सबैतिर दशैंको रमझम सुरु भैसकेको छ । दशैंका लागि धेरैजना आ–आफ्नो घर गाउँमा पुगिसकेका छन् । अरु बेला खाली हुने गाउँघर यतिवेला भरिभराउ छ । बर्षौसम्म नभेटेको परिवार, छरछिमेक, दिदीबहिनी, साथीसंग भेट्न देश विदेशबाट समेत घर फर्किँदैछन्।
मनमुटाव र असमझदारी हटाएर आपसमा मेलमिलाप गरी दशैं मनाइन्छ । त्यसैले त दशैंलाई राष्ट्रिय चाडका रुपमा मानिन्छ । ठूलाबडाको हातको टीका लगाएर आशिष थाप्ने, भेटघाट गर्ने पर्व दशैंले आपसमा प्रेम, सम्मान, आत्मीयता बढाउँछ।
नीलो आकाशमुनि सेता हिमाल हेर्दै डाँडापाखामा परिवार वा साथीसंगीसँग डुल्दा स्वास्थ्य लाभ हुन्छ । साथै प्रकृति र संस्कृतिको स्वाद पनि पाइन्छ ।
हरिया सागसब्जी र फलफुलमा पाचनका लागि चाहिने रेशा, छोक्राबोक्रा प्रशस्त हुने हुनाले पेट सफा गराउँछ र कब्जियत हुन दिँदैन । कब्जियत नभए पछि अरु समस्या हुँदैन।
कब्जियत नै सबै रोगको आधार हो । अचेल दशैंमा मात्र होइन अरु बेलामा पनि माछा, मासुको प्रयोग बढी हुन्छ । त्यसैले दशैंमा मात्र होइन, अरु बेलामा पनि प्रशस्त हरियो सागसब्जी र फलफुल प्रयोग गर्नुपर्छ । दैनिक खानामा सागसब्जी र सलाद प्रयोग गर्दा पेट सधैं सफा हुन्छ र निरोगी भइन्छ।
सकेसम्म शाकाहारी खाना खाऔं र अरुलाई पनि शाकाहारी बन्न प्रेरित गरौं, नसके सागसब्जी र सलादलाई बढी स्थान दिऔं र दशैंलाई स्वास्थबद्र्धक रुपमा मनाऔं।
दशैंमा सबैसँग भेटघाट गरी मीठो र पोषिलो मासु धेरै खाने गरिन्छ । जति पोषिलो खाना खायो त्यति शरीरलाई पचाउन गाह्रो हुन्छ र क्यालोरी बर्न गर्न त्यति नै परिश्रम र कामको जरुरी पर्छ । अन्यथा खाना पच्न गाह्रो हुन्छ।
दर्शैमा आराम बढी गरिन्छ, साथीभाईसँग गफ गर्दै कतिपयले तास खेल्ने गर्छन् । त्यसैले दशैंमा खाएको खाना पचाउन हाइकिङ गर्नु राम्रो हुन्छ । साथीभाई, छरछिमेक र परिवारसंग गफ गर्दै दिनको ४–५ घण्टा स्वच्छ वातावरण भएका गाउँपाखामा हिँड्दा निकै लाभ हुन्छ । नचिनेको ठाउँ पनि चिन्न पाइन्छ, आत्मीयता पनि बढ्छ, आन्तरिक पर्यटनको पनि विकास हुन्छ । अनि गाउँको कला, संस्कृति पनि बुझ्न पाइन्छ।
व्यवसायीले दशैं हाइकिङ र ट्रेकिङ प्याकेज बनाएर ब्राण्डिङ गर्न सके दुबै स्वदेशी र विदेशी पर्यटक लाभान्वित हुन सक्छन्।
भालेश्वर
भालेश्वर डाँडा (२५,०० मिटर)मा प्यागोडा शैलीको मन्दिर छ । मन्दिरको बायाँ पृथ्वीनारायणको सालिक छ भने दक्षिणमा खुल्ला रुख मुनि छन् पुरानो भालेश्वर महादेव । भालेश्वरको धार्मिक महत्व छ । उहिले महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्नेक्रममा भालेश्वर आइपुग्दा उनको निधार पतन भयो । त्यसपछि त्यहाँ भालेश्वर उत्पन्न भए । त्यही बेलादेखि डाँडालाई भालेश्वर भन्न थालियो।
