अन्य

हाम्रा सहरले ठूलो अवसर गुमाइसकेका छन्

शिव कट्टेल, उपाध्यक्ष, सार्क एसियाली फोरम

तपाईँको बुझाईमा सहर के हो?
सहर हरेक सुविधा भएको ठाउँ हो । सहरको जनघनत्व पनि बढी हुन्छ । त्यहाँ गाउँ र सहरका मानिस मिश्रित भएर बस्छन् । मान्छेको जीवन–व्यवहारमा लागू हुने सबै किसिमका सुविधाहरू सहरमा पाइन्छ । सहरको विकास निर्माणमा उच्च किसिमको सुझबुझ हुन्छ । त्यहाँको सुरक्षा निकाय र प्रशासनिक निकाय बडो चुस्त हुन्छ।

घुमेकामध्ये मनपर्ने सहर कुन हो?
सबै सहर मनपर्छ । तर, कस्तो सहर मनपर्छ भन्ने कुरा आफूमा भर पर्छ । मलाई मनपर्ने सहर अहिले भइरहेको सहर होइन । योजनाबद्ध विकास भएको ठाउँ, जहाँ हरेक मानिसका आवश्यतालाई केन्द्रमा राखेर काम गरिएको हुन्छ त्यस्तो किसिमको व्यवस्थित सहरको परिकल्पना गर्छु मैले।

सहर बिग्रनुको मुख्य कारण के होला?
हाम्रा सहरले ठूलो अवसर गुमाइसकेका छन् । राजनीतिक चेनता र अन्य मानिसको चेतनास्तर न्यून भएकाले सहरको भविष्य र वर्तमान बिग्रिएको छ । हिजो र आज भएका विकास निर्माणका कामले भूगोलसँग मेल नखाँदा यहाँका सहर बिग्रिएका हो । नेपालमा जति पति ठूला योजना छन् । ती योजना त्यति अध्ययन भएको देखिन्न । सस्तो लोकप्रियताको लागि राजनीतिक तह–तप्काका व्यक्तिले आफूखुसी योजना ल्याएका छन् । तर, त्यो देश र जनताको हितमा छ/छैन भन्नेमा अनुसन्धान नै भएको छैन।

सहरमा कस्ता सुविधा हुनुपर्छ?
पहिलो कुरा सहर नीति र नियमले चलेको हुनुपर्छ । सहरको कानुनले साना–ठूला सबैलाई एउटा परिधिभित्र बाँधेको हुनुपर्छ । खानेपानी, सडक, अनुकूल वातावरण, शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, मनोरञ्जनलगायत अनेक सुविधा सहरी इलाकाभित्र भेटिनपर्छ । तर, हाम्रोमा त सहरमा पाइने खास कुरा पाइन्न । राजनीतिक परिपाटि नमिल्दा सहरीकरण पनि मिलेन । विगतदेखिकै सरकारले सहरको दीर्घकालीन योजना तय गरेन, जसको असर अहिले देखिएको छ।

सहरीकरण गर्दैगर्दा हामी कहाँनिर चुक्यो?
सहर विकासका योजना र काम गर्दागर्दै चुकेको अहिलेमात्रै होेइन, विगतमा नै ठूलो भूल भएको छ । त्यो भूलले सहरको अहिले अवस्था र भोलिको अवस्थामा ठूलो ठेस पु¥याएको सहजै अनुमान गर्न सकिन्छ । जस्तै : राणाकाल, पञ्चायतकाल वा सो समयभन्दा अघिपछि केही राम्रा काम पनि भएका छन् । सहरमा मौलिक खालका भवन र सम्पदा पनि बनेका छन्।

२०४६ सालयता सहरको विकासबारे त्यति सोचिएन । त्यस्तै, विकास निर्माणका काममा हरेक सरकारी निकाय जोडिन्छन् । तर, हाम्रोका सरकारी निकायले विकास निर्माणका काममा सहकार्य गरेका छैनन् । एकातिरबाट बन्दै गर्दा अर्कातिरबाट खन्दै गरेको स्थिति छ।

