अन्य

राँगामय भक्तपुर

भक्तपुर–दसैं भन्नेवित्तिकै धेरै नेपालीले घरघरमा खसी काट्ने भन्ने बुझिन्छ । भक्तपुरमा भने त्यस्तो हुँदैन यहाँ खसी भन्दा राँगा धेरै ढालिन्छ। 

राँगा घरघरमा काटिँदैन बरु समूहमा काटिन्छ । कुनै गुठी, संस्था वा समूह मिलेर सामूहिक रुपमा राँगा काट्ने चलन छ। यसरी काटिएको मासु भाग भाग राखेर बेच्ने गरिन्छ । एक भागको ५०० रुपैयाँदेखि १००० रुपैयाँसम्म पर्छ। गुठीको काटेको छ भने त्यो मासु गुठीका सदस्यलाई मात्र दिने चलन छ । गुठीका सदस्यले चाहेमा बेच्न पाउँछन् । यसका लागि दसैं सुरु भएको हप्तादिन अघिदेखि भक्तपुरमा खसी बोका होइन राँगाको मेला लाग्छ । प्रत्येक वर्ष महेश्वरीमा दसैंका लागि राँंगा ल्याएर राख्ने गरिन्छ र खरिद गर्नेहरु त्यहीँ पुग्छन्।  

भक्तपुर नगरमा दसैंमा राँगा काट्ने चलन छ । गुठी वा समूह मिलेर राँगा काटिन्छ र भाग लगाएर घरघरमा लगिन्छ । 

भक्तपुरका चन्द्रबहादुर शाहीले करिव ६० वर्षदेखि राँगा बेच्दै आएको बताए । ‘पहिला पहिला भए १ महिनादेखि राँगा किन्न आउँथे’, उनले सम्झिए,  ‘राँगाहरु पहिला पहाडबाट ल्याइन्थ्यो अचेल सिन्धुली, फापरवारी, संखुवासभा, सितामाडी, इन्डिया, कपिलबस्तु, चन्द्रौटा, नेपालगञ्ज लगायतबाट ल्याउने गरेको उनले जनाकारी गराए। 
५० वर्ष पहिला दसैंको एक लटमा तीन हजार भन्दा वढी राँगा बेचिन्थ्यो। ‘अहिले त पाँंच सयको हाराहारीमा मात्रै वेचिन्छ’, उनले सुनाए । राँगाबाहेक धेरैथरि मासुको विकल्प भएकाले अचेल कम खपत हुने उनको तर्क छ। 

यतिबेला १० टोली राँगा बेच्न आएका छन् महेश्वरीमा । पहिला दसैंका बेला धेरै मासु किनेर सुकुटी बनाइराख्ने चलन थियो । अचेले बजारमा जहिले पनि मासु पाइने भएकाले सुकुटी बनाउने चलन हराई सक्यो। 

पहिला एउटा गुठीले दुई देखि तीनवटासम्म राँगा काट्ने गथ्र्यो । अचेल एउटा मात्र काट्छ । कुनै गुठीले एउटा पनि राँगा काट्न छाडेको उनले सुनाए । मासु मात्र किन्ने चलन छ।

राँगा दसैंको फुलपातीको एकहप्ता अगाडिदेखि महेश्वरीमा राख्ने गरिन्छ । यहाँ राख्नुको मुख्य कारण फराकिलो ठाउँ र नजिकै खोला भएकाले हो । पहिला पहिला भेलुखेलमा पनि राख्ने चलन थियो । अहिले त्यहाँ ठाउँ छैन । यहाँ राँगा राख्ने बेला केही बहाल तिर्नु पर्दैन र कुनै कुनै बेला सहयोग भनेर दिइन्छ। महा अष्टमीका दिन गाडी, मोटरसाइकल, तथा अन्य सवारी साधनहरु पुजा गर्दा खसी अथवा बोका काट्ने चलन छ । 
 

 

प्रकाशित: २९ आश्विन २०७५ ०५:१८ सोमबार

दसैं राँगा