अन्य

छुट्टी मनाउन सन्तानेश्वर

काठमाडौँ उपत्यकाको जनजीवन अस्तव्यस्त छ । धुवाँधुलो र हिलोमैलोले आक्रान्त छ । त्यसैले हामीले फुर्सदमा घुमफिरमा निस्कनु पर्छ । स्वच्छ हावापानी भएको ठाउँमा निस्कँदा स्वास्थ्यलाई फाइदा पुग्छ। 

काठमाडौं नजिकैको सन्तानेश्वर विकेन्ड डेष्टिनेशन बन्न सक्छ । ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवाराशीमा रहेको सन्तानेश्वर क्षेत्र रमणिय गन्तव्य हो । मन्दिर क्षेत्र भन्दैमा हाम्रो सोचाई धर्मकर्मतिर जान्छ । पुजा गर्न मात्रै नभएर घुम्नलाई पनि मन्दिर आकर्षक गन्तव्य हो।

यहाँबाट काठमाडौँ, ललितपुर र भक्तपुरका सुन्दर दृश्य देखिनुका साथै वरपरका फाँट र बस्ती पनि अवलोकन गर्न पाइन्छ । मन्दिर भएको पर्वत वरिपरि कच्ची रिङरोड छ । ठाउँ–ठाउँका घुम्ती पसलहरुले ठूला आवश्यकता पुरा नगरे पनि चकलेट, मिठाइ, पानी, पूजासामग्री आदिको आवश्यकता पुरा गर्छन्।

यहाँबाट काठमाडौँ, ललितपुर र भक्तपुरका सुन्दर दृश्य देखिनुका साथै वरपरका फाँट र बस्ती पनि अवलोकन गर्न पाइन्छ । मन्दिर भएको पर्वत वरिपरि कच्ची रिङरोड छ।

झरुवाराशीका बासिन्दाको जीवनशैली गाउँले पाराकै छ । पक्की घरमा सुकाइएका मकैका झुत्ता, घर छेउमै गाई गोठ, धान, मकै र अन्य तरकारीबारी आदिले त्यसलाई पुष्टि गर्छ।

सन्तानेश्वर झरुवाराशीमा रहेका तीनवटा सुन्दर प्राकृतिक थुम्काहरुमध्ये पूर्वतर्फको कैलाश पर्वतमा अवस्थित छ । यसको उचाई १ हजार ५ सय ७ मिटर छ । डाँडामा चढ्न दुइतर्फबाट व्यवस्थित बाटो बनाइएको छ । करीब ३ सय ६६ वटा ढुंगाका  खुट्किला नापेपछि मन्दिर परिसर पुग्न सकिन्छ।

स्वस्थानी व्रतकथा अनुसार सतीदेवीको माथिल्लो (उपल्लो) ओठ यहाँ पतन भएको हो । स्थानीय ज्योतिष अतुलराज पौडेलका अनुसार सत्ययुगमा सतिदेवीको उपल्लो ओठ पतन भएदेखि नै शिवशक्ति स्वरुप ज्योतिर्लिंगका  रुपमा यसको स्थापना भएको हो । पहिला स्यानो मन्दिर स्यानो थियो, अहिले भव्य मन्दिर बनिसकेको छ।

सन्तानको कल्याण गर्ने, सत्सन्तान प्रदान गर्ने, कसैका सन्तान बिग्रिएका छन्, कुलतमा लागेका छन्, बुद्धि बिग्रिएको छ भने उनीहरुलाई सत्बुद्धि प्रदान गर्ने भएकाले यसलाई सन्तानेश्वर भनिएको । यहाँ भक्तिअनुसार पूजागर्ने सन्तानविहीनको सन्तान प्राप्तहुने, सम्पूर्ण कामना पुरा हुने मान्यता छ।

पुराणमा पनि सन्तानेश्वरको व्याख्या गरिएको पाइन्छ । शक्ति र देवी एकै ठाउँ भएको पीठ दुर्लभ मानिए पनि यो ती दुवैको संगमस्थल भएको पौडेल बताउँछन्।

स्थानीय विनोद खड्काको संयोजकत्वमा मन्दिर व्यवस्थापन समिति बनेको छ । पशुपतिको शैलीमा मन्दिर बनेकाले यसलाई दोस्रो पशुपति भन्ने गरिएको मन्दिरका पूजारी गंगाराम गौतमले बताए । सरकारले पनि पछिल्लो समय मन्दिर व्यवस्थापनका लागि आर्थिक सहयोग गर्दै आएको छ।

पहिले सानो मन्दिर मात्रै रहेको र बाटो पनि नहुँदा चार हातपाउ टेकेर मन्दिरमा आउने गरेको स्थानीय रामशरण केसी बताउँछन् । पौराणिक मन्दिर भएता पनि शिलालेख अनुसार १८२३ मा पत्ता लागेको हो । भक्तपुरका नेवारले यसको उत्खनन् गरेर संस्कृतमा शिलालेख लेखाएका थिए।

झरुवाराशी पहिले छुट्टै गाउँविकास समिति थियो । पछि गोदावरी नगरपालिकामा गाभियो । यो ठाउँमा पुग्न ललितपुरको धापाखेल, चापागाउँ, ठैब, बाँडेगाउँ, टौखेल र गोदावरीबाट बाटो छ । लगनखेलबाट झरुवाराशीसम्म सिधै मिनिबस सेवा पनि छ । नत्र पैदलयात्रा गर्न चाहनेका लागि ६ ठाउँबाटै करिब २ घण्टा हिँडाइमा पुग्न सकिन्छ । सन्तानेश्वर पाटनबाट करीब ८ किलोमिटरमा पर्दछ भने काठमाडौँबाट जम्मा १२ किलोमिटरमा।

सन्तानेश्वरबाट थप यात्रा गर्ने गन्तव्य पनि छन् । जसमा गोदावरी नपा–११, चापागाउँमा पर्ने बज्रबाराही र धापाखेलस्थित नागदह, बाँडेगाउँ र गोदावरी उद्यान आदि हुन् । नत्र झरुवाराशीबाट मिनिबस चढेर सिधै लगनखेल फर्कन पनि सकिन्छ।

प्रकाशित: २० आश्विन २०७५ ०६:३६ शनिबार

सन्तानेश्वर घुमफिर