घोराही भरतपुरमा रहेको ठूलो पक्की घर । सजिसजाउ पारिएको घरको पाहुना कक्षमा घरमुली जीवन गुरुङ बसिरहेका थिए । उनकी जीवन सहयात्री ‘बिन्दिया’ भान्छा कोठाबाट बाहिर निस्कँदै संवाददातालाई सोधिन् ‘चिया पिउँ ?’ चियाको प्रस्तावमा गरिएको अस्वीकारले उनको मन चस्स घोच्यो, उनले असन्तुष्ट भाव पोखिन् ‘हुन त हामी क्रिश्चियनले बनाएको चिया पिउन मिल्दैन होला।’
धार्मिक विभेदको आशंकासहितको उनको दह्रो जवाफले धर्म विभेदकारीको बिल्ला भिरेजस्तो आभाष भयो । यो आशंका मेटाउन पनि चिया पिउनु बाध्यता जस्तै बनिदियो । आफूहरु क्रिश्चियन भएकै कारण आफूहरुमाथि ‘हेय’ भएको आभाष गुरुङ दम्पतीमा बिस्तारै मत्थर बन्दै गयो । उनीहरु बिस्तारै खुल्न थाले । आफूहरुको क्रिश्चियन धर्म प्रवेशको इतिहाससँगै मुख्य चाडपर्वका प्रसंगमा कुराकानी केन्द्रित बन्यो । उनीहरु दुवैजना भन्दै थिए ‘दशैँमा हामी टीका मात्रै लगाउँदैनांै, यो पर्व हामीहरु पनि तपार्इंहरुजस्तै आफन्तीहरु भेटघाटमा व्यस्त हुन्छौँ।’
गुरुङ दम्पतीको यसपालाको दसैं योजना काठमाडौँको जमघट थियो । दशैँमा बिन्दियाका ठूलो बुबाको घरमा भेला हुने योजना बनेको भए पनि अन्ततः तुहियो । क्रिश्चियन भएका कारण हो ? बिन्दियाले हाँस्दै जवाफ दिइन् ‘हैन,कान्छी छोरी सुत्केरी भइन्, दशैँमा माइत आउँदै छिन्, सुत्केरी छोरीलाई छोडेर कसरी जानु ?’ विवाह भएको केही वर्षसम्म बिन्दिया आफ्नो माइतीदेखि टाढा बनिन् । क्रिश्चियनसँग विवाह गरेका कारण दुई वर्षसम्म माइतीमा आउजाउ फिटिक्कै भएन, सम्बन्ध सुध्रियो, हिन्दूधर्मावलम्बी उनका माइती पक्षले अहिले हरेक चाडपर्वमा बोलाउँछन्।
बिन्दिया सकेसम्म पुग्छिन् पनि । ‘मेरो माइतीमा सबैले हिन्दू धर्म मान्नु हुन्छ, उहाँहरुले हरेक चाडपर्वमा बोलाउनु हुन्छ,’ उनले भनिन्, ‘बोलाएका बेला हामी जान्छौं पनि तर यत्ति हो, टीकाटालो मात्रै गर्दैनाैं, बाँकी रमाइलो त उस्तै हो ।’ क्रिश्चियन धर्मको अनुयायी हुनुपूर्वको चाडपर्वको उत्साहले अहिले पनि मन बहकिन्छ जीवनको । उनी भन्छिन्, ‘पहिले त्यसरी रमाइलो गरी मनाएको पर्व आउँदा कस्तो कस्तो लाग्नु स्वाभाविकै हो नि, पहिले पहिले त झन् बढी निराश बनिन्थ्यो ।’ बाल्यकालमा पर्व मनाएको रमाइलो क्षण उनको मस्तिष्कमा अहिले पनि उत्तिकै घुम्ने गरेको उनले सुनाए।
पोखराको जीवनले २०२७ ताका नै क्रिश्चियन धर्मको बारेमा सुनिसकेका थिए । बाइबलको प्रचार गरेको देख्दा उनलाई पनि यो धर्मको बारेमा जान्ने उत्सुकता जाग्यो । ‘त्यो बेला पाँच पैसामा बाइबल किनेर पढेको हुँ,’ उनले भने । १० मा अध्ययनरत हुँदा उनी पोखरास्थित आइएनएफमा जागिरे बने । जागिरेकै क्रममा विदेशी नागरिकहरुले उनलाई फिल्ड कार्यक्रममा डुलाउँथे । बेलुका चल्ने प्रभु भजन गायनमा उनी सहभागी बन्न थाले । क्रिश्चियन धर्मसँग सम्बन्धित कार्यक्रममा उनको सहभागिताले उनलाई प्रभुप्रति उत्तिकै विश्वास बढ्दै जान थाल्यो । २०२९ मा उनी पूर्णरुपमा प्रभुको अनुयायी बने । ‘मैले प्रभुलाई जीवन दिएँ,’ उनले भने, ‘म पुरानो धर्म संस्कृतिदेखि फरक बाटोमा लागेँ।’
