अन्य

मइयाँ

नयनराज पाण्डे

‘दुखनीले लछिमी मइयाँले हातबाट झरझर झरझर असर्फी झारिरहेको फोटु ल्याएकी छ ।’ बिहानसम्म गाउँमा हल्ला फैलिसकेको थियो । गाउँभरिका बडकी माई, महतारी, भौजी, काकी, सासू र पतोहियाहरुको हियामा डाहाको अग्नि बल्न थालिसकेको थियो र सबैले भन्न थालेका थिए।

‘हामी गाउँभरिका मेहरारुले जिनिगीभरि दिवालीमा घरको दलिद्दर भगाउनको लागि गन्नाको लट्ठीले धप्प धप्प गर्दै सुप्पा ठटायौं । लछिमी आवै, दलिद्दर जावै भनेर मैयालाई न्यौता पनि दियौं । त्यति गर्दा पनि आजसम्म हाम्रो कुनै पुछत्तर नै भएन । हाम्रो पुकाराको कुनै बैलू (भ्यालु) भएन । मैयाले दुखनीमाथि मात्र किरिपा गरिन्।’

केही खसमहरुले त आफ्ना जहानहरुलाई फोहर खोतल्न नगएकोमा तथानाम पनि भन्न थालिसकेका थिए किनभने दुखनीले क्यालेन्डर भेटेको कुराले उनीहरुको छातीमा पनि कोदो दलेजस्तै भएको थियो । डाहाले भुतुक्कै भएका थिए । बब्बनले त त्यही निहुँमा चिखुरीलाई बिहानै कुटी पनि सकेको थियो।

‘साली हरामिन, दुखनीले लछिमी मइयाँको फोटु नै फेला पारी । तँ बुजरी भने घरमा एक पसेरी चाउरको भात गबर गबर भकोसेर बस्छेस् । तँजस्ती नासकटवी जोरु त कसैको नहोस् ।’चिखुरी यसै पनि गाउँभरिमा मुहँजोर मानिन्थिन् । एकदमै चोथाले । काम नपरी कोही पनि उनीसित बोल्नै चाहन्नथे । सबैले भन्थे, ‘बब्बनकी जोरु सी कलासी छे । कनफुकनी पनि उत्तिकै छे । यताको कुरा उता, उताको कुरा लगाएर गाउँमा सधैं रार मच्चाउँछे । आफैँ पनि झगडा गर्नलाई हरेक टेम सिङ खुजाउँदै हिँड्छे । त्योसित मुख लाग्नु भनेको गोबरको ढेरीमा ढेला फ्याँक्नुजस्तै हो।’ 

बब्बनले बुजरी, नासकटवी र भात धेरै हसुर्ने भकोसु भनेर गाली गरेको के सहन्थिन् उनले ! तुरुन्तै बेलज्जी भएर वचन फर्काइहालिन्, ‘भोंसडी, यति भात पनि नखाएको भए रातरातभरि तँजस्तो दुई मनको हरामीलाई थामेर सुत्न सक्ने थिइनँ।’

यसरी लक्ष्मी मैयाले असर्फी झारिरहेको क्यालेन्डरले गाउँ तताइसकेको थियो । असर्फी त आकाशको फल थियो । अहिले त त्यही क्यालेन्डर नै पनि गाउँलेहरुका लागि किमती कुरा भइसकेको थियो । लखिरामले त दिक्क हुँदै भनी पनि हाले, ‘अब डेली दुखनीले फोटुमा धूप बाल्छे । जल पनि चढाउँछे । एक न एक दिन लछिमी मइयाँ परसन्न भैहाल्छिन् । अनि त उसको घरमा फोटुमा जस्तै असर्फीको बर्सात हुन थाल्छ।’ 

हुक्कुमले फलाके, ‘हेर्दाहेर्दै मनसुख र दुखनीहरु धन्नासेठ हुन्छन् र बजारमा सिरिमिन्टको अङ्ग्रेजी सटाइलको दुतल्ला घर बनाएर नुकरचाकर राखेर बस्छन् । मसहरीदार पलङमा सुत्छन् । खेतीहर जमिन पनि किन्छन् । आँगनमा थ्रेसर पनि राख्छन् । अब हाम्रै आँखाअगाडि फटफटिया कुदाएर हिँड्छ मनसुख । हाय ! उनीहरुको जिनगीमा सतजुग आउने भै हाल्यो । हाम्रो जिनगी भने खेसारीको साग खाएरै बित्ने भो।’ 

