अन्य

हाम्रा ऋषिमुनि वैज्ञानिक

देशअनुसार संस्कृति फरक पाइन्छ । संस्कृति नै देश चिनाउने माध्यम हो । संस्कृतिकै कारण कुन व्यक्ति कुन देशको हो भनेर छुट्ट्याउने चलन पनि छ । सबैलाई आफ्नो संस्कृति प्रिय र उत्कृष्ट लाग्नु स्वाभाविक हो तर हामीले बुझ्नुपर्ने कुरा सबैको संस्कृतिको महत्व उत्तिकै हुन्छ । 

संस्कृतिको निर्माण कसरी भएको हुन्छ ? 

संसारभरि संस्कृति कसरी निर्माण हुन्छ भनेर हे-यौँ भने संस्कृतिको पृष्ठभूमिमा धर्म हुन्छ । चीन, रुसलगायत केही मुलुकमा धर्म विरुद्धको संस्कृति निर्माण भएको छ तर धुरी जहाँ पनि धर्म नै रहेको छ।

कसैले धर्मको विरोध गरे, कसैले धर्मको पक्षपात गरे तर गर्न चाहिँ धर्मकै वरिपरि रहेर संस्कृतिको विकास गरे। संस्कृतिको मूल जग धर्म हो । धर्मले मनुष्यको जीवनलाई सुख, शान्ति र समृद्धि भर्ने काम गर्छ । त्यसका लागि दैनिक जीवनमा गरिने अभ्यासबाहेक व्यक्ति अरुसँग मिलेर कसरी बस्ने, कुराकानी कसरी गर्ने, समाजसँग कसरी मिलेर बस्ने अनि यही जीवनलाई अलि सुखमय कसरी बनाउने भन्ने बारेको खोजीले संस्कृति जन्मन्छन् । बिस्तारै यही संस्कृति प्रथाको रुपमा बस्न पुग्छ । यही प्रथाले समाज निर्माण भएको हो । सबैले आफूअनुकूल संस्कृति निर्माण गरेका हुन्छन् । समयअनुसार संस्कृति पनि परिमार्जित हुँदै गएको हुन्छ । 

चाड र पर्व बीचको फरक 

संस्कृतिभित्र चाड र पर्व हुन्छन् । चाड बढी सामाजिक हुन्छ, पर्व बढी धार्मिक हुन्छ । त्यसकारण चाडपर्व मिसिएको हुन्छ । चाडमा धेरै धार्मिकता नहुन पनि सक्छ । त्यहाँ बढी सामाजिकता धार्मिकता कम हुन सक्छ । आर्थिकता पनि बढी हुन्छ । मनोसामाजिक पक्ष पनि हुन्छ । 

पर्वमा आध्यात्मिकता बढी हुन्छ । हामीकहाँ बनेका जति पनि चाडपर्वहरु छन्, ती यसै पात्रो भर्न बनेका हैनन् । यिनको ऐतिहासिक, सामाजिक मनोसामाजिक र प्राकृतिक पाटो बढी जोडिएर आएका छन् ।  

चाडपर्वको निर्माण कसरी भयो ? 

यस सानो आलेखमा पूरै कुरा लेखेर सम्भव हुँदैन । हामीले मान्ने चाडपर्वको ठूलो वैज्ञानिकता लुकेको छ । कतिले यसलाई अनुसन्धान गरेका छन्, कतिले यसलाई मान्दै गर्दा पनि उति विधि अध्ययन गरेको पाइँदैन । विषेषगरी हाम्रा सनातन ऋषिहरुले मनुष्यको ऊर्जालाई कहाँ कसरी जान्छ भनेर प्रयोग गरेका थिए । कुन ऋतुमा कुन पर्व मान्ने, के खाने, के लगाउने, केको पूजा आराधना गर्ने भन्ने बारेमा गहिरो ढंगले अध्ययन–अनुसन्धान गरेर चाडपर्वको विकास गरिएका हुन् । 

त्यसैगरी मान्छेलाई चाहिने रमाइलोपन, सामाजिकता, एकान्त, जपतप तथा ध्यानबारे पनि गहिरो विश्लेषण गरे । र, धर्मको रुपमा संस्कृतिको विकास गरे । हामीले मान्ने हरेक चाडपर्व समयअनुसार मिलाएको देखिन्छ । पहिलेको समाज कृषियुगमा भएको कारण पनि त्यहीअनुसार पर्व निर्माणमा केही असर परेको देखिन्छ । 

आध्यात्मिकता र धार्मिकताले जोडिएको पर्व 

कृष्ण जन्माष्टमी पर्वमा आध्यात्मिक र धार्मिक दुवै पक्ष समावेश छ । किनभने कृष्ण आध्यामिकता र सांसरिक दुवै हुन् । उनका दर्शनका कुरा उनले संसारमा देखाएका लीलाले यो कुरा प्रस्ट पार्ने काम गर्छ । 

