अन्य

अन्तर्जातीय विवाह र ‘मनु’: रासायनिक गुणसूत्र

– राजेन्द्र विमल

हाम्रो सृष्टिलाई हामीले दुई भागमा विभक्त गरी पनि हेर्न सक्छौं– १. प्रकृति–निर्मित पदार्थ र चेतनाको सृष्टि तथा २. मानव–निर्मित मानवीय व्यवस्थाको सृष्टि । मानवीय व्यवस्थाको सृष्टिले गर्दा हामीले प्रकृति–निर्मित सृष्टि वा व्यवस्थामा समेत हस्तक्षेप गर्दै त्यसमा परिवर्तन गर्ने संघर्ष गर्दै आएका छौं । यो संघर्ष कति मंगलकारी वा अनिष्टकारी भयो, त्यो चिन्तन गर्ने बेला त यो हो नै तर मानवले गरेको सृष्टि वा व्यवस्था देश, काल, पात्र अनुसार अग्रगति लिँदै जानुपर्ने मानवीय व्यवस्थाको समकालीन सन्दर्भमा मूल्यान्वेषण र तदनुकूल मूल्य–स्थापनाको चुनौतीको सामनाबाट पलायन विध्वंशकारी हुन सक्ने कुरा निर्विवाद छ । हामीले विकसित गरेको विज्ञानले रहस्यावृत प्राकृतिक अन्तव्र्यवस्थालाई उद्घाटित गरी बुझ्न सघाएको छ भने तिनै अन्तव्र्यवस्थाको सत्यको आधारमा विकसित तकनिकको घातक प्रयोगतिर पनि वर्तमान सभ्यता उन्मुख भएको सत्य स्वीकार्य छ । मानव निर्मित राजनैतिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, सामाजिक आदि व्यवस्थाभित्र कहाँ–कहाँ, कुन–कुन, कति–कति सर्वनाशी तङ्खव घातक जीवाणु र वंशाणु भएर फैलिंदै छन्, तिनको पहिचान, निदान र निराकरणमा विचार गर्नु मानव–सभ्यताको अस्तित्व र गौरव–रक्षाका लागि अपरिहार्य भएको छ । हामीले हामीद्वारा निर्मित व्यवस्थाहरुलाई सामूहिक अस्तित्वको प्रतीकको रुपमा अपरिवर्तनीय मानी सर्वोच्च सम्मानको चूडान्त शिखरमा स्थापित एवं सम्पूजित गरिराख्ने जड र भस्मासुरी चिन्तनलाई फेर्नैपर्छ– बाँच्न र सभ्य कहलाउन । आफ्ना मान्यता र व्यवस्थाहरुमा समयानुकूल परिवर्तन गरेरै ज्ञान–विज्ञान र समाज यहाँसम्म पुगेका छन् । जडीभूत प्रणालीमा परिवर्तन वा रुपान्तरणको इतिहासको मंगलारम्भ व्यक्तिको जाग्रत ‘स्व–बोध’–ले भई समूहको नव प्रतिमानमा प्रतिष्ठित भएर एउटा नवीन विचारसरणि, व्यवस्था, संस्कृति र सभ्यताको स्थापना गर्दछ । प्राचीन प्रतिमान वा प्रारुपअनुरुप गरिने प्रतिक्रिया अथच बद्ध संस्कार अनुरुप गरिने प्रतिक्रिया नवीन समस्या वा चुनौतीको उत्तर नबन्न सक्छ, त्यसैले नवीन चुनौतीको उत्तर खोज्न ‘कन्डिसन्ड माइन्ड’बाट मुक्ति पाउनु प्राथमिक शर्त हो । परम्पराप्रदत्त पीडाबाट मुक्तिका लागि पुरातन संस्कार–शैवाल, हठपूर्ण पूर्वाग्रह, जड प्रतिमानको विभंजनहेतु साहसिक र असहज प्रयास आरम्भ गर्नुपर्दछ । 

मैथिल ब्राह्मण र उपाध्याय ब्राह्मणका बीच बिहेपछि जन्मिएकी छोरीलाई न त मैथिलले बिहे गरे न त उपाध्यायले स्वीकारे, यस्तो विषवृक्षको अन्त्य गर्ने बेला भएन र ?

