अन्य

फुटपाथमा मौसमी व्यापारी

जोरपाटीका रामु खड्का विद्यार्थी हुन् । १२ कक्षामा पढ्ने खड्काको दसैं सुरु भएसँगै परिचय बदलिएको छ । अहिले उनी विद्यार्थीबाट व्यापारी बनेका छन् । कोठा नजिकैको फुटपाथमा कपडा बेच्ने काम गर्छन् । उनको यो स्थायी पेसा होइन्, दसैंले ल्याएको मौसमी पेसा।

दसैं सुरु भएसँगै सडकको फुटपाथ छिरिसक्नु छैन् । रामु जस्तै मौसमी व्यापार गर्ने व्यवसायीले फुटपाथ ओगटेका छन् । त्यही फुटपाथमा लागेको ग्राहकको चापले सहरका सडकमा दसैंको रौनक देखिन्छ । फुटपाथमा मौसमी व्यापार गर्ने व्यवसायी हुन् वा दसैंका बेला फुटपाथमा खरिद गर्ने खरिदकर्ता, एउटा पक्ष व्यापार गरेर कमाउन पाएकोमा खुसी छ । अर्को पक्ष सस्तोमा सामान पाएकोमा मख्ख।

शनिबार अपरान्ह जोरपाटीको फुटपाथमा शर्मिला अधिकारी कपडा छान्दै थिइन् । ‘सटरमा गयो भने सुनि नसक्नुको धेरै मुल्य भन्छन्,’ उनले भनिन्, ‘फुटपाथमा भने मिलाएर सामान दिन्छन् ।’ उनका अनुसार सटरमा व्यवसाय गर्नेले बढी कमाउने भन्दै दसैंमा मौका छोप्छन् । तर, फुटपाथमा मौसमी व्यापार गर्ने व्यवसायी भने केही प्रतिशत मात्रै नाफा राखेर सामान बेच्ने उनको अनुमान छ। 

फुटपाथमा दसैंका बेला हुने मौसमी व्यापारले भने सामान्य वर्गका ग्राहकलाई धेरै राहत दिएको छ । अरु पसलमा किनमेल गर्दा सटरको भाडा समेत जोडिन्छ । त्यसैले ग्राहकलाई मंहगो लागेको हुन सक्ने सुन्धाराका एक पसले सौन्जय रौनियार बताउँछन् । ‘दसैं भनेर हामीले मंहगो लिएका होइनौं,’ उनले भने, ‘हामी ब्रान्डेड सामग्री बेच्छौं, त्यसमा हाम्रो विभिन्न सेवा सुल्क पनि जोडिन्छ।’

दसैं हुनेखाने र हुँदा खाने दुबै वर्गका लागि उत्तिकै महत्व हुने बताउँछन् संस्कृतिविद्ध ओम धौभडेल । उनका अनुसार हुनेखाने भन्दा पनि हुँदा खानेका लागि बढी महत्व राख्छ दसैंले । दसैं जसरी खर्चिलो छ, त्यसरी कमाउनेको अवसर पनि रहेको उनले बताए। ‘दसैं पर्व कमाउने र खर्च गर्ने दुबैको संवेग हो,’ उनले भने। 

बालकृष्ण कार्की गाडामा तरकारी बेच्थे । हिजोआज भने गाडाभरी कपडा हालेर फुटपाथमा डुलाउन थालेका छन् । कपडा, जुत्ता, ब्याग लगायत  सामग्री बेच्दै आएको उनले बताए।

‘दसैंमा कपडाको व्यापार गर्दा फाइदा देखेर यता आएको हो,’ उनले भने, ‘थोरै नाफा राखेर बेच्दा हामी पनि खुसी, ग्राहक पनि खुसी।’ 

फुटपाथमा व्यापारी र ग्राहकले लपक्कै भए पनि सटरका व्यवसाय भने सुख छैन । सटरयुक्त पसलमा पनि ग्राहकको भिड उत्तिकै छ।

‘वर्ग अनुसार ग्राहक बाँडिन्छन्’, संस्कृतिविद् धौभडेल भन्छन्, ‘साँच्चै भन्ने हो भने दसैं खरिदारीको मौसम हो ।’ उनका अनुसार दसैंले बच्चादेखि बृद्धसम्मलाई सामान खरिद गर्न मन जगाउँछ ।

 

प्रकाशित: २९ आश्विन २०७५ ०३:४७ सोमबार

फुटपाथ दसैं