अन्य

‘वडाको ७० प्रतिशत बजेट खर्चेर व्यवस्थित ढल बनाउँदैछौं’

कृष्णकुमार प्रजापति, वडाध्यक्ष, मध्यपुर ठिमी नगरपालिका–७

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो?
जनप्रतिनिधि भएसँगै जनताको चाहना र आंकाक्षा अनुसार काम गरिरहेका छौं । गत वर्ष वडा कार्यालयले अघि सारेका योजना मुताविक काम गरिरहेका छौं । गत वर्ष वडामा २५ योजना सम्पन्न ग-यौं । जनप्रतिनिधि भएर आएसँगै विकास निर्माणको साथसाथै वडा कार्यालयको सेवा प्रवाह व्यवस्थित र जनतामैत्री बनाइरहेका छौं । वडामा रहेका ऐतिहासिक मठमन्दिरको संरक्षण र टोलटोलमा ढुंगा तथा इँटा छापिरहेका छौं । एक करोड रूपैयाँको लागतमा सिद्धिगणेश मन्दिरको पुनर्निर्माण सुरु गरेका छौं । ऐतिहासिक तथा सांस्कृतिक नगरमा संग्रहालय निर्माणको लागि योजना अघि बढाएका छौं । अबको तीन वर्षभित्रै निर्माण सम्पन्न गर्नेछौं । वडामा रहेका उकालो सडकमा ढलान तथा ग्याभिङ वाल निर्माण गरेर व्यवस्थित गरेका छौं । त्यस्तै गरी सडकमा ढल, खानेपानी लगायतका पाइप बिछ्याइरहेका छौं । नगदेश क्षेत्रमा डबली निर्माण गर्ने काम सम्पन्न ग-यौं।

तपाईँको वडामा खानेपानीको समस्या देखिएको छ, कहिलेसम्म समाधान गर्नुहुन्छ?
अन्य वडाको तुलनामा हाम्रोमा खानेपानीको समस्या धेरै छैन । वडामा जनसंख्या बढ्दै गइरहेकाले पनि माग अनुसारको खानेपानी आपूर्ति गर्न नसक्दा खानेपानीको समस्या भएको हो । बोडे र ठिमीमा जस्तो मेरो वडामा खानेपानीको समस्या छैन । वडामा पर्याप्त मात्रामा खानेपानीको व्यवस्थापन गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नगरपालिकासँग समन्वय गरिरहेका छौं । अबको केही वर्षभित्रै पर्याप्त खानेपानीको आपूर्ति गर्नेछौं । वडामा ३० वर्षभन्दा जीर्ण खानेपानीमा पाइप छन् । गत वर्ष वडा कार्यालयले ७ सय मिटर पाइपलाइन बिछ्याएको थियो।

तपाईँको वडामा तीन वटा पोखरी छन्, कसरी संरक्षण गरिरहनुभएको छ?
वडामा तीन ऐतिहासिक पोखरी छन् । वडा कार्यालयले अहिले धमाधम वडामा रहेका पोखरी संरक्षण गर्दै आइरहेका छौं । वडा कार्यालयले गुणाँ पोखरी संरक्षणको लागि ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । सिलेश्वर, कुमालाछी पोखरी व्यवस्थित रूपमा राख्न सफल भएका छौं । वडा कार्यालयले ऐतिहासिक पोखरी संरक्षण र सम्वद्र्धनमा विशेष चासो राख्दै आइरहेका छौं।

मनहरा खोलाको कटानले बस्ती क्षेत्रमा असर पारिरहेको छ, नियन्त्रणको लागि कस्तो योजना अघि सार्नुभएको छ?
मनहरा खोलाको कटानको कारणले नगदेशको मसानघाट क्षेत्रमा २०–३५ फिट जति एरिया कटान भएको छ । नदीको बहावले मसानघाट क्षेत्र मात्रै नभएर केही स्थानीयका जग्गासमेत कटान गरेर क्षति पु¥याएको छ । हाम्रो क्षेत्रमा डुबानभन्दा कटानको समस्या ठूलो देखिएको छ । मनहराखोलाको कटान रोक्नको लागि नगरपालिका र संघीय सरकारसँग अनुरोध गरेका छौं । नगरपालिकाले कटान क्षेत्रमा ग्याभिङ वाल लगाउने योजना बनाएको छ।