अहिलेकै अवस्थामा काठमाडौंलाई अलि व्यवस्थित पार्न सक्ने विकल्प के होला?
अहिलेको अवस्थामा काठमाडौं सुर्धानु र व्यवस्थित बनाउँछु भन्ने कुरा निकै चुनौतीपूर्ण छ । किनकि सहरलाई कुरूप बनाएको यहाँका संरचनाले हो । ती संरचनालाई अब कसरी परिमार्जन गर्ने भन्ने जवाफ कसैसँग छैन । जे छ ठिकै छ भन्ने बानी राजनीतिक नेतृत्वमा रहेका व्यक्तिले राखेका छन् । मुख्य कुरा त हाम्रोमा सहरीकरणको योजना नै ठिक भएन । यसमा भक्तपुरले केही सोचेको देखिन्छ । तर, काठमाडौं र ललितपुर पूरै बिग्रिएको छ । राजनीतिक परिवर्तनका लागि लडेका नेताहरूले सहर विकास गर्ने नारा मात्रै देखाए । भूकम्प गएको यतिका समय बित्दा पनि बस्ती विस्तार र सहरी बसोबासको विकल्प सरकारले खोज्न सकेको छैन । त्यसकारण पनि अबको उपत्यका सहज होला भन्न सकिन्न । किनकि यहाँ धेरै कुरा बिग्रिएको छ । नेताहरूले विदेशी सिको गर्न अनेक आशा देखाउँछन् । नक्कल गरेर काम गर्दा विनास निम्तिएको छ । नेपालको भूगोल मिल्दो विकास निर्माणको काम भएको छैन । जस्तै : इन्डिया र चाइनाबाट रेल ल्याउने नेताहरूको योजना छ । तर, सहजै गाडी छिर्न नसक्ने मुलुकबाट रेल ल्याउँछु भनेर सपना देखाउनु ठिक होइन र त्यो टिक्दा पनि टिक्दैन जस्तो लाग्छ । यो त खाली जनतालाई भुलाउन र आशा देखाउन गरिएको हो भन्ने प्रस्ट पनि हुन्छ।

काठमाडौंको अस्तव्यस्तता र भीडभाड कम गर्ने उपाय के होला?
विगतमा जसरी काठमाडौंमा बसाई सर्ने लहर चल्यो अब त्यसरी नै काठमाडौंबाट बाहिरने लहर चल्यो भने काठमाडौं केही हदसम्म भए पनि खुकुलो बन्ला भन्ने लाग्छ । अर्को कुरा, हाम्रो विचार, योजना र सोचमा परिवर्तन ल्याउन जरूरी छ । खाली पार्टी र राजनीति परिवर्तन गर्नुपर्छ भन्ने सोच नेताहरूमा रहेसम्म विकासको सुरुवात हुन्न । ठाउँ र नाउ परिवर्तन गर्ने तर दिमाग र योजना परिवर्तन नगरेका कारण विकास भएन।

हिजो गणतन्त्र, लोकतन्त्रलगायत अन्य राजनीतिक परिवर्तनका लागि लडेका नेतामा विकासको भिजन भएन भन्ने टिका–टिप्पणी आउने गरेको छ, तपाईँलाई कस्तो लाग्छ?
नेपालमा १० वर्षमा ठूलो राजनीतिक परिवर्तन भयो । धेरै पार्टी फुटे । केही दल समाप्त पनि भए । राजनीतिक परिवर्तनमा लाग्दै गर्दा विकास र समृद्धिका पक्षमा हेक्का राखिएन । खाली नारा बनाइयो । त्यो नारालाई पुष्टि गर्ने किसिमको काम र अध्ययन भएन । सरकारी निकायले सहरको मार्गचित्र कोर्न सकेन । कहाँ के गर्ने भनेर योजना हामीकहाँ भएन । आज पनि ‘समृद्ध मुलुक, सुखी नेपाली’ भनेर सरकारले उद्घोष गरेको छ । तर, त्यसको अर्थ के हो जनताले महसुस गरेका छैनन् । समृद्धि भनेको सामान्य कुरा हो भनेर सोचियो । त्यसभित्रका गहिरा पक्षका ध्यान दिइएन।

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
सहर भनेको समान हक अधिकार भएको सुविधासम्पन्न ठाउँ हो । सहरमा हरेक सुविधा हुन्छन् । ती सुविधामा सबैको समान हक हुन्छ । सहरको इलाका सुरक्षित र मौलिकता बोकेको हुन्छ । हरेक ठाउँ व्यवस्थित हुन्छन् । फराकिला सडक, एकैनासे घर, सबैतिर हरियाली सहरको स्वरूप हो । यी सबै थोक हाम्रा सहरमा पाइन्न । सहरको वातावरण झन्–झन् बिग्रदै गएको छ । सहरमा आराम गर्ने, घुम्ने र पैदल हिड्ने ठाउँहरूको अभाव भइसकेको छ । भएका खाली जग्गामा पनि धमाधम घर बन्दैछन् । काठमाडौं एउटा कंक्रिटको जंगल बनेको छ।

कुन–कुन देशका सहर पुग्नुभएको छ?
केही देशका सहर घुमेको छु । फ्रान्स, जर्मनी, चाइना, होल्याण्डलगायत देशमा सहर घुम्ने र त्यहाँको विकास निर्माणलाई अवलोकन गर्ने अवसर पाएँ।