भालेश्वर आफैंमा भ्यू टावर । डाँडाबाट १८० डिग्रीमा फैलिएका सेता हिमाल गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर, सगरमाथा मात्रै होइन, काठमाडौं उपत्यकाको पुरा दृष्य देखिन्छ । अहिले भालेश्वरमा केबलकारको चहलपहल छ । अढाइ किमि लामो केबलकारमा १० मिनेट लाग्छ थानकोटको गोदामबाट भालेश्वर पुग्न।
कसरी पुग्ने : काठमाडौंको पुरानो बसपार्कबाट कलंकी, गुर्जुधारा थानकोट हुँदै शसस्त्र प्रहरीसम्म गाडीमा । शसस्त्र प्रहरीबाट मोटरबाटो तेस्र्रो उकालो बाटो हुँदै चखेल देउराली र देउरालीबाट भालेश्वर टप पुग्ने । भालेश्वरबाट गएकै बाटो फर्कने । सशस्त्र प्रहरी–चखेल देउराली मोटरबाटो ७ किमि, चखेल–भालेश्वर २.५ किमि ठाडो उकालो । जम्मा पदयात्रा दुरीः १९ किमि । पुरै बाटो ठाडो उकालो र ओरालो छ।
बल्थली
हरियालीको साम्राज्य चल्ने बल्थली (१,७०० मिटर) काभ्रे जिल्लामा पर्छ । पहिला डाँडाको सम्म थाप्लोमा बलियो तामाङ आएर बस्ती बसालेकाले बल्थली भन्न थालिएको भनाई छ । तामाङ बाहुल्य गाउँमा क्षेत्री, बाहुन, नेवार, मगर, सन्यासी लगायतको बसोबास छ । गाउँबाट जताततै हरियाली देखिन्छ । मौसम खुल्दा सेता हिमालहरू । शितल बल्थलीमा हरियाली हेर्दै धेरैतिर हाइकिङ गर्न सकिन्छ।
बल्थलीमा होमस्टे सुविधा छ । डाँडामा रिसोर्ट पनि छन् । होमस्टेबाट २ किमि दुरिमा लड्केश्वर महादेव छन् । त्यहाँबाट दुई घन्टामा नमोः बुद्ध पुगिन्छ।
कसरी पुग्ने : काठमाडौं–बल्थली ४० किमि । काठमाडौंको पुरानो बसपार्कबाट छुट्छन् बनेपा हुँदै पनौती जाने बस । पनौतीबाट ४ किमि खोपासीसम्म बस चल्छ । खोपासीबाट लड्केश्वर हुँदै खोपासीसम्म ११ किलोमिटर पदयात्रा । जिप र मोटरबाइक बल्थलीमै पुग्छन्।
चित्लाङ
काठमाडौं उपत्यकालाई पहरा दिइरहेका अग्ला डाँडामध्ये ललितपुर र मकवानपुरको साँधमा रहेको चन्द्रागिरि भञ्ज्याङ (२,२८० मिटर) एक हो । भञ्ज्याङ मुन्तिर ६ किलोमिटर दुरीमा चित्लाङ छ । उत्तरदक्षिण फैलिएको चित्लाङ उपत्यका मकवानपुरमा पर्छ । जहाँ नेवार, तामाङ, क्षत्री, बाहुन र बलामी आदिको बसोबास छ।
चित्लाङ ऐतिहासिक बस्ती । त्यहाँ सम्राट अशोकले ईसापूर्व २७३ मा बनाएको चैत्य छ । त्यस्तै त्रिगजुरेश्वर, शिवालय, तलेजु भवानी कोत, सात धारा, बाख्राको फार्म, बाख्राको दुधबाट बन्ने चिज, स्वच्छन्द भैरब आदि ठाउँ हेर्न सकिन्छ।
चित्लाङमा नेवार, ठकुरी र क्षत्रीका घरमा होमस्टे गराइन्छ । यहाँको प्याकेज मूल्य १२ सय रुपैयाँ । त्यसमा लन्च, डिनर, ब्रेकफास्ट र बास पाइन्छ । माग अनुसार सांस्कृतिक कार्यक्रमको छुट्टै मुल्य तिर्नुपर्छ । त्यसमा नेवार र तामाङ नाच देखाइन्छ । भुइँस्याउ, मुला, बाख्राको चिज, वलिभ तेल, किवि आदि चित्लाङका कोसेली हुन्।
कसरी पुग्ने : काठमाडौंबाट २५ किमि दुरीमा चित्लाङ गाउँ । थानकोट पार्क पछाडि गोदामबाट जीप चल्छन् । त्यहाँबाट चन्द्रागिरि भञ्ज्याङ हुँदै चित्लाङ पुगिन्छ । बाटो कच्ची छ । गोदाम–चित्लाङ १३ किमि ।
