अन्य

मेरो प्यारो ‘काष्ठमण्डप’

आजभन्दा तेह्र सय वर्ष अगाडीको कुरा हो । अहिले जस्तो थिएन काठमाडौँ । हुने कुरा पनि भएन । केही थिएन तर पनि सबै कुरा थियो । अहिले धेरै कुरा छ तर पनि खोक्रो छ काठमाडौँ । इस्वी संवत् ७४१ आसपास लिच्छिवी राजा जयदेव (द्वितीय)को शासन थियो । नेपाल खाल्डो, तिब्बत अनि भारतका गुरुहरू अनि व्यापारीका लागि ट्रांजिट थियो । मानिसहरू व्यापार अनि अध्ययनका लागि नेपाल खाल्डोको बाटो हिँड्थे । निकै पवित्र मानिन्थ्यो, यो स्थल । यहाँ विभिन्न धर्म गुरुहरू, विद्वानहरू आएर अध्ययन गर्ने, लेख्ने काम गर्थेँ । यो भूमि विद्या अनि तन्त्रका लागि पनि प्रख्यात थियो । आफ्नै कला, संस्कृति अनि परम्परा पनि थियो।

‘लीलाबज्र’ नाम गरेका गुरु पनि यही खाल्डोमा बस्थे । यिनी बौद्ध गुरु अनि तान्त्रिक विद्याका ज्ञाता थिए । उनी भारत अनि तिब्बतमा पनि प्रख्यात थिए । उनी बेला–बेलामा भारत अनि तिब्बतका विभिन्न स्थानमा पढाउन पनि जाने गर्थे । स्वर्ग जस्तो राज्यको स्वर्ण युग थियो त्यो । पृथक् थियो त्यो काठमाडौँ।

एकादीनको कुरा हो, गर्मी यामको दिन थियो । नेपाल खाल्डोमा जात्रा चलिरहेको थियो । सबै जना जात्रामै व्यस्त थिए । ‘लीलाबज्र’ पनि जात्रामै मस्त थिए । जात्रामा निकै रमाइलो हुँदै थियो । ‘लीलाबज्र’ घर फर्कन लाग्दै गर्दा, उनको आँखा एक जना व्यक्तिमा प¥यो । ती व्यक्ति अरूभन्दा अग्ला, चम्किला अनि पृथक् थिए । उनी सबथोक बारे अनविज्ञ देखिन्थे। ती अद्भुत मानिस एकोहोरो हेरिरहेका थिए । ‘लीलाबज्र’ गुरुलाई यी पृथक् मानिस यस स्थानको नभएको भन्ने थाहा भइहाल्यो । उनमा ती नयाँ मानिसको बारेमा जान्ने इच्छा जाग्यो । तुरुन्तै ‘लीलाबज्र’ गुरुले आफ्नो तान्त्रिक शक्तिले यिनलाई आफ्नो वसमा पारे।

केही बेरपछि जात्रा सकिँदै गर्दा यी अद्भुत मानिस आफ्नो स्थानबाट सर्न खोजे तर सकेनन् । भाग्न खोजे तर सक्दैनन् । यत्तिकैमा ‘लीलाबज्र’ गुरु यी मान्छेको अगाडी जान्छन् र सोध्छन्, ‘को हौँ तिमी?’

ती अग्ला मानिसले त्यस अपरिचित स्थानमा, आफूलाई तान्त्रिक विद्याबाट बाँधिएको थाहा पाएर भाग्ने प्रयास गर्दै भन्छने, ‘म रुखहरूको राजा कल्पवृक्ष हुँ।’

