मुजा परेको अनुहार हेर्दा लाग्छ, वीरबल बिराजीलाई बुढ्यौलीले छपक्कै छोपिसकेको छ तर सक्रिय जीवनशैलीले उनलाई अझै जवान बनाइराखेको छ ।
२००७ सालमा उनले सुरु गरेको सक्रिय राजनीतिलाई अझै क्रियाशील बनाइराखेका छन् । यही क्रियाशीलताले नै उनको उपनाम नै प्रजातन्त्रका सिपाही बन्न पुगेको छ । उनी राजनीतिकर्मी कम र प्रजातान्त्रिक आन्दोलनका सिपाही बढी देखिन्छन् र उनी आफूलाई चिनाउँदा पनि त्यही रुपमा चिनिन चाहन्छन् ।
मधवापुर–६ पुख्र्यौली घर भए पनि बिराजी राजविराज सहरको मुख्य चोकमा बस्दै आएका छन् । पछिल्लो समय उनी राजविराजमा भन्दा विराटनगरमा बढी समय बिताउँछन् । विराटनगरमा एक्ला छोरा प्रमोदकुमार बिराजीसँग नातिनातिना स्याहार्दै बुढेसकाल बिताउँदै आएका बिराजी राजविराज आउजाउ गरिरहन्छन् ।
कृष्ण जन्माष्टमीको अवसरमा राजविराजको जिल्ला प्रहरी कार्यालय अगाडिको आफ्नो घर आएका बिराजीसँग उनको राजनीतिक जीवनबारे हामीले केहीबेर बात मा-यौँ ।
उनको राजनीति प्रवेश संयोगवश वा स्वार्थका कारण नभएर प्रजातन्त्रप्रतिको समर्पणका कारण भएको थियो । प्रजातन्त्रमाथि उनको अगाध आस्था थियो । जहानियाँ राणा शासनबाट किसान–मजदुरले भोग्दै आएको पीडाले उनलाई राजनीतिमा तानेको थियो । त्यो बेला व्यवस्थाको बर्खिलाप गर्ने व्यक्तिलाई कडा दण्ड दिइन्थ्यो । त्यो बेला बीपी कोइरालाले संघर्षको अगुवाइ गरिरहेका थिए ।
बिराजी बीपीको अभिव्यक्तिबाट निकै प्रभावित थिए । प्रजातन्त्रको सुन्दर पक्षबारे उहाँको अभिव्यक्ति बडो चाख राखेर सुन्थे, पढ्थे तर उनलाई प्रत्यक्ष रुपमा सुन्ने लालसा पूरा भएको थिएन । २००७ सालमै बीपीलाई भेट्न उनको समूह सप्तरीबाट कष्टपूर्ण यात्रा गरेर विराटनगर पुगेको थियो । त्यो बेला उनी गाउँमै (मधवापुर) बस्थे, गाउँबाट पैदलै कोसीसम्म पुगे र डुंगा चढेर कोसी नदी पार गरेपछि पुनः पैदल हिँडेर विराटनगरसम्म पुगे ।
उनी सम्झँदै भन्छन्, ‘त्यो बेला यातायातको सहज पहुँच थिएन । हिँड्दाहिँड्दा थलिएका उनी बीपीको ऊर्जापूर्ण वचनबाट तंग्रिएर घर फर्कियौँ ।’
केहीले केही सम्झेझैँ गर्दै फेरि भने, ‘बीपीको वचनमा जादु थियो । प्रजातन्त्रप्रति उहाँ निष्ठावान् हुनुहुन्थ्यो । उहाँको जादु छविले मलाई तानिरह्यो ।’
राणा शासनविरुद्ध २००७ सालमा नेपाली कांग्रेसको पहिलो सशस्त्र क्रान्तिको सुरुवात सप्तरीको कञ्चनपुरबाट भएको थियो । विराटनगरमा नेपाली कांग्रेसको दख्खल थियो । विराटनगर कब्जा गर्न कञ्चनपुरभन्दा पूर्वमा पर्ने कुशहाघाटमा राणा शासकले फौजी क्याम्प स्थापना गरेका थिए । यही क्याम्पको उत्तरमा कृष्णबहादुरको कमाण्डमा सरकारी सेनाको क्याम्प थियो । योभन्दा उत्तर बथान –जंगलको छेउ) मा कांग्रेसको क्याम्प खडा गरिएको थियो । जसको कमाण्ड कुलदीप झाले गर्दै थिए । नजिकैको पोखरीमा झा स्नान गरिरहेका बेला अर्कोतर्फका कमाण्डर कृष्णबहादुरले दुरबिनबाट देखेपछि गोली चलाए ।