यो बेलामा आउने हरेक पर्वले मन अमिलो पारिदिन्थे । दशैँका बेलामा प्रभुका अनुयायीहरुको ठूलो जमघट हुन्थ्यो । खानपान र रमाइलो गर्नका लागि गरिने युवाहरुको संगति समारोहमा जीवन पनि सहभागी हुन्थे । मन केही हल्का बनिदिन्थ्यो।
‘मामा घरमा जाने, टीका लगाउने, रमाइलो गर्ने चाडपर्वको रौनकले मलाई नछुने भयो, साह्रै निराश बन्थेँ,’ उनि सम्झन्छन् । त्यो बेला क्रिश्चियन धर्मको प्रचारकको आरोप लाग्यो । उनलाई प्रहरीले सोधपुछका लागि बोलायो पनि । ‘डिएसपीले बोलाएर सोधपुछ समेत गरे,’ उनले भने ‘त्यो बेला धर्म प्रचारकलाई राज्यले हेर्ने दृष्टिकोण अहिलेको भन्दा निकै कडा थियो ।’ यसै क्रममा उनको बिन्दियासँग चिनजान भयो । कास्कीकी बिन्दिया पनि आइएनएफको जागिरे बनेर पोखरा पुगेकी थिइन् । संयोग उनीहरुको डेरा पनि नजिकै थियो । ‘हाम्रो अफिस एउटै पनि अनि बसाइ पनि नजिकै थियो,’ बिन्दिया भन्छिन्, ‘म पनि क्रिश्चियन धर्मप्रति विश्वास राख्ने भएकाले हामीहरु नजिक थियौँ।’
उनीहरुले २०३९ मा विवाह गरे । त्यही वर्ष जीवनले जागिर छोडे र पोखराको रामघाट मण्डलीको पाष्टर बने । जीवनको पारिवारिक पृष्ठभूमि क्रिश्चियन धर्मप्रति सकारात्मक रहेको भए पनि विन्दियाको परिवार भने यो रुचाउँदैनथ्यो । हिन्दू धर्ममा कट्टर बिन्दियाको माइती बिन्दियाको विवाहदेखि रुष्ट बन्यो । यहाँसम्मकी बिन्दिया केही वर्षसम्म माइत समेत गइनन् । ‘मेरो वैवाहिक निर्णयले माइती पक्ष धेरै चिढिनु भयो,’ उनले भनिन्, ‘माइतीसँग मेरो सम्पर्क नै भएन, केही वर्षसम्म म माइतीमा गइनँ ।’ यो बेला बिन्दियालाई पनि हरेक चाडपर्व निराशा थप्न आइपुग्थे । ‘माइती पक्षसँग कति रमाइलो गरी दसैं मनाइन्थ्यो,’ उनले भनिन्, ‘विवाह भएपछि दसैं पर्वको त्यो उत्साह सदाका लागि मेरो जीवनबाट हराएर गयो।’
पोखराको गुरुङ दम्पती २०५३ मा बसाइसराइ गरेर दाङ आयो । ‘दाङमा बसेर सेवा गर्ने उद्देश्य बोकेर आयौं,’ जीवनले भने, ‘यता आएपछि अहिले यहीँको रैथानै जस्तै बनिसक्यौं ।’ जीवन क्रिश्चियन धर्मका गुरु हुन् । यहाँस्थित एक चर्चका पाष्टर उनी जिल्ला ख्रिष्टियन समाजका अध्यक्षसमेत हुन् । दुई छोरा, दुई छोरीसहितको ६ जनाको पूरै परिवार क्रिश्चियन हो । तर पनि आफूहरुको पुरानो धर्म संस्कृतिको उत्तिकै माया लाग्छ, उत्तिकै रमणीय लाग्छ । फरक यत्ति मात्रै हो, क्रिश्चियन धर्मले बन्देज गरेका क्रियाकलापमा मात्रै उनीहरु सहभागी हुँदैनन्, पर्वको रमाइलोमा भने उनीहरु सक्रिय हुन्छन् नै । ‘कोहलपुरमा दिदीले तीजका लागि बोलाउनु भएको थियो, जान पाएन,’ बिन्दियाले भनिन्, ‘हामी पनि नेपाली हौं, हामीहरु नेपालीपन गुमाउन चाहन्नौं, नेपालका हरेक संस्कृतिको माया हामीहरुलाई पनि लाग्छ, फरक यत्ति हो धर्ममा मात्रै फेरबदल भएको हो।’
गुरुङ दम्पती हरेक वर्षको दसैंमा परिवार तथा आफन्तीहरुसँगको सामीप्यता चाहन्छ । दसैं पर्व उनीहरुका लागि पनि आफन्तहरुसँगको जमघटको अवसर बनिदिन्छ । यो सम्भव भएन भने उनीहरु क्रिश्चियन धर्मावलम्बीहरुले मनाउने उत्सवमा सहभागी भएर रमाइलो गर्छन् । मूलतः हिन्दूधर्मावलम्बीहरुको महान् पर्व दसैं क्रिश्यिचन धर्मका नव प्रवेशीहरुका लागि निकै पीडादायी बनिदिन्छ । यो पीडाबाट मुक्त गराउनका लागि क्रिश्यिचन धर्मका गुरुहरुले दसैंमा भेटघाट तथा संगती समारोह भव्यरूपमा आयोजना गर्ने गर्दछन् । जिल्लाभरका धर्मावलम्बीहरुलाई जम्मा पारेर दसैंको रमझम दिलाउने परम्परा यो धर्ममा लामो समयदेखि चल्दै आएको छ।
‘दसैं पर्व आउँदा धेरैको मन भावुक बन्छ, पहिले मान्दै आएको पर्व नमनाउँदा कसको मन भावुक नहोला र ?’ धर्मगुरु जीवन भन्छन्, ‘यो पीडाबाट मुक्त गर्नका लागि दसैंमा भेटघाट तथा संगति समारोहको भव्य कार्यक्रम राख्ने गर्दछौँ ।’ तीन÷चार दिनसम्म चल्ने यो समारोहमा मिठो मिठो खानपानसँगै नाचगान तथा प्रवचनको कार्यक्रम तय गरिएको हुन्छ । यहाँसम्म कि फरक जिल्लाका धर्मावलम्बीहरुलाई समेत बोलाइएको हुन्छ । ‘मूलतः दसैंमा कसरी रमाइलो गर्ने भन्ने नै यो समारोहको उद्देश्य हो,’ जीवन भन्छन्, ‘दाङका धर्मावलम्बीहरु मात्रै नभएर छिमेकी जिल्लाका साथीहरुलाई पनि यो समारोहमा बोलाइन्छ र झनै भव्य बनाइन्छ।’
यसपालाको दसैंमा आफन्तीको भेटघाटमा जान नपाउने जीवन र उनकी पत्नी बिन्दिया अहिले जिल्लामा हुने संगति समारोहको छुट्टै रौनकमा सहभागी हुनेछन् । ‘चाडपर्व हो मन खिन्न त भैहाल्छ, त्यही भएर रमाइलोका लागि पनि यस वर्षको दसैंमा संगति समारोहमा सहभागी हुनेछौं,’ जीवन भन्छन्, ‘त्यति मात्रै हैन, ख्रिष्टियन समाजको अध्यक्ष भएका नाताले पनि यो संगति कहाँ गर्ने कसरी गर्ने भन्ने तयारीको जिम्मेवारी पनि मेरो हो ।’ उनका अनुसार १५ हजारको हाराहारीमा जिल्लामा क्रिश्चियन धर्मावलम्बीहरु छन् । दसैंका बेला गरिने संगति समारोहमा यो संख्या मध्य अधिकांश सहभागी हुन्छन् । जिल्लामा डेढ सयको हाराहारीमा चर्च छन् । धर्मावलम्बीहरुको पायक हेरेर विभिन्न स्थानमा यस्ता संगति समारोहको आयोजना गरिन्छन्।
प्रकाशित: २ कार्तिक २०७५ ०८:४५ शुक्रबार