अन्य

कुमालेलाई पालाचा बनाउन भ्याइनभ्याई

तिहार नजिकिएसँगै भक्तपुरका कुमाले अर्थात् प्रजापति समुदायका व्यक्तिलाई कामको चटारो छ । उनीहरूलाई माटोको दियो (पालाचा) बनाउन भ्याइनभ्याइ छ।

केही समयअघि कालो दियोको माग भए पनि अहिले भने पोलेको दियोको माग धेरै छ।

भक्तपुरका कृष्णसुन्दर प्रजापति १३ वर्षको उमेरदेखि माटोको भाडा बनाउँदै आएको बताउँछन् । दसैंमा दही राख्ने माटोको भाडा बनाउने उनी तिहारमा भने पलाचा बनाउने गरेको सुनाउँछन्।

तर, पछिल्लो समय भने माग घटेको उनको भनाइ छ । आधुनिक दियो र बत्ती बजारमा आएकाले माग घटेको उनले सुनाए । ‘सस्तो दरमा राम्रो खालको आधुनिक बत्ती पाएपछि हाम्रो माटोको किन किन्छ ?’  उनले दुखेसो पोखे।

भक्तपुरको सूर्यमढिका रामकाजी प्रजापति पनि पालाचा बनाउन माटोको समस्या रहेको सुनाउँछन् । ‘पहिले माटो निःशुल्क पाइन्थ्यो । तर, अहिले किन्नुपर्ने अवस्था छ,’ उनी भन्छन्।

काठमाडौं, ललितपुर, काभ्रेलगायत जिल्लाबाट पालाचा लिन आउने गरेको उनले बताए।

पहिला हातबाट बनाए पनि अहिले मेसिनले बनाउने गरेको उनले बताए । अहिले माटो मुछ्ने मेसिन भएकाले काम गर्न सजिलो भएको उनको भनाइ छ।

२०७२ को भूकम्पपछि माटोको काम गर्न निकै गाह्रो भएको उनको अनुभव छ । खुला स्थान अभाव, काँचो पालाचा पोल्ने ठाउँ नहुँदा समस्या भएको उनले बताए । ‘अहिले जसोतसो कौसीमा भाँडा पोलिरहेका छौं,’ उनले दुखेसो सुनाए, ‘सानो आकारको पालाचा भएको हुँदा बनाउन र सुकाउन त्यति झन्झट छैन।’

भक्तपुरको सूर्यमढिका रामकाजी प्रजापति पनि पालाचा बनाउन माटोको समस्या रहेको सुनाउँछन् । ‘पहिले माटो निःशुल्क पाइन्थ्यो । तर, अहिले किन्नुपर्ने अवस्था छ,’ उनी भन्छन्।

उनी केही समयपछि माटो पाउन समस्या हुने गरेको सुनाउँछन् । ‘त्यसैले केही वर्षमै माटोको पालाचा बनाउने प्रचलन हराउन सक्छ,’ उनले भने । यो काम गाह्रो भए पनि कमाइ कम भएको उनले सुनाए ।
माटाका भाँडा बनाउनु उनको पुख्र्याैली पेशा हो । तर, उनले छोराछोरीलाई यस पेशामा लाग्न दिएका छैनन् । यो पेशामा  सम्भावना नभएकाले छोराछोरीलाई अरु पेशा वा व्यवसाय गर्न सुझाएको उनी बताउँछन्।

तर, उनी आफू काम गर्ने अवस्थासम्म भने यो पेशा नछाड्ने बताउँछन् । ‘बच्चादेखि यो पेशा गरें,’ उनी भन्छन्, ‘त्यसैले यसप्रति प्रेम छ।’

केही समयअघिसम्म एक रूपैयाँमा पाँच पालाचा पाइने गरेको उनले सुनाए । अहिले भने एकको १ रूपैयाँ २० पैसा पर्ने कुमालेहरू बताउँछन्।

माटाका भाडा बनाउँदै आएका प्रजापतिहरू भक्तपुरको सूर्यमढी र पोटरी स्क्वायरमा बढी छन्।

भक्तपुरमा थर अनुसारको काम गर्ने चलन छ । प्रजापति थर भएकोले माटाका भाडाकुडा बनाउँछन् । तर, यिनको तथ्यांक छैन।

अगुवाका अनुसार माटोको भाडा बनाउनेहरू बर्सेनि घट्दो छ । केही प्रजापति समुदायका व्यक्ति अन्य पेशा वा व्यवसायमा पनि संलग्न छन्।

प्रकाशित: १२ कार्तिक २०७५ ०७:३२ सोमबार

कुमाले पालाचा माटोको_दियो