‘लीलाबज्र’ गुरुको अनुमान सही निस्कियो । ती अग्ला मानिस, साधारण मानिस थिएनन् । देउतालाई वसमा पार्न सकेकोमा ‘लीलाबज्र’ गुरु खुसी हुँदै थिए । आफ्नो विद्याप्रति गर्व गरे उनले । कल्पवृक्षले आफूलाई बाँध्नुको कारण सोधे । तर, ‘लीलाबज्र’ गुरुसँग कुनै कारण थिएन त्यसैले उनले एउटा जुक्ति निकाले । साथै, उनको मनमा ती व्यक्ति कल्पवृक्ष हो की होइन भन्ने शङ्का पनि उत्पन्न भयो । उनले कल्पवृक्षलाई भने, ‘यदि तिमी रुखहरूका देउता हौ भने, मलाई एउटा ठुलो रुख देऊ ताकि म त्यो रुखको एउटा सत्तल बनाउन सकूँ । त्यो सत्तलमा यस स्थान भएर हिँड्ने बटुवा, व्यापारी, तिर्थयात्रीहरुले विश्राम गर्न सकुन्।’

कल्पवृक्षसंग अरू उपाय थिएन । उनले लीलाबज्रलाई एउटा ठुलो रुख दिए । यति ठुलो की पछि त्यो रुखको काठबाट पुरै काष्ठमण्डप निर्माण गरियो । अझ रुखको काठ बाँकि रहेर, त्यही रुखबाट वरिपरि अन्य संरचना पनि बनाइयो । र, अझै बाँकि रहेको काठ अनि रुखका अंश पनि छुट्टै राखियो । त्यति बेला यो पाटी तिब्बत र भारत आउने जाने बटुवाको आराम गर्ने थलो बन्यो । पछि जयस्थिति मल्लको पालामा यहाँ गोरखनाथ मन्दिर स्थापना गरियो।

कल्पवृक्षले आफ्नो वाचा पुरा गरिसकेपछि आफू उम्कन खोजे । ‘मैले तिम्रो सर्त पुरा गरेँ, अब मलाई छाडिदेउ’, उनले भने । लीलाबज्रको मनमा थप लोभ पलायो । उनले अब बनाउने पाटीमा यदि देउताको वास गराउन सके, त्यो पवित्र हुने ठानेर कल्पवृक्षलाई त्यही कैद गर्ने अर्को जुक्ति निकाले । उनले भने, ‘म तिमीलाई त्यो दिन मात्र छाड्छु जुन दिन नुन र तेलको भाउ बराबर हुन्छ।’

सोझा कल्पवृक्ष राजी भए । त्यसपछि हरेक वर्ष संक्रान्तिका दिन काष्ठमण्डपमा पूजा गरेर नुन र तेलको भाउ सोध्ने चलन छ । त्यसपछि कहिल्यै पनि नुन र तेलको भाउ बराबर भएको छैन । न भाउ बराबर भयो, न कल्पवृक्ष नै मुक्त भए । तसर्थ, आज पनि कल्पवृक्षको दैवी शक्ति काष्ठमण्डपमा रहेको छ भन्ने विश्वास गरिन्छ।

उक्त कथा हामी काष्ठमण्डप वरिपरि जन्मने व्यक्तिहरूले विभिन्न रूपमा सुन्दै आएका छौँ । यो कथाबारे लीलाबज्रः कै सन्तति मानिने संस्कृतिविद् यज्ञमानपति बज्राचार्यले पनि आफ्नो पुस्तक ‘लीलाबज्रः काष्ठमण्डप निर्माता’ मा लेखेका छन् भने पत्रकार सुदीप श्रेष्ठले काष्ठमण्डप सम्बन्धित आफ्नो आलेखमा पनि लेखेका छन्।

विभिन्न इतिहासकारका अनुसार काष्ठमण्डप १२ औ शताब्दीमा बनेको भन्ने अभिलेखहरू थियो । तर, यज्ञमानको किताब अनि स्थानीय रूपमा सुनिने कथाले भने आठौँ शताब्दीको कहानी बताउने गरेका थिए । भूकम्प पश्चात् पुरातत्व विभागले काष्ठमण्डपको जग उत्खनन गरेर माटो, ढगा  अनि संरचनाका अंश बेलायत लगेर अध्ययन गर्दा काष्ठमण्डप ८ औ शताब्दी कै वरिपरि बनेको पुष्टि गर्छ। यो पुष्टिसँगै काष्ठमण्डप बारे यस कथाले पनि जीवन पाउँछ। जब कथाले विज्ञानको आड पाउँछ, तब किंवदन्ती पनि यथार्थता परिणत हुन्छ। यो पुस्टिसँगै अब काष्ठमण्डप एउटा झन् महत्वपूर्ण इतिहासिक सम्पत्ति बन्न पुगेको छ।

