अन्य

गर्धनमा जन्तर भिरेर

खेतबारीमा धानका बोटहरू हलक्कै बढेका हुन्थे । जताततै हरियाली हुन्थ्यो । धानको बिटोलाई छोएर हावा चल्दा हरियो धान र तराईको खेतका गरागराबाट निस्केको माटोको गन्ध आह ! कति मिठो लाग्थ्यो । धानको बाला वतासमा बयली खेल्न थालेपछि दशैँ आउन लाग्यो भन्ने भान हुन्थ्यो.

एका बिहानै आमा गोबरले आँगन लिप्थिन् । कमेरोले घरको भित्ता र ओसरा (पिँढी) पोत्दै भन्थिन्, ‘आजबाट दशहरा सुरू हुन्छ ।’ अनि थाहा पाउँथेँ आजबाट दशैँ सुरु हुन्छ भनेर । बेलुकी तीन–चार बजेतिर टर्चको काम नलाग्ने पुरानो ब्याट्री आमाले ढुंगाले फुटाउँथिन् । ब्याट्रीबाट कालो धुलो निस्कन्थ्यो । त्यो धुलो एउटा कचौरामा राख्थिन् । अर्को कचौरामा चुनको धुलो राख्थिन् । छुट्टाछुट्टै कचौरामा राखिएको सेतो र कालो धुलोमा पानी हालेर झोल बनाउँथिन् । कप्टेरोले घर र गुहालीको ढोकाको छेउमा दुईटै भित्तामा चुन र कारीख (कालो धुलो) ले टाउको, आँखा र कपाल,  हात,  खुट्टा भएको दुइदुइ ओटा स–साना मूर्ति बनाउँथिन् जसलाई डाइन भनिन्थ्यो।

डाइन जोगीनको मूर्ति बनाइसकेपछि सुतीको सानो कपडामा थोरै हिंग राखेर सियो धागोले त्यो कपडा सिलाएर सानो जन्तर जस्तो बनाउँथिन् । त्यो जन्तर र लसुनका दुई तीनओटा बिजुला धागोमा उनेर मेरो घाँटीमा बाँधिदिन्थिन्।

‘यो माला दशैँभरि लगाउनुपर्छ । यो माला लगााइराखे भने नराम्रो शक्ति र बोक्सीहरूले कुनै टुनामुना र जादुमन्तर तँ माथि गर्न सक्दैन’ भन्थिन् आमा।

बेलुकी अँध्यारो हुनुभन्दा अगाडि ठुलो मादल बोकेर चमार सबैको घर–घरमा मादल बजाउन आइपुग्थ्यो । जसलाई ढोल बजाउनु पनि भनिन्थ्यो । ‘ढोल बजाए भने नराम्रो शक्ति घरमा प्रवेश गर्न पाउँदैन । ढोलको आवाज सुनेर काल र नराम्रो शक्ति र वर्षा याममा निस्केका सर्पहरू टाढा भाग्छन्’ भन्थिन् आमा।

दशैँको पहिलो दिन कलशमा पानी भरेर सबैले गोसाई (देउता) घरमा राख्थे । दशैँभरि बाहुनलाई बोलाएर कलशमा पूजा गर्न लगाउँथे।

दशैँ मनाउने सबैको आफ्नै चलन भए झैँ हाम्रो आफ्नै चलन छ । दशैँमा पिङ खेल्ने, जमरा र टीका लगाउने चलन हाम्रोमा छैन् तर दुर्गाको मूर्ति बनाएर पूजा गरी आफन्तसँग भेटघाट गरि मिठा मिठा परिकार खाएर दशैं मनाउने चलन छ । 

अरु वेला हामी टोलभरका केटाकेटी राति अवेलासम्म डगहरमा खेलिरहन्थ्यौँ तर दशैँ परेको दिनदेखि बेलुकी हुने बित्तिकै हाम्रा आमा, बुबा हामीलाई खेल्न दिँदैनथे । हामीलाई डाक्दै घर बोलाउँथे । नसुनेझैँ गरेर खेलिराखेका वेला हामीलाई लिन आउँथे । जबरजस्ती हाम्रा हात तानेर घर लग्थे । बोक्सीहरूले टुनामुना गरिदिन्छन् भनेर खेल्न दिँदैनथे। खेल्न नपाउँदा मन खिन्न हुन्थ्यो । अर्कोतिर बोक्सीले केही गर्लान् कि भनेर डर पनि लाग्थ्यो । त्यतिखेर सोच्थेँ बोक्सी हुन्छन् र ! हुन्छन भने कस्ता देखिन्छन् भन्ने कुतहलता जाग्थ्यो।