कस्ता थिए त्यहाँका सहर?
हामीले हेर्ने, सोच्ने र परिकल्पना गर्ने मात्रै हो । त्यहाँका सहरजस्तै बन्न हामीलाई वर्षौ समय लाग्छ । नेपालभन्दा पछि स्थापना भएका र सहरको योजना पनि पछि नै सुरू गरेका विश्वका धेरै देश नेपालभन्दा कैयौं गुणा विकास भए । तर, हामीकहाँ विकासको गति निकै सुस्त भयो । अहिले पनि सहरमा निम्छरो विकास छ । विदेशी देशहरूले माटो बोकेर पहाड बनाउँदै छन् । हाम्रोमा भीर पल्टाइँदै छ । प्रकृति विनास गरिँदै छ।

विदेशी र हाम्रा सहरमा के भिन्नता रहेछ?
विदेशका सहर कानुनमा बाँधिएका छन् । राज्य र सत्तामा हुनेले बलियो भूमिका निभाएका छन् । राज्यले ल्याएका नीति नियम र कानुन लागू भएको छ । सहरलाई योजनाबद्ध रूपमा विकास गरिएको छ । कानुनको पालना नगर्नेलाई हदैसम्मको कारबाही हुन्छ । त्यहाँका सहरको बनावट शैली पनि आधुनिक किसिमको छ । धुवाँधुलो कतै देखिन्न । सहरमा बस्नेहरू चेतनशील छन् । कसैले पनि सहरमा फोहर गर्दैनन् । यद्यपि भौगोलिक र प्राकृतिक रूपमा हाम्रा सहर अरु देशभन्दा धेरै राम्रा छन् । विकासको हिसाबले हामी पछि छौं । युवाहरू विदेसिएका छन् । वैदेशिक रोजगारका कारण सामाजिक रूपमा समस्या देखिएको छ । यसबारे सोच्न जरूरी छ।

उपत्यकाबाहिर कतिको पुग्नुहुन्छ?
मेरो घर नै काठमाडौंबाहिर हो । म कर्मको लागि काठमाडौं आएको हुँ । बाहिरी जिल्लाहरूमा पनि पुग्ने गर्छु । यहाँ आएर विकासका काममा पनि धेरै पहिलेदेखि हात हालेँ । केहीमा सफल भइयो । धेरै काम गर्न अझै बाँकी छ।

हाम्रा सहर किन अव्यवस्थित भएका होलान्?
नेताहरूले काम गरेनन् । सहरवासीमा जनचेतना भएन । सहरको विकासमा दुरदृष्टि राख्ने क्षमता भएका नेताहरूका आएनन् । सबैले आफ्नो दाउपेचमै काम गरे । सहरको विकास गर्ने अभिभारा बोकेका नेताहरू दुई नम्बरी काममा मात्रै लागे । नेता र सरकारी निकायका उच्च कर्मचारीहरू आफूलाई फाइदा हुने काममा मात्रै हात हाले । कसैले पनि सहरप्रति जिम्मेवार र जवाफदेही भएर काम गरेनन् । मुख्य कारण यही हो।

काठमाडौं पछिल्लो समस्या के देख्नुभएको छ?
काठमाडौं अनेकौं सम्भावना र अवसर बोकेको सहर हो । तर, यो सहरमा बस्नेहरूले सहरको सम्भावना खोजेनन् । उल्टै सहरको दोहन गर्नतिर लाग्ने । धुवाँ धुलो, प्रदूषण उपत्यकाको मुख्य समस्या हो । यसले मानव स्वास्थ्यमा पनि प्रत्यक्ष असर पारेको छ।

काठमाडौंको राम्रो लाग्ने पक्ष?
यहाँको मौसम अमूल्य छ । संसारमा कही पनि यस्तो हावापानी पाइँदैन । विदेशीहरू पनि नेपालको हावापानी तथा वातवरण एकदमै मनपराउँछन् । यहाँ जाडो र गर्मीमा पनि सहजै बस्न सकिने किसिमको वातावरण छ।

सहरवासीको बानी कस्तो लाग्छ?
सहरवासीको बानी सुविधाभोगी भयो । अरुले उत्पादन गरेका सामान किन्छौं । तर, उत्पादन गर्दैनौं । अरुका कुरा काट्दै हिँड्छौं । यस्तै बानीले सहर बिग्रिएको हो । घरभित्र सफा चट राख्ने तर ढोकाभन्दा बाहिर फोहर थुपार्ने बानी छ । सहरमा बसेका र सहर नबुझेका व्यक्तिको बसोबास सहरमा भयो।

काठमाडौं कहिले छिर्नुभयो?
२७ वर्ष भयो काठमाडौं छिरेको । त्यतिखेर आउँदा सामान्य मानिस बसोबास गर्थे । अलिअलि बस्ती विकास भएको थियो । त्यतिबेला काठमाडौंको विकास कहिले होला भनेर परिकल्पना गरेको थिएँ । तर, त्यसको केही समयमै काठमाडौं धेरै नै बिग्रियो।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २२ आश्विन २०७५ ०५:१३ सोमबार

शिव_कट्टेल सार्क_एसियाली_फोरम