नमोः बुद्ध
बौद्धमार्गिहरूको नेपालमा भएका प्रमुख चार धाम (बौद्धनाथ, लुम्बिनी, स्वयंभु र नमोःबुद्ध) मध्ये एक हो नमोः बुद्ध (१,८०० मिटर) । शाक्यमुनि गौतम बुद्धको पूर्व जन्मको इतिहास जोडिएको कथा छ यहाँ । उनले पूर्व जन्ममा आफ्नो शरीर बघिनीलाई दान गरेको ठाउँ नमोः बुद्ध हो।
अर्को जुनीमा तिनै महासत्व लुम्बिनीमा जन्मिए, सिद्धार्थ गौतमका रुपमा । उनले बुद्धत्व प्राप्त गरेपछि चेलाहरूसँग काभ्रेको श्यामपाटीमा आए । र, त्यो चैत्यलाई तीनपटक घुमेर प्रणाम गरे । बुद्धले नमन गरेको ठाउँ भएकाले नमोः बुद्ध भनिएको । त्यहाँ कात्तिक पूर्णिमा र बुद्ध पूर्णिमामा मेला लाग्छ।
डाँडाबाट आकाश उघ्रिएका बेला हिमाल झलमल्ल देखिन्छ । मकालु, चोयु, गौरीशंकर, दोर्जेलाक्पा, लाङटाङ, गणेश र मनास्लु हिमालहरू । त्यहाँबाट हरिया डाँडै डाँडा र सुन्दर बस्तीहरू देखिन्छ । पनौती, भक्तपुर, धुलिखेल र काठमाडौंका दृश्यहरू आँखामा आइपुग्छन् । उचाईमा भएकाले सूर्योदय र सूर्यास्त राम्रो देखिन्छ । त्यहाँ खाना र बास बस्ने होटल तथा रिसोर्ट छन्।
आध्यात्मिक चिन्तन गर्न र स्वच्छ वातावरणमा चंगा हुन नमोः बुद्ध उपयुक्त गन्तव्य हो।
कसरी पुग्ने : काठमाडौ–धुलिखेल गाडीमा । धुलिखेलबाट बतासेसम्म अर्को गाडीमा । काठमाडौं–बतासे ३५ किमि । बतासेबाट इँटे, शंखु हुँदै नमोः बुद्ध । नमोः बुद्धबाट गहते सामुदायिक वन, कुइँकेल गाउँ, गुम्बा, फस्कोट हुँदै काभ्रे भञ्ज्याङसम्म हिँड्ने । पदयात्रा दूरि १४ किमि । समय : ६ घन्टा । काठमाडौ–नमोः बुद्ध ५० किमि । नमोः बुद्धसम्म सोझै मोटर, मोटरबाइक, साइकल वा अन्य गाडि, साइकल वा बाइकमा जान सकिन्छ ।
मणिचुड
चारैतिर डाँडाले घेरिएको, खुल्ला आकाश मुनि चिटिक्क दह । दह नजिकै स्तुप । स्तुपको बायाँ शिव–पार्वती मन्दिर । दायाँ शिवलिंग । लिंग नजिक नन्दीको प्रतिमा । दह नजिकै सानो पाटी र खुला चौर । दह कमण्डलु आकारको । मणिचुड राजाले राज्य चलाएको स्थान भएकाले यस ठाउँको नाउँ मणिचुड रहन गएको भनिन्छ । प्राचीन तीर्थ मणिचुडमा जनै पूर्णिमाका दिन मेला लाग्छ।
मणिचुड (२,०३० मिटर) बाट उत्तरमा सेता हिमलहर देखिन्छ । मणिचुड भएको ठाउँलाई पौराणिक भाषामा मृगेन्द्र पर्वत भनिन्छ । यसको पूर्वमा लप्सेफेदी, नाङलेभारे र गन्थमादन पर्वत पर्छन । ६४ शिवलिंग मध्ये कागेश्वर, मणिचुडेश्वर, योगेश्वर र नारायणेश्वर यही डाँडामा छन्।
कथा अनुसार दह भएको ठाउँमा बज्रयोगिनी खेल्न आउँथिन् । खेल्दाखेल्दै एक दिन उनको कमण्डलु खसेकाले त्यहाँ दह उत्पत्ति भयो । त्यसैले दह कमण्डलु आकारको भएको भनाई छ । पछि त्यहाँ स्तुप र मन्दिर बनाइयो।
