अन्य

‘सामुदायिक विद्यालयको गुणस्तर सुधार्न लागेका छौं’

इन्द्रबहादुर प्रजापति, वडा अध्यक्ष, मध्यपुर ठिमी नगरपालिका–६

तपाईँ जनप्रतिनिधि भएर आएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो?
जनप्रतिनिधि भएर आउँदा वडामा जताततै फोहोरमैलाको डुंगुर देखिन्थ्यो । निर्वाचित भएर आएसँगै वडामा फोहोरमैला व्यवस्थापनमा जुट्यौं । निजी क्षेत्रसँग साझेदारीमा गरेर अहिले वडाको फोहोरमैला व्यवस्थापन गरिरहेका छौं । पहिलाको तुलनामा अहिले धेरै हदसम्म फोहोरमैला व्यवस्थापन भइसकेको छ । सिद्धिकाली मन्दिर परिसरमा रहेका मठमन्दिर तथा सत्तल जीर्ण भएका थिए । तिनीहरूको अहिले जीर्णाेद्वार तीव्र गतिमा भइरहेको छ । सिद्धिकाली मन्दिर परिसरमा रहेको सरस्वती मन्दिर, सत्तल, गेट, छाना लगायतका संरचना जीर्णाेद्वार तथा मर्मतसम्भार सम्पन्न गरेका छौं । भीमसेन चोकदेखि बोडे मिलरोड जाने सडकमा ढल बिछ्याइरहेका छौं । कुलडोल क्षेत्रमा पनि  पाँच सय मिटर क्षेत्रमा ढलको पाइप राखिएको छ । ती बाहेक अन्य विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर गरिरहेका छौं।

तपार्इँको वडामा खानेपानीको हाहाकार छ, कसरी खानेपानीको व्यवस्थापन गर्दै हुनुुहुन्छ?
वडाको केही बस्तीमा खानेपानीको समस्या देखिएको छ । माग अनुसारको खानेपानीको पर्याप्त आपूर्ति गर्न नसक्दा वडामा खानेपानीको समस्या भएको हो । अन्य टोलभन्दा कुलडोल क्षेत्रमा खानेपानीको समस्या धेरै छ । मध्यपुर ठिमी नगरपालिकाले खानेपानीको समस्या समाधानको लागि दुई करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । वडा कार्यालयले खानेपानी व्यवस्थापनको लागि ५० लाख रूपैयाँ विनियोजन गरेको छ । कुलडोल क्षेत्रको खानेपानीको पाइप खेतमा रहेकाले मंसिरलगत्तै खानेपानीको पाइप बिछ्याएर खानेपानीको व्यवस्थापन गर्ने योजना बनाएका छौं।

सार्वजनिक जग्गाको अतिक्रमण कस्तो छ?
वडामा सार्वजनिक जग्गा मिचिएको अहिलेसम्म सुन्नमा आएको छैन । जनप्रतिनिधि भएसँगै कुलडोलमा सात रोपनी सार्वजनिक जग्गाको सीमांकन गरेर छुट्टाएका छौं । वडामा करिव १५ रोपनीभन्दा धेरै सार्वजनिक जग्गा छन् । सम्पूर्ण सार्वजनिक जग्गा सीमांकन नगरेकाले अहिले नै यति रोपनी अतिक्रमणमा परेको छ भनेर किटान गर्न सकिँदैन । त्यसैले अबको एक वर्षभित्रै सम्पूर्ण सार्वजनिक जग्गाको सीमांकन गरेर छुट्टाउने तयारीमा रहेका छौं।

तपाईँको वडामा डुबानको समस्या कस्तो छ?
वडा अग्लो भूभागमा रहेकाल अहिलेसम्म डुबानको समस्या छैन । वर्षायाममा वडाको कुनै पनि भूभागमा डुबानको समस्या देखिएको छैन।