घटनाका बारेमा बिराजी भन्छन्, ‘नुहाउन पोखरीमा छिरेको केही समयमै गोली चल्यो । कुलदीप झाले त्यहीँ दम तोडे । त्यसपछि भागाभाग भयो । क्याम्पहरु तोडिए । कृष्णबहादुर पनि गोलीको शिकार भए ।’
उपचारका लागि भारत लैजाँदै गर्दा सीमामा कृष्णबहादुरको प्राणपखेरु उड्यो ।
राजविराजमा कांग्रेसको राम्रो प्रभाव थियो । राजविराज कब्जा गर्न सप्तरीकै सुन्द्रापकरीमा अर्को फौजी क्याम्प कडा गरिएको थियो । लडाइँमा धेरै व्यक्तिले ज्यान गुमाए । राणा शासकहरुले न विराटनगर कब्जा गर्न सके न त राजविराज नै । लडाइँकै बीचमा दिल्लीमा सम्झौताका लागि छलफल सुरु भयो । दिल्ली सम्झौतापछि राणा शासनको अन्त्य भयो । मोहनशमशेर प्रधानमन्त्री बने अनि बीपी कोइराला गृहमन्त्री ।
....
राणा शासनप्रति उनको विकर्षणको कारण भन्नु नै आमजनमाथि भैरहेको दमन थियो । जमिन्दारहरु मालिक थिए र बाँकी सबै नोकरसरह थिए । जमिनदारको नोकरी नगर्ने गाउँ–समाजमा बस्नै नसक्ने वातावरण थियो । मानौं जमिनदार राजा हो र बाँकी सबै तिनका गुलाम । ‘मलाई यो प्रवृत्ति (व्यवस्था) मन परेको थिएन,’ उनले भने, ‘यस्तो व्यवस्था के व्यवस्था ? यसको विरोध गर्नुपर्ने सोच दिमागमा आयो तर यसको एक्लै विरोध गर्नु सम्भव थिएन । त्यही भएर म कांग्रेससँग जोडिन पुगेँ ।’
....
प्रजातन्त्र प्राप्तिकै संघर्षका बीचमा भारतका समाजवादी नेता जयप्रकाश नारायण राजविराज आएका थिए । उनको खुला भाषण थियो । उनी बडो उत्सुकताका साथ जयप्रकाशको भाषण सुन्न पुगे । ‘जयप्रकाश नारायणले भन्नु भएका केही लाइन वाक्य सम्झन्छु–प्रजातन्त्र स्थापना भए जनता मालिक हुन्छन्, जनता नेता हुन्छन् । अभिव्यक्ति स्वतन्त्रता हुन्छ । कोही कसैको गुलाम रहँदैन, कोही शासक र शासित रहँदैन । म त्यो भाषणबाट निकै प्रभावित भएँ । लाग्यो, प्रजातन्त्र आएपछि त कोही पनि शासित हुँदैन । यस्तो राम्रो व्यवस्थाका लागि किन नलड्ने ?’
...
बीपीलाई उनले अभिभावक मानेका थिए । बीपी राजनीतिक अभिभावक मात्र नभई उनको पारिवारको अभिभावक पनि थिए । प्रजातन्त्र स्थापना पूर्वको प्रजातान्त्रिक संघर्षका बेला पनि उनी नियमित रुपमा बीपीसँग भेटिरहन्थे । बीपीलाई भेट्दा जहिल्यै प्रेरणा र पारिवारिक माहोल पाए ।
बीपीसँगको आकर्षणको कारण भन्नु नै उनले गर्ने सहृदयी व्यवहार हो । विराटनगरमा बीपी भेट्न जाँदा थकित गलित अनुहार हेरेर पत्नी सुशीलालाई चिया पकाउन अह्राउँथे ।
‘चिया त घरभरि काम गर्ने जसले पकाए पनि हुन्थ्यो तर बीपीले मप्रतिको सम्मान भाव व्यक्त गर्न पत्नीलाई अह्राउनु भयो,’ बिराजी भन्छन्, ‘बीपी वास्तवमै अभिभावक हुनुहुन्थ्यो, अभिभावकीय जिम्मेवारीबोध थियो । उहाँलाई सम्झँदा अहिले पनि मेरो मन भारी हुन्छ ।’
...
