अन्य

कोट

शुषमा मानन्धर

मेरो नाम सुराज हो । सोच्नुहोला, यो कस्तो अचम्मको नाम ! आमाबुबाले दुवैको नाम मिलाउन खोज्दा यस्तो नाम जुर्न पुग्यो । म काठमाडौँको रैथाने नेवार हुँ । क्याम्पस पढ्दै पनि छु अनि ट्याक्सी चलाउँछु। 

ट्याक्सी चलाउने मेरो आफ्नोे कुनै खास रुट छैन । पेसेन्जरले भन्दैमा, म टाढा जान स्वीकार्दिनँ पनि । रिङरोडभित्र, त्यो पनि निश्चित समयसम्म मात्र ट्याक्सी चलाउँछु । हद् भए राती आठ, नभए नौ बजे उपरान्त ट्याक्सी चलाएको अहिलेसम्म रेकर्ड छैन । एक त घरमा आमा र बैनी मात्र हुन्छन्, उसमाथि फर्केर बैनीलाई पढाउनु पनि पर्छ । दुवैजना म फर्की नआउन्जेल खाना कुरिरहन्छिन् । धेरैपल्ट भनिसकेँ, बाहिर गएको मान्छे फर्किने कति बेला हुन्छ के ठेगान ! कोही मान्दैनन्, बाध्य भएर बेलैमा फर्कनुपर्छ । मलाई थाहा छ, यस्तो पाराले पैसा कहिल्यै कमाउन सक्दिनँ । बैनीको पढाइ, उनको बिहे, घरको मर्मत..., यी धेरै कुराका जिम्मेवारी मेरै थाप्लोमाथि छ । जे होस्, दुईछाक खान अरुका अगाडि हात फैलाउन नपरोस्, योभन्दा बढी मैले चाहेको पनि छैन।

स्वाभिमानी छु, त्यसो भन्दैमा आफूलाई निकै सज्जन पनि ठान्दिनँ । चाडपर्वतिर लोकल चढेकै हुन्छ, चुरोट पिउँछु । पान परागकोे नराम्रो लत बसेको छ । यति भईकन पनि मैले आफूलाई अहिलेसम्म चारित्रिक रुपमा गिर्न भने दिएको छैन, धरोधर्म!

यी युवतीसँग के गफ गर्नु ? यिनको चालामाला र ढिलो गर्दै गरेकी देखेर बोल्न मन लागेको छैन । त्रिपुरेश्वर पुगेर त्यहाँ पनि ऊ एउटा घरभित्र पस्छे । यसपालि अल्लि बेरसम्मै ऊ फर्किंदिन । लौ, ट्याक्सीभाडामा चुना लाग्यो कि भन्ने शङ्का पनि लाग्छ, तर ऊ फर्कन्छे । 

चिसो र अलिबढी अँध्यारो बढ्न थालेपछि घर फर्किने विचार गर्दै हुन्छु, सिंहदरबारको मोडमा उभिएकी एउटी युवतीले इशारा गर्दै बोलाउँछे, “ट्याक्सी!”

गाडी साइड लाउनेबित्तिकै ऊ ट्याक्सीभित्र बस्छे । उसको बसाइ सँगसँगै परप्mयुमको मीठो बास्ना ट्याक्सीभित्र फैलिन्छ । विन्डस्व्रिmन माथिको ऐनाबाट हेर्छु । आधुनिक पहिरन र मेकअपका बाक्ला परतमा पोतिएकी ऊ पूर्ण आकर्षक युवती देखिन्छे । तर पक्कै उसले बीस काटेकी छैन, यो मेरो अनुमान होे। 

“लाजिम्पाट जाऊँ न ।” ऊ सानो हाते रुमालले अनुहार पुछ्छे । उसको अनुरोधभित्र एउटा शङ्का पनि छ, शायद ड्राइभरले नाइँ भनिहाल्ला कि भन्ने ! एक मन त लाग्छ,जान्न भनूँ ।घर फर्किंदै पनि थिएँ । छिप्पिँदै गरेको रात, अँध्यारा बाटा र ट्याक्सीमा कलकलाउँदी एक्ली युवती।