दुखनीले पाउने सुख सम्झेर रामप्यारीको हियामा अग्नि बलेको थियो । फलाकी, ‘कम्मरमा उघन्नीको गुच्छा लटकाएर हिँड्छे अब दुखनी । अब उनीहरुसित हामीले तमन्सुखमा अगुँठा लगाएर उधारी लिनु पर्ने हुन्छ । धिक्कार छ हामीलाई। उनीहरुको जिनिगी आरामले कट्छ, हामी चाहिँ आठो याम पेटको चिन्ता गरेर बसिरहन्छौं ।’ गजेन्दरले आगोमा डालडा थपे। 

‘अब त उनीहरु मालिक बन्छन्, हामी रैयत । पैसा भएपछि त नागिर्ता पनि सजिलै बनिहाल्छ । त्यसपछि उनीहरुले चुनावमा ओट हाल्न पाउँछन् । चुनाव लडेर गाउँभरिको नेता पनि बन्छ मनसुख । दुखनी पनि नेताइन् बन्छे । हामी त उनको ओटर पनि हुन पाउँदैनौं।’

सवितरीले पनि च्याँट्ठिीएर भनिन्, ‘अब त उनीहरु उदडको गिलो आटाजस्तै बटारिनेछन् । उनीहरुसित बोल्न पनि हामीले टिकस काट्नु पर्छ होला अब ।’ अब गाउँलेहरुको लागि यही ठूलो ईष्र्या र पीडाको कुरा भएको थियो । सबैको छातीमा ज्वाला बलिरहेको थियो। 

गजेन्दरकी बुढी मनोरमालाई पनि खपिनसक्नु भएको थियो । भन्दै थिइन्, ‘मलाई त मनसुखहरुको सुख र आफ्नो जुनीभरिको दुःख सम्झेर सियारझैं हुँआ हुँआ गरेर रुन मन लागेको छ । छातीमा हायतौबा पनि मच्चिएको छ ।’ दिउँसो लखिरामले डुगडुगी बजाएर सबैलाई बरगदको रुखमुनि बस्ने पञ्चैतिमा आउने उर्दी जारी गरे। 

सारा पामरपुर एक ठाउँमा भेला भएको थियो । एकातिर पुरुषहरु बसेका थिए र अर्कोतिर महिलाहरु । महिलाहरुकै बीचमा अपराधीझैं बसेकी थिई दुखनी । सबै महिलाहरु आफ्नो जुम्रा परेको कपाल कन्याउँदै दुखनीतिर डाहाडे पाराले हेरिरहेका थिए । दुखनीको मुख रिसले कुप्प फुलेको थियो । उनलाई थाहा थियो, अब सबैले उसको कुरा काट्छन् । उनको डाहा गर्छन् । सबैले आ–आफ्नो तुनतुनी बजाउँछन् र सबैले आ–आफ्नो राग अलाप्छन्।

बिरादरीको मुख्य मान्छे भएर बसेका थिए होसीलाल । लक्ष्मी मैयाको फोटोप्रति गाउँलेहरुको आकर्षण र ईष्र्या देखेर उनले पुरानो कहावत सम्झिए र फत्फताए, ‘एक नीम, सब घर शितलाहा । लछिमी मइयाँको फोटु एउटा, वरदान चाहिँ सबैलाई चाहिएको छ।’ 

पुरुषहरुको बीचतिर थिए मनसुख । गाउँभरिमा सबैभन्दा सोझा उनी नै मानिन्थे । आजसम्म कसैसित उनको अबे–तबे पनि भएको थिएन । तर, आज उनीजस्तो भलादमीले पनि घुँडा कानकानसम्म ल्याएर सबैको सामु अपराधीजस्तै टुक्रुक्क बस्नु परेको थियो । क्यालेन्डर चाहिँ चम्पकले काखीमा च्यापेको थियो । चम्पकको अनुहारमा नाईं, यो कैलेन्डर म कसैलाई दिन्नँ भन्ने भाव थियो । ‘खै, म पनि हेरुँ त मैयाको फोटु।’ 