२०१२ सालमा नेपाली कांग्रेसको वीरगञ्ज महाधिवेशन भयो । त्यो बेला कृष्णप्रसाद भट्टराई सप्तरीबाट प्रतिनिधि बनेर गएका थिए । त्यो बेला वीरबल बिराजी पनि सप्तरीबाटै प्रतिनिधि बनेर महाधिवेशनमा सहभागी भएका थिए ।
.....
२०१५ सालमा आम चुनाव घोेषणा भयो । कांग्रेसले चुनावको व्यापक तयारीमा थाल्यौ । विराजीले पनि आफ्नो क्षेत्र वरपर पार्टीलाई जिताउन तयारी थाले । त्यो बेला देशभरि १०९ वटा निर्वाचन क्षेत्र थियो । सप्तरीमा तीन निर्वाचन क्षेत्र थियो । निर्वाचन क्षेत्र नम्बर ३५, ३६ र ३७ । ३६ नम्बर निर्वाचन क्षेत्रबाट डा. नागेश्वरप्रसाद सिंह, ३७ मा रामेश्वरप्रसाद सिंह र ३५ नम्बरबाट बिराजी चुनाव लडे । त्यो बेला गजेन्द्र नारायण सिंह सप्तरी कांग्रेसका सभापति थिए । उनी क्षेत्र नम्बर ३६ बाट आकांक्षी थिए तर उनले टिकट नपाएपछि विद्रोह गरे । जसका कारण बिराजीले जम्माजम्मी १०७ मतले चुनाव हारे ।
२०१५ सालको त्यो आम निर्वाचनामा बीपी कोइराला बिराजीको निर्वाचन क्षेत्रमा विशेष रुपमा चुनावी भाषण गरेका थिए । ‘उहाँले मेरो निर्वाचन क्षेत्रमा विशेष समय दिनुभएको थियो तर आफ्नै पार्टीका विद्रोहीहरुले चुनाव हराएपछि के गर्नु ?’ उनले भने ।
बिराजीले चुनाव हारेपछि त्यो बेला कांग्रेस मुख्यालयले जाँच कमिसन खटायो । जाँच कमिसनको प्रतिवेदनअनुसार गजेन्द्र नारायण सिंह पार्टी सभापतिबाट हटाइए । त्यो बेला चुनाव लड्दा बीपीले पाँच हजार रुपैयाँ सहयोग गरेको उनी सम्झन्छन् ।
२०१४ सालमा राजा महेन्द्रको सवारी सप्तरीमा भएको थियो । त्यो बेला बिराजीसहितका करिब चार सय कांग्रेसीहरुले पार्टीको झण्डा लिएर बघियाघाटमा स्वागत गर्न गएका थिए । कांग्रेसको झण्डा देखेर त्यो बेला राजा महेन्द्र अचम्भित भए । उनले बडा हाकिम सहदेव सिंहलाई निर्देश जारी गरे, जसरी हुन्छ आउने चुनावमा यहाँबाट कांग्रेसले हार्नुपर्छ । कांग्रेसको हर्ताकर्ता अगुवा भएकाले बिराजीलाई तारो बनाइयो । षडयन्त्रको नालीबेलीबारे बिराजीले सुनाए, ‘३६ नम्बरबाट उम्मेदवार महासुदामा यादवलाई बिराजीको क्षेत्र ३५ नम्बरमा ल्याएर उठाइयो । कृष्णदेव झालाई मेराविद्धध उठाइयो । सबै मिलेर मलाई हराए । मेरो हारको कारण सहदेव सिंह बने । जब बीपी कोइराला प्रधानमन्त्री बने, तिनै सहदेव सिंहले सरुवाका लागि मसँगै गुहार लगाउन आए ।’
‘बीपीलाई भेट्न मैले समय मागिरहनु पर्दैनथ्यो, सिधा प्रवेश पाउँथेँ म,’ उनले भने, ‘म बीपीकहाँ गएँ र सहदेव सिंहलाई सरुवा गरिदिन आग्रह गरेँ ।’
‘बीपीले तपाईंलाई नै हराउनेको सिफारिस गर्न आउनुभयो भनी मायालु पाराले हपार्नुभयो तर मैले उहाँलाई भनेँ, मलाई राम्रो गर्न नसके पनि म उनका लागि राम्रो गरिदिन्छु,’ बिराजीले बीपीसँगको संवाद सम्झँदै भने ।
यसपछि बीपीले बिराजीको आग्रह मानेर सहदेवको सरुवा गरिदिए ।
बीपी कोइरालासँग बिराजीको निकटताका कारण नै भारतबाट आउने कतिपय समाजवादी नेतालाई बीपीसँग भेटघाट गराउन पुग्थे ।
२०१५ सालको चुनावमा कुल १०९ सिटमा ७४ सिट नेपाली कांग्रेसले जितेको थियो, १९ सिट गोर्खा परिषद, संयुक्त प्रजातन्त्र पार्टीले ५, नेपाल कम्युनिस्ट पार्टी ४, नेपाल प्रजा परिषद् (घन कोदालो) ले २, नेपाल प्रजा परिषद् (हलो)ले १ र स्वतन्त्रले ४ सिट जितेका थिए ।
....