गाउँभरका मानिस आ–आफ्ना घरमा घटस्थापना, पञ्चमी, सप्तमी, अष्टमी र दशमीका  दिन धामी, झाँक्रीलाई बोलाएर घरमा देउता छ कि छैन भनेर देउता घरमा बिहान र बेलुकी पूजा गर्न लगाउँथे । जसलाई घर जगाउनु पनि भनिन्छ।

‘यहि दिन गाउँ सुनसान भएपछि मध्य रातमा गाउँभन्दा पर एकान्तमा बोक्सी आइमाईहरू टाउको र हातमा बलेको दीयो बोकेर नांगै नाच्छन् । यही दिन जेठो सन्तान र श्रीमानकोे बली चढाएर आइमाईहरू बोक्सी सिक्छन् । बोक्सीको मन्त्र अढाइ अक्षरको मात्र हुन्छ रे’, आमा सुनाउँथिन्, ‘दशैँमा दुर्गाको दशओटै द्वार खुल्ला हुन्छ । माता दुर्गा र काली दुवै जना डाइन (बोक्सी) हुन्छन् । त्यसैले दशैँमा डाइनहरूलाई यिनीहरूले रोक्न सक्दैनन् । सबै द्वार खुल्ला भएकाले नराम्रो शक्ति र डाइनहरूले आँखा लाउन नसकोस् भनेर घर र गुहालीको भित्तामा कारीख चुनको डाइन बनाउँछन र केटाकेटीको घाटीमा हिंगको जन्तर र लसुनको बिजुलो घाँटीमा लगाइन्छ।’

आमाका कुरा सुनेर मलाई अचम्म लाग्थ्यो । सन्तान नहुने र ठुलो कष्टबाट मुक्त भए भने दुर्गाको मूर्ति बनाउने भाकल गरिन्थ्यो । इच्छा पुरा भएपछि दशैँमा भाकल गरेका मानिसले दुर्गाको मूर्ति गुहालीमा बनाउँथे । गाउँमा मूर्ति बनाएपछि हामी केटाकेटीलाई झन रमाइलो लाग्थ्यो किनकि मेला प्रत्येक दिन लाग्थ्यो । बिहान बेलुकी भजन किर्तनले गाउँ नै गुन्जयमान हुन्थ्यो।

दशैँको सातौँ दिन अर्थात फुलपातीका दिन आमाले बिहानै घटस्थापनाको दिन बनाएको डाइन जोगीनको मूर्तिलाई खुर्पाले खौरेर मेटाउँथिन् र भित्ता पोत्थिन् । एउटा कचौरामा अरवा चामल भिज्न दिएकी हुन्थिन् । चामल भिजिसकेपछि सिलौटामा लोहोरोले  भिजेको चामल पिस्थिन् । पिसेको चामल गिलो पिठो बन्थ्यो । त्यसलाई थालमा राख्थिन् । त्यो पिठोमा कान्छी औँला र कान्छी औँलाको मुनिको हत्केला पिठोमा चोप्दै डाइन जोगीनको मूर्ति मेटाएको ठाउँमा घरको ढोकाको दुवैैपट्टि पिठोमा हात डुबाउँदै भित्तामा राख्थिन् । भित्तामा पिठोको एक किसिमको बुट्टा निस्कन्थ्यो । त्यो बुट्टामाथि आमाले सिन्दुरको टीका लगाइदिन्थिन् । सेतो बुट्टामाथि रातो सिन्दुर झन चम्किलो र राम्रो देखिन्थ्यो । भित्तामा कोरिएको बुट्टाले घरआँगन झन सुन्दर र बेउली झैँ सजिसजाउ देखिन्थ्यो।

फुलपातीकै दिन निःसन्तान दम्पत्तिहरू बेलुकी मूर्ति बनाएको ठाउँमा आउँथे । धामीझाँक्री र गाउँका आमा मूर्ति छेउमा बसेर थरिथरिका भजन गाउँथे । धामीले केके मन्त्र उच्चारण गर्दै उभिरहेको दुर्गा मूर्तिको हातमा रातो गुलाबको फुल राखिदिन्थ्यो । सन्तान नहुने दम्पतिलाई दुर्गा मूर्तिको हातमुनि आँचल फैलाएर बस्न लगााउँथे । मिठो स्वरमा नरोकिकन आमा र धामीहरू कीर्तन गाइरहन्थे । मूर्तिको हातबाट निःसन्तान दम्पतिको आँचलमा फुल नझरून्जेलसम्म कीर्तन गाइरहन्थे । फूल आँचलमा झरेपछि बल्ल किर्तन गाउन बन्द गर्थे । किर्तनको धुन बिलापमय हुन्थ्यो।