होसीलालले नै मागेपछि चम्पकले दिन्नँ भन्न सकेन । क्यालेन्डर दियो । होसीलालले पहिला क्यालेन्डरलाई ढोगे । त्यसपछि बटारिएको क्यालेन्डर फुकाए र मुग्ध भएर लक्ष्मी मैयालाई हेरिरहे । तस्बिरमा हाँसिरहेकी लक्ष्मी मैयालाई देखेर उनी पनि गिजा देखाएर हाँसे । एकतीसवटा दाँत झरिसकेका छन् उनका । तर, दायाँतिरको सुनले मोरेको उनको कुकुर दाँत भने अझै जस्ताको तस्तै छ । होसीलालपछि गाउँका सबैले हेरे लक्ष्मी मैयाको फोटो । पालैपालो फोटोमा ढोगे । ढोग्न त ढोगे तर सबैले दुखनी र मनसुखतिर कर्के आँखाले हेरे पनि । चिखुरीले कुरा निकालिहालिन् । ‘सारा गाउँ कङ्गाल हुँदा, दुखनी र मनसुखलाई मात्र लछिमी मइयाँले असर्फी दिन पाउँछिन् ?’

दुखनी पनि कड्किइन्, ‘किन पाउँदिनन् ? त्यो त लछिमी मइयाँको मर्जी हो । उनले जोमाथि किरिपा गर्न चाहन्छिन्, गर्छिन् । यसमा तिमीहरुको कपार किन दुखेको ? मेरो लिलारमा लेखेको थियो, त्यही मारे मैले यो फोटु पाएँ । मेरो भाग चम्किन्छ भनेर तिमीहरुको करेजामा किन धायँ धायँ आगो बलेको ?’ त्यसपछि गजेन्दर कड्किए, ‘अरे, पार साल सुखा परेर पानी खाने कुँवा पनि सुकेको थियो । हामी सबैले मिलेर पानी परोस् भनेर मेढक र मेढकीको शादी गराएको कुरा बिर्सिस् ?’ 

हो त । परार साल पूरा नौ महिना पानी परेन । कारे मेघा पानी दइदे भनेर बादलसित कति याचना गर्दा पनि पानी परेन । साउनमा पनि पानी नपरेपछि गाउँलेहरु मिलेर मोटामोटा भ्यागुता र भ्यागुती खोजे । गुडिया सिँगारेजस्तै कपडाहरु लगाइदिएर चिटिक्क पारे । अनि बाजा बजाएर भ्यागुता भ्यागुतीको बिहे गरे । ‘अनि बल्ल इन्दर भगवान्को दिल खुस भयो र गाउँमा वर्सात गराइदिए । त्यो पानी हामीले आफ्नोलागि मात्र मागेका थिएनौं, पूरा गाउँको लागि मागेका थियौं । आजसम्म हामी सबैले एकअर्काको मरनी करनी, शादीब्याहमा साथ दिएकै छौं । दुःखमा साथ दिएकै छौं भने सुखमा पनि हामी सबैको बराबर हकदैया लाग्छ।’

गजेन्दरको कुरा सुनेर दुखनीलाई असह्य भयो । उनी साह्रै बेजार भइन् र गजेन्दरमाथि झम्टिहालिन् । त्यसपछि के थियो ! होहल्ला भइहाल्यो । पञ्चैती बिथोलियो । आफ्नो मर्दमाथि हात हालेको गजेन्दरकी बूढी मनोरमाले के सहन्थिन् ! यसै पनि हुज्जती थिइन् उनी । हरेक दिन कसै न कसैसित झैँझगडा गरिरहेकै हुन्थिन् । गाउँलेहरुले सुटुक्क भन्थे, ‘यो मनोरमा ताडकाको डबल पार्ट हो ।’ उनी दुखनीमाथि जाइलागिन्।

कतिलाई दुखनीमाथि मनोरमा त्यसरी जाइलागेको मन परेन । त्यहाँ दुखनीको डाहा गर्ने धेरै थिए । तर, उनलाई साथ दिने पनि थिए । उनीहरुको भनाइ थियो, ‘दुखनी खराब छैन । उसको मन मख्खन माफिक मुलायम छ । परेको बेला हामीलाई उसले सहयोग गरेकै थिई । अब पनि उसले हामीमाथि अन्याय गर्दिन । तर, आफूले पाएको असर्फी हामीलाई दिनु नदिनु उसको मर्जी हो।’