२०१७ पुस १ गते बीपी कोइरालाको प्रजातान्त्रिक सरकार शाही ‘कू’बाट अपदस्थ गरियो भने धेरै नेता पक्राउ परे र जेल हालियो । बीपी पनि पक्राउ परे । राजाले जिल्ला–जिल्लामा दौडाहा (दूत) खटाए । राजविराजमा पनि दौडाहा आएर बिराजीसँग भेटे । त्यो बेला दौडाहामार्फत आएको प्रस्ताव सम्झँदै उनले भने, ‘राजाबाट तपाईंलाई मन्त्री बन्न निम्तो छ, स्वीकार्नुस ।’ बिराजीले जवाफमा भने, ‘म विचार गरुँला ।’ यसपछि दौडाहा फर्के ।
त्यसपछि उनी दरभंगातिर हानिए । उनले मन्त्री पद स्वीकार्ने सवालै थिएन । कारण खुलाउँदै बिराजीले भने, ‘प्रजान्त्र फर्काउन राजनीतिमा आएको व्यक्तिले प्रजातन्त्र कुल्चनेसँग हात मिलाएर सरकारमा कसरी जानु ? त्यसमा पनि मेरो आदर्श बीपी कोइराला जेलमा हुनुहुन्थ्यो । यस्तो अवस्थामा म कसरी सरकारमा जान सक्थेँ ?’
यस घटनापछि उनका धेरै साथीहरु पञ्चायतमा लागे तर उनको मनले साथीहरुकै हुलमा मिसिन मानेन । ‘मैले महेन्द्र सरकारको त्यो प्रस्ताव अस्वीकार गरेर सही–गलत के गरेँ थाहा भएन तर जीवनभर आत्मसन्तुष्टि भने अनुभूत गर्न पाएको छु,’ उनले भने ।
झण्डैझण्डै मन्त्री बनेका बिराजीको बिजोग यसपछि सुरु भयो । उनी बिहारको दरभंगाको रेलवे स्टेसनमा तीन वर्ष बसे । निकै लामो कसरतपछि मात्र पार्टीका कार्यवाहक सभापति सुवर्ण समशेरसँग भेट भयो र बिराजीलाई वीरपुर क्याम्प इन्चार्ज बनाएर पठाए । त्यो बेला नेपाली कांग्रेसको मुख्यालय कलकत्ता थियो । सरकारविरुद्ध सशस्त्र क्रान्ति भयो । धेरैजसो उनका साथीहरु मारिए । बिराजीले समेत आफ्नो सुरक्षा गार्ड सुकदेव सिंहलाई गुमाए । इन्चार्ज भएकाले मात्र उनी बाँचे ।
...
