अन्य

तिहारमा सयपत्रीको माग उच्च

तिहार सुरु भएसँगै सयपत्री फूलको माग बढेको छ । तिहारमा मात्रै होइन, अन्य चाडपर्वमा पनि सयपत्री नै लोकप्रिय छ । भाइटीकामा प्लाष्टिकका माला भित्रिए पनि यसतर्फ खासै आकर्षण देखिँदैन।

भाइटीकामा प्रयोग हुने फूलको संख्याका आधारमा सयपत्री पहिलो, मखमली दोस्रो र गोदावरी तेस्रो स्थानमा रहेको व्यापारी बताउँछन्।

२२ लाख माला खपत
यो तिहारमा २२ लाख फूलका माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ । यो तथ्यांक सहरी क्षेत्रमा व्यवसायिक रूपमा कारोबार भएको फूलका मालाको मात्रै हो । जसमध्ये १५ लाख सयपत्रीको माला खपत हुने फ्यानका अध्यक्ष कुमार कुसजु श्रेष्ठ बताउँछन् । उनका अनुसार सयपत्रीको मालाको तुलनामा मखमली र गोदावरीको माला कम खपत हुन्छ । सात लाख मखमली र करिब १० हजार गोदावरी फुलका माला खपत हुने फ्यानका महासचिव विश्वमणी पोख्रेल बताउँछन् । फ्यानका अनुसार अघिल्लो तिहारमा १७ लाख मालामध्ये १२ लाख सयपत्रीको माला खपत भएको थियो।

सयपत्री फूल आकर्षक देखिने भएकाले नेपालीमाझ लोकप्रिय भएको बताउँछन्, हर्टिकल्चर विशेषज्ञ अनिल आचार्य।

अध्यक्ष श्रेष्ठका अनुसार तिहारमा मात्रै फूलका बोटबिरुवा तथा माला गरी करिब ३० करोड रूपैयाँको कारोबार हुन्छ । नेपालमा वार्षिक एक अर्ब ८६ करोडको फूलको कारोबार हुने फ्यानको तथ्यांक छ । फ्यानका अनुसार वार्षिक २५ करोड ८० लाख रूपैयाँको सयपत्री मालाको कारोबार हुन्छ । यो तिहारमा सात करोड ५० लाख मूल्य बराबरको सयपत्रीको मालाको कारोबार हुने फ्यानले जनाएको छ।

फ्यानका कार्यक्रम संयोजक जेबी तामाङ भन्छन्, ‘दैनिक १७ हजार सयपत्री माला खपत हुन्छ ।’ पछिल्लो समय स्थानीय उत्पादन बढिरहेकाले सयपत्री फूलको आयात घटेको बताउँछन्, बिशेषज्ञ आचार्य । खादाको प्रयोगलाई विस्थापन गर्न पनि सयपत्रीको मालाको प्रयोग गर्नुपर्ने आचार्यको तर्क छ।

माला आयात घट्दै
अध्यक्ष श्रेष्ठ पछिल्लो समय माला आयात घट्दै गएको दाबी गर्छन्।

यस वर्ष १९ लाख माला नेपालमै उत्पादन हुने संयोजक तामाङको दाबी छ।

यो तिहारमा पनि करिव ११ लाख मूल्य बराबको तीन लाख सयपत्री फूलका माला भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको महासचिव पोखे्रल बताउँछन् । जुन गत वर्षको हाराहारीमै छ । तर, जनसंख्याको आधारमा फुलको माग कम भएको उनको तर्क छ।

केही वर्षअघिसम्म ८० प्रतिशत माला आयात गर्नुपर्ने बाध्यता भए पनि यो तिहारमा ८० प्रतिशत माला नेपाली उत्पादनले धान्ने फ्यानले जनाएको छ।

यो वर्ष तिहार ढिलो परेको र फूल फुलेकाले पनि आयात कम भएको फ्यानको भनाइ छ।

मखमली र गोदावारीमा भने नेपाल आत्मनिर्भर रहेको उनी बताउँछन्।

नेपालमा फूलको माग बढ्दै गए पनि स्थानीय जातको उत्पादनले धान्न सकेको छैन । फ्यानका अनुसार वार्षिक करिब ११ करोडको पुष्पजन्य वस्तुको आयात हुन्छ।

बानेश्वरस्थित रोजडेल नर्सरीका देवप्रकाश राईका अनुसार सयपत्री फूलको खेती बढिरहेकाले तिहारमा सयपत्रीको आयात घटेको हो । नेपालमा गुणस्तरीय बीउ तथा प्रविधिको अभावमा सयपत्रीको व्यवसायिक खेती गर्न अझै कठिन रहेको राईको तर्क छ। नेपालमा बर्सेनि करिब १५ प्रतिशत सयपत्रीको मालाको माग बढिरहेको भइरहेको खड्का बताउँछन्।

सयपत्री परम्परागत फूल
बाल्मिकी विद्यापीठकी सह–प्राध्यापक प्रियंवदा काफ्ले सयपत्री र मखमलीको विशेष धार्मिक महŒव रहेको बताउँछिन् । सह–प्राध्यापक काफ्ले भन्छिन्, ‘तिहारमा विशेषगरी पहेँलो रंगको सयपत्री र सेतो मखमलीको माला लाउनु राम्रो मानिन्छ।’

सयपत्री मौसमी फूल भएकाले तिहारकै समयमा सयपत्री फुल्ने भएकाले पनि यसको विशेष महŒव रहेको बताउँछिन्, काफ्ले । स्थानीय जातको सयपत्रीमा औषधीय गुण भएकाले पनि सयपत्री फूल लोकप्रिय भएको काफ्लेको तर्क छ।

