बच्चाले भनेको नमान्दा कराउने वा रिसाउने गर्नुहुन्छ ? बच्चालाई पिट्यो भने उसले भनेको मान्छ भन्ने तपाईँलाई लाग्छ ? यदि हो भने तपाईँ गलत हुनुहुन्छ । बालमनोवैज्ञानिकहरू बच्चालाई दण्ड दिँदा उसमा गहिरो मनोवैज्ञानिक प्रभाव पर्ने बताउँछन् । उनीहरूका अनुसार बच्चालाई पिट्दा विभिन्न असर देखिन सक्छन्।
झुटो बोल्ने
अधिकांश अभिभावकलाई के लाग्छ भने बच्चालाई पिटेर सही मार्गमा ल्याउन सकिन्छ । तर, यो भ्रम मात्रै हो । बच्चालाई पिट्दा उसले झुटो बोल्ने र कुरा लुकाउने सम्भावना हुन्छ, ताकि आफू पिटाइबाट बच्न सकियोस् । यसले बच्चा र अभिभावकको दूरी टाढिन सक्छ।
सजायको डर सकिन्छ
यदि तपाईँ बच्चालाई स–सानो गल्तीमा पनि पिट्नुहुन्छ भने उसमा सजायको डर हुँदैन । जसका कारण बच्चाले कुनै दिन ठूलो गल्ती गर्ने सम्भावना हुन्छ । त्यसपछि बच्चालाई सुधार्ने तरिका केही हुँदैन । किनकि बच्चालाई सजाय पहिले नै दिइरहेका हुन्छौं । त्यसकारण बच्चालाई फकाएर सम्झाउनु नै सबैभन्दा उत्तम मानिन्छ।
अपमानित महसुस गर्ने
बच्चा पनि अपमान महसुस गर्छन् भन्नेमा अभिभावक अन्जान हुन्छन् । पिटाइ खानेबेला बच्चाहरूले जे महसुस गर्छन्, त्यो कुरा उनीहरूलाई याद हुने गरेको छ । यसले बच्चाहरूलाई अशान्त बनाउन सक्छ । त्यसकारण बच्चाहरूलाई दण्ड दिनु राम्रो होइन।
आक्रामण हुने
यदि हामीलाई कसैले पिट्यो भने कस्तो महसुस हुन्छ ? पक्कै पनि नराम्रो । वयस्कलाई जस्तै बालबालिकालाई पनि उस्तै महसुस हुन्छ होला । बच्चामा सिकेको÷भोगेको कुरा युवा अवस्थासम्म पनि याद रहन्छ । के थाहा ? बाल्यकालमा पाएको पिटाइकै कारण बच्चा युवा अवस्थामा रिसाहा हुन सक्छ । यो कुरा एक अनुसन्धानले पनि पुष्टि गरेको छ । अनुसन्धानका अनुसार बच्चालाई पिट्यो भने ऊ आक्रामक बन्छ । यससँगै उसको व्यवहार नराम्रोसमेत हुन्छ।
बच्चाको हितविपरित
आमा–बुबाको मान्यता छ– बच्चालाई पिट्दा ऊ सुध्रिन्छ । तर, यो सोचाइ गलत हो।
बच्चालाई पिट्नुभन्दा उसले भनेको नमान्नुको कारण पत्ता लगाउन जरुरी हुन्छ । त्यसकारण समस्याको हल निकाल्नु जरुरी छ न कि बच्चालाई पिट्नु।
प्रकाशित: २० आश्विन २०७५ ०६:२० शनिबार