वैशाख १२, २०७२ मा भूकम्प गए सँगै, १३ सय वर्ष अगाडीको यो इतिहास ढलेको छ। ३ वर्ष बितिसक्दा पनि हामीले काष्ठमण्डपको पुनर्निर्माण सुरु गर्न सकेका छैनौँ। १३ सय वर्ष अघिका हाम्रा पुस्ताले बनाउने सक्ने तर २१ औं सताब्दीका त्यहि पुस्ताका सन्ततिले बनाउन नसक्ने अवस्था बन्दै छ। हामी दिनानुदिन भुत्ते बन्दै छौं। कुरा एउटा सम्पदाको पुनर्निर्माणको मात्र होइन। कुरा त्यो सम्पदा प्रति हाम्रो दाईत्व अनि प्राथमिकताको हो। जसको नामबाट देशकै राजधानीको नाम बसेको छ, के हामीले त्यो सम्पदालाइ “न्याय“ गर्न सकेका छौँ ? अब मेरो पुस्ताले आफैले आफैलाई प्रश्न गर्ने बेला आएको छ। हामी हाम्रो पुर्खाले बनाएको अनि जगेर्ना गरेको सम्पदालाई फैलाउन त सकेनौँ सकेनौँ। त्यसको पुनः निर्माणमा समेत उदासीन देखिएका छौँ।

कुरा काष्ठमण्डपको मात्र पनि होइन। कुरा समृद्धिको बहस गर्ने तर हाम्रो पहिचान अनि इतिहासको माया गर्न नसक्ने प्रवृत्तिको हो। कुरा हामीले कस्तो संवृद्धि खोज्दै छौँ भन्ने पनि हो? हामी हाम्रो सम्पदा अनि त्यसको गौरवशाली इतिहासलाई लत्याएर कस्तो पहिचान स्थापित गर्न खोज्दै छौँ भन्ने प्रश्नको पनि हो। काष्ठमण्डपको आफ्नै मौलिकता अनि विशेषता थियो। यो काठमाडौँको प्रमुख आकर्षणको केन्द्र बन्न सक्थ्यो। काष्ठमण्डपको कथा विश्ववापी बनाएर काष्ठमण्डपलाई हेर्न पर्यटक नै भित्राउन सकिन्थ्यो। विश्व सामु नेपालको चिनारी बन्न सक्थ्यो। तर हामी चुक्यौं। चुक्दैछों।

काष्ठमण्डप ढल्नु प्राकृतिक थियो तर फेरी काष्ठमण्डप उठ्न नसक्नु चाही अप्राकृतिक हो। सुरुमै, हामीले हाम्रो सम्पदामा राजनीति बन्द गरिनुपर्छ। अहिले राजनीति अनि स्वार्थको नाउँमा काष्ठमण्डप उठ्न सकेको छैन। कुन दलको अग्रसरतामा बनाउने भन्नेमा बहस गरेर काष्ठमण्डप बन्न सकेको छैन। केहि सिमित व्यक्तिहरुको स्वार्थले काष्ठमण्डप उठ्न सकेको छैन। हाम्रो नेतृत्वको असक्षमताको सिकार बन्दै छ काष्ठमण्डप।

