अन्य

स्वामी आनन्द अरूण : मैले देखेको बोधिसत्व

अध्यात्मको जरो पक्रिनु र एक गुरुको पछि लाग्नु भित्रको अन्तर ज्वालाको भवक र पागलपन हो  ।  आफ्नो व्यक्तिगत रूपान्तरणको पथलाई मात्र पछ्याउन  त्यति गाह्रो छैन  । तर, आफूले गुरुबाट सिकेका कुरा आफूलाई खुब बुझक्कड ठान्ने समाजलाई बुझाउन हिँड्नु अझ ठूलो पागलपन हो  । तर, समाजले कुनै नयाँ कुरालाई पहिलो नजरमै पत्याउँदैन बरु शंकाले हेर्छ  । र, आफ्नो पूर्वाग्रहलाई खण्डित हुन दिँदैन  । यो कुनै नौलो कुरा होइन  । तर पनि आफूलाई राम्रा लागेका कुरा अरुलाई पनि राम्रै लाग्छन् भनेर त्यही मार्गमा अटल हिँड्न एक स्थिर प्रज्ञा त चाहिन्छ नै त्यति नै करुणा पनि । सायद यही दुई गुणको सम्मिश्रणलाई आध्यात्मिक भाषामा बोधिसत्वको नामले पुकारिन्छ । बोधिसत्व कुनै अमूर्त दार्शनिक विशेषण होइन । यो देश, काल र परिस्थितिबाट अंकुरित भएर मानव कल्याणको लागि हुर्किंदै जाने चेतनाको फूल हो । यसमा मानवजन्य गुण तथा कमजोरीहरू हुन्छन नै  । तर, अकंप, अविचल चेतनाको आधिक्य हुन्छ । यस पृष्ठभूमिमा १५ वर्षदेखि मेरो नजरमा टिक्नुभएका स्वामी आनन्द अरूणलाई सम्झन खोजेको छु । मलाई थाहा छ– मानिसको मनले स्पष्टरूपमा सेतो र कालो छुटिएको परिस्थितिलाई सजिलै बुझ्न सक्छ । तर, त्यसको सुक्ष्म सम्मिश्रणलाई बुझ्न केही बल–जोड गर्नुुपर्छ । राम्रो–नराम्रो, असल–खराब, नैतिक–अनैतिक जस्ता कुराहरू सिधै बुझिन्छ । तर, त्यो बुझाइ व्यक्तिगत रुझान स्वार्थ द्वेष घृणाको सानो परिधिबाट संचालित हुन्छ । रूपान्तरणको मार्गमा डो-याउने बोधिसत्वलाई बुझ्न केही मेहेनत भने अवश्य गर्नुपर्छ । स्वयम्को आग्रही प्रतिमा खण्डित गर्नुपर्छ।

स्वामीजीले हामीलाई सधैं भन्नुहुन्छ, ‘मलाई भेट्न आएको कसैलाई पनि फिर्ता नपठाउनू, एकछिन भए पनि भेटाइदिनू ।’ तीमध्ये कतिपय त काम नभई कुराकानीका लागि पनि आउने गर्छन्, ती मान्छेलाई पनि आफ्नो पुरानो मित्र भेटेसरि स्वागत गरेर आफ्नो एकदमै व्यस्त समयबाट समय दिएर भेटेको देख्दा मलाई कहिलेकाहीँ स्वामी आनन्द अरूणको व्यक्तित्व देखेर अचम्म लाग्छ।

उहाँ (स्वामी)लाई अनेकौं मान्छेले भेटेका छन्  । सन्यासी, जोगी, राजनेता, व्यावसायी, कलाकार, पत्रकार, विचारक, समाजसेवीलगायत । तर, सबैलाई एकै समान प्रेम र आत्मियताले भेट्ने अनि अलिकति केहि खुवाउनैपर्ने । खुवाउने मामलामा हामीले कहिलेकाहीँ अल्छि गरेपछि गाली गर्नुहुन्छ । तर, मैले एउटा कुरा सधैं देखें– जो पनि उहाँलाई भेटेर जाँदा एक किसिमको खुसी उनीहरूको अनुहारमा हुन्थ्यो, केही भारी बिसाए जस्तो, कोही एउटा अभिन्न मित्र पाएजस्तो । सबैलाई मित्र बनाउन सक्ने गुण देख्दा स्वामीजीले कसरी गर्नसक्नुभएको होला जस्तो लाग्छ।