त्यस्तै तीजमा नारी शक्तिको पूजा गर्ने चलन चल्यो । यस्ता पर्वहरु मान्दै गर्दा व्यक्ति वास्तवमै उत्साहित र अनुग्रहित बन्छ । त्यसपछि पितृहरुलाई सम्झने कार्य गरिन्छ । सोह्र श्राद्ध राख्ने चलन भयो । यो संस्कार एकदमै महङ्खवपूर्ण छ किनभने मानवजातिको अनन्त श्रृङ्खला जोड्ने यो एउटा गज्जबको कडी हो । हामीले वर्षमा एकचोटि भए पनि सम्झने गर्छौं । 

दसैँअघिका पर्वहरुले हामीलाई वास्तवमै अनुग्रृहित बनाएका हुन्छन् । यही पुलकित मनले हामी पितृलाई सम्झने गर्छौं । पितृलाई सम्झिसकेपछि मात्र दशैँ सुरु हुन्छ । दशैँ आध्यात्मिक दृष्टिकोणले अत्यन्त महङ्खवपूर्ण चाड हो किनभने दशैँमा नौ दिनसम्म देवीको आराधना र पूजा–पाठ गरिन्छ । काली, लक्ष्मी र सरस्वतीको ३÷३ दिन पूजापाठ गरिएको हुन्छ । यसले आफूमा शक्ति आउने, धन सम्पत्ति प्राप्त हुने र ज्ञान आर्जन गर्ने विश्वास राखिएको हुन्छ । जप, तप र ध्यान गरेर अनि नौ दिनसम्म साधना गरेर पर्वहरु मान्ने  यसको प्रमुख उद्देश्य हो । 

यसरी चाडपर्व बनाउनुको तात्पर्य मनुष्यलाई ऊर्जावान् बनाउनु हो । ब्रह्माण्डको ऊर्जालाई पनि प्रयोग गर्न सकियोस् भन्ने हेतुका साथ निर्माण गरिएको हो । यसरी शक्ति, सम्पत्ति र ज्ञानले निपुण भइसकेपछि आउने भनेको विजाया दसमी हो । जप, तप, ध्यानबाट म यो कुरामा निपुण भएँ है भनेर विजया दसमी भनिएको हो । 

विजया दसमीको अर्थ आफूले आफूमाथि नै विजय गरेँ भन्न खोजिएको हो । आफ्नो ऊर्जालाई व्यवस्थित गरेँ, महाकाली, महासरस्वती र महालक्ष्मीसँग साक्षात्कार गरेँ अनि अनुकम्पा पनि हासिल गरेँ भन्न खोजिएको हो । अब म विजय उत्सव मनाउन लायक भएँ भनेर त्यस दिन देवीको पूजा गरेर ठूलाबडाहरुले आज्ञा चक्रमा हात राखेर तथास्तू भनेको हो । 

त्यस दिन हामीले ठूलाबडाको चरणमा दण्डवत् गर्छौँ । यसको अर्थ, जहिले पनि ऊर्जामाथि बाट तल आउँछ, तल आइपुगेको ऊर्जा लिने कार्य गरिएको हो । 

जब हामी कसैलाई ढोग्छौँ, हाम्रो अहंकार समाप्त हुन्छ । अहंकारले पाप बढाउँछ । यो पाप कम गर्ने साधना पनि हो । जो व्यक्तिले आफ्नो जीवनमा महाकाली, महासरस्वती र महालक्ष्मीको साधना गरेको हुन्छ, त्यो व्यक्ति वास्तवमै आध्यात्मिकताले भरिपूर्ण भएको हुन्छ । 

कोजाग्रत पूर्णिमा भनेको को जागेको छ भन्ने हो । अब देवीले म हरेक प्रकारले ध्यानमय भएँ मेरावृत्तिहरु तलमाथि गएनन्, मेरो परिवार र साथीभाइहरुसँगको सम्बन्धको आनन्द पनि लिएँ, टीका ग्रहण पनि गरँे, आफूले पनि टीका ग्रहण गराइदिएँ, आध्यात्मिक साधना पनि गरेँ, म आफू भित्रको ज्ञान पनि बालेँ ध्यान शक्ति पनि उजगार गरेँ भनेर स्मरण गर्ने, आफूलाई बुझ्ने अवसर हो दसैँ । यो पूरा समय भनेको जागृत अवस्थाको समय हो । त्यस दिन देवी आउँछिन् भनेर जागृत अवस्थामा बस्ने दिन हो तर हिजोआज यसलाई दुरुपयोग गरेर जाँडरक्सी खाएर, जुवातास खेलेर बस्ने चलन छ । यो असाध्यै काम नलाग्ने कुरा हो । यसो गर्नुको अर्थ छैन । यसको सामाजिक अर्थ पनि छैन । यस्ता पर्वले हामीभित्र रहेको बोध जगाउँछ तर दसैँभित्रै हामीले जाँडरक्सी जुवातास खेल्नु भनेको आफूभित्रको बोध गुमाउनु हो ।