ऊतिर फर्कन्छु । उसको गोरो अनुहार तातिएर रातो भएको छ । आँखा जुधेपछि ऊ अनुनयपूर्वक मुस्काउँछे ।
यो अन्तिम खेप सोचेर गाडी उसको गन्तव्यतिर बढाउँछु । गाडीका लाइन, हर्न र बाहिरको कोलाहल । रात परिसक्दा पनि सडकले शान्ति पाएको छैन । एक्कासि बाटो जाम भएको छ । बाटो जाम हुनु कुनै अनौठो घटना हैन काठमाडौँका लागि । अगाडिको ऐनामा तरुनीलाई फेरि हेर्छु । उसको पहिरन र पोताइ आधुनिक र आकर्षक मात्र हैन, निकै भडकिलो पनि देखिन्छ । यति राती कहाँ जान लागेकी होली...? दिमागभित्र थुप्रै प्रश्नहरु तेर्सिन्छन् । जे होस्, यिनको आँटलाई मान्नैपर्छ । नत्र परिस्थिति र नियत सधैँ सबैको राम्रो कहाँ हुन्छ र ? प्रायः रातबिरात घटिरहने दुर्घटनाका खबर सुन्नमा आइरहेकै हुन्छ। 

झ्यालबाहिर हेरिरहेका उसका आँखामा, दौडिरहेका दृश्यहरु शायद परिरहेका छैनन् । उसका स्थिर दृष्टि सोचमग्न देखिन्छन् । मेरा आँखा सडकमा भए पनि ऐनाबाट घरीघरी उसैलाई हेर्नबाट आफूलाई रोक्न सकेको छैन । तीखो र सुलुत्त परेको सानो नाक, लिपस्टिक पोतिएका भरिला ओठ, अनि ओठमुनिको रातो कोठीमा ऊ निकै आकर्षक लाग्छे ।

भेटिने ठाउँमा पाकेको फल देखेपछि मान्छेहरु लोभिनु स्वाभाविकै हो । म युवतीलाई हेर्दै सोच्छु, सबैजना मजस्ता सोझा कहाँ हुन्छन् र?

“एकैछिन रोक्नुस् है” । युवतीको अनुरोधले झसङ्ग हुन्छु । शायद उसको गन्तव्य आएछ क्यारे। 
“म दुई मिनेटमा मान्छे भेटेर आइहाल्छु ।” ऊ ट्याक्सीबाट ओर्लिन्छे।
“अर्को ट्याक्सी लिनुस्, मलाई अबेर भैसक्यो ।” म ऊसँग भाडा दिन अनुरोध गर्छु । 
“प्लिज, एकैछिन मात्र हो ।” ऊ अनुनय गर्न थाल्छे । घडी हेर्छु ।साढे नौ भैसकेको छ । घरमा आमा र बैनी पीर गर्दै होलान्। 

केही बोल्दिनँ । ऊ नजिकैको घरभित्र पस्छे । लगत्तै बाहिर निस्कन्छे, शायद काम बनेन । ट्याक्सीको ढोका खोलेर अगाडिको सीटमा बस्दै भन्छे, “मान्छे नै भेटिएन । त्रिपुरेश्वर गएका छन् रे उतै जाऊँ न है ?” 

उसका आँखाभरि ठूलो आग्रह देखिन्छ । धर्मसङ्कटमा पर्छु । कुरा मानूँ, आफूलाई घर फर्कन ढिला भैसक्यो, नमानूँ, राती यो बीचसडकमा एक्ली कहाँ पो जाली ! अर्को ट्याक्सी भेटिहालिन्छ भन्ने ग्यारेन्टी पनि छैन । भेटिइहाले पनि ट्याक्सी ड्राइभर सोझो नै पर्छ भन्ने के ठेगान ? हुन त सबैको सुरक्षाको ठेक्का मैले मात्र कहाँ लिन सक्छु र ? तैपनि, मानवतावश नै सही उसलाई उसको गन्तव्यसम्म छाड्ने विचार गर्छु । आखिर, मलाई आफ्नो भाडा आए भैहाल्यो।