तपाईँको वडामा भूकम्पपीडितको समस्या कस्तो छ?
२०७२ सालको भूकम्पले वडामा करिब चार सय ५० घरमा क्षति पु¥याएको थियो । भूकम्पले तीन सय घर पूर्ण क्षति भए । एक सय ५० घर आशिंक क्षति भए । करिब चार सय ५० परिवारले पहिलो किस्ता बापतको रकम बुझिसके । गुनासो दर्ता गराएका ६० जनाको अझैसम्म टुंगो लागेको छैन । अन्यको प्रक्रियामा छ । दोसो किस्ता बुझ्ने ६० मात्रै छन् । पहिलो किस्तावापतको रकम बुझ्ने तर, भवन नबनाउने कारणले नै ढिलासुस्ती भएको हो । भक्तपुरमा सामान्य घर ठडाउनको लागि ७ देखि १० लाख रूपैयाँ लाग्ने गर्छ । तर, सरकारले तीन लाख रूपैयाँ मात्रै अनुदान उपलब्ध गराएको भन्दै अधिकांश भूकम्पपीडितले नयाँ घर बनाउन सकेका छैनन् । उनीहरू पुरानै भूकम्पले चर्किएका र भत्किएका घर मर्मतसम्भार गरेर बसोबास गरिरहेका छन् । वडा कार्यालयले भूकम्पपीडितको भवन निर्माणको लागि आवश्यक पर्ने प्रविधिक सहयोग गरिरहेका छौं । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बेवास्ताका कारण भूकम्पपीडितले अहिलेसम्म राहत रकम पाउन सकिरहेका छैनन्।

सामुदायिक विद्यालयको गुणस्तर खस्किरहेको छ, सुधार्नेले कस्तो योजना अघि सार्नुभएको छ?
अन्य स्थानका सामुदायिक विद्यालय जस्तो मेरो वडामा रहेको सामुदायिक विद्यालयको स्तर खस्किँदै छ । वडामा रहेको सामुदायिक विद्यालयमा न्युन आय र मजदुरका छोराछोरी पढ्ने भएकाले समस्या देखिएको छ । अभिभावकले छोराछोरालाई विद्यालय पठाएपछि आफ्नो दायित्व पूरा भएको ठान्ने प्रवृत्तिकै कारणले सामुदायिक विद्यालयको स्तर सुध्रिन नसकेको हो । वडा कार्यालयले सामुदायिक विद्यालयको स्तर खस्किनुबारे अध्ययन गर्न लगाएको छ । वडा कार्यालयले विद्यालयको गुणस्तर सुधार्न १० लाख रूपैयाँ बजेट विनियोजन गरेका छौं । त्यसको साथसाथै अभिभावक र शिक्षकसँग विभिन्न छलफल तथा बहस कार्यक्रम गरेर शैक्षिक गुणस्तर सुधार्ने प्रयत्न गरिराखेका छौं।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगरपरिषद्बाट गत आर्थिक वर्षमा वडा कार्यालयका लागि एक करोड ४० लाख रूपैयाँ बजेट बिनियोजन भएको थियो । विनियोजित बजेटमध्ये करिव ४० लाख रूपैयाँ खर्च हुन नसकेर फ्रिज भयो । उपभोक्ता समितिले तोकिएको समयमा नै काम गर्न नसक्दा रकम फ्रिज भएको हो । वडा कार्यालयले खानेपानी, सडक, ढल, मठमन्दिर तथा सत्तल निर्माणलाई प्रथामिकतामा राखेर निर्माण गरेको छ । चालू आर्थिक वर्षको लागि पनि एक करोड ५१ लाख रूपैयाँ नै बजेट विनियोजन भएको छ । वडा कार्यालयले खानेपानी, पूर्वाधार लगायतका क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको छ।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ?
पाँच वर्षभित्र वडा कार्यालयले विकासका आधारभूत आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ । सहजरूपमा बाटोघाटो, ढल, खानेपानी, सडक बत्तीलगायतका पूर्वाधार विकास गर्नेछौं । कमेरेटार क्षेत्रमा रहेको सार्वजनिक जग्गामा व्यवस्थित फुटबल मैदान बनाउने तयारी गरिरहेको छु । त्यसको साथसाथै कुलडोल क्षेत्रमा रहेको पाँच रोपनी सार्वजनिक जग्गामा चिल्ड्रेन पार्क बनाउनेछु ।  दुई वर्षभित्र वडाका पर्याप्त मात्रामा खानेपानी वितरण गर्ने योजना छ । वडामा भित्री सडक मेरै कार्यकालभित्रै कालोपत्रे गर्ने योजना छ।

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: ८ आश्विन २०७५ ०६:१६ सोमबार

सामुदायिक_विद्यालय प्रतिनिधि इन्द्रबहादुर_प्रजापति