कोजाग्रतपछि हामी तिहारमा लक्ष्मी पूजा गर्न लायक भयौँ भन्न खोजिएको हो । सालभरि यो प्रक्रिया चलिरहेको हुन्छ । किन सालभरि चल्छ भने हाम्रा ऋषिहरुलाई थाहा थियो, जीवनमा आध्यामिकता अभिन्न अंग हो । यसलाई उनीहरुले अभिन्न अंग बनाउने प्रयास गरेका हुन् ।

मनोसामाजिक पाटो 

हरेक संस्कृतिको धार्मिक–सामाजिक महङ्खव त गहिरो भइनै हाल्यो । त्यसमाथि परिवारसँग भेट्दा आफ्नो मन शान्त भइनैहाल्छ । परिवार मिलनको अपूर्व अवसर पनि चाडपर्वहरु रहेका छन् । दसैँ सामूहिक रुपमा मनाइन्छ । गाउँघर सबैलाई उत्सवमय बनाइन्छ । कहीँकतै वैमनस्य रहँदैन । भएको पनि दसैँमा हटाउने गरिन्छ । आर्थिक पक्षा अझ गहिरो छ । ठूला ठूला निर्णय हामी यहीबेला गर्छाैं । दसैँमा अरुबेला भन्दा आर्थिक कारोबार १२ देखि १५ गुना बढी हुन्छ । हाम्रा पर्वहरु ऊर्जालाई व्यवस्थित गर्न बनाइएका हुन् । यिनलाई गहिराईमा बुझ्नु र यसलाई अङ्गीकार गर्नु हाम्रो हितमा हुन्छ । यसलाई वास्ता नगर्नु आफ्नै गोडामा वञ्चरो हान्नु हो ।

कसरी मनाउने ? 

अब कर्मकाण्डमा चलेर मात्रै पर्वहरु मनाएर हुँदैन । अबको पुस्ताले कुनै पनि चाडपर्व मान्दै गर्दा त्यसको इतिहास, प्रभाव, वैज्ञानिकता, अर्थ सबै जानकारी राखेर मनाउनु आवश्यक छ । हरेक चाडबाडको गहिरो विज्ञानलाई नबुझी सतही तरिकाले मनाएर  हुँदैन । सतही काम मात्र गर्दा  संस्कृति बिग्रिएर विकृत बन्छ । हिजोआज देखिएको गम्भीर समस्या भनेकै  मूलतः संस्कृतिबारे नबुझ्ने, आदर–सत्कार नगर्ने अनि साधनामा कमी गर्ने र कर्मकाण्डीमा आधारित हुँदै गए । त्यसकारण संस्कृतिको मौलिकता नासिने हो कि भन्ने एक प्रकारको शंका पनि उब्जँदै छ । भट्टीबाट र जुवाको खालबाट निस्केर परिवारको सदस्यलाई टीका लगाउने र आशीर्वाद दिने चलन ज्यादा छ । उसले कस्तो आशीर्वाद देला ?

के संस्कृतिले विभेद जन्माएको हो ? 

कुनै पनि कुराको प्रादुर्भाव त्यसबेलाको समय परिस्थितिअनुसार भएको हुन्छ । कालान्तरमा ती परिवर्तन हुँदै जान्छन् । हामीले मान्ने कतिपय चाडवाड विभेदी छन् भनेर भनिन्छ । सुरुमा वेद जम्मा १६ हजार श्लोकको थियो । त्यसमा कुनै जातीय लैंगिक विभेद थिएन तर जसै पछि ८४ हजार श्लोक थपिए, त्यसपछि विभेदको यात्रा सुरु भयो । कुनै पनि धर्मले जात लिंग छुट्ट्याएर विभेद गर भनेको छैन । पछि परम्परा मान्दै जाँदा एकले अर्कालाई होच्याउने प्रवृत्ति बढ्दै गएको हो । त्यसकारण बुझ्नुपर्ने कुरा के हो भने संस्कृतिले विभेद गराएको हैन, केही कर्मकाण्डीले विभेद सिर्जना गरेका हुन् । संस्कृतिका राम्रा पक्ष अँगाल्ने र नराम्रा पक्षलाई हटाउँदै लैजानुपर्छ । 

(पोखरा विश्वविद्यालयका प्राध्यापक एवं जीवन विकास विशेषज्ञ शर्मासँग प्रजु पन्तले गरेकाे कुराकानीमा आधारित)

प्रकाशित: २९ आश्विन २०७५ ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App