धामीले पहिलेकै तरिकाले फेरि मन्त्र जाप गर्दै मूर्तिको हातमा फूल राख्थे र अर्को निःसन्तान दम्पतिलाई उस्तै तरिकाले मूर्तिको छेउमा बस्न लगाउँथे । कसैकोमा फूल चाँडै झर्थे भने कसैकोमा ढिला झथ्र्यो, कसैको आँचलमा झर्दैझर्दैन्थ्यो । फुल आँचलमा झर्ने दम्पत्ति चाँडै बुबा आमा बन्ने अनुमान गरिन्थ्यो भने फूल आँचलमा नझर्ने दम्पत्तीको सन्तान नहुने विश्वास गरिन्थ्यो । आमा किर्तन गाउन गएका वेला आमाको छेउमा बसेर सबै दृश्य हेरिरहन्थेँ म। 

अष्टमीका दिनबाट मूर्तिको अगाडि बोकाको बली दिन सुरू हुन्थ्यो । मेरो घरमा पनि मासु पाक्थ्यो । आफन्तहरू जम्मा हुन्थे । सहरमा बस्ने दाजु, भाउजु र दिदी, भिनाजु आउँथे । सहरबाट बुबा, आमा र मेरा लागि नयाँ लुगा ल्याइदिएका हुन्थे । त्यही लुगाा लगाएर म मेला हेर्न जान्थेँ । नयाँ लुगाा लगाएर मन फुरूङ हुन्थ्यो।

दशैँमा गाउँ नजिकै बजारमा मेला लाग्थ्यो जसलाई दुर्गा मेला भनिन्थ्यो । बजारका सबै व्यापारी चन्दा उठाएर बजारमा दुर्गा, काली, लक्ष्मी, सरस्वती र गणेशका मूर्ति बनाएर मेला लगाउँथे । दुर्गाको खुट्टामुनि राक्षसको मूर्ति हुन्थ्यो । त्यो राक्ष्सलाई दुर्गाले लात्ताले कुल्चेर दाहिने हातले त्यसको भुँडीमा त्रिशुल घोपेकी हुन्थिन् । मेला हेर्न गएकाबेला दुर्गाले राक्षसलाई त्रिशुल घोपेको दृश्य हेर्दा डर लाग्थ्यो । आमाको हात समात्थेँ।

दुर्गाको मूर्ति हेरेर मनमा एक प्रकारको साहस पलाउँथ्यो । लाग्थ्यो दुर्गा माताले राक्ष्स र दुष्टहरूको सर्वनाश गर्छिन्।

दशमीका दिन मेला सकिसकेपछि बेलुकी दुर्गा मूर्तिलाई नजिकैको तलाउ वा पोखरीमा डुबाउन लगिन्थ्यो जसलाई मूर्ति भसाउनु भनिन्छ । देउता घरमा राखिएको कलशको पानी धामी मार्फत् घरको छाना र आँगनमा छर्किन लगाइन्थ्यो । त्यसपछि हाम्रो घरमा दशैँ समाप्त हुन्थ्यो।

दशैँ मनाउने सबैको आफ्नै चलन भए झैँ हाम्रो आफ्नै चलन छ । दशैँमा पिङ खेल्ने, जमरा र टीका लगाउने चलन हाम्रोमा छैन् तर दुर्गाको मूर्ति बनाएर पूजा गरी आफन्तसँग भेटघाट गरि मिठा मिठा परिकार खाएर दसैं मनाउने चलन छ।

हाम्रो पडरिया गाउँ (लहान नगरपालिका, सिरहा) मा अचेल पहिलाको जस्तो चमार ढोल बजाउन आउँदैनन् । केटाकेटीलाई हिँग र लसुनको बिजुलो लगाइदिने र बेलुकीसम्म खेल्न नदिने चलनमा कमी आएको छ । सबै परम्परा र संस्कृतिमा गुण र अवगुण दुइटै हुन्छ । मलाई मेरो परम्परा मन पर्छ । म आफ्नो परम्पराप्रतति गर्व गर्छु तर आधुनिक युगमा बोकाको बली दिने र बोक्सी प्रथा मान्ने परम्परा मलाई ठिक लाग्दैन।

हामीले चाडपर्व मनाउनुपर्छ तर अन्धविश्वास र पछौटेपनलाई प्रश्रय दिनु हुँदैन । अन्धविश्वास, पछौटेपन र बली प्रथाबाट मुक्त भएको दशैँ मनाउनुपर्छ । हामीले नराम्रो संस्कार त्याग्दै राम्रा कुरालाई अपनाउदै पर्वहरु मनाउनु पर्छ।

प्रकाशित: २७ आश्विन २०७५ ०५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App