जाति व्यवस्था मानव–निर्मित यस्तै गतिरोधी लौहश्रृंखला हो, जसले हाम्रो सिंगो जीवनलाई (अर्थ–सामाजिक, राजनैतिक, धर्म–सांस्कृतिक आदि सबै पक्षलाई) अपाङ्ग तुल्याइदिएको छ । हिन्दु समाजमा व्याप्त जाति र जातीय विवाह परम्पराको प्रचलन वेद र उपनिषद् कालमा कतै छैन । स्मृतिहरु (मनुस्मृति, याज्ञवल्क्यस्मृति, पराशरस्मृति)–मा अन्तर्जातीय विवाहको कठोरतापूर्वक विरोध गरिएको छ तर मनु र पुराणकारहरुको बौद्धिकतामा महान् हिन्दूवादी, अद्वैत दर्शनका पृष्ठपोषक स्वामी विवेकानन्दले ठूलो प्रश्नचिह्न लगाएका छन् । ३० मई १८९७ मा उहाँले अल्मोडामा दिनुभएको प्रवचनमा ठाडो भाषामा भन्नुभएको थियो– ‘स्मृतिहरु र पुराणहरु सीमित बौद्धिकता भएका व्यक्तिका उत्पाद हुन् र त्रुटिपूर्ण हुन् जसका केही अंशमा मात्रै आत्मिक उदारता वा प्रेम छ, जसलाई स्वीकार गर्नुपर्छ र शेषको बहिष्कार हुनुपर्दछ ।’ यस सम्बन्धमा अरु विचार आउँदा अनुच्छेदमा गरौंला । 

हालमै ‘प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेज’ तथा ‘नेसनल इन्स्टिच्युट अफ बायोमेडिकल जेनोमिक्स’का वैज्ञानिकहरु पार्थ पी मजुमदार, अनल प्रभा बसु र नीता सरकारको टिमले भारतका विभिन्न राज्यमा अठार जातिसमूहका नमूना लिएर गरेको भारतीय आवादीको जेनामको अध्ययनबाट के निष्कर्ष दिएका छन् भने भारतमा जाति वर्गीकृत समाजको जन्म आजभन्दा सत्तरी पुस्ता पहिले अर्थात् १५७५ वर्ष पूर्व गुप्तकालमा भयो र यो काल सन् ३१९–५५० ईस्वीको मध्यमा चन्द्रगुप्त द्वितीय वा कुमारगुप्त प्रथमको कालमा मान्न सकिन्छ यस अध्ययनअनुसार, भारतीय आवादीका पाँच पूर्वजपरम्परा पाइन्छन् १. दक्षिण भारतीय पूर्वज परम्परा– यो सबभन्दा पुरानो आवादीको परम्परा हो र सम्भवतः दक्षिण अफ्रिकाबाट सात लाख वर्षअघि दक्षिण भारतमा यो पहिलो आवादीको बसोबास भएको थियो । २. उत्तर भारतीय आवादीको परम्परा ३. तिब्बती–बर्मी परम्परा ४. अस्ट्रो–एसियाटिक परम्परा र ५. अंडमान निकोमान परम्परा ।

भारतवर्षको मुख्य भूमिमा पनि सबै पूर्वजपरम्पराका मानिसका विभिन्न समूहमा लामो समयसम्म एक अर्काको जिन्समा सम्मिश्रण हुँदै आएको छ तर लगभग सोह्र सय वर्ष पूर्व यसमा प्रतिबन्ध लगाउने प्रयत्न गरियो । शक्तिशाली गुप्तवंशको शासनमा कठोर नैतिक नियमको निर्माण गरी क्रियान्वित गर्न थालियो । यसैअन्तर्गत आफ्नै जातिमा वैवाहिक व्यवस्थाको थालनी भयो । पश्चिमी भारतका मराठीहरुमा जिन्समिश्रणको यो सिलसिला आठौं शताब्दीसम्म तिव्र पाइन्छ । राष्ट्रकूट साम्राज्यको स्थापनापछि यो अतिशिथिल भयो र जातीय पहिचानलाई आधार बनाएर सामाजिक समूह निर्माण गरी यसै संरचना अन्तर्गत विवाह गर्ने चलन चलाइयो । तर, पूर्वी भारतमा बंगाली ब्राह्मण र तिब्बतीवर्मी पूर्वजपरम्पराको समूहमा जिन्समिश्रणको सिलसिला बाह्रौं शताब्दीसम्म तीव्र रुपमा चलेको पाइन्छ । पछि जातिव्यवस्थाको अवधारणा सम्पूर्ण भारतवर्षमा फैलिंदै गएर सर्वत्र सामाजिक संरचनाको आधार बन्न पुग्यो । 

