अन्य

देवता र दानवबीचको युद्ध

सेतो दौरा, जामा र फेटा गुथेको पहिरनमा जमराको माला लगाई  बाजासहित देवदेवीका सेनाहरूको ‘युद्ध अभिनय’ आफैंमा रोचक छ । दोलखा सहरमा दानवलाई देवताले परास्त गरेपछि लोकलाई कल्याण भएको विश्वासस्वरूप प्राचीनकालदेखि सञ्चालन हुँदै आएको सांस्कृतिक खड्ग जात्राको उक्त दृश्य हो।

मन्दिर र मूर्तिहरूको सहर दोलखाको टोल र डबलीहरूमा हातमा खड्ग बोकेर युद्ध मैदानमा उत्रेका सेनापति र सेनाहरूको नृत्य आफैंमा रोमाञ्चक हुन्छ । उक्त दृश्य, विजय दशमीको भोलिपल्ट बिहानदेखि युद्धको अभिनय सुरु हुन्छ।

यस्तो भेषका लडाकुहरूले राजकुल, श्यामसुन्दर, नक्छे र टसिचा टोलमा युद्ध लडेको अभिनय गर्छन् । गम्भीरखर्कमा पुगेर थप शक्ति जुटाउँछन् अर्थात् त्यसमा नयाँ लडाकुहरू थपिन्छन्।

किंवदन्ती अनुसार महिषासुरको अत्याचार बढेपछि देवदेवी युद्धको निष्कर्षमा पुग्छन् । युद्धमा सहायताको आग्रह गर्न साइत जुराई बाजागाजासहित पूजा सामग्री लिएर कालिञ्चोक भगवतीको शरणमा पुग्छन् । भगवतीले वचन दिएपछि दोलखा सहरको राइतीस्थित तीनधारा अगाडि यज्ञ सुरु हुन्छ।

दानव आएर यज्ञमण्डप ध्वस्त गरेपछि युद्ध आरम्भ भएको र भगवतीले खड्ग प्रहार गरी महिषासुर वध गरेको जनविश्वास छ । त्यसैको सम्झनामा खड्ग जात्रालाई निरन्तरता दिइएको स्थानीय बताउँछन्।

जात्राको सुरुवात राजकुलेश्वर तल रहेको चक्र डबलीमा नवमीका दिन पुजारीले चामलको भातबाट चक्रेश्वर बलिराजाको मूर्ति बनाउने परम्परा छ । त्यो मूर्तिमा स्थानीय कुसुलेबाट विधिपूर्वक राँगाको बलि दिइन्छ।

कालरात्रिका दिन भीमेश्वर मन्दिरमा महिषासुर वधको प्रतीकस्वरूप चारवटा राँगाको बलि दिइने प्रचलन छ । स्थानीय नेवारी भाषामा यसलाई ‘हामिल्ठी तिमल्ठो’ भनिन्छ।

जात्रामा युद्धनाचको अभिनय गर्न मूल खड्गधारी र उनका अंगरक्षक हन्छन । युद्धका निमित्त बोलाइएका दुई जना तथा चेलीबेटीका तर्फबाट सहायता पठाइएका तीन जना पनि नाचमा सामेल हुने परम्परा छ । बाजागाजासहित राजकुलेश्वर मन्दिरबाट विजया दशमीको भोलिपल्ट बिहान देखि नाच सुरु हुन्छ।

मन्त्री तथा सेनापति, याकरगण वंशज र उनका भीमबलि बोक्नेसमेत युद्धमा सामेल भएको रोचक दृश्य अहिले पनि प्रदर्शन गरिन्छ।

दोलखा बजार परिक्रमाका क्रममा चक्रमण्डप नकछे टोलको बौद्ध चैत्य र कोर्छे टोलमा युद्धनाच हुन्छ । यसपछि युद्धका निमित्त गुर्कोट र टसिचा टोलमा पुग्दछन्।

युद्धका क्रममा थाकेको अनुभव भएपछि दलबलसहित सेनापति पिंगल टोलको बालकुमारीसमक्ष सहायताका लागि पुग्छन्।