साइक्लिङका लागि समेत मणिचुड उपयुक्त छ । मणिचुडबाट धेरैतिर पदयात्रा गर्न सकिन्छ । पानी मुहान, गुर्जे भञ्ज्याङ, बिष्णुद्वार, बाघद्वार, नागी गुम्बा, शिबपुरी पिक, चिसोपानी, भोटेचौर लगायत ठाउँ पुग्न सकिन्छ । साँखु–मणिचुड हाइकिङ बिशेषतः गर्मी मौसममा उपयुक्त हुन्छ।
कसरी पुग्ने : काठमाडौं–साँखु १८ किमि गाडीमा एक घन्टा । रत्नपार्क र सातदोबाटोबाट चाबहिल, जोरपाटी हुँदै साँखुसम्म सार्वजनिक बस चल्छन् । साँखु–बज्रयोगिनी २ किमि । बज्रयोगिनी–मणिचुड ४ किमि । आउन र जान पदयात्रा दुरी १२ किमी । समय ६ घन्टा।
टिप्स
. स्वास्थ्यका लागि हिँड्ने हुनाले सकेसम्म धुलो–धुवा“ रहित गोरेटोमा हिँड्ने । नभए गाडी कम चल्ने ठाउँमा।
. जाने रुटबारे पहिल्यै जानकारी लिने । बाटोको अवस्था, मौसम र ठाउँको बारेमा राम्रो जानकारी लिएर मात्र यात्रा गर्ने।
. पदयात्रा समूहमा गर्ने, एक्लै हिँड्दा बाटो थाहा नपाएर हराउन सकिन्छ, कुनै समस्या पर्दा साथी नहुँदा दुःख हुन्छ।
. नचिप्लिने सजिलो स्पोर्ट जुत्ता, हिँड्न सजिलो खुकुलो लुगा लगाउने, पछाडि बोक्ने सजिलो ब्याग बोक्ने।
. छाता/बर्सादी, घाम छेक्ने क्याप र सन ग्लास, लौरो, क्यामेरा, डायरी, कलम र दुरबिन आदि बोक्ने।
. पछाडि भिर्ने झोलामा २–३ लिटर पानी, मौसम अनुसार फलफुल र स्वास्थ्यबर्धक खाजा बोक्ने।
. प्राथमिक उपचारका सामान सिटामोल, टेप, व्याण्डेज, सियोधागो आदि बोक्ने।
. हिँड्दा सुरुमै छिटोछिटो नहिँड्ने । छिटो हिँड्दा स्वास फुलेर गारो हुन्छ । मध्यम गतिमा हिँड्ने । निश्चित ठाउँमा पानी र फलफूल ब्रेक गर्ने।
. स्वास्थ्यका लागि हिँड्ने भएकाले पदयात्रा गर्दा वा अन्य बेलामा पनि मैदाजन्य जंक फुड, मादक पदार्थ र नुन बढी भएका खानेकुरा नखाने । यस्ता खानाले शरीरमा भारीपन आइ हिँड्न गारो हुन्छ । त्यसैले पचाउन सजिलो हुने रेशेदार खाना र मौसम अनुसार फलफुल खाने।
. हिँड्दा र अरु बेलामा पनि एकैपटक धेरै पानी नपिउने । एकैपटक धेरै पानी पिउँदा पेट फुल्छ, डुम्म हुने र गाह्रो हुने हुन्छ । त्यसैले हरेक घन्टा अढाइ सयदेखि तीनसय मिलिलिटर पानी पिउने । ठोस आहार र पानीको अन्तर कम्तिमा तीस मिनेट देखि एक घण्टाको फरकमा खाने । हिँड्दा पसिना निस्केको अनुपातले पानी पिउने।
. लेउ लागेका ठाउँबाट नहिँड्ने । झारपातमा नछुने, विषालु किराबाट बच्ने । मनसुनमा जुकाबाट बच्न नून र सन्चो बोक्ने।
. फोटो खिच्दा ध्यान पु-याउने । छेउछाउमा गएर, ढुँगामा चढेर फोटो नखिच्ने । लडिएला होस पु-याउने।
. हिँड्दा महँगा गरगहना र लुगा नलगाउने किनकि यात्रामा हराउने या अन्य समस्या हुन सक्छ।
. पदमार्गका बासिन्दालाई अफ्ठेरो हुने गतिविधि नगर्ने । ठूलो स्वरले नकराउने । जंगली जनावरलाई जिस्क्याउने र छुने काम नगर्ने।
. जताततै फोहर नफ्याँक्ने । आफुले बोकेका प्लास्टिक र बोतल सम्बन्धित ठाउँमा फ्याँक्ने।
. समयको ख्याल गरेर हिँड्ने । साथमा जगेडा पैसा बोक्ने।
प्रकाशित: २७ आश्विन २०७५ ०२:२१ शनिबार