विज्ञानले जातीय विवाह पद्धतिलाई प्रश्नचिह्न लगाएको छ । एलेलेको गुणसूत्र तथा ‘मनु’ – गुणसूत्रले एकअर्काको खिल्ली उडाउँछन् । जहाँ रक्तसमूहमा एउटा वर्चस्वशाली एलेले र सम्बन्धित रेसेसिभ एलेले हुन्छ, जस्तै ए र ओ तथा रेसस फ्याक्टरमा आरएच+ र आरएच–, के एउटै गुणकर्मको जिन्स मिल्दा त्यो आउँदा पुस्तामा द्विगुणित भएर आउँछ ? विज्ञानले भन्छ, क्रोमोजोम मात्र गुणकर्मको निर्धारक होइन । एउटा किसान दम्पतीको छोरो राम्रो किसानभन्दा राम्रो चिकित्सक भएको हामी पाउँछौं । के एउटा लुहारेको सन्तान लुहारकर्मभन्दा व्यापारकर्ममा बढी निपुण देखिएको होइन ? मनोविज्ञानले भन्छ, व्यक्तित्व निर्माणमा वंशानुका अतिरिक्त पारिवारिक सामाजिक परिवेश, शिक्षादीक्षा, जीवनानुभव, संगत आदि निर्धारक तङ्खवको रुपमा काम गरेका हुन्छन् । एउटा सुशिक्षित डोमका तुलनामा एउटा अशिक्षित, असभ्य र असंस्कृत ब्राह्मणले बढी सम्मान पाउने दिन जाँदैछन् । 

हिन्दु धर्मशास्त्रकै कुरा गर्ने हो भने पनि हामी पौराणिक कथाहरुमा अन्तर्जातीय विवाहका प्रमाणहरु बग्रेल्ती पाउँछौं । एकदुई मात्र उदाहरण । राजा ययाती ब्राह्मण थिए तर देवयानी नाउँकी क्षेत्री कन्यासित विवाह गरे । ब्राह्मणपालिता शकुन्तलाको विवाह क्षेत्री राजा दुष्यन्तसित भयो । क्षेत्री शान्तनुले माझी कन्या सत्यवतीसित विवाह गरे । भीमले हिडिम्बासित, अर्जुनले उलुपीसित गरेको विवाह अन्तर्जातीय थियो । श्रीमद् भागवत गीताले कर्मअनुसार वर्णको विभाजन गरेको कुरा स्वीकारेको छ –‘चातुर्वण्र्यं मयास्रष्टं गुणकर्म विभागशः’ अर्थात् उच्च विचार, भावना र कर्मद्वारा तेजस्वी शूद्र पनि ब्राह्मण बन्न सक्छ । हिन्दूहरुको कुन देवताले जातीय बन्धनलाई स्वीकार गरेका छन् ? के हलेष्ठीयज्ञमा प्राप्त भएकी सीता क्षेत्री कन्या नै हुने ग्यारेन्टी छ ? शंकर–पार्वती, विष्णु–लक्ष्मी वा तेत्तिस कोटि देवीदेवतामध्ये कुनचाहिँ देवताले जाति हेरी विवाह गरेका छन् ? के हनुमान ‘शंकरसुवन’ होइनन् ? सबै कलाले परिपूर्ण, पूर्णावतार भगवान् श्रीकृष्णका विवाहहरुका कथा पढ्दा के अनेक अन्तर्जातीय विवाहका कथा छैनन् ? एउटा कथा छ – शत्रुजित नाउँका राजा थिए, जसले कठोर साधना गरेपछि सूर्यबाट स्यन्तक मणि प्राप्त गरेका थिए । त्यस मणिको प्रकाशले गाउँ नै झल्मल्ल भयो । द्वारका आएपछि कृष्णले शत्रुजितलाई त्यो मणि राजा उग्रसेनलाई दिने सल्लाह दिए, तर उग्रसेनले स्वीकार गरेन । शत्रुजितले त्यो मणि आफ्ना भाइ प्रसेनलाई दिए । प्रसेन एक दिन शिकारका लागि जंगलमा गए । एउटा सिंहले प्रसेनलाई मा-यो । धेरै दिनसम्म जंगलबाट नफर्किएको हुनाले कृष्णलाई चिन्ता भयो । उनी जंगल गए र त्यो सिंहको पनि शव फेला पारे । पछि थाहा पाए, एउटा भालुले त्यो सिंहलाई मारेको रहेछ । भालुको पदचिह्न पछ्याउँदै जाँदा उनी जाम्भवनको गुफाभित्र पुगे । त्यहाँ उनका छोराछोरीहरु मणि लिएर पिङ खेल्दा रहेछन् । त्यो मणि प्राप्त गर्न कृष्णले अट्ठाइस दिनसम्म युद्ध गर्नुप-यो । जाम्भवनले कृष्ण भगवान विष्णुका अवतार हुन् भन्ने थाहा पाएपछि क्षमायाचनासहित स्यन्तक मणि कृष्णलाई फर्काए र आफ्नी छोरी जाम्वतीसित विवाह पनि गराइदिए । भालुकन्या जाम्वती कुन जातकी थिई ? महाभारत लेख्ने व्यास के माझीकन्याबाट जन्मेका थिएनन् ? 