२००७ सालपछिको प्रजातन्त्रकाल र २०१७ पुस १ गते राजा महेन्द्रको कदमपछिको प्रवासकाल दुवै अवस्थामा सक्रिय राजनीति गरेका बिराजी प्रजातन्त्रलाई आफ्नो राजनीतिको मिसन मान्छन् ।
राणा शासनदेखि पञ्चायत र २०४६ चैत २६ गते प्रजातन्त्रको पुनस्र्थापनासम्मको संघर्षमा सक्रिय रहेका बिराजी पार्टीप्रति आस्थावान्भन्दा पनि प्रजातन्त्रप्रति बढी आस्थावान् भएको बताउँछन् । यही प्रजातन्त्रप्रतिको आस्थाले राजनीतिबाट आफू अलग हुन नसकेको उनी बताउँछन् ।
प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो निर्वाचन २०४८ सालमा प्रजातन्त्रका लागि संघर्ष गर्नेले टिकट पाएनन् । त्यो बेला सप्तरी जिल्ला सभापति हरि राईले मात्र टिकट पाए । ४० वर्ष संघर्ष गरेपछि बल्ल पुनस्र्थापना भएको प्रजातन्त्रमा अधिकारको लडाइँ लड्नेले भन्दा अरुले नै जनताको ‘सेवा’ गर्ने लाइसेन्स अर्थात् सांसदको टिकट पाए ।
उनलाई पाखा लगाएर जयप्रकाश गुप्ता र कुबेर शर्माले टिकट पाए । यसबाट विरक्तिएका धेरै जनाले कांग्रेस पार्टी छोडे । उनी भने घात खाए पनि पार्टीमै बसिरहे । प्रजातन्त्रका लागि करिब ४० वर्ष लडेको व्यक्ति टिकट पाउनकै मरिहत्ते गर्न र पार्टी छोड्न उनलाई मन लागेन ।
....
२०४९ सालको स्थानीय निकायको चुनावमा जिल्ला विकास समितिको सभापतिमा नेपाली कांग्रेसका तर्फबाट टिकट पाएका बिराजी चुनावमा विजयी भए । उनले पाँच वर्षसम्म जिविस सभापतिका रुपमा जिम्मेवारी सम्हाले ।
पछि संविधानसभाको पहिलो निर्वाचनमा उनी नेपाली कांग्रेसबाट उम्मेदवारीका लागि ठीक परेका थिए तर उनको टिकट खोसियो र अर्कैको मनोनयन दर्ता भयो । देवनारायण मण्डललाई टिकट दिए पनि उनी चुपचाप पार्टीमै बसिरहे । दोस्रो संविधानसभा निर्वाचनमा उनले टिकट त पाए तर सबै मिलेर उनलाई हराइदिए ।
पार्टीको महासमिति सदस्य रहेका उनी भन्छन्, ‘जीवनको उतराद्र्धमा उभिँदासम्म प्रजातन्त्रकै पक्षमा अडिएको छु । मलाई यसमै सन्तोष छ ।’
...
बिराजीको संघर्षयात्रामा उनकी पत्नी सुशीला बिराजीको अर्थपूर्ण सहयोग रहेकोमा उनी पत्नीप्रति कृतज्ञ छन् । तत्कालीन जमुनी मधेपुरा गाविस निवासी सुशीलासँग बिराजीको २००९ सालमा विवाह भएको थियो । सुशीलाले २०७३ सालमा देह त्याग गरिन् । प्रजातन्त्रका लागि संघर्ष चलिरहेकै बेला विवाह बन्धनमा बाँधिएका बिराजीलाई पत्नीबाट कहिल्यै असहयोग भएन । उनी सम्झन्छन्, ‘उनले (सुशीला) सहयोग नगरेको भए मैले यति लामो संघर्ष गर्न सक्दिनथेँ । बच्चाको पालनपोषणदेखि पढाइ–लेखाइ सबै उनैले सम्हालिन् ।’
बिराजीका चार सन्तानमध्ये दुई छोरी छन् भने दुई छोरा । अहिले उनी कान्छा छोरा प्रमोद बिराजीसँगै विराटनगरमा बस्दै आएका छन् ।
...
‘राजनीतिमा सक्रिय छु, सक्रिय रहिरहन्छु,’ उनको अठोट छ, ‘तर पछिल्लो समय पार्टीमा विभिन्न गुट उपगुट हावी भएको छ । कांग्रेस मात्र होइन, सबै किसिमको पार्टीमा गुटको रोग देख्छु । गुटकै कारण लामो संघर्ष भए पनि केन्द्रीय कार्यसमितिमा समेत पर्न सकेको छैन । कयौँ कनिष्ठहरु सांसद हुँदा आफू हुन सकिनँ । गुट–उपगुटले पार्टी र प्रजातान्त्रिक पद्धति सबैमा नकारात्मक असर परेको छ । पार्टी कमजोर हुँदै गएको छ । प्रजातान्त्रिक शक्ति कमजोर हुनु भनेको प्रजातन्त्रमाथि खतरा बढ्नु हो ।’
...