त्यसैले दुखनीको पक्षधर रबनी मनोरमामाथि जाइलागिन् । रबनीमाथि मिन्ता खनिइन् । मिन्तासित सवितरी भिडिन् । आफ्नी जहानलाई पिटेको देखेर मिन्ताका लोग्ने धर्माले सवितरीको लोग्ने हुक्कुमलाई मुक्का हाने । चुपचाप बसेको हुक्कुममाथि हात हालेको भन्दै नन्कुले धर्मालाई पछारे । त्यसपछि नन्कुमाथि फुलाराम, फुलाराममाथि ओबीलाल, ओबीलालमाथि झुकराम, झुकराममाथि लायकराम जाइलागे । अर्कोमाथि अर्को । कसले कसलाई रोक्ने ? सारा गाउँ एकअर्कासित भिडिहाल्यो । उसले उसलाई चिथोर्याे । उसले अर्कोलाई भुत्ल्यायो । अर्कोले अर्कोको लुङ्गी तानिदियो । त्यसले त्यसको धोती च्यातिदियोे । कतिजना मेहरारु र बहुरियाहरुको चोलो च्यातिएर छाती प्रकट भयो । कतिका चुरा फुटे र हातबाट रगत बग्न थाले । हानाहानमा कतिको टाउकोमा बडेमानको गुमढ पनि उठ्यो।

पूरा गाउँ कुस्तीको अखाडामा परिणत भयो । केटाकेटीहरु भने मजा मानेर हेरिरहेका थिए । चम्पकले आफ्ना साथीहरुसित भन्यो, ‘आओ, सबै गुइयाँहरु आओ ! पेडमा चढेर हेरौं । सब किलियर देखिन्छ ।’ सब छौनाहरु नजिकैको रुखमा चढे । एउटा चनमते छौनाले तमासा हेर्दै भन्यो, ‘गजेन्दरकी बहुरियाको दूध पनि देखें । दूधको ढिपुनी त जामुन जत्रो थियो ।’ अर्को चनमतेले भन्यो, ‘मिन्ता र हुक्कुमको नुनी त नान नान भिन्डी जत्रो थियो।’

होसीलालले हस्तक्षेप नगरेका भए त्यो दिनको महाभारतमा धेरैका हातखुट्टा भाँच्चिन्थे । अन्त्यमा उनैले निर्णय सुनाए । ‘आपसमा यसरी रार मच्चाएर केही हुँदैन । समझदारीले काम गर्नु पर्छ । लछिमी मइयाँले असर्फी दिइन् भने त्यो असर्फी सारा गाउँलेहरुलाई बराबर बाँड्नु पर्छ।’ 

अनि मनसुखतिर हेरेर आदेश दिए, ‘तँ धनी भइस् भने हामीलाई बिना सूदमा उधार दिनुपर्छ । हाम्रै गाउँको सिधासादा मनई होस् तँ । तँलाई पनि हामी सबैको दुःखदर्द थाहा छ । त्यसैले तैंले हामीसित सूदखोरी नगर्नू ।’ जाति बिरादरी, पञ्च सरपञ्च सबैले होसीलालको प्रस्तावको समर्थन गरे।

दुखनी र मनसुखले बडो दुःखपूर्वक यो प्रस्ताव स्वीकार गरेका थिए । दुखनी त उदासै भइन् । घाटा लागेको महसुस गरिन् । घर आएर मनसुखले सङ्केत गरी गरी सम्झाए, ‘किन मन दुखाउँछेस् ? मैयाले किरिपा गरे हामीलाई दस असर्फी दिइन् भने हामीले अरुलाई दुईटा मात्र दिइन् भनिदिउँला । बातै खत्तम।’

दुखनीले चित्त बुझाएजस्तो त गरिन् । तर, उनको चित्त बुझेको थिएन । उनी सबैभन्दा बढी चिखुरी र मनोरमासित रिसाएकी थिइन् । हिजोसम्म तिनीहरु दुखनीका सबैभन्दा मिल्ने साथी थिए । तर आज उनीहरुले नै क्यालेन्डरको मुद्दालाई सार्वजनिक गरेर पञ्चैतीसम्म पुर्याएका थिए । उनीमाथि हातै पनि हालेका थिए । दुखनी बेलाबेलामा तिनीहरुको अनुहार सम्झिएर फत्फताउँथिन्, ‘दोरङ्गा रहेछन् बुजरीहरु । हिजोसम्म एउटा रङ देखाउँथे, आज अर्को रङ देखाए । दोगली रहेछन् । नाश होस् तिनको।’ 