काष्ठमण्डपसंगै नेपालमा भएका हजारौँ सम्पदा अनि धरोहरहरू अलपत्र छन्। हामीले हाम्रा पुर्खाले आर्जेको यी धरोहरको महत्त्व बुझ्न सकेका छैनौँ। काष्ठमण्डपसँगै धरहरा अनि रानीपोखरीको विझोक छ। वसन्तपुर वरिपरिको सम्पदाको बिजोक छ। प्रत्येक पाइलामा भएका हाम्रा सम्पदाहरूलाई जोगाउन नसक्दा बिस्तारै हाम्रो पहिचान नै मेटिदै जाने खतरा छ। तसर्थ, अब छिटो(भन्दा छिटो काष्ठमण्डप पुरानै शैलीमा पुनर्निर्माण गरेर हाम्रो इतिहास अनि पहिचानलाई संरक्षण गर्नै पर्छ। साथै, हामीले जसरी हाम्रा पुर्खाबाट यी सम्पदा पाएका छौँ, त्यसरी नै अब यी सम्पदाको संरक्षण गर्दै अर्को पुस्तामा यी सम्पदालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो।

अर्को पुस्तालाई त झन् केही थपेर दिनुपर्छ। यस्ता सम्पदाको बारेमा हाम्रो स्कुलको पुस्तकहरूमा समेत राखेर नयाँ पुस्तामा त्यो ज्ञान अनि अपनत्व भरिन जरुरी छ। सोधखोज गरेर प्रत्येक टोलको सम्पदाको बारेमा विकिपिडिया नै किन नबनाउने ? यसको लागि प्रत्येक वडामा एउटा अभियान नै किन नचलाउने ? प्रत्येक वडाका विद्यार्थीहरूले त्यस क्षेत्रमा रहेका बुढा(पाकाहरूको संयोन्वयनमा अध्ययन गरेर विकिपिडिया निर्माण गरेर आफ्नो टोलको गाउँको बारे थाहा पाउने व्यवस्था गर्न सकिन्छ। यो अभियान संस्कृति मन्त्रालय वा स्थानीय तहहरुले देशभरि चलाउन जरुरी छ।

साथै, अब यी सम्पदाहरूमा स्थानीय युवाहरूको अपनत्व बढाउन जरुरी छ। जसका निम्ति नयाँ पुस्तालाई जागरुक गराउन जरुरी छ। हाम्रा सम्पदाहरू बारे अब लेखहरू लेखिन जरुरी छ। बढीभन्दा बढी वृत्तचित्रहरू बन्न जरुरी छ। अन्तर्रा्ष्ट्रिय स्तरमा ब्राण्डिङ गरिन जरुरी छ।

हिमाल, पहाड, खोला त अरू देशमा पनि छन् तर जीवित भगवान् कुमारी, पुलुकेसी, झ्यालिंचा, रानीपोखरी अरू देशमा छैनन्। काष्ठमण्डप अनि यी धरोहरहरु हाम्रो देशमा मात्र छ। यी हाम्रा मौलिकता हुन्, पहिचान हुन्, सम्पती हुन्। पर्यटन भित्राउन अनि विश्वभरि हामीले नेपाललाई चिनाउन हामीले हाम्रो संस्कृति अनि सम्पदालाई प्राथमिकतामा कहिले राख्ने ? हाम्रो संस्कृति अनि सम्पदा विनै के हामी संवृद्धिको यात्रा तय गर्न सक्छौँ ? सक्दैनौँ। नेपालको हकमा हाम्रो संस्कृति अनि सम्पदा संवृद्धिका आधार हुन्। तसर्थ, हामीले हाम्रो संस्कृति संरक्षण गर्नै पर्छ। अब फेरी भूकम्पले हाम्रो सम्पदाहरू ढलुन् तर हाम्रो उदाशिनता अनि लाचारीपनले नढलुन्। काष्ठमण्डपको कथाहरू हाम्रो गौरव बनुन्। हाम्रा कथाहरू हाम्रो सम्पत्ति हुन्। हाम्रो कथाहरू हाम्रो पुर्खाका कोसेली हुन्। धेरै आधुनिक बन्ने क्रममा हाम्रो मौलिकता अझेलमा नपरोस्। हाम्रा सम्पदाहरूको महत्त्व नगुमोस्। मेरो प्यारो काष्ठमण्डपको आगनीमा फेरी पनि खेल्न ( बस्न छिटोभन्दा छिटो पाइयोस्।

प्रकाशित: १० कार्तिक २०७५ ०१:५९ शनिबार

काष्ठमण्डप काठमाडौँ