मनहरा खोला प्रदूषित भइरहेको छ, संरक्षण गर्ने कस्तो योजना छ?
चाँगुनारायण नगरपालिकाको सीमा क्षेत्रमा बालुवा वासिङ सञ्चालनमा ल्याएको छ । त्यही वासिङकै कारणले मनहरा खोला धमिलो देखिएको छ । अर्काेतर्फ पेप्सी खोलाको रसायनको कारणले मनहरा खोला प्रदूषित भइरहेको छ । हनुमन्ते खोला जस्तो प्रदूषित नभए पनि दिनप्रतिदिन खोला धमिलो बन्दै गइरहेको छ । खोला प्रदूषित भएकोमा हामी चिन्तित छौं । तर, वडा कार्यालयसँग पर्याप्त बजेट नहुँदा खोला सरसफाई गर्न सकिएको छैन । चाँगुनारायणको सीमा क्षेत्रमा रहेका वासिङ बन्द गराउन सकेमा धेरै हदसम्म मनहरा खोला सफाई हुन्थ्यो । अन्तरनगरपालिका समन्वय गरेर वासिङ हटाउनेतर्फ केन्द्रित हुनेछौं।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगरपरिषद्बाट गत आर्थिक वर्षमा वडा कार्यालयका लागि एक करोड ४० लाख रूपैयाँ बजेट विनियोजन भएको थियो । गत वर्ष २५ वटाभन्दा धेरै योजना निर्माण सम्पन्न भइसकेका छन् । अन्य निर्माणाधिन अवस्थामा छन् । गत वर्ष धेरै खुद्रे योजना अघि सा¥यौं । जसले गर्दा विकास निर्माणमा केही जटिलता देखियो । वडा कार्यालयले खानेपानी, सडक, ढल कृषि, महिला तथा लक्षित वर्गलाई  समेटेर खर्च गरेका थियौं।

चालू आर्थिक वर्षको लागि पनि एक करोड ५१ लाख रूपैयाँ नै बजेट विनियोजन भएको छ । वडा कार्यालयले चालू आवमा ७० प्रतिशतभन्दा धेरै बजेट ढल निर्माणमा छुट्टाएका छौं । ३० वर्ष पुराना ढल जीर्ण भइसकेकाले अहिले व्यवस्थित रूपमा ढल बनाउन लागिरहेका छौं।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ?
मेरो वडा मध्यपुर ठिमीकै पुरानो बस्ती हो । यो बस्ती ऐतिहासिक कला संस्कृतिले भरिपूर्ण क्षेत्र हो । प्राचिनकालमा नागदेश राजाले राज्य गरेको किंवदन्ती रहँदै आएको छ । त्यसैले वडा कार्यालयले सांस्कृतिक नगरीको रूपमा स्थापित गर्न खोजेका छौं । वडामा ऐतिहासिक नगदेश संग्रहालय निर्माण गर्ने योजना अघि सारेका छौं । वडामा विभिन्न ठाउँमा चार वटा प्रवेशद्वार बनाएर चिटिक्क बनाउन कसिएका छौं । वडामा जनताका आधारभूत आवश्यकता पूरा गर्ने समृद्धि र सु–संस्कृत वडा बनाउने सपना बोकेर अघि बढेको छ । वडामा खानेपानी, सडक, ढल लगायतका अत्यावश्यक पूर्वाधार तयार पार्नेछौ । वडा कार्यालय हरियाली प्रवद्र्धन कार्यमा समेत अग्रसरता देखाएको छ।

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: १५ आश्विन २०७५ ०६:२० सोमबार

कृष्णकुमार_प्रजापति मध्यपुर_ठिमी_नगरपालिका जनप्रतिनिधि