यति सराप्दा पनि दुखनीको मन शान्त भएन । रात छिप्पिएपछि उनी कसैले नदेख्ने गरी चिखुरीको घरपछाडि गइन् । चिखुरीले रोपेको फर्सी गजबले सप्रिएको थियो र त्यसको झ्याङ छप्परमाथि चढेको थियो । भर्खर ससाना बतिलाहरु लाग्न थालेका थिए । गाउँमा सबैले भन्थे, ‘कोहँडाको बतियामा तर्जनीले देखायो भने सब बतियाहरु झरिहाल्छन् । कोहँडा राम्ररी फल्न पाउँदैन।’

दुखनीले त्यही गरिन् । हरेक बतियातिर उनले चोर औंला देखाइन् । मनोरमाको घरपछाडि गएर पनि त्यसै गरिन् । 
नभन्दै केही दिनपछि चिखुरी र मनोरमाका घरका फर्सीहरु राम्ररी बढ्नै नपाई कुहिएर फुत्तफुत्त जमिनमा खस्न थाले । दुखनीको मनको अग्नि शान्त हुँदै गयो । उनको प्रतिशोध पनि पूरा भयो।

तर, एउटा अर्को चिन्ताले भने उनलाई अझै छाडेको थिएन । उनले र मनसुखले पञ्चैतीमा आधा असर्फी गाउँलेहरुलाई दिने वाचा त गरेका थिए । तर, त्यो वाचा झूठो थियो । त्यसैले उनलाई आफ्नै झूठले कुटुकुटु खाइरहेको थियो । उनले झुटो बोल्यो भने कौवाले टोक्छ र विपत्तीहरु आउँछन् भन्ने सुनेकी थिइन् । त्यसैले उनले सपनामा आफूलाई कौवाले टोकेको, गधा आएर आफ्नो घरको दैलोमा पिसाब फेरेको र फोहरमा प्लाष्टिक टिप्न लाग्दा कालो नागले डसेको सपना देख्न थालिन्।

होसीलालले कुनै दिन भनेका थिए, ‘खराब सपनाले परेशान गर्याे भने तुलसी मैयालाई आफ्नो सपना सुनाउनु पर्छ ।’ दुखनीको घरमा तुलसी मठ थिएन । सवितरी र होसीलालको घरमा मात्र थियो । तर, क्यालेन्डर काण्डपछि उनको तिनीहरुसित मन मरेको थियो । उनी तिनीहरुको घरमा गइनन् । उनले बजारमा फोहर बटुल्न जाँदा सुर्खेतरोडको एउटा घरको आँगनमा तुलसीको सुन्दर मठ देखेकी थिइन् । उनी त्यहीँ गइन् । बिस्तारै गेट खोलिन् । सोचिन्, मैयाको दर्शन गर्न आएकोमा कसले पो हकार्ला र ! उनी ढुक्क भएर तुलसी मठनिर पुगिन्। 

‘तुलसी मैया नमो नमो’, भन्दै तुलसीलाई प्रणाम गरिन् र आफ्ना खराब सपनाहरु बेलिबिस्तार लगाएर सुनाउन थालिन्। त्यो घरकी मालिक्नीले बरण्डाबाट आफ्नो आँगनको तुलसी मठमा उभिएर केके–केके फत्फताइरहेकी दुखनीलाई देखिन् । उनी बरण्डाबाटै चिच्याइन्, ‘लौ न, घरमा मदिसेनी पसी । तुलसी मठनिर उभिएर के के फलाकिरहेकी छ पागल्नीले।’

मालिक्नीको आवाज सुन्ने बित्तिक्कै घरका नोकरचाकर आएर दुखनीलाई च्याप्प समाते र लछार्दैपछार्दै र लात लगाउँदै घरबाट निकाले । दुखनीको देब्रे हात पनि मर्कियो । मर्किएको हात निको हुन तीन महिना लाग्यो । बडो दुःख पाइन् दुखनीले। 

