अन्य

‘काठमाडौं राजधानीजस्तै भएन’

सम्झना लामिछाने मगर, गायिका

तपाईँको बुझाईमा सहर के हो?
सबैखाले अवसर र सुविधायुक्त ठाउ हो सहर । बढी जनघनत्व भए पनि त्यहाँको व्यवस्थापकीय पक्ष निकै चुस्त हुन्छ । सहर सुरक्षित र मानवमैत्री हुनुपर्छ । सहरमा नीति र कानुनको सही परिपालना भयो भने मात्रै त्यो सहर व्यवस्थित बन्छ भन्ने लाग्छ।

घुमेकामध्ये मनपरेको सहर कुन हो?
मैले नेपालभन्दा बाहिर धेरै देशका सहर घुमेँ । तर पनि मलाई नेपालकै सहर मनपर्छ । मैले पसिनासँग कर्म साटेको ठाउँ काठमाडौं हो । त्यसकारण पनि म काठमाडौंको हरेक पक्षसँग निकट छु । पछिल्लो समय अस्तव्यस्त भए पनि मैले आफ्नो करिअरलाई सोच्दा काठमाडौं ज्यादै माया लाग्छ । अहिलेको स्थितिलाई हेर्ने हो भने काठमाडौं राजधानीजस्तै भएन । सबैतिर समस्यै समस्या मात्रै छ।

काठमाडौं किन समस्यामा जेलिएको होला?
सहरको रानजीतिक र प्रशासनिक निकायको कार्यशैली र नियत ठिक भएन, जुन निकायले सहरको व्यवस्थापन र विकास गर्नुपर्ने हो । त्यही निकायले काम नगरेपछि सहर बिग्रनु स्वभाविकै हो । यदि सरकार र सरकारी निकायसँग जोडिएका हरेक अंगले सोचेर काम गरेका हुन्थे भने काठमाडौं यतिसाह्रै अस्तव्यस्त हुने थिएन । अर्को कुरा, सुविधाको हिसाबले पनि यहाँ हरेक थोक पाइन्छ । सरकारी सेवा सुविधा पनि यहीँ छन् । यहाँको मौसम र मठमन्दिर त भगवानको वरदान नै हुन् । तर, मानिसका कारण पछिल्लो समय काठमाडौं बिग्रिएको छ । कहिँकतै विकास निर्माणका काम भए तापनि धेरैतिर अस्तव्यस्त बनेको छ । काठमाडौंलाई कुरूप देखाउने सबैभन्दा पहिलो कारक मापदण्ड बाहिर बनेका अग्ला भवन नै हुन्।

नेपाल बाहिर कहाँ–कहाँ पुग्नुभएको छ?
धेरै देशका सहर घुमेकी छु । अमेरिका, जापान, अस्ट्रेलिया, दुबई, हङकङ, कोरिया, भारत, मकाउलगायत युरोपका धेरैजसो सहर घुमेकी छु।

नेपाल र विदेशका सहरबीचको भिन्नता के रहेछ?
मौलिकता र प्राकृतिक पक्षलाई हेर्ने हो भने हामी अन्य मुलुकभन्दा अघि छौं । आधुनिकता, पूर्वाधार विकास र कानुनी पक्षलाई हेर्ने हो भने विदेशी मुलुक हामीभन्दा धेरै नै अगाडि छन् । नेपालका डाँडाकाँडामा देखिने दृश्य, लेक, पडाड र ऐतिहासिक सम्पदा अन्य मुलुकमा छैनन् । प्रकृतिले नै सबैतिर हराभर बनाएर पनि मानवीय पक्षमा सहरको निम्ति हुनुपर्ने जेजति काम हुन् ती काम भएका छैनन्।

विदेशी सहर कसरी विकास भएका रहेछन्?
विदेशका सहरमा सबैतिर कानुनको पालना गरिएको हुन्छ । हाम्रोमा यसको ठिक उल्टो छ । यहाँ नेताहरूबाटै कानुनको खिल्ली उडाइन्छ । सहरमा बस्ने गरिबलाई कानुन लाग्छ । तर, उच्च वर्गको नेता र उसका आसेपासेहरूलाई कानुनले छेक्दैन । यस्तै कारणले पनि हो हाम्रो देश बिग्रिएको । राज्य सत्तामा हुनेले जिम्मेवार जवाफदेही भएर काम गरेको भए हामी अहिले विदेशी सहरको दाजोमा पुग्थ्यौं होला ।  विदेशी सहर हेर्दा प्रकृतिले दिएको कुरामा हामी धनी छौं । उपत्यकामा संसारमै नपाइने अमूल्य कलाकृति छन् । हामीले यसलाई व्यवस्थित पार्न सकिरहेका छैनौँ।  

सहरमा कलाकारिता गर्न कत्तिको सजिलो छ?
सहरमा बसेर कलाकारिता गर्न सजिलो नै छ । किनभने यहाँ हरेक सेवा सुविधा छन्।