निस्तब्ध रातमा गाडी कुदिरहेको छ । दुवै मौन छाैँ। म खासै गफाडी छुइनँ, तर आफ्ना पेसेन्जरहरुसँग गफ गरिरहन्छु । एकछिनको यात्रा, कहिलेकाहीँ त निकै रमाइलो हुन्छ । यी युवतीसँग के गफ गर्नु ? यिनको चालामाला र ढिलो गर्दै गरेकी देखेर बोल्न मन लागेको छैन । त्रिपुरेश्वर पुगेर त्यहाँ पनि ऊ एउटा घरभित्र पस्छे । यसपालि अल्लि बेरसम्मै ऊ फर्किंदिन । लौ, ट्याक्सीभाडामा चुना लाग्यो कि भन्ने शङ्का पनि लाग्छ, तर ऊ फर्कन्छे। 
“अब कता ?” को भावमा म उसलाई हेर्छु । 
“झम्सिखेल।”
लिपस्टिक अलि लतपतिएको जस्तो देखिएकी ऊ, निकै हताश देखिएकी छ। ट्याक्सीभित्रको अँध्यारोमा स्पष्ट नदेखिए पनि उसको गोरो अनुहारमा पीडा पोतिएको भान हुन्छ । ऊ औँलाले, अन्दाजैमा ओठमाथिको लिपस्टिक मिलाउँछे र झ्यालको ऐना आधा तल सारेर लामो सास फेर्छेे । उसका लामा र सिल्की कपाल हावामा फर्फराइरहेका छन्। ऊ बेलाबेला मतिर हेर्छे । जब उसलाई मैले ऊतिर ध्यान नदिएको भन्ने लाग्छ, आफूलाई झ्यालबाहिरका दृष्यमा केन्द्रित गर्न खोज्छे । ऊ आफ्नो रेशमी कोट फुकालेर छेउमा राख्छे । कालो स्लिवलेश लुगामा उसका गोरा सुडौल पाखुरा देखेर मेरो ओठमुखै सुक्छ । ऊबाट ध्यान हटाउन म अगाडि विन्डस्व्रmीनमा आँखा गाड्छु।

ट्याक्सी सडकबत्तीको मुनिबाट गुज्रिँदा एक थुप्रो चहकिलो प्रकाश ऊमाथि पर्छ । दुईहत्केलाले अनुहार छोपेर टाउको निहुराइरहेकी ऊ एक्कासि सुक्सुकाउन थाल्छे । हतप्रभ म, केही बुझ्दिनँ । सुनसान राती, एक्ली युवती यसरी ट्याक्सीभित्र रुँदा के अर्थ लाग्ने हो, डर लाग्छ।

“प्लिज यसरी नरुनुस्, के भयो तपाईंलाई ?” यसै पनि ठाउँठाउँमा पुलिसहरुको चेकिङ बढिरहेको छ । मलाई उसको रुवाइमा भन्दा पनि उसको रोदन अरुले सुने के आपत् आइलाग्ला भन्ने पीर लाग्छ । मन्द गतिमा पनि बेलाबेला उसका हिक्काहरु अझै उठिरहेका छन् । रुवाइले उसका आँखामा गाजल लतपतिएको छ । नाकको डाँडी रातो भएको छ। 

झम्सिखेल आएपछि ऊ गाडी रोक्न सङ्केत गर्छे । मैले ट्याक्सी साइड लगाउनेबित्तिकै ऊ ढोका खोली बाहिर निस्कन्छे । म केही नबोलीट्याक्सीभित्र बत्ती बाल्छु ताकि मिटरमा चढेको पैसा हेर्न उसलाई असुविधा नहोस् । 
ऊ आफूले बोकेको कोट एक्कासि मेरो हातमा थमाई अगाडिको मोडमा गएर हराउँछे । छक्क पर्छु, एक निमेषमै सोच्दै नसोचेको घटना घटेकोमा । ऊ गएको दिशातिर हेर्छु । यो कुनै स्वप्न हो वा यथार्थ, एकछिन त छुट्याउन पनि गाह्रो पर्छ। आफैँदेखि रीस उठ्छ । लोभमा वा दयाभावैले पनि मैले यो ट्रिप गर्नै नहुने थियो।