कहिलेकाहीँ मान्छेहरू समय नलिईकनै उहाँलाई भेट्न आउँछन् । फिर्ता कसरी पठाउनु, समय नै नलिएकाहरूलाई कसरी भेटाउनु ? एकचोटी यसैगरि आफू अन्योलमा परेपछि भेट्न आएका मान्छेलाई मैले बाहिर कुराएँ । ‘यत्रो ठूलो मान्छेलाई भेट्न आएका छन् एकछिन त कुरिहाल्छन् नि,’ मैले मनमनै सोचेँ  । स्वामीजीलाई ‘अनुकूल’ भएपछि बाहिर मान्छे भेट्न आएको जानकारी दिए  । उहाँले बाहिर मानिसहरूलाई बाहिर कुराएको थाहा पाउनुभयो र मसँग रिसाउनुभयो । ‘मलाई मेट्न आउने मान्छे कुराएको मनपर्दैन  । आईफिल भेरी गिल्टी । कसैलाई पनि नकुराउनू,’ उहाँले भन्नुभयो।

उनीहरूलाई भेटेपछि स्वामीजीले थुप्रै चोटी माफी माग्नुभयो । त्यो दिन मान्छेहरूलाई बाहिर कुराउँदा मेरो मन पनि खिन्न भएको थियो।

स्वामी आनन्द अरुणको गुण भनौं कि कमजोरी, उहाँले आफूलाई कहिले पनि विशिष्ट र महान देख्न सक्नुभएन  । आफूलाई सधैं ‘साधारण’ देख्न सक्नु अध्यात्मको पथमा लागेको साधकको लागि अति नै महत्वपूर्ण छ, मानिसहरूप्रतिको त्यस्तो सौहार्द व्यवहार र आफैप्रतिको एक पारदर्शी सम्बन्धले कहिल्यै धोका दिन सक्दैन । केही समयअघिसम्म मलाई यो उहाँको कमजोरी जस्तो पनि लाग्थ्यो । तर, बिस्तारै थाहा पाउँदैछु कि यो त स्वामीजीको सबैभन्दा ठूलो आध्यात्मिक गुण रहेछ । दम्भ र अहंकार पुजिने आजको दुनियामा विनम्रताको महत्व धेरै कम छ, त्यसैकारण धेरै पटक मैले स्वामीजीलाई अरुको लागि सजिलै उपलब्ध नहुन पनि आग्रह गरें । तर, उहाँले यस्तो कहिले पनि गर्नुभएन।

सहज र सरल व्यक्तिहरूको महत्व सधैं कम हुन्छ । नजिकको तीर्थ सधैं अपहेलित नै रहन्छ । स्वामी आनन्द अरूणको विनम्रतालाई धेरैले बुझेका छैनन् । धेरैले उहाँको विनम्रताको फाइदा उठाएको पनि देखेको छु।

स्वामी आनन्द अरूणले भन्नुहुन्छ, ‘म गुरु होइन, गुरु ओशोको डाकिया हुँ ।’ हुन त उहाँले बारम्बार यस्तो नगर्न पनि भन्नुभएको छ । तर, उहाँमा भगवान देख्ने तथा उहाँलाई पूजा गर्नेहरूको पनि कमी छैन । यसप्रति कतिले स्वामीजीलाई दोषी पनि मानेका छन् र विरोध पनि गरेका छन् । आफैले आफूलाई पूजा गराएको भनेर दोष पनि लगाएका छन् । तर, यसमा न स्वामीजीको गल्ती छ, न त उहाँको पूजा गर्ने व्यक्तिको । गल्ती छ केवल संकीर्ण मन भएकाहरूको, जसले भक्तिजस्तो नितान्त व्यक्तिगत र अनुग्रहले भरिएको शुद्ध भावमा पनि कुरूपता देख्छ । हुन त बुद्धले सधैं मेरो मूर्ति नबनाउनु भन्नुभयो । तर, आज बुद्धको जति मूर्ति दुनियामा कसैको छैन । मूर्ति नबनाउनु भन्नु बुद्धको शालीनता हो र मूर्ति बनाएर उहाँलाई पुज्नु शिष्यहरूको हृदयको अनुग्रहता हो।