क्यालेन्डरका कारण यति ठूलो काण्ड भइसक्दा पनि दुखनी र मनसुखलाई कुनै न कुनै दिन लक्ष्मी मैयाको हातबाट निस्केका असर्फी आफ्नो घरमा झर्छ भन्ने अझै विश्वास थियो । दुखनी हरेक दिन बिहान बढनी लगाउनुअघि असर्फी खस्यो कि खसेन भनेर भुइँमा हेर्थिन् । अरु बेला पनि दुखनी र मनसुखहरु लक्ष्मी मैयातिर आशापूर्ण नजरले हेरिरहन्थे । यो गाउँको इतिहासमा मनसुख र दुखनी नै पहिला त्यस्ता व्यक्ति थिए, जो खाना खानुअघि हात जोडेर देवी मैयाको सुमरन गर्थे।
निर्धन के घर पधारो मैया 
हमरो जीवन सम्हारो मैया ।।
तर, उनीहरुको प्रार्थनाको कुनै असर भएन । लक्ष्मी मैया उनीहरुको घरमा आइनन् । उनीहरुको जीवन सुधारिदिइनन् । मैयाको हातको असर्फी कहिल्यै उनीहरुको घरमा झरेन । दुखनीले लक्ष्मी माताका फोटोसित सोध्थिन् कैलेकाहीं, ‘मैया, तिम्रो हातबाट खसेका यी सुनका असर्फीहरु कहिल्यै हाम्रो हातमा किन पर्दैनन् ? कहाँ जान्छन् यतिका असर्फीहरु ?’
तर, गएको दिवालीमा उनले घरमा छुचुन्द्रो देखेकी थिइन् । उनले सुनेकी थिइन्, ‘छचुन्दर त लक्ष्मी मैयाको वाहन हो । दिवालीको दिन छुचुन्द्रो देख्यो भने धनको बरसात हुन्छ।’ 

त्यसपछि भने उनलाई चाँडै उनीहरुमाथि लक्ष्मी मैयाले कृपा गर्छिन् भन्ने विश्वास भइसकेको थियो । तर, एकदिन लक्ष्मी मैयाकै बाहन छुचुन्द्रोले क्यालेन्डर खाइदियो । मनसुखले आवेशमा बडेमानको ढुङ्गाले छुचुन्द्रोलाई हानेर पक्लक्कै ढालिदिए । ‘जसले छछुन्दर मार्छ, त्यसको हात हरदम हल्लिन्छ । पूरा शरीर थरथर डोल्ने बिमारी लाग्छ ।’
होसीलालले भनेको सुनेकी थिइन् दुखनीले।

नभन्दै केही महिनापछि मनसुखको हात अलिअलि काँप्न थाल्यो । जीउ पनि हल्काहल्का काम्न थाल्यो । दुखनीले रोग निको पार्न बाख्राको दूध ख्वाउन थालिन् । जीउ काँप्ने रोग त केही कम भयो । तर, हात काम्न भने छाडेन । त्यसपछि फोहरको थुप्रोमा कहिले पनि दुखनीले लक्ष्मी मैयाको क्यालेन्डर फेला पारिनन्।

अब मनसुखहरुले बजारमा बडेमानको घर बनाउँदैनन् र उनीहरुको हैसियत बढ्दैन भनेर गाउँलेहरुको मन पनि शान्त भयो । चिखुरीले दुखनीसित माफी मागिन्, ‘दुखनी, मैले तेरो कपाल बेकारमा नोचें । मलाई माफ गरिदे ।’ होसीलालले सबैलाई सम्झाए, ‘अबे सरऊ, यति सानो कुरा पनि तिमीहरुको समझमा आउँदैन ? गरिपले गरिपलाई सनेह गर्नुपर्छ ।’

गाउँलेहरुले एक स्वरमा भने, ‘अरे, हामी गरिपको घरमा लछिमी मइयाँ कहिले पनि आउँदिनन् भन्ने कसलाई थाहा छैन ? हामीले त टेम पास गरेर मजा लिन झूठमुठको झगडा गरेको हो।’

यसरी समाजबाट एक्लिएका मनसुखहरु फेरि समाजका हिस्सा बने । दुखनीले पनि बुझिन्, परेको बेला लक्ष्मी मइयाँ हैन, गरिब गाउँलेहरु नै काम लाग्छन् । राति महुवाको रोटी आगोमा सेक्दै मनसुखसित भनिन्, ‘देउतासित जति हात पसारे पनि उनीहरुबाट हामीले दियासलाईको एउटा काँटी पनि पाउँदैनौं । हामीले चुल्हो बाल्न त गाउँलेसितै आगो माग्नु पर्छ।’              

प्रकाशित: ३ कार्तिक २०७५ ०७:४२ शनिबार

लछिमी_मइयाँ गाउँ नागरिक परिवार