बालकुमारीको सहायतापछि युद्धकारीहरू भीमसेन डोबर डबलीमा पुग्छन् र पुनः युद्ध हुन्छ । त्यहाँ चार दानव सेना फेला पर्छन् । फेला परेका सेनाको प्रतीकस्वरूप चारवटा राँगालाई सबै मिलेर खड्ग प्रहार गरी मार्ने गरिन्छ।

विजय प्राप्त गर्दै अघि बढिरहेको सेना कालीको मन्दिर हुँदै त्रिपुरासुन्दरी पुग्छन् । त्यहाँ त्रिपुरासुन्दरीसँग पनि सहायता मागेको नृत्य प्रदर्शन गरिन्छ । त्रिपुरसुन्दरीले नाबालक छोरा वटुक भैरवलाई युद्ध गर्ने तरिका सिकाई घण्ट, डमरु, खड्ग चारहातमा थमाई राँगाको आन्द्राको माला लगाएर युद्धमा सामेल गराएको रोचक नाच पनि देखाउने चलन छ । बटुक भैरवसहितको सेना दुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेवस्थान, राजकुलेश्वर हुँदै अग्लो मण्डपमा चढ्दै चक्रराज बलिराजको मूर्ति स्थापना गरेको ठाउँमा पुग्छन्।

भीमेश्वर र त्रिपुरसुन्दरीमा बलि दिइएको राँगोको टाउँको यहाँ राखिन्छ । उक्त टाउकोलाई राजकुलेश्वर भगवतीले र त्यसपछि बटुक भैरवले खड्ग प्रहार गर्ने परम्परा छ।

किंवदन्तीअनुसार हजारौँ देवता र मन्दिर भएको दोलखा सहरमा दानवले देवदेवी तथा मनुष्यलाई दुःख दिने कार्य बढ्दै गएपछि युद्धद्वारा मैषासुर दावनलाई परास्त गरिएको पाइन्छ।

ऐतिहासिक सांस्कृति सहर दोलखा बजारमा आदिमकालदेखि देवदेवी र सेनाको भेषमा एकादशीको बिहानदेखि युद्धको अभिनय गर्दै जात्रा मनाउने परम्परा छ । खड्गजात्रा देवदेवी र राक्षसबीचका युद्ध कथासँग सम्बन्धित छ।

शक्तिको प्रतीक खड्ग बोकेर विभिन्न रोमाञ्चक पारामा नृत्य गरिने भएकाले खड्गजात्रा भनिएको हो । खड्गले राक्षसविरुद्ध आक्रमण गरेझैं अभिनय गर्दै बजार परिक्रमा गर्दा जात्रालुहरु यसको पछिपछि लाग्ने गर्छन।

हिपाथामीको अनुपस्थिति
खड्गजात्राको अभिन्न अंग मानिने हिपाथामी समुदायले भने सहभागिता छोडेका छन् । थामी जातिको अनुपस्थिति भयो भने जात्रा अपुरो हुने विश्वास थियो।

प्राचीन दोलखा बजारमा राक्षसले दुःख दिएपछि देवदेवीले युद्ध घोषणा गरेको किवंदन्ती पाइन्छ । यसमा थामी समुदायको हिपाथामी सारथी वनेको इतिहास छ।

प्रधान जाति याकरगण
दोलखा बजारका प्रधान जाति ‘याकरगण’ खलकभित्र एकले अर्कालाई नेतृत्व हस्तान्तरण गर्दै जाने परम्परा छ । यसवर्ष ४० वर्षदेखि याकरगणको नेतृत्व गरिरहेका यज्ञकुमार प्रधानले नेतृत्व हस्तान्तरण गरेका छन् । उनले सन्तोष प्रधानलाई याकरगणको जिम्मा दिएको छ । यज्ञकुमारले उनका बाबु धनबहादुर प्रधानबाट नेतृत्व लिएका थिए।

प्रकाशित: १० कार्तिक २०७५ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App