उपत्यका बाहिर मनपर्ने सहर?
नेपालका पनि धेरैजसो सहर पुगेको छु । पोखरा, इलाम, बुटवल, भैरहवा धरानलगायत धेरै सहर सुन्दर लाग्छ । पोखरालाई नेपालको सुन्दर सहरका रूपमा लिन सकिन्छ । यो सहर प्रकृतिले नै सुन्दर बनाएको छ । १÷२ दिन बस्नको लागि पोखरा एकदमै ठिक छ । त्यहाँ अनेकौं घुम्ने पदमार्गहरू छन् । यहाँबाट हिमाल हासेको देख्न पाइन्छ । इलाम पनि मलाई हराभरा लाग्छ।

सहरको विकासको लागि सरकारले कसरी काम गुर्नपर्ला?
सहरका खास सम्भावनाको खोजी गर्नुप-यो । सहरको विषयमा दीर्घकालीन बहस हुनुप¥यो । त्यसैबमोजिम योजनाहरू ल्याउनुप¥यो । सहर बन्नका लागि के–के चाहिँदारहेछ अध्ययन गर्नुप¥यो । अनि मात्रै सहरको विकास हुन सक्छ । सरकारमा रहेका हरेक नेता र सरकारी कर्मचारीले पारदर्शी भएर काम गर्ने हो भने हाम्रा सहरको विकास हुन धेरै समय लाग्दैन । त्यो सँगसँगै सरकारले योजनाबद्ध रूपमा सहरको विकास गर्ने हो भने काठमाडौं सहर विश्वको टप पाँच सहरभित्र पर्छ । किनकि यस्तो मौसम र ऐतिहासिक पक्ष भएको ठाउँमा विश्वमा कहिँ छैन।

काठमाडौंमा के–के समस्या देख्नुहुन्छ?
सहरमा धेरै समस्या छ । हामीले विदेशका सहर हेर्दा नेपालका सहर अति नै बिजोग लाग्छन् । किनभने यहाँ राज्य तवरबाट हुने काम निरासाजनक छ । व्यवस्थालाई पालना भएको छैन । विकास निर्माणका काममा भागबन्डा भएको छ । अग्ला र अव्यवस्थित भवन निर्माण, फोहर, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो जस्ता समस्या छन् काठमाडौैंमा।

उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष के हो?
यहाँको हावापानी सदावहार लाग्छ । यहाँ संसारमै नभएका अमूल्य ऐतिहासिक मठ–मन्दिर, दरबार, मौलिक पहिचान बोकेका सम्पदा छन्।

मननपर्ने पक्ष?
प्रदूषण, ट्राफिक जाम, अव्यवस्थित सडक र भीडभाड हो।

तपाईँ कस्तो सहरको कल्पना गर्नुहुन्छ?
सहर सफा, हराभरा र सुविधायुक्त हुनुपर्छ । अरु मुलुकबाट आएका पर्यटकलाई देखाउन लायक हुनुपर्छ सहर । सहरको सरकार पारदर्शी हुनुपर्छ । सरकारका विकास निर्माणका काम पनि चुस्त हुनुपर्छ । म बस्ने सहर मैले विदेशमा देखेको सहरजस्तै व्यपस्थित हौंन् भन्ने लाग्छ । हिजो, आज र भोलिलाई हेरेर विकास गरियो भने सहर सुन्दर बन्छ।

सहरको विकासका लागि सहरवासीको भूमिका के देख्नुहुन्छ?
सहरको विकासबारे सहरवासी थोरै पनि जिम्मेवार छैनन् । करोडौं खर्च गरेर टल्कने घर बनाउँछन् । तर, घरबाहिर नजिकै फोहर फाल्ने, सरकारी नीतिको परिपालना नगर्ने बानी सहरवासीमा छ । अर्को कुरा, काठमाडौंमा बस्नेले यो मेरो सहर हो यसको विकास गर्ने मेरो दायित्व हो भनेर सोच्दैनन्।

उपत्यकानजिकै कतै घुम्न जानुप¥यो भने कुन ठाउँ रोज्नुहुन्छ?
त्यति धेरै घुम्ने र रमाइलो गर्ने फुर्सद त हुन्न । गीत–संगीतकै सिलसिलामा हिँडिरहनुपर्छ । त्यस्तो छुट्टै समय विभाजन गरेर घुम्न हिँड्दिनँ।

मन भएर पनि पुग्न नपाएको ठाउँ कुन हो?
मलाई पूर्वको बुढासुब्बा मन्दिर घुम्ने एकदमै रहर छ । समय मिल्यो भने त्यहाँ पनि पुग्छु।

काठमाडौंको मनपर्ने खानेकुरा के हो?
मलाई सबैखाले खानेकुरा मिठो लाग्छ । मेहनेत गरेर बनाउने हो भने सबै कुरा मिठो बन्छ । नेपालबाहिर हुँदा नेपाली खाना मनपर्छ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १ आश्विन २०७५ ०६:०४ सोमबार

सम्झना_लामिछाने_मगर गायिका