अन्य

‘सपनाविहीन नेतृत्वले सहर बिग्रियो’

मिलन पाण्डे, नेता

तपाईँको बुझाइमा सहर के हो ?
भिन्न–भिन्न उद्देश्य बोकेका मानिसको साझा बसोबास थलो नै सहर हो । सहरभित्र सामाजिक र साँस्कृतिक बन्धन हुन्छन्। त्यहाँको कला संस्कृतिले सबैलाई बाधेको हुन्छ । ठूलो जनसंख्यालाई चुस्त सेवा दिन त्यहाँको प्रशासनिक निकाय खटेको हुन्छ।

तपाईंलाई मनपर्ने सहर?
मलाई काठमाडौं नै प्यारो लाग्छ । मेरो जन्म यही भएको हो । बाल्यकालदेखिको यहाँको माटोसँग म घुलमिल भएको छु । यहाँका कला–संस्कृतिलाई हेर्दै रमाउँदै हुर्किएको भएर पनि होला काठमाडौं जस्तो प्यारो अरु ठाउँ लाग्दैन । मेरो जीवनको ९५ प्रतिशत समय मैले काठमाडौंमै बिताएको छु । सबैले काठमाडौं बस्नलायक सहर भएन भन्छन् । सहरको अस्तव्यस्ततादेखि दिक्क छन् । तर, मेरो विचारमा काठमाडौं बिग्रिएको धेरै समय भएको छैन । बितेका ८÷१० वर्षमा काठमाडौं ज्यादै बिग्रियो । जीवन्त सहरलाई राजनीतिले बिगा¥यो । कला–संस्कृति भत्कन थाले।

काठमाडौं बिग्रनुको कारण के होला?
हामीकहाँ राजनीतिक चेत भएन । गणतन्त्र, प्रजातन्त्र र संघीयता ल्याउन राजनीति गरेको नेताहरुमा विकास र समृद्धिको भिजन पटक्कै छैन । हिजो राजनीतिमा लागेर गणतन्त्र, प्रजातन्त्र र संघीयता प्राप्तिमा लाग्नुभएका राजनीतिककर्मीहरूको अब अवकास लिने बेला आएको छ । यो देशको विकासको लागि नयाँ नेतृत्व चाहिन्छ । देशको प्रशासनिक निकायमा पनि लगभग नयाँ पुस्ताले पालो पाएका छन् । त्यसैगरी राजनीतिमा पनि नयाँ र आशलाग्दो नेतृत्वलाई ठाउँ दिनुपर्छ । खास विकासको चरण नै त्यहीबाट सुरु हुन्छ भन्ने लाग्छ।

सहरको विकासको लागि कस्तो भिजन र राजनीतिक चेत चाहिएला?
सहर र सहरीभूमि बुझेको नेतृत्व चाहिन्छ । ठुल्ठूला मलहरू बने भन्दैमा सहर विकास भयो भन्ने होइन, कला संस्कृतिको हिसाबमा सहर कति धनी छ भन्ने कुरालाई मापन गर्न जरुरी छ । सहरको विकासको लागि नयाँ नेतृत्व चाहिन्छ । नीति नियम लागू गर्न सक्ने सरकार चाहिन्छ । सहर नै नबुझेको फिका नेतृत्व आएर सहरको विकास कदापि हुन्न । त्यस्तो नेतृत्वले सहरलाई झन् तहसनहस पारेको हुन्छ । हाम्रोमा अहिले त्यही भइरहेको छ।

उपत्यकाबाहिर मनपर्ने सहर?
उपत्यका बाहिर पोखरा मनपर्छ । यहाँ फेवाताल, हिमाल र अनेकौँ पदमार्ग छन् । सहरमै बसेर प्राकृतिक हराभरा हेर्न पाइन्छ । सहरी इलाका पूरै सफा छ । सडक र होटल पनि व्यवस्थित छन् । सबैतिर सफा र शान्त छ।

नेपालभन्दा बाहिर कुन–कुन देशका सहर पुग्नुभएको छ?
त्यति धेरै देशका सहर पुगेको छैन । चीन र भारत पुगेको छु । आधुनिक सुविधाको हिसाबमा विदेशका सहर अगाडि छन् । ऐतिहासिक र सांस्कृतिक हिसाबमा हामी अगाडि छौं।

उपत्यकाको मनपर्ने पक्ष?
यहाँको हावापानी संसारमै पाइन्न । कला संस्कृतिको हिसाबमा पनि काठमाडौं अग्रपंक्तिमा छ । यहाँका धेरै पक्ष ठीक हुँदाहुँदै पनि थोरै कुराले काठमाडौंलाई कुरूप बनाएको छ । अहिले जताततै फोहोर र व्यवस्थित मात्रै देखिन्छ । सहरभित्र आनन्द लिने ठाउँ छैनन्।