नेपालजस्ताे मुलुक जहाँ जातिवादी साेच राष्ट्रकाे विकास र सद्भाव, संरचना र अस्तित्वलार्इ धमिरा वा धुनजस्तै बिस्तारै सिध्याउन थालेकाे छ, अन्तर्जातीय विवाह एउटा अचुक अाैषाधि बन्न सक्छ।

 जीवनका सबै आयामलाई कुप्रभावित गर्न सक्ने यस जातिवाद, सम्प्रदायवाद या नश्लवादले युगौदेखि गराउँदै आएको नरसंहार र रक्तपातको दारुण कथाको विवेचन सहस्र ग्रन्थ लेखेर पनि आकलित, विश्लेषित, संश्लेषित हुन सक्तैन । जातिवाद र सम्प्रदायवादलाई चुनाव जित्ने आधार बनाउने र जितिसकेपछि यसको विरोधमा भाषण फलाक्ने, कानुन बनाउने, वर्तमान राजनीतिको विडम्बनापूर्ण द्वैध चरित्र कति घातक सिद्ध हुँदैछ, त्यसको मर्मबेधी अनुभव हामी सबैलाई छ । एकातिर जातिप्रथा उन्मूलनसम्बन्धी ऐन–कानून बनाउने अर्कोतिर कार्यालीय फारम भर्दा थर जनाउनैपर्ने चलन हास्यास्पद छ । त्यसैले जातिवादको उन्मुलनका लागि र अंशतः राजनीतिको शुद्धिकरणका लागि अन्तर्जातीय विवाह सबभन्दा प्रभावशाली हतियार हुनसक्ने कुरामा दुई मत हुनुहुँदैन । 