स्वामी आनन्द अरूण अति नै सहज र संवेदनशील हृदयको धनी हुनुहुन्छ । जंगलमा पानी परेको हेर्न, पुराना हिन्दी फिल्मका एउटै गीत बारम्बार सुन्न र सबैभन्दा बढी आफ्नो गुरुको कुरा गरेर सम्झन उहाँलाई आनन्द आउँछ । स्वामीजीको सहजता अनौठो छ, सबैलाई आफ्नो ठान्ने अनि कसैसँग केही नलुकाउने । रिस उठ्दा रिसाउने, खुसी हुँदा औधी नै खुसी हुने, मनमा लागेका कुरा भन्ने र कुनै चिजलाई नदबाउने । सुन्दा त सरल लाग्छ । तर, संसारमा यस्ता कति व्यक्ति छन्, जो आफूलाई यसरी पानीजस्तो पारदर्शी राख्छन् । त्यहि पारदर्शिताकै कारण धेरैले उहाँलाई बुझ्न गाह्रो भएको बताउँछन्।

मान्छेहरू सोध्छन्– आध्यात्मिक मान्छे पनि रिसाउँछ ? यसरी उन्मुक्त भएर चुट्किला भनेर हाँस्छ ? म भन्छु– एउटा ईमान्दार आध्यात्मिक मान्छे मात्र यसरी हाँस्न,  रिसाउन र रुन सक्छ।

बंगालका गुरु रामकृष्ण परमहंस अति नै सरल हुनुहुन्थ्यो, रिस उठेको बेला शिष्यहरूलाई नानाथरी मुख छाडेर गाली पनि गर्नुहुन्थ्यो । भोक लाग्यो भने प्रवचन छाडेर के पाक्यो भनेर भान्छा घरमा सोध्न जानुहुन्थ्यो । यस्तो सरलता धेरैलाई पच्दैनथ्यो र कतिले उहाँलाई पागल पनि भन्थे  । संकीर्ण मन भएकाहरूले उहाँलाई बुझेनन् न उहाँमा लुकेको भगवत्ताको अथाह ज्ञानलाई हेर्न नै सके । एक शताब्दि नै बितिसक्यो । तर, मनुष्यको संकीर्णता भने आज पनि त्यस्तै छ।

अरुको दुःख र मर्मले स्वामीजीलाई सताउने गरेको छ  । कहिलेकाहीँ तपोवन बाहिर जाँदा सडकमाधुलो र गर्मीमा मान्छेहरू हिँडेको देख्नुहुन्छ । यसले आफूलाई आत्मग्लानी भएको बताउनुहुन्छ  । देश, राष्ट्र र समाजका समस्याले स्वामीजीलार्य सधैं पिरोल्ने गरेको छ।

७५ वसन्त पार गरिसक्नुभएका स्वामी आनन्द अरूणले आफ्नो पूरै जीवन अरुलाई ध्यान सिकाएर, अध्यात्म बाँडेर, ओशो तपोवन जस्ता आश्रम बनाएर बिताउनुभयो । आफ्नो घर सबैले बनाउँछन् । तर, अरुको लागि आफ्नो पूरै जीवन बिताउन कमै हुन्छन् । अरुको दुःख कम गर्न दिन–रात खटिनुभयो । आश्रम बनाउनुभयो । किताब लेख्नुभयो । यसका लागि बोधिसत्वको मन चाहिन्छ।

आध्यात्मिक भाषामा बोधिसत्व भनेको आफ्नो मुक्तिलाई थाति राखेर अरुको मुक्तिको लागि काम गर्नु हो । त्यस्ता बोधिसत्वहरूलाई देख्न पाउनु,सत्संग गर्न पाउनु, साथ दिन पाउनु सौभाग्य हो । तर, आफ्नो संकीर्णताले ग्रसित भएर उहाँहरूलाई सताउनु, आलोचना गर्नु र चुक्नु त्यतिकै ठूलो दुर्भाग्य हो । मेरो एउटै मात्र आग्रह छ– सक्छौं भने यस्ता बोधिसत्वहरूलाई मद्दत गरौैं, मनुष्य चेतना उठाउने उहाँहरूको काममा साथ दिऔं  । त्यो गर्न सक्दैनौं भने दुःख नदिऊँ।

प्रकाशित: १ मंसिर २०७५ ०३:२७ शनिबार

स्वामी_आनन्द_अरूण अध्यात्म