मेरो हातमा परफ्युम छर्किएको लेडिज कोट छ, नरम र रेशमी । ट्याक्सीभाडाभन्दा बढी नै मूल्य पर्नेे कोट । वास्तवमा घाटा लागेको छैन । भाडाकोे सट्टा महँगो कोट हात पर्दा पनि खुशी हुन सक्दिनँ । केहीबेर त्यहीँ कुर्छु । अहँ, ऊ आउँदिन। 

कोटको भित्री खल्ती केही फुलेको लाग्छ, छाम्छु, कागजका बिटाझैँ लाग्छन् । निकाल्छु, त्यो बन्द नगरिएको एउटा खाम हुन्छ । अरुको चिठ्ठी पढ्नुहुँदैन भन्छन्, तैपनि कौतुहलता रोक्न सक्दिनँ। 
आदरणीय बाबा,
कलेज र कामको बीच समय मिलाउन नसकेर चिठी लेख्न ढिला भयो, माफी चाहन्छु।
बाबा, त्यहाँ सोचेजस्तै यता सजिलैसँग काम पाइँदो रहेनछ । हुन त, अहिले चन्दवीर अङ्कलले एउटा काम खोजिदिनुभएको छ । अब दुईचारदिनमा पैसा पनि पठाउन सक्छु होला। यसपालि दाइको खुट्टाको अपरेशन गरिहाल्नुपर्छ । दाइले सक्नुभएको भए बाबालाई दुखै हुँदैनथ्यो । आमालाई मेरो पीर नगर्न भनिदिनुहोला । चन्दवीर अङ्कल मेरो धेरै ख्याल गर्नुहुन्छ...।

त्यसपछि केही लेखिएको छैन । वाक्य अपूरो मात्र हैन, पछाडिका शब्दहरु फुलेर अस्पष्ट देखिन्छन् । चिठ्ठी टुङ्ग्याउन बाँकी भएझैँ लाग्छ । पढेर अनायसै युवतीप्रति करुणा जाग्छ । कम्तीमा पनि चिठ्ठी लिन आउँछे कि भनेर केहीबेर कुर्छु । ऊ आउँदिन । नआउने पक्का भएपछि, फर्कन्छु । ट्याक्सीभरि अझै पनि उसले छाडेर गएकी मधुरो बास्ना छँदैछ । 
०००
“लाजिम्पाट जाने हो ?” झसङ्ग हुन्छु। थुप्रिरहेका सोचहरु छरपस्टिन्छन् । हालै मात्र बिहे गरेकाझैँ देखिने एकजोडीअगाडि उभिएका हुन्छन्। 
“होइन।” 

कुनै मोलमोलाइ नै नगरी दिएको उत्तरमा उनीहरुले पक्कै कस्तो चढेको ड्राइभर भन्ने सोचे होलान् । त्यसो त गाडी मेरै हो, निर्णय आफ्नै । कसैले मेराबारे के सोच्छन्, उनीहरुको कुरा। सीटबाट झोला निकाल्छु । यसमा त्यही कोट छ, जसलाई मैले महिनौँअघिदेखि भावना गाँस्दै आफूसँगसँगै लिई हिँडिरहेछु । कोट भएको झोलालाई नजिकैको फलामेबारमा छाड्छु । नमज्जा लाग्छ । कसै न कसैले यसलाई पक्कै उठाउनेछन्, मैले चिन्ता लिइरहनुपर्ने आवश्यकता पनि थिएन । तर आफ्नो खोक्रो आदर्शप्रति आफैँलाई हाँसो लाग्छ। 

एउटा ट्याक्सी मलाई ओभरटेक गरेर जान्छ । त्यसभित्र भर्खर भेटिएका त्यही जोडी हुन्छन्, पाको पुरुष र उसकी नवविवाहिता । झ्यालनिर बसेकी युवतीले मतिर फ्याँकेको दृष्टिभन्दा मलाई उसको चिउँडोबीचको रातो कोठीले बढी बिझाउँछ। 

प्रकाशित: २७ आश्विन २०७५ ०५:०५ शनिबार

कथा काेट