अन्य

आधा धर्ती वा लिडरसिप

काठमाडौँको चमकदमक र वातावरण हेर्दा हाम्रो समाज अलिकति भए पनि परिवर्तन भएको हो कि जस्तो लाग्छ । यहाँको आधा आकाश अर्थात् स्त्री वर्ग पुरुषसँगै काँधमा काँध मिलाएर काम गरिरहेको देखिन्छ । उनीहरु पनि पुरुषसरह अहोरात्र खटिरहेका हुन्छन् । यति मात्र होइन, कतिपयले त पुरुषबराबर कमाइरहेका पनि छन् । यस्तो लाग्छ, उनीहरुको क्षमता समाजले चिन्न थालेको छ।

हरेक क्षेत्रमा महिलाहरुको अग्रणी भूमिका देखिन थालेको छ । व्यापार वाणिज्यको क्षेत्रमा होस् या  सरकारी ओहोदामा, प्रशिक्षण वा तालिम क्षेत्रमा होस् या चिकित्सा क्षेत्रमा, टेम्पु र ट्याक्सी चालक नारी होऊन् या हवाई जहाज उडाउने पाइलट, मिडिया सञ्चालनदेखि लिएर न्यायालय अनि संसद्सम्म नारी उपस्थिति गर्व लायक छ । अनि, जुन देशको सर्वोच्च पद अर्थात् राष्ट्रपति नारी हुन्छिन्, त्यो देशमा नारीको अवस्था अवश्य पनि दर्दनाक नहोला!

काठमाडौँको अवस्था हेर्दा यस्तो लाग्छ तर काठमाडौँबाट बाहिर निस्केपछि यही वास्तविकतामा आकाश–जमिनको फरक देखिन्छ । तर शायद यसरी नै समाजमा सकारात्मक परिवर्तन आउँछ होला । शनैशनै हुने स्वाभाविक विकासको प्रक्रियाबाटै देश अघि बढ्छ होला । जुन कुरा नेपालीका लागि खुशीको कुरा पनि हो। 

तर एकैछिन सोचौँ त, काठमाडौंमा मात्र यी सबै परिवर्तन भएर देश थेगिन्छ ? लिडरसिपका कुरामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म परिवर्तन नआउञ्जेल काठमाडौँले मात्र देश थेग्न पक्कै पनि सक्तैन । काठमाडौँका नारी जतिसुकै सुकिला भए पनि, यहाँका नारीले टेम्पु गुडाउनेदेखि हवाई जहाजसम्म उडाउनेसम्मको काम गरे पनि समग्रतामा नेपालभरिका महिलाको विकास, तिनको हकहित, उनीहरुको साक्षरता, चेतना र अन्यायविरुद्धको आवाज बुलन्द गर्न नसकुञ्जेल राजधानी मात्रको विकासले सम्पूर्ण नेपाली नारीको इज्जत धान्न सक्दैन। 

हाम्रो देशको नयाँ संविधानले कल्पना गरेजस्तो महिलाहरुको ‘रामराज्य’ त अझै टाढा छ तर कम्तीमा सन्तुष्ट हुने एउटा पक्ष छ– हामीले कम्तीमा सर्वत्र ३३ प्रतिशतको सहभागिताका लागि एउटा दह्रो जनमत तयार भइरहेको छ । थोपरिएको परिवर्तन भन्दा महसुस गरेर भएको परिवर्तन दिगो हुन्छ । ३३ प्रतिशतको सहभागिता दिगो परिवर्तनतर्फको एउटा पाटो बन्नेतर्फ हामी अग्रसर भएका छौँ र यो खुसीको कुरा हो।

हिजोआज कतिपय नारीले गाउँघरमा सहकारी चलाएका छन् । तिनले आयआर्जनका कार्यमा आफ्ना पुरुषभन्दा बलियो उपस्थिति जनाएका छन् । यो पक्कै पनि गर्वलायक पक्ष हो तर यस्ता उदाहरण अझै अपुग छन् । परिवर्तनको यो पक्ष अझै औँलामा गन्न सकिने नै छन् । यस किसिमको परिवर्तनलाई तीव्र पार्न अझ बढी आवश्यक छ । खासगरी महिला उत्पीडन र हिंसाका पक्ष दिनदिनै बढिरहेका बेला महिला सशक्तीकरण बिना हिंसा रोक्न निकै गाह्रो हुने पक्का छ । जसै महिला सशक्तीकरण बढ्दै जान्छ, उनीहरुमाथि हुने हिंसाको क्रम सुस्ताउँदै जान्छ।

त्यसैले पनि केन्द्रीय, प्रान्तीय र स्थानीय सरकारले महिला सशक्तीकरणका पक्षमा प्राथमिकता निर्धारण गर्दै विविध कार्यक्रम गर्नु आवश्यक छ । त्यसो त नेपालभरका हजारौँ एनजिओ÷आइएनजिओले त्यस्तै काम नगरेका होइनन् तर तिनको प्रभावकारिता अझै सशक्त हुन सकेको छैन। 