जातीय विवाह प्रथाले विवाह गर्न उपयुक्त वर वा कन्याको चयनको दायरा अत्यन्त सीमित गरेको छ । अन्तर्जातीय विवाहले यस दायरालाई फराकिलो पार्दछ । अन्तर्जातीय, अन्तर्सांस्कृतिक, अन्तर्धार्मिक, अन्तर्भौगोलिक वैवाहिक सम्बन्धले सम्पूर्ण मानव–समाजलाई एक्यबद्ध पार्न सघाउ पु¥याउँछ । यसले संसारलाई सन्देश दिन्छ– मानव–मानव एक हो । ईश्वरवादी भएर सोच्ने हो भने हामी एउटै परमपिताका सन्तान भएपछि हामीमा भेद–विभेद कसरी हुनसक्छ ? ऐतरेयोपनिषद्मा भनिएको छ– ‘आत्मा वा इदमेकं एकाग्र, आसीन्नान्यात्केञ्चन मिषत्, स ईक्षत लोकान्नु सृजा इति’ अर्थात् सृष्टिको प्रारम्भमा एक मात्र आत्मा (परमात्मा–तत्व) थियो, यसबाहेक केही पनि सचेष्ट थिएन । अनि त्यस परमात्मा–तत्वले सृष्टिको सृजना गर्ने विचार गरे । हामी एउटै परमात्मा–तत्वका अंश हौं । अनीश्वरवादी नै भएर विचार गर्ने हो भने, के मानव–सभ्यताको पूर्ण विकासको लागि सम्पूर्ण समाज, विभेदका सबै पर्खाल भत्काएर, ऐक्यबद्ध हुनु आवश्यक छैन ? वैश्वीकरण, बढ्दो शिक्षादीक्षा, वैचारिक खुल्लापन, शहरीकरण, औद्योगिकरण, समाजसुधारका हस्तक्षेप र पहलहरु, सांस्कृतिक क्रान्तिहरु, सरकारी–गैरसरकारी संघ–संस्थाका प्रयासहरु, इतिहासले सिकाएका अनुभवहरु आदिले गर्दा हिन्दू समाजको कलंकको रुपमा रहेको जातिप्रथा अन्तिम श्वास फेर्दैछ । अन्तर्जातीय विवाहद्वारा उत्तम सन्तान जन्मिएर, स्वास्थ्यसम्बन्धी वंशानुगत समस्या न्यूनतम हुँदै गएर तथा छुवाछुत, दाइजोप्रथा, नश्लवाद र सम्प्रदायवाद, धर्म र संस्कृतिको नाउँमा हुने रक्तपात, जातिवादको ग्राहबाट मानवीय मूल्यलाई ग्रास बनाउने परिस्थिति जातिवादी सोचले मानव अधिकारको पारस्परिक हनन आदिको उन्मूलन हुँदै गएर एउटा स्वस्थ, सुसभ्य र सुसंस्कृत मानव–सभ्यताको उदय हुन नसके मानवजातिको अस्तित्व नै मेटिने कुरामा शंका छैन । ‘मनु’ रासायनिक गुण–सूत्रलाई समाजशास्त्रीय एवं वैज्ञानिक गुणसूत्रले विस्थापित गर्नैपर्छ । 

नेपालजस्तो मुलुक जहाँ जातिवादी सोच राष्ट्रको विकास र सद्भाव, संरचना र अस्तित्वलाई धमिरा वा घुनजस्तै बिस्तारै सिध्याउन थालेको छ, अन्तर्जातीय विवाह एउटा अचुक औषधि बन्न सक्छ । सिंगो नेपालभित्र एउटै नेपाली जाति देख्ने सपना साँच्नु जड चिन्तनका रुग्न मानसलाई हास्यास्पद, अव्यवहारिक वा बकबास लाग्न सक्छ, तर यो सानो प्रयास विश्व मानवलाई नै एक्यबद्ध गर्ने प्राथमिक खुड्किला भएर एउटा मंगलकारी मानव–सभ्यताको दिशामा हुने यात्राको प्रस्थान विन्दु सिद्ध हुनेछ । सयौं वर्षदेखि परतदार चट्टानजस्तो रहेको मनुवादी संस्कार बोक्नेका लागि यो नवीन यात्रा पीडादायक र चुनौतीपूर्ण बन्न सक्दछ । हाम्रो एउटा मैथिल ब्राह्मण मित्रले एउटी उपाध्याय ब्राह्मणकी कन्यासित विवाह गरे । छोरी पाए । छोरीको विवाहका लागि वर खोज्दा न मैथिल ब्राह्मणले स्वीकार गर्ने न उपाध्याय ब्राह्मणले । यस्ता अनेक उदाहरण छन् । सांस्कृतिक भिन्नताले अभियोजनमा समस्या उत्पन्न गर्न सक्तछ तर मान्छे–मान्छेको बीचमा विभेदको पर्खाल ठड्याउने, जातिवादको नाममा हाम्रा राजनैतिक, सामाजिक, सांस्कृतिक जीवनमा मूल्यगत स्खलन ल्याएर समाजलाई नै तहसनहस गर्दै जाने यस जातिवादी सोचको विशालु किराको अन्त्य अन्तर्जातीय विवाहको औषधिले हुनसक्तछ । तर अन्तर्जातीय विवाहमा अस्थायी आकर्षणभन्दा अन्तिम श्वाससम्म एकअर्काका लागि त्याग र समर्पण गर्दा आनन्दित हुने, एकअर्काको एकात्मिक सहयात्री भएर बाँच्ने, सहधर्मितालाई मात्र सम्बन्ध बन्धको सूत्र बनाइएन भने हाम्रो समाजको अस्तित्व संकटमा पर्न सक्दछ । 

प्रकाशित: २८ आश्विन २०७५ ०८:१८ आइतबार

अन्तर्जातीय_विवाह नागरिक परिवार