पछिल्लो समय मधेसमा देखिएको राजनीतिक परिवर्तनबारे हामीले बिराजीसँग जिज्ञासा राख्यौँ । उनलाई तराईसँग पहाडलाई अलग गरी विभाजन गरिएको प्रान्तीय संरचना मन परेको छैन । विशेषगरी प्रदेश २ लाई पहाडका जिल्लाबाट अलग गरिएको प्रति उनको असन्तुष्टि छ । नदीको मूल माथि छ, जुन अर्को प्रदेशमा छ । नदी अर्को प्रदेशमा । मूलमा छेडखानी भए, त्यसको असर तल देखिन्छ । जबकि मूलमा अर्कैको नियन्त्रण छ ।
मधेसकेन्द्रित दलहरुले मधेसको विकास, अधिकार र पहिचानको मुद्दा बोकेर राजनीति सुरु गरे तर पछिल्लो समय ती दलको गतिविधिले सबै कुरा प्रस्ट भएको छ । हिजो जसका विरुद्ध आन्दोलनमा चर्का नारा लगाए, आज उसैसँग सत्ता यात्रामा छन् । हिजो मुद्दा सम्बोधनविना सत्तामा समर्थन नगर्ने अडान दोहो¥याउनेहरु आज मुद्दा ज्यूँका त्यूँ छोडेर उसैसँग सत्तामा छन् । तराई–मधेसवासीको अधिकार–पहिचान प्राप्तिको संघर्ष हिजो पनि थियो, आज पनि छ भन्ने उनलाई लागिरहन्छ ।
...
२०३५ साल ताका बीपी जेलबाट छुटिसकेका थिए । उनी वनारसमा बस्न थालेका थिए । बिराजी बाबा धाम तीर्थ गर्न गएका थिए । आफ्नो जीवनको आदर्श व्यक्ति बीपी वनारसमा रहेको थाहा पाएपछि उनी तीर्थबाट फर्कँदा वनारस गए । वनारसमा नेपाली रिक्सा चालक देखेपछि उनले जिज्ञासा राखे, ‘बीपी कोइराला बस्ने स्थान देख्नुभएको छ ?’ रिक्सा चालकले बिराजीलाई ल बस्नुस् म पु¥याइदिन्छु भने । बिराजीसँग उनका दाजु रामलखन पनि थिए । दुवै जना रिक्सा चढेर वनारसस्थित बीपी निवास पुगे । बीपी निवासमा सुरक्षाकर्मीको कडा पहरा थियो । रिक्सावालालाई सुरक्षाकर्मीले नराम्ररी हप्काएपछि उनी भागे । सुरक्षाकर्मीले दुवैलाई लामो सोधपुछ गरे र मात्र भित्र प्रवेश पाए । भित्र उनीहरुलाई सादा पोशाकका सुरक्षाकर्मीहरुले रोके । उनीहरुले पनि बिराजी दाजुभाइलाई सोधपुछ गरेर नाम लेखेर माथि उक्ले । केहीबेरपछि ती सादा पोशाकका सुरक्षाकर्मीसँगै बीपी तल ओर्ले । ‘बीपीले भन्नु भयो अहिले आन्तरिक बैठक चलिरहेको छ, तपाईंहरु आज यहीँ बस्नुस्, भोलि कुराकानी गरेर फर्किनुहोला ।’
‘भोलिपल्ट उहाँले अलि सचेत हुन सुझाउनु भयो किनभने मलाई त्यतिबेला पञ्चेहरुले हत्या अभियोगमा फँसाएका थिए । यो कुरा मैले उहाँलाई सुनाएको थिइनँ । उहाँलाई आफ्ना साथीभाइ, कार्यकर्ताको खैरखबर लिनुहुन्थ्यो । मलाई उहाँको यही कुरा मनपथ्र्यो । अहिलेका नेतामा यस्तो सचेतना र चिन्ता कहाँ ?’ यति भनिनसक्दै बिराजीका आँखा रसाएर आए । ८४ वर्ष पार गरिसकेका बिराजीलाई कयौँ विस्मृतिले छोपिसकेको छ तर बीपी सम्झँदा उनलाई कताकता भित्रबाटै भावुक बनाउँछ ।
‘उहाँले कार्यकर्ता नभई परिवारको सदस्यसरह मान्नु हुन्थ्यो,’ उनले सुनाए, ‘बीपीलाई सम्झँदा मात्र मेरो आँखा रसाउँछ।’ गहभरिको आँसु पुछ्न उनले हात उठाए ।
प्रकाशित: २८ आश्विन २०७५ १०:२२ आइतबार