मननपर्ने पक्ष?
यहाँको नेतृत्व ठिक लाग्दैन । नेतृत्वकर्ता ठिक नभएकाले नै सहर बिग्रिएको छ । सहर विकासको लागि सपना र भिजन भएको व्यक्ति चाहिन्छ । सपना नदेख्ने मानिसले अरुको सपना पनि बुझ्न सक्दैन । काठमाडौं महानरकै कुरा गर्दा अहिले ठ्याक्कै यस्तै भइरहेको छ । विद्यासुन्दर शाक्यलाई आफू जन्मेको ठाउँको बारेमा सामान्य ज्ञान शुद्ध छैन।

तपाईँ कस्तो सहरको कल्पना गर्नुहुन्छ?
म जिवन्त सहरको परिकल्पना गर्छु । म बसेको सहर सांस्कृतिक होस् । नाति र हजुरबुबा हात समाउँदै सहरका गल्लीहरू सहजै हिँडेको देखियोस् । बूढाबूढीहरू पार्कमा बसेर आफ्नो जीवनको पानाबारे समीक्षा गर्दै गरेको देख्न पाइयोस् । सहर सुरक्षित, सुन्दर, सुविधायुक्त होस् । यति भयो भने सहर सुन्दर र प्यारो लाग्नेछ।

सहर बिग्रनुको कारण के लाग्छ?
सहरको विकास नहुनुमा सरकार नै दोषी हो । आम नागरिकले पनि सरकारलाई सहयोग गरेको देखिन्न । कुन समयमा के काम गर्दा ठिक हुन्छ भन्ने सोच सरकारी निकायमा व्यक्तिमा भएन । उनीहरू आफू जुन संस्कारमा हुर्के त्यही संस्कारमा सहर विकासको काम गरेको देखिन्छ । तर, त्यो समय सापेक्ष भएन।  

सहरलाई कसरी सफा राख्न सकिएला?
सहर सफा राख्न त्यहाँको राजनीतिक अवस्था पनि व्यवस्थित हुनुपर्छ । राजनीतिक सोच सफा हुनुपर्छ । सरकारी तवरबाट चलेका हरेक निकाय जिम्मेवार र जवाफदेही हुनुपर्छ । सहरवासीले तोकिएको स्थानमा फोहोर फाल्ने बानीको विकास गर्नुपर्छ । त्यस्तै, विकास निर्माणका कामलाई समयमै सक्ने, जिम्मेवार निकायमा बस्नेले विकास निर्माणका काममा दूरदृष्टि राख्नेलगायत कुरामा ध्यान दिने हो भने सहर सफा बन्न सक्छ जस्तो लाग्छ।

सरकारले कसरी काम गर्ने हो भने सहर व्यवस्थित बन्ला?
भएको कानुनको परिपालना गर्ने । नागरिकका अत्यावश्यक पक्षलाई ध्यानमा राखेर काम गर्ने । सरकारी योजनालाई जतिसक्दो छिटो मूर्त रूप दिनतर्फ लाग्ने । सरकारी निकाय बलियो नभएरै सहरको विकास नभएको हो । भएको नीति–नियमलाई सरकारले कार्यान्वयन गराउन सक्ने हो भने सहर व्यवस्थित हुन्छ । त्यस्तै, सरकारले सहरको फोहर समयमै उठाउने हो भने सहर सफा बन्न सक्छन्।

सहरवासीका बानी कस्तो लाग्छ?
सहरवासीमा व्यावहारिक र नैतिक शिक्षा छैन । उनीहरू सहरप्रति सचेत छैनन् । जताततै फोहर मिल्काउँछन् । शिक्षित भएर पनि सहर के हो भनेर धेरैले बुझेनन् । उनीहरूले कहिल्यै पनि सहर बिग्रिएको विषयमा आवाज उठाएनन् । जसका कारण सहर झन्–झन् बिग्रँदै गएको छ।

मन भएर पनि पुग्न नपाएको सहर?
मलाई नेपालकै केही ठाउँहरू घुम्न मन छ । घान्द्रुक, मनाङ, मुस्ताङ, डोल्पा, रोल्पा लगायत जिल्लाका गाउँहरू घुम्न मन छ।

सहरको मनपर्ने खानेकुरा?
मलाई दाल, भात र तरकारी नै मिठो लाग्छ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ५ आश्विन २०७५ ०५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App