धार्मिक परम्पराका कारणले पनि नेपालमा सयपत्री लोकप्रिय भएको बताउँछन्, विशेषज्ञ आचार्य पनि । ‘सयपत्रीको फूल लामो समयसम्म टिक्छ,’ उनी भन्छन्, ‘धार्मिक कार्यदेखि लिएर विभिन्न कार्यक्रमको प्रयोगका लागि सयपत्रीको फूल आकर्षक देखिन्छ।’

तामाङ पनि धार्मिक परमपराका कारणले पनि सयपत्रीको लोकप्रियता रहेको बताउँछन् । नेपालमा तिहारको समयमा जताततै फुल्ने र पाइने भएकाले पनि सयपत्री नै बढी प्रयोग हुने गरेको छ । तिहारमा मात्रै होइन, अन्य समयमा पनि सयपत्री फूलको उच्च माग रहेको तामाङ बताउँछन्।

गत वर्षको तुलनामा यस वर्ष तिहारमा सयपत्रीको मालाको भाउ घट्ने उपाध्यक्ष खड्काको अनुमान छ । तर, मालाको भाउ भने बजारले निर्धारण गर्ने खड्काको तर्क छ।

मखमलीको माला करिब २५ रुपैयाँ पर्ने फ्यानको अनुमान छ । मखमली स्वदेशी उत्पादनले नै धान्ने गरेको छ । गोदावरी फूलको माला प्रतिगोटा एक सय रूपैयाँभन्दा बढी मूल्य पर्ने फ्यानको अनुमान छ । गैह्र व्यवसायिक रूपमा उत्पादन गरेका फूलबाहेक यो वर्षको तिहारमा बारीमा फूल नसुक्ने श्रेष्ठको दाबी छ । बजारसम्म फूल ल्याए बिक्री हुने उनको तर्क छ।

फ्यानले प्रतिगोटा सयपत्रीको मालाको मूल्य करिब ५० देखि ७० रूपैयाँ पर्ने बताए पनि चाडपर्वको मौकामा कालो बजारी भने कम देखिँदैन । कार्टेलिङका कारणले पनि माला महँगो भएको पोख्रेलको तर्क छ । यो वर्ष भने कार्टेलिङको सम्भावना नरहेकाले फूलको माला सस्तो हुने पोख्रलको तर्क छ।

लोकप्रिय छ, कलकत्ते
तिहारको समयमा वार्षिक करिब १५ प्रतिशतका दरले फूलका मालाको माग बढिरहेको फ्यानका उपाध्यक्ष खड्का बताउँछन् । नेपालका स्थानीय जातभन्दा कलकत्ते र सयपत्री लोकप्रिय हुँदै गएको खड्का बताउँछन् । ओरेन्ज कलरको कलकत्ते सयपत्री नेपालीमाझ लोकप्रिय भएको बताउँछन्, आचार्य पनि।

स्थानीय जातको सयपत्रीको थुँगा आकर्षक तथा ठूलो हुने भए पनि माला गाँस्दा एकनासको थुँगा नहुने भएकाले कलकत्ते सयपत्री लोकप्रिय भएको आचार्यको भनाई छ।

नेपालको स्थानीय जातका फुलको थुँगा ठूलो हुने भए पनि  एकै साइजका (एकनासे) नहुने भएकाले पनि कलकत्ते जातका सयपत्री नेपालीले मनपराउने गरेको बताउँछन्, महासचिव पोख्रेल । कलकत्ते जातको सयपत्री टँडेल (सेट हाउस) भित्र बाह्रै महिना फुलाउन सकिने भएकाले पनि यसको लोकप्रियता बढ्दै गएको पोख्रेलको तर्क छ । पोख्रेल भन्छन्,‘हेर्दा ओरेन्ज (सुन्तोले रंग) कलरमा एकनासे आकर्षक माला देखिने भएकाले पनि कलकत्ते सयपत्री मन पराइएको हो ।’ नेपालमा पनि कलकत्ते जातको सयपत्रीको व्यवसायिक खेती भइरहेको बताउँछन्, पोख्रेल।

कलकत्ते सयपत्री हेर्दा आकर्षक र सुन्दर पनि देखिने भएकाले यो जातको लोकप्रियता बढेको श्रेष्ठ बताउँछन् । नेपालमा यसको व्यवसायिक खेती सुरु भएकाले विस्तारै आयत घट्ने श्रेष्ठको अनुमान छ।

सयपत्रीको निर्यात भने तत्काल सम्भव नभएको श्रेष्ठ बताउँछन् । महासचिव पोखरेल पनि भारतमै प्रशस्त मात्रामा सयपत्री उत्पादन हुने भएकाले तत्काल सयपत्रीको निर्यात सम्भव नभएको तर्क गर्छन्।

फूल खेती बढ्दै
नेपालमा व्यवसायिक फूल खेतीले गति लिन थालेको छ । फ्यानका अनुसार नेपालमा करिब एक सय ५५ हेक्टरमा फूल खेती गरिन्छ । ४३ जिल्लामा यो खेती भइरहेको छ । यसबाट ४३ हजार पाँच सय भन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएको फ्यानले जनाएको छ । फ्यानका अनुसार नेपालमा वर्षेनी करिब १५ प्रतिशतले फूल खेती बढिरहेको छ।

काठमाडौँ फूल खपत हुने प्रमुख सहर हो । पछिल्लो समय नेपालबाट फूलका बीउ, बिरुवा, बल्ब निर्यात भइरहेको छ । त्यसकारण नेपालमा पनि पुष्प व्यवसायको सम्भावना छ । त्यसकारण यो व्यवासयको विकासमा सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ।

प्रकाशित: १९ कार्तिक २०७५ ०४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App