खसीबोका बाँड्ने तर लक्षित समुदायसम्म नपुग्ने, बालबालिकालाई पोषक तङ्खव दिने तर त्यस्ता तङ्खव हुनेखानेको घरमा पुग्नेजस्ता समस्या आजदेखिको होइन । नेपालमा एनजिओ÷आइएनजिओको गतिविधिका आधा शताब्दी पूरा भइसके पनि पुराना समस्या दोहोरिने, निर्धाका सुविधा खोसिनेजस्ता कार्य निरन्तर भइरहनु दुःखको कुरा हो।

त्यसैले स्थानीय तहले यस्ता कार्यक्रमको प्रभावकारी नियमन गर्ने र यस्ता क्रियाकलापविरुद्ध अभियानै चलाउने हो भने अब चाँडै परिवर्तन सम्भव छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । एउटा भनाइ नै छ, एउटी महिला शिक्षित भई भने घर, समाज, सहर गर्दै समग्र राष्ट्र नै शिक्षित हुन्छ । यो सम्भव र सत्य भनाइ पनि हो र यसलाई प्रमाणित गर्न अब ढिला गर्नु हुँदैन।

२००७ सालदेखि २०७७ साल हुन लाग्दा पनि त्यो बेलाका महिलाले जे समस्या भोगिरहेका थिए, त्यही समस्यामा अल्झिरहनु भनेको महिलाको क्षमताको बेकारको क्षयीकरण हुनु हो । हामीले पूरै शताब्दी बेकारमा खेर फाल्नु हो । त्यसैले अब हामीले समय क्षयीकरण गर्ने जोखिम मोल्नु हुँदैन । महिलालाई अवसर दिनुपर्छ, चाहे त्यो राजनीतिक तहमा होस् या सामाजिक तहमा । व्यावसायिक पक्षमा होस् या कर्पोरेट तहमा । र, यो परिवर्तन अघि भनिएझैँ राजधानीमा मात्र सीमित नपारी दुरदराजका इलाकासम्म पुर्याउन सकियो भने बल्ल २००७ सालदेखिको महिलाहरुको सपना एक शताब्दीपछि मात्र पूरा हुनेछ।

हालै केही समयअघि कार्यक्रमको सिलसिलामा म वीरगञ्ज पुगेकी थिएँ । त्यहाँ हामीले महिलाहरुका लागि केही उद्यम सिकाउन सक्छौँ भनी भनी प्रशिक्षण कार्यक्रम सुरु गरेका थियौँ । यो देखेर उद्यमी महिला समूह निकै खुसी देखिएको थियो । उनीहरुको धारणा थियो– यत्तिका वर्षमा पहिलो पटक काठमाडौँका उद्यमी महिलाले राजधानीबाहिरका उद्यमी महिलालाई बल्ल देखेछन् ! अब बल्ल मिलेर केही काम गर्न सकिने भयो भयो भन्ने उनीहरुमा भावना देखिन्थ्यो। 

हाम्रो एउटा सानो संस्थाले आयोजना गरेको कार्यक्रममा स्थानीय उद्यमी महिलाको जुन उत्साह सञ्चार भएको पाएँ, सरकारले चाहेमा यस्ता कयौँ कार्यक्रम सञ्चालन गर्न सक्छ र हजारौँ नेपाली नारीको अनुहारमा खुसी सञ्चार गर्न सक्छ भन्ने लाग्यो मलाई । जसरी हामीले पर्सामा यो खुसी देख्यौँ, नेपालको हरेक कुनामा यस्तै खुसी सरकारले छर्न सक्छ भन्ने मलाई लाग्यो । साँच्चै चाहने हो भने पूरै नेपालमा महिला जागृतिको स्थिति ल्याउन सकिन्छ भन्ने आफ्नै आँखाले मैले देखेँ।

जसरी मैले छर्लङ्ग नेपाली महिलाको उन्नतिको बाटो देखेँ, नेपाली महिला स्वयं पनि यस्तै उज्यालो उन्नतिको बाटो देख्न सकून् यो दसैँ र तिहारको उज्यालोमा । अनि, सरकारले पनि त्यो उज्यालो जोगाउने कार्यमा गम्भीरता भएर लागोस् । सम्पूर्ण नेपाली दिदीबहिनीको आर्थिक उन्नति अनि सुखसमृद्धि भित्र्याउन सकियोस् । सबैतिर सुखशान्ति, हर्षउल्लास र दुर्गाभवानी तथा लक्ष्मीमाताको कृपा रहिरहोस्, शुभकामना।

प्रकाशित: ३ कार्तिक २०७५ ०६:५७ शनिबार

समाज महिला नागरिक परिवार