ऊ उचाइको मोहमा गुम्सिन होइन, आफ्नो वास्तविकतालाई नै च्यापेर फैलन चाहन्छ । ऊ जे हो त्यही हो । त्यही उसको परिचय हो । अर्कै हुनुको इच्छाले उसलाई कहीँ पुर्‍याउन्न । कमसेकम आफ्नै वास्तविकता अंगाल्नुले नै उसलाई ऊ आफैँसित नजिक पुर्‍याउँछ । 

गोजीबाट मोबाइल झिकेर आर्किटेक्टलाई फोन लगाउँछ । ‘घर जो तीन तल्लाको डिजाइन गर्न भनिएको थियो, अब एक तल्लाकै बनाइदिनुस् । बरु कोठाका साइज बढाइदिनुस् । मलाई भुइँनजिकै भएर बाँच्नु छ । म भुइँभन्दा धेरैमाथि जान चाहन्नँ ।’

‘म भुइँभन्दा धेरै माथि जान चाहन्नँ,’ यो भनिरहँदा उसले उसको जग्गा मास्तिरको अर्को जग्गामा एक जोडी भँगेरा चारो टिपिरहेको देख्यो । जतिसुकै माथि उडे पनि बाँच्नका लागि चारो खोज्न आखिर उनीहरुलाई पनि जमिनमै आउनुपर्छ । आकाशमा मडारिइरहेको बादललाई देख्यो । जति माथि मडारिए पनि पानी बनेर उसले पनि जमिनमै झर्नुपर्छ । घाम जति माथि भएपनि त्यसको प्रकाश जमिनमै आएर ठोक्किन्छ । जमिन, जहाँ गुरुत्वाकर्षणको बल छ, सबैथोकलाई तान्छ । उचाइ भ्रम हो । उचाइ मिथ्या हो । श्रुति एउटा भ्रमबाट विकर्षित भई । श्रुति एउटा भ्रमसितै आकर्षित भई । 

आर्किटेक्टले के भन्यो थाहा छैन तर फोन काटिसकेपछि उसको अनुहार खुसीले पुलकित भयो । आफैँले आफैँलाई अग्लो महसुस गर्‍यो । 

प्रकाशित: १ मंसिर २०७५ ०९:३१ शनिबार

सुबिन_भट